रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरुआत भएको छ ।   गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जाैँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो ।   प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा रु एक करोड लागतको परियोजना सुरु भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो ।   “लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौँ ।” '   परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती गरिने भएको छ ।   परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताउनुभयो ।   किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो ।   झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ ।   जौँ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जौँ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ ।   जौँ हिन्दू धर्मावलम्बीहरूको र जौँको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौँको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ ।   उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले तत्कालका लागि ठूलो वर्षा नहुने भए पनि हल्का वर्षाको सम्भावना भने नटरेको जानकारी गराएको छ ।   विभागकानुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ ।   महाशाखाका मौसमविद् शान्ति कँडेलले मौसममा सुधार हुँदै गए पनि मङ्गलबारसम्म मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो ।   “मङ्गलबारसम्म हल्का वर्षा भए पनि विपद्् निम्ताउने किसिमको ठुलो वर्षाको सम्भावना तत्कालका लागि छैन”, उहाँले भन्नुभयो ।   महाशाखाले आगामी तीन दिनसम्मको मात्रै मौसमी अवस्था पूर्वानुमान गर्दै आएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।   आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसमी बुलेटिनमा उल्लेख छ ।   बुलेटिनमा उल्लेख भएअनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।   दे​शको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिमा भने कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।   यसैगरी कोशी र गण्डकी प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।   “मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।   कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ” बुलेटिनमा भनिएको छ, “राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।”   कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु माहाशाखाले अनुरोध छ ।   कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाको अनुरोध छ ।

काठमाडौँ:   यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो ।   यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी  चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे ।   सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् ।    काठमाडौँ र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए । सकड सवारीसाधनले भरिभराउ थिए ।   रातिमा सवारीसाधन अघि बढ्न सकेनन् । त्यही बेला शनिवार बिहान ४:०० बजे  नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक (झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा) बजारियो ।   ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो । माथिल्लो सडकको सीमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुङ्गा सुरुङमार्गभन्दा केही वर पिप्लामोटपट्टी पर्छ ।   स्थानीय नानु लामाले भन्नुभयो, “पहिरो गाडीमाथि खस्यो । अघिल्तिर रहेका साना सवारीसाधनमा रहेका केहीलाई हामीले तानेर बचायौँ, अन्य ठूला सवारीसाधनमाथि पहिरो खसिसकेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, हामीले बचाउन सक्ने अवस्था थिएन । पसल नै बगाउने डरले हामी पिप्लामोडतर्फ भाग्यौँ ।”   लामाका अनुसार प्रहरीलाई त्यसबारे खबर गरिएको थियो । “केही समयपछि प्रहरी आए । त्यसपछि केके भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ”, उहाँले भन्नुभयो ।   नागढुङ्गादेखि नै ठाउँठाउँमा पहिरो खसेको थियो । तत्काल सवारीसाधन चल्ने अवस्था थिएन । अहिले पनि सो क्षेत्रमा दर्जनौँ ठाउँमा पहिरो खस्ने अवस्था छ । प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो सङ्घर्ष गर्नुपरेको बताउनुहुन्छ ।    यात्रुहरु परिवारजनलाई खोज्दै    घटनास्थलको दृश्य कारुणिक देखिन्छ । सवारीसाधन क्षतविक्षत भएका छन् । शवहरु पुरिएको ठाउँबाट निकालिएकाले अनुहार चिनिने अवस्था छैन । शवहरु गाडीभित्रै पुरिएको अवस्थाबाट निकालिएका छन् ।    यात्रुका आफन्तहरु उनीहरुको अवस्थाबारे बुझ्न आइपुगेका छन् । उनीहरु आफन्तको खोजीका लागि हारगुहार गरिरहेका छन् ।   उनीहरु आँसु रोक्न सकिरहेका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना उद्धारमा सक्रिय छ । केही सवारीसाधनबाट शव निकालिएको छ भने गोरखाबाट आएको सवारीसाधन पुरिएकै अवस्थामा छ ।   निकाल्ल्ने काम जारी थियो । उद्धार कार्य जारी छ । अहिलेसम्म ३५ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।  

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।   जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो ।   बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।   बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाइले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।   कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ ।   जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ ।   पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुुभयो ।

धनगढी:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उहाँविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताउनुभएको छ ।       कैलालीको धनगढीमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उहाँको भ्रमण अत्यन्त सफल ढङ्गले भइरहेको स्पष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ ।”       महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित होइन, निःसर्त सहयोग गर्नुपर्छ ।”      मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर सरकार गठन गरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हामी संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्न चाहन्छौँ, संविधानका सबल पक्ष र कमजोर पक्ष खोज्न चाहन्छौँ ।”      पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएपछि उद्योगी–व्यवसायीमा आशा जागेको, अर्थतन्त्रमा सुधारको लक्षण देखिएको, वैदेशिक लगानी भित्रिने क्रम सुरु भएको तथा लगानीको वातावरण बनेको महासचिव पोखरेलले बताउनुभयो ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ ।   बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे ।   लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका पुग्ने जोकोहीलाई सञ्चार गर्न सहज भएको बताउनुभयो ।   एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो ।   नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।   मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् ।

त्रिवेणी:  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।   काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन् ।   बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।   घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताउनुभयो ।   प्रहरीका अनुसार गएराति उक्त मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा आज विहान बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।   मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।   बसको ठक्करबाट मृत्यु कैलाली– बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।   सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।   उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।   बस र चालक गौरीगङ्गा–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दमौली:   तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् ।   भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।   पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिनुभयो ।   पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ ।   पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ । त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ ।   विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो ।   विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिनुभयो ।   उहाँका अनुसार विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङलगायत सीप सिकाउन थालिएको छ ।   विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाउनुभएको थियो । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ ।”   असहाय बालबालिकालाई पढाउँदै व्यास व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।   व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो ।   बाबुआमा बितेपछि अरुको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ ।   कक्षा १ र ६ मा अध्ययनरत उनीहरु अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन् ।   विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ ।