बागलुङमा आठ वर्षमा एक लाख ३४ हजार नागरिकको स्वास्थ्य बिमा
बाग्लुङ | चैत २८, २०८१
ढोरपाटन: बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गराएका छन् ।
विसं २०७३ असारमा सुरु भएको स्वास्थ्य बिमामा हालसम्म जिल्लाका ५४.०३९ प्रतिशत नागरिक आबद्ध भएका हुन् । जिल्लाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ रहेको छ ।
यहाँका १० वटै स्थानीयत तहमा ६४ हजार १५३ परिवार रहेकामा हालसम्म ४० हजार ९४५ परिवारले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्डका जिल्लास्थित कार्यालय प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।
हालसम्म ६७.६३ प्रतिशत घरपरिवार स्वास्थ्य बिमाको पहुँचमा रहेको उहाँको भनाइ छ । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५६७ जना पुरुषले स्वास्थ्य बिमा गरेका छन् ।
सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन स्वास्थ्य बिमाका सामाजिक परिचालकलाई जिल्लाको ८५ वडामा खटाएको प्रमुख पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बागलुङमा स्वास्थ्य बिमा ‘पाइलट प्रोजेक्ट’का रूपमा सुरु भएको थियो, पहिले नागरिकको चासो कम थियो, अहिले बढ्दै गएको छ ।”
निसीखोला गाउँपालिका–५ का प्रेमबहादुर पुनले दूरदराजमा स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको गुनासो गर्नुभयो । स्वास्थ्य बिमा गरे पनि नजिकमा सुविधा लिने स्वास्थ्य संस्था नहुँदा घण्टौँ लगाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
“ज्वरो आयो भने स्वास्थ्य बिमाको सुविधा लिन बुर्तिबाङ जाँदा आउँदा पाँच–सात हजार खर्च लाग्छ, त्यही भएर गाउँकै स्वास्थ्य चौकीबाट औषधि लिएर खान्छु” पुनले भन्नुभयो, “गाउँकै स्वास्थ्य चौकीबाट स्वास्थ्य बिमाको सुविधा दिनुपर्ने हो, हामीहरू त स्वास्थ्य बिमा गर्ने सेवा नलिने मात्रै भइयो, सरकारले गाउँका स्वास्थ्य संस्थाबाट सेवा दिने व्यवस्था गर्नुपर्छ ।”
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

