पोखरा:   गायिका सुप्तिहाङ राईको ‘लाहुरेनी’ बोलको गीत सार्वजनिक भएको छ ।   गायिकाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको पाँच दिनमै ट्रेडिङमा उक्लिएको छ ।   ...

पोखरा:   वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियको निर्वाचन चैत १२ गते हुने कार्यतालिका अनुसार ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका छन् ।  क्याम्पसको स्ववियु निर्वाचन कार्यतालिका अनुसार (हिजो बुधबार )फागुन ८ गते ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेका हुन् ।  निर्वाचन कार्यतालिका अनुसार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी र अखिल क्रान्तिकारी ‘विप्लव’ले संगठन दर्ता गरेको स्ववियु निर्वाचन अधिकृत डा. लिला पुरीले जानकारी दिए ।  निर्वाचन अधिकृत डा. पुरीका अनुसार क्याम्पसमा ४ सय ८० जना मतदाता रहेका छन् ।  क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नामावली सार्वजनिक नभएको भन्दै फागनु २५ गते केही विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्रिविको कार्यतालिका अनुसार निर्वाचन हुन नसकेको हो ।  त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुने भएपनि कास्कीको ६ क्याम्पसमा आन्तरिक विवादका कारण निर्वाचन हुन सकेको थिएन ।   

पोखरा:     पुरानो भवन । साँघुरो बैठककक्ष । साजसज्जाले बाहिर चिटिक्क देखिएपनि गण्डकी प्रदेशसभामा भौतिक पूर्वाधारको कमी छ । विषयगत समितिका कार्यालय ‘प्रि–फ्याव’ भवनमा छन् । ससंदीय दलका लागि कार्यालयको समस्या छ ।   संरचना अपुग हुँदा प्रदेशसभा सचिवालयको प्रशासनिक कामसमेत अन्य कार्यालयबाट सञ्चालन गर्नुपर्ने स्थिति छ । कर्मचारी र सुरक्षाकर्मीका लागि आवासको उचित प्रबन्ध हुन सकेको छैन । सञ्चारकर्मीका लागि मिडियाकक्ष छैन । प्रतिक्षाकक्ष, चमेनागृह जस्ता भौतिक पूर्वाधार व्यवस्थित छैनन् । आधुनिक सुविधायुक्त प्रदेशसभा भवन निर्माणका लागि बनाइएको डेढ अर्बको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अलपत्र परेको छ । बजेट नभएपछि भवन निर्माण अघि बढेन । सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा भवनमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताउनुभयो । “बैठककक्षमा खुट्टा छिराउनै धौधौ पर्ने टेबुल, कुर्ची छन्”, उहाँले भन्नुभयो, “साउण्ड सिस्टमको पनि समस्या छ ।” भवन साँघुरो भएकाले बैठक सञ्चालनलगायतका काममा कठिनाई उत्पन्न हुने गरेको सभामुख धितालले बताउनुभयो । “सुविधासम्पन्न प्रदेशसभा भवन बनाउन यसअघि प्रस्ताव भएर, डिपिआर पनि बनेको रहेछ”, उहाँले भन्नुभयो, “बजेट ठूलो भएकाले कसैले आँट गरेनन्, न केन्द्रले न प्रदेशले बजेट दियो ।” सभामुख धितालले एकैपटकमा सबै संरचनाको निर्माण थाल्न नसकिएपनि खण्ड–खण्ड गरेर काम गर्ने गरी स्रोत जुटाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा प्रदेशसभालाई भौतिक पूर्वाधारसम्पन्न बनाउन पहल लिने बताउनुभयो । “तत्काल सुधार गर्न सकिने कामका लागि मुख्यमन्त्री र मन्त्रीज्यूहरुसँग पनि कुराकानी अगाडि बढाएको छु, प्रदेशसभामा एउटा स्वास्थ्य एकाइ राख्नका लागि पनि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “सुरक्षा पर्खाल, पुस्तकालय व्यवस्थापन आदिको काम पनि अगाडि बढ्दैछ ।” प्रदेशसभा सचिवालयका कानून अधिकृत कुमार रिजालले प्रदेशसभाको पहिलो कार्यकाल बित्दासमेत आफ्नै भवन बन्न नसकेको बताउनुभयो । ठाउँ अभावले गर्दा सचिवालयलाई प्रदेशसभाभन्दा केही तल रहेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवनमा राखिएको उहाँको भनाइ छ ।    “दुईतिर कार्यालय हुँदा कर्मचारीलाई बढी आहोरदोहोर गरिरहनुपर्ने बाध्यता छ, त्यसले कार्यबोझ थपिएको छ, कार्यसम्पादनमा असहजता छ”, उहाँले भन्नुभयो, “आशा गरौँ, प्रदेशसभाको यो कार्यकालमा आफ्नै आधुनिक सुविधायुक्त भवन बन्नेछ ।”   प्रदेशसभा सदस्य कुसुम बुढा मगरले पहिलोपटक बैठककक्ष छिर्दा सोचेभन्दा भिन्न अनुभव भएको सुनाउनुभयो । “ससंद् भवन भनेपछि अलि भव्य र व्यवस्थित छ होला भन्ने लागेको थियो, तर एकदमै साँघुरो रहेछ, मन्त्रीज्यूहरु बस्ने ठाउँ पनि उस्तै”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारका दृष्टिले प्रदेशसभा पछाडि नै छ ।” सञ्चारकर्मी र बैठक अवलोकनकर्ताहरुको बसाइका लागि पनि सानो क्षेत्र तोकिएको छ । पत्रकारलाई बैठकको तस्बिर र दृश्य लिन पनि कठिन छ । आलुमुनियमले बारमाथिबाट जनेतेन तस्बिर खिच्नुपर्ने स्थिति छ । सचिवालयका कर्मचारी र मर्यादापालकका लागि पनि कार्यस्थल साँघुरो छ ।  भौतिक संरचना मात्रै नभएर प्रदेशसभामा अन्य स्रोतसाधनको पनि कमी देखिएको छ । दक्ष र विषयगत कर्मचारीको अभाव रहेको सचिवालयले जनाएको छ । प्रदेशसभाको आफ्नै सेवा समूहको व्यवस्था नभएकाले कर्मचारीको सरुवा÷बढुवा हुँदा कार्य सञ्चालनमा समस्या निम्तने गरेको छ ।  सचिवालयको कार्यबोझ बढी भएपनि कर्मचारीलाई प्रोत्साहन दिन नसकिएको जनाइएको छ । कर्मचारीको समयसापेक्ष सीप र क्षमता विकास गर्नुपर्ने खाँचो छ । प्रदेशसभाको भौतिक पूर्वाधार निर्माणसहित दैनिक कार्य सञ्चालनका लागि सरकारले पर्याप्त बजेट दिन सकेको छैन । नदिपुरस्थित नगर प्रशिक्षण केन्द्रको भवनबाट विगत पाँच वर्षदेखि प्रदेशसभा सञ्चालन हुँदै आएको छ । भवनसहित ६४ रोपनी जग्गाको भोगाधिकार प्रदेशसभाले पाइसकेको छ । गत आइतबार गण्डकी प्रदेशसभाको पाँचौ वार्षिकोत्सव मनाइएको थियो । RSS

काठमाडौं:  मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौं भनेपछि आफूहरुले सूचीबाट हटाएको जानकारी दिए । मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’को उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखिएको थियो । सोही आधारमा मधेशी आयोगले मुस्लिम र थारु समुदायलाई पनि मधेशीको रुपमा परिभाषित गर्न सरकारलाई सिफारिस गरेको थियो । आयोगले ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको चौथो वार्षिक प्रतिवेदनमा थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको सार्वजनिक भएपछि थारु र मुस्लिम समुदायको तर्फबाट विरोध भएको थियो । थारु र मुस्लिम आयोगले नै मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए । मधेशी आयोगकी उपसचिव सबिता डंगोलले थारु र मुस्लिमको विरोधपछि मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको जानकारी दिएकी छन् । सो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको उनले जानकारी दिइन् । थारु र मुस्लिम आयोगका अध्यक्ष सहितका पदाधिकारीहरुले सार्वजनिक रुपमा थारु र मुस्लिम समुदायको अलग्गै पहिचान र सभ्यता रहेको तथा सो मधेशी समुदायसँग मेल नखाने भएकाले मधेशीको सूचीमा राख्नु गलत भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । थारु र मुस्लिम आयोगसँगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभा लगायतले मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए ।

पोखरा : बगर भाइखलकको आयोजनामा १२ संस्करणको एट– ए साइड अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता माघ ३ देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ ।    पोखराको पुरानो टुँडीखेल मैदानमा हुने प्रतियोगितामा आगामी माघ ३ देखि ८ गतेसम्म आयोजना हुने बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।    ४० देखि ६५ वर्ष सम्मको उमेर समुहका खेलाडीहरुले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको मुख्य प्रायोजन चौधरी ग्रुपको उत्पादन हिमालयन ब्रुअरीले गर्ने भएको छ । ‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकका लागि नौलो आयाम’ भन्ने उद्धेश्यका साथ आयोजना हुँदै आएको एट ए साइड फुटबल प्रतियोगितामा विभिन्न क्लवहरुबाट पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिताले पनि थप आकर्षण बढ्दै गएको अध्यक्ष गुरुङले बताए । उनले भने–“यो प्रतियोगिताका लागि प्रतियोगिता मात्रै होइन पूर्व खेलाडीहरुमा रहेको प्रतिभालाई यूवा पिढींका खेलाडीमा हस्तान्तरण गर्नु पनि हो ।”   सातौं सस्करण देखि पूर्व राष्ट्रिय खेलाडी स्व.रञ्जित गुरुङका परिवारले मुख्य प्रायोजन गर्दै आएको उक्त प्रतियोगितामा आगामी पाँच वर्षका लागि राष्ट्रिय उद्योगको रुपमा स्थापित हिमालयन ब्रुअरी जोडिएकोले पनि यसको गरिमा अझै बढ्दै गएको बताउँदै अध्यक्ष गुरुङले यो प्रतियोगिताले समाजको हरेक अङ्गमा छुट्टै सञ्चार प्रवाहित गर्न सफल रहेको दावी गरे । “यो प्रतियोगिताका लागि मात्रै आयोजना गरिएको होइन यसका छुट्टै आयामहरु छन् । स्वदेश देखि विदेश सम्म समेत यसको आकर्षण बढ्दै गएको छ ।” प्रतियोगितामा सह आयोजकको रुपमा बगर भाई खलक युके समेत रहँदै आएको छ ।   बगर भाइखलक एट–ए साइडको ११ औं संस्करणको डिफेन्डिङ च्याम्पियन ललितपुरको टि वर्गर रहेको थियो । संस्थाले हरेक वर्ष एकजना पूर्व राष्ट्रिय खेलाडीलाई सम्मान समेत गर्दै आएको छ ।  

पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी शुरुवात गरेको छ ।    गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा विहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।   गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिईन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।   गण्डकीले दोश्रो हाफमा थप आक्रामक खेल्दै २ गोल थप्यो । खेलको १७ औं र २६ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाईन् ।   त्यस्तै खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो । खेलको ३४ औं मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् भने कमलाले ४२ औं मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् ।   अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दिपशिखा पौडेलले ५५ औं मिनेटमा गोल थपिन् ।   यसअघि उद्घाटन खेल वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिएपनि जर्सी नआईपुगेपछि गण्डकी र प्रदेश १ बीच प्रतिष्पर्धा गराइएको थियो ।   ७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुनेछ ।  

  महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ । उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन् । साउन निगल्दोको वर्षा जिल्लावासीलाई अमृत बर्सेझैँ भएको छ ।   पानीबेगर रोपेको धान रोपोमै पहेँलिदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानलाई पछिल्लो वर्षाले थोरै आशा जगाएको छ । पछिल्लो वर्षाले धान रोप्न नै पानी नपुगे पनि पहिलेको रोपो जाग्ने किसानलाई आश जागेको हो । जिल्लामा मध्य साउनयता गए राति पानी परेको हो ।   “धान अब के होला भनेर आश मारेका थियौँ, पछिल्लो वर्षाले फेरि आश जगायो”, महोत्तरीको भङ्गाहा–४ का किसान रामसागर यादवले भन्नुभयो, “अब केही दिन पानीले साथ दिए थप रोपाइँ पनि गर्न पाइने छ ।” पछिल्लो वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको उहाँको भनाइ छ । केहीबेरकै भए पनि पछिल्लो वर्षा मधेसका सबैजसो जिल्लामा भएको छ । पछिल्लो वर्षा पूर्वपश्चिम राजमार्ग आसपास भएर बढी परेको पाइएको छ ।   पछिल्लो वर्षाले तालु फुट्लाजस्तो चर्को घामको रापबाट राहत भएको छ । लगातारको प्रचण्ड रापले चरन क्षेत्रमा सुकेका घाँसका झाम्टा अब पलाउने र गाईवस्तु चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन् ।    यसैबीच मौसमविद्हरुले अब दुई–तीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन् । जिल्लामा यसपालि पानीकै अभावले अपेक्षित धान रोपाइँ हुनसकेको छैन । पानी राम्रो परे अझै खरुवन (कलम, पहिलेको रोपो गाँजिएपछि फेरि उखेलेर रोप्ने बीउ) बाटै पनि केही रोपाइँ थप्न सकिने किसानको आश छ । मधेसमा खरुवनको रोप भदौ पहिलो सातासम्म गर्न सकिने किसान बताउँछन् ।   महोत्तरीमा कुल ७० हजार खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा गरिने धानखेती अहिलेसम्म करिब ६५ प्रतिशत रोपाइँ हुनसकेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले नै जनाएको छ । जिल्लामा कुल खेतीयोग्य जग्गामा १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीको भरमै हुँदै आएको छ ।   साउन मध्य बर्खाकालको महिना भए पनि यसपालि अल्प वर्षाले खेतीपातीको काम अपेक्षित हुनसकेको छैन । शनिबारको वर्षाले आम किसानलाई लामो पर्खाइपछि प्राप्त हुँदा चाडवाड आएजस्तै खुुसी दिएको हो ।

  जनकपुरधाम  :  बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका-२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका-२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ ।   बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

काठमाण्डौँ:  अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुनसकेको जनाइएको छ ।   समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिनुभयो । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत र सबैभन्दा कम पर्सामा ४२ प्रतिशत जग्गामा धान रोपाइँ भएको उहाँले बताउनुभयो । गत असारको दोस्रो सातायता वर्षा नहुँदा पनि वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसानहरूले धान रोपाइँ गरिरहेको उहाँको भनाइ छ ।    उहाँका अनुसार बारामा ६०, सिरहा र सर्लाहीमा ५५ , रौतटहमा ५० , महोत्तरीमा ४५ र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।  पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै सप्तरीमा कूल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा कूल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।   त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५०० हेक्टरमा, बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकामा ४६ हजार २० हेक्टरमा, रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकामा ३८ हजार १०० हेक्टरमा धानखेती हुने गरेको मन्त्रालयले जनाएको छ ।    यस्तै धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा र सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७०० हेक्टरमा धान रोपाइँ हुन्छ । तर यस वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृत्ति र समयमा वर्षा हुनुको कारण अन्नको भण्डार मानिएको मधेस प्रदेशमा अपेक्षाकृत धान रोपाइँ हुन नसकेको अधिकृत पालले जानकारी दिनुभयो ।   लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भने अधिकांश किसान अझै आकाशे पानीको प्रतिक्षमा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुदाँ रोपो सुक्न थोलेको छ । ‘‘पान्नी तान्ने मोटर लगाएरै करिब एक बिघा जग्गामा धान रोपाइँ गरेँ”, धनुषाधाम नगरपालिका–४ का किसान सुगम्बर यादवले भन्नुभयो, “वर्षा ठयाप्पै रोकिएपछि अहिले रोपिएको धानमा डढेलो लाग्न थालेको छ ।” अब पनि केही दिन पानी नपरे रोपाइँ गरिएको धान नष्ट हुन्छ”, उहाँको चिन्ता छ ।    ठूलो मूल्य र परिश्रम गरेर रोपाइँ गरिएको धानबालीमा पानीकै अभावमा डढेलो लाग्दा आफूहरु चिन्तामा डुबेको किसानको भनाइ छ । सिँचाइका लागि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा मात्र सिँचाइको व्यवस्था पुगेको छ । तर लामो समयदेखि वर्षा रोकिएर कमला नदीमा पानीको सतह कम भएका कारण किसानलाई सिँचाइ गर्न समस्या भइरहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।   “साधारणतया कमला नदीमा पानीको स्तर बढ्दा किसानलाई सिँचाइ गर्न सहज हुन्छ, तर अहिले नदीमा पानी नै छैन”, उहाँले भन्नुभयो, “पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिँचाइको पहुँच पुगेको त छ, तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिँचाइ गर्न समस्या भएको हो ।”    सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाइ अभाव अर्कातिर आवश्यकतानुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । यसरी सिँचाइ, मलखाद्य र मजदुर आभावमा मधेस प्रदेशमा धान रोपाइँ प्रभावित हुँदा भोकमरीको चिन्ता बढेको कृषिविज्ञको भनाइ छ । मधेसका जिल्लामा बर्सेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ । 

काठमाण्डौँ:   मधेस प्रदेश सरकारले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सवारी साधन प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सवारी साधन हस्तान्तरण गर्नुभयो ।   उक्त मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार महोत्तरीस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय, धनुषाधामस्थित इलाका प्रहरी कार्यालय, धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय, महोत्तरीको गौशालास्थित इलाका प्रहरी कार्यालय, बर्दिबासस्थित इलाका प्रहरी कार्यालय, सप्तरीको हनुमाननगरस्थित इलाका प्रहरी कार्यालय, बाराको सिमरास्थित इलाका प्रहरी कार्यालय र महोत्तरीको सम्सीस्थित प्रहरी चौकीलाई चारपाङ्ग्र्रे सवारी साधन हस्तान्तरण गरिएको हो ।    यसैगरी जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालय, पथलैयास्थित प्रदेश प्रहरी ट्राफिक कार्यालय, महोत्तरी जिल्ला प्रहरी कार्यालय, बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय, सिरहाको गोलबजारस्थित इलाका प्रहरी कार्यालय, सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय, सप्तरीको कडरबोनास्थित इलाका प्रहरी कार्यालय, सप्तरीको कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयलगायत ३८ प्रहरी कार्यालयलाई मोटरसाइकल हस्तान्तरण गरिएको सचिव महतोले बताउनुभयो ।       यस्तै सुरक्षा निकायहरुलाई विपद्को समयमा सूचना दिन ब्यान्ड बाजासमेत हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । ती सामग्री हस्तान्तरण गर्दै मन्त्री साहले नागरिकको सुरक्षाका लागि दिनरात खटिरहने सुरक्षा निकायलाई साधन सम्पन्न बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । सुरक्षा निकायसँग स्रोत र साधन नहुँदा जनतामा शान्तिसुरक्षा प्रदान गर्न कठिनाइ भइरहेकाले प्रदेश सरकारले सवारी साधन उपलब्ध गराएको जानकारी दिँदै उहाँले आगामी दिनमा पनि सुरक्षा निकायलाई सवारी साधनहरु उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।       कार्यक्रममा गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्ण, जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मउसुद आलम खाँ, बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरलगायतको उपस्थिति थियो ।