पोखरा:  गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ ।    बुधबार  गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा ...

पोखरा:   पोखरा महानगरपालिका वडा नं. १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. १३ को परिषरमा आयोजित शिविरबाट एक सय २६ जना महिला लाभान्वित भएका छन् ।  शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।  शिविर उदघाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय महिलाका लागि पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रुपमा देखिएको बताए ।  उनले आम नागरिकले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । पोखरा १३ का वडाध्यक्ष किरण बरालको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य सुचित्रा तामाङ्गले स्वागत र स्वास्थ्य केन्द्रकी अहेब लीला गुरुङले संचालन गरिन् ।   

काठमाडौं:   बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् ।   वैदेशिक रोजगार विभागले अन्लाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो ।   अन्तरर्वार्तापछि बेलायत जानेहरूको अन्तिम नाम सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ ।   बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारबीच गत भदौमा सम्झौता भएको थियो ।   नेपाल र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो ।   जसअनुसार १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरिएकोमा ७१ जनामात्र अन्तर्वार्ताका लागि छनोट भएका हुन् ।   सूची:-    

पोखरा:   पोखरा महानगरपालिका भित्र रहेका पाँच वर्षसम्मका बालबालिकालाई शुक्रवार भिटामिन ए’ र जुकाको औषधि खुवाइएको छ । शुक्रवार खान छुटेकालाई शनिवार खुवाइने पोखरा स्वास्थ्य महाशाखाले जनाएको छ ।  आफ्नो घर पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएका केन्द्रमा पुगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरको स्वास्थ्य महाशाखाले सबै अभिभावकहरूलाई अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष दशैका कारण केही पछि धकेलिएको हो । बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बाल भिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५३ सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै १५ बहु सूक्ष्म पोषण तत्त्वले बनेको बाल भिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बाल भिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।  यस कार्यक्रममा पोखरा महानगरपालिका भित्रका करिब ३५ हजार बालबालिकाहरूलाई भिटामिन ए र ३० हजार बढी बालबालिकाहरूलाई जुकाको औषधी खुवाइने महाशाखाका जनस्वास्थ्य निरीक्षक लोकराज आचार्यले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरूलाई भिटामिन ए’ र जुकाको औषधि खुवाउनका लागि महानगरका ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र केही स्वयंसेवक गरी ६६५ जना परिचालन गरिएको छ ।  बालबालिकाहरू सुनौलो भविष्य सुनिश्चितताका लागि उनीहरूको स्वास्थ्य सुरक्षा प्रमुख विषय हुने भएकाले यस कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । बालबालिकामा पोषण अभावका कारण हुन सक्ने कुपोषण न्यूनीकरणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय भिटामिन ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाइएको प्रमुख आचार्यले बताउनुभयो ।  “पोखरा महानगरपालिकाका सबै स्वास्थ्य संस्थाहरू, वडा कार्यालयहरू र तोकिएका निश्चित स्थानहरूमा गएर आफ्ना बालबालिकाहरूलाई भिटामिन ए’ र जुकाको औषधि खुवाउनु हुन म सबै नगर बासीहरूमा विनम्र अनुरोध गर्दछु, प्रमुख आचार्यले भन्नुभयो, बालबालिकाहरूको स्वास्थ्य रक्षा नै सुनौलो भविष्य निर्माणको प्रारम्भिक आधार हो ।” कुपोषणमुक्त महानगर निर्माणका लागि बालबालिकाको स्वास्थ्य प्रति गम्भीर बन्न उहाँले आग्रह समेत गर्नुभयो ।

पोखरा:     पोखरा १३ का विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड पाएका छन् । वडा कार्यालय परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरुलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको हो ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीको प्रमुख आत्थ्यितामा वडाका १०९ जना विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड प्राप्त गरेका छन् ।   कार्यक्रममा बोल्दै खत्रीले वडाले राम्रो काम गरेको बताए । निशुल्क स्वास्थ्य बिमा कार्ड विपन्न र मजदुरलाई उपलब्ध गराएपछि अब पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने उनले उल्लेख गरे । “बिरामी भएपछि पैसा खोज्न जानुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सरकारले नै नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराएको हो ।”, उनले भने । खत्रीले स्वास्थ्य बिमा कार्डको सदुपयोग गर्नुपर्ने विषयलाई समेत सुझाएका छन् । बिरामी भएको बेला निर्धक्क उपचार गर्न नागरिकले पाउन् भनेर निशुल्क स्वास्थ्य बिमा कार्ड दिइएको उनले बताए । निशुल्क स्वास्थ्य बिमा कार्डको नविकरणबाट नेपाल सरकारको ढुकुटीमा एक अर्ब जम्मा हुने तर खर्च भने १० अर्ब रुपैयाँ रहेको उनले जनाए । नागरिकलाई स्वास्थ्य सुरक्षा दिन सरकार प्रतिबद्ध भएर लागिरहेको भनाई उनको छ । पोखरा १३ का वडाध्यक्ष किरण बरालले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्य स्वरुप वडाका विपन्न वर्गलाई निशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइएको जानकारी गराए । उनले यसअघि पनि वडाले स्वास्थ्य क्षेत्रका गतिविधि गर्दै आएको उल्लेख गरे । “वडाका प्रत्येक स्थानमा स्वास्थ्य शिविर संचालन गरी नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने लक्ष्य छ । हाम्रो कार्यकाल सम्म निशुल्क स्वास्थ्य बिमाको कार्यन्वयनलाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ । पैसाको अभावमा उपचार नपाएर अब कोहि पनि मर्नुपर्ने अवस्था आउने छैन ।”, उनले भने । वडा सँधै नागरिकको साथमा रहेको अभिव्यक्ति उनको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हिमालयन आँखा अस्पतालमा बिरामीले निशुल्क स्वास्थ्य बिमा कार्ड मार्फत सेवा पाउने वडाले जनाएको छ । दैनिक मजदुरी गरेर पेट पाल्नेहरुका लागि स्वास्थ्य उपचार कठिन हुने भएकाले वडाले निशुल्क स्वास्थ्य बिमा कार्ड हस्तान्तरणको अवधारणा ल्याएको हो । स्वास्थ्य क्षेत्रमा वडाले गरेका काम प्रशंसनिय रहेको स्थानीय भनाई छ । स्वास्थ्य बिमा कार्ड वितरणले निम्न वर्गीय वडाबासीका समस्याको समाधान हुने विश्वास वडाको छ । यस अलवा वडामा भिटामिन “ए” र जुकाको औषधि समेत खुवाइदै छ । शुक्रबार (आज) देखि शनिबार (भोली) सम्म चल्ने उक्त कार्यक्रममा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन “ए” क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै गरेको वडाले जानकारी गराएको छ ।  

काठमाडौं:    सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।   तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।

बागलुङ:     धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिनुभएको हो । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेकोे अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा उहाँले छोरा जन्माउनुभएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताउनुभयो । यो छन्त्यालको चौथो सन्तान हो । पेटमा रहेको बच्चा ठूलो देखिएकाले  अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताउनुभयो । दसैँका बेलामा पोखरा जान पनि गाह्रो थियो नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उहाँको पति नेत्रबहादुर छन्त्यालले बताउनुभयो । उक्त अस्पतालमा प्रसूतिका लागि एक दिनमा झण्डै एक दर्जन महिला आउने गर्छन् । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो ।  यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो । यसअघि ठूलो तौलको बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो । अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

चितवन:     चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका तीन हजार एक सय ७७ जनाको स्वास्थ्य बीमा गरिएको हो । पालिकाभित्र रहेका विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमका लागि पालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये अहिलेसम्म २८ लाख ४३ हजार तीन सय बराबरको बीमा भइसकेको छ । नगरप्रमुख विनोद रेग्मीका अनुसार विपन्न परिवारलाई पालिकाले बीमा गरिदिएको हो । उहाँले भन्नुभयो, “चेपाङ समुदायको प्रदेश सरकारले बीमा गरिरहेकाले सो समुदायबाहेक अन्य समुदायका विपन्न परिवारको बीमा नगरपालिकाले आफ्नै बजेटमार्फत गरेको हो ।” अहिले बीमा भएका परिवारको आगामी मंसिर १ गतेदेखि लागू हुनेछ । विपन्न परिवारले उपचारका लागि आर्थिक सहयोग माग्नु नपरोस् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रम गरिएको जनाउँदै उहाँले भन्नुभयो, “विपन्न परिवारका लागि पनि स्थानीय सरकार भएको अनुभूति हुने गरी काम गर्दै आएका छौँ ।” नगरपालिकाभित्र स्वास्थ्य उपचारका लागि कोही पनि बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । स्वस्थ्य नगरपालिका निर्माणका लागि यो कार्यक्रम प्रभावकारी बन्ने उहाँको भनाइ छ । पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि यसअघि नै घरघर पुगेर नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ । पालिकाभित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएकाको प्रत्येक दुई महिनामा घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो । 

चितवन:    खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निः शुल्क प्राप्त गर्ने भएका हुन् ।  नगरपालिकाले ‘उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार’ कार्यक्रममार्फत यस्तो सुविधाको उपलब्ध गराएको हो । नगर प्रमुख शशीकुमार खनियाले उप(प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन महत्त्वपूर्ण हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सफलता र निरन्तरताका लागि कर्मचारीलगायत सरोकारवाला सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक हुने बताउँदै उहाँले आमाहरूको स्वास्थ्य र सुरक्षामा यो सेवा कोसेढुङ्गा साबित हुने बताउनुभयो । नगर(उपप्रमुख कविता उप्रेतीले गर्भवतीको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ । नगरपालिका बजेटमा नै व्यवस्था गरेर कार्यक्रम अघि बढाएको हो ।

गलकोट:     बागलुङमा पछिल्लो समय डेङ्गुु सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । पछिल्लो एक महिनामा मात्रै ९० जनाभन्दा बढीको सङ्ख्यामा डेङ्गु पुष्टि भएको छ ।  साउनयताको तथ्याङ्कअनुसार एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण  भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । उहाँले जिल्लामा डेङ्गुु सङ्क्रमण तीव्ररुपमा फैलिएकाले सचेत हुन पनि आग्रह गर्नुभयो ।  “एक महिना अघिसम्म डेङ्गुु सङ्क्रमण निकै कम थियो, ४० जनालाई मात्रै सङ्क्रमण भएको थियो, पछिल्लो एक महिनामा मात्रै ९० जनालाई सङ्क्रमण भएर अहिले सङ्क्रमणको सङ्ख्या एक सय ३० पुगेको छ, सबैभन्दा बढी ढोरपाटन नगरपालिकामा सङ्क्रमण फैलिएको हो”, प्रमुख शर्माले भन्नुभयो, “डेङ्गुुको सङ्क्रमण तीव्र भइरहेकाले सबैजना लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ ।” बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै शङ्कास्पद बिरामीमा  परीक्षण गर्दा ९६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यस्तै धौलागिरि अस्पतलमा १५, गलकोट नगर अस्पतालमा १७ र बोङ्गादोभान स्वास्थ्य चौकीमा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दस पालिकामध्ये बरेङ गाउँपालिकाबाहेक अन्य नौ पालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।  उक्त कार्यालयको तथ्याङ्क अनुसार ढोरपाटन नगरपालिकामा ६७, बागलुङ नगरपालिकामा आठ, जैमिनी नगरपालिकामा दुई, गलकोट नगरपालिकामा १४, काठेखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा दस  निसीखोला गाउँपालिकामा १८, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।  डेङ्गु सङ्क्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको उक्त अस्पतालले जनाएको छ । जिल्लामा डेङ्गुुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ ।  उक्त अस्पतालमा उच्च ज्वरोका बिरामीको सङ्ख्या ह्वातै बढेको र  ज्वरो आएका बिरामीको निःशुल्क डेङ्गु परीक्षण भइरहेको  अस्पतालले जनाएको छ ।  धौलागिरि अस्पतालमा डेङ्गु सङ्क्रमण भई भर्ना भइरहेका केही बिरामीलाई थप उपचारका लागि पोखरासमेत पठाइएको छ भने सामान्य बिरामीलाई सोही अस्पतालमै उपचार गरिरहेको त्यहाँका मेडिकल सुपरीटेन्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिनुभयो । अहिले उक्त अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा आउने अधिकांश बिरामी ज्वरोको आउने गरेको पाइएको छ ।   अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिँगटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भए पनि सबैमा डेङ्गु सङ्क्रमण भने नदेखिएको अस्पतालको भनाइ छ । डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान ओझेलमा परेकामा  रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम थालिएको छ ।