दलित समुदायले उत्पादन गरेको दुध सङ्कलन नगरे कारबाही गरिने

बाग्लुङ | पुस ६, २०८०

दलित समुदायले उत्पादन गरेको दुध सङ्कलन नगरे कारबाही गरिने तस्बिर फाइल

ढोरपाटन:    बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दुध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेष गरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दुध उत्पादन गर्छन् । ब्राह्मण समुदायले घरबाटै दुध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दुध बिक्री गर्न पाएका छैन ।


गाउँमा दुध सङ्कलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दुध नउठाइदिने गुनासो बढिरहेको छ । सरोकारवाला निकायले नै चासो नदिँदा दुध बिक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन् । काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दुध बिक्रीमा आनाकानी गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ । 


गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले दलित समुदायका किसानले उत्पादन गरेको दुध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुनअनुसार कारबाही गर्ने राससालाई बताउनुभयो । काठेखोला गाउँपालिकामा दुध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरूको सहजगताका लागि गाउँपालिका–२ अक्षतेमा दुध सङ्कलन केन्द्र स्थापना गर्ने बताउनुभयो । 


काठेखोलाको दुध बागलुङ बजारसँगै पोखरामा पनि बिक्री हुने गरेको छ । “सङ्घसंस्था हुन् वा व्यक्ति कसैले पनि जातीय विभेद गरेर असामाजिक गतिविधि गर्न पाइँदैन, पछिल्लो समय छुवाछूत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दुध बिक्री नभएको गुनासो बढेको छ”, प्रवक्ता विकले भन्नुभयो । “गाउँपालिकाले यसलाई गम्भीररूपमा लिएको छ । अब जातीय विभेद भयो भने कानुनी दायरामा ल्याउन पालिका नै अग्रसर हुने कार्यपालिकाले निर्णय गरेको छ । हरेक नागरिकको पेसा व्यवसाय गरेर बाँच्न पाउन अधिकार हुन्छ । किसानको सहजगताका लागि गाउँपालिकाले पनि अक्षते बजारमा दुध सङ्कलन केन्द्र स्थापना गर्नेछ ।”


काठेखोला गाउँपालिका(१ पालकाकी अस्मिता विकले दुध उत्पादन भए पनि बिक्री गर्न निकै समस्या भएको बताउनुभयो । हिउँदमा कम भए पनि वर्षा याममा बढी दुध उत्पादन हुने तथा त्यो खेरजाने दुखेसो गर्नुभयो । छरछिमेकीको घरको दुध बिक्री भए पनि दलित परिवारको नहुने उहाँले गुनासो पोख्नुभयो । आफूहरू अन्यायमा पर्दा पनि सरोकारवाला निकाय मौन रहेको विक बताउनुहुन्छ । सरकारले  २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको हो । 


त्यसयता पनि हाम्रो समाजमा  छुवाछूत र जातीय विभेद कायमै छ । काठेखोला गाउँपालिका(२ भीमापोखराका चिन्तामणि विकले लामो समयदेखि दुध बिक्री नभएकामा सङ्घर्ष गर्दै आएको बताउनुभयो । गाउँमा दुध सङ्कलन र बजारसम्म पुर्‍याउनका लागि सहकारी स्थापना भएपनि आफूहरूलाई शेयर सदस्यसमेत बन्न नदिएको बताउनुभयो । 

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्