कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । पारिवारिक स्रोतका अनुसार उनी माइतीघरबाट रामबजारस्थित आफ्नो घर फर्किने क्रममा अमरसिंह चोक आसपासबाट अचानक सम्पर्कविहीन भएकी हुन् । साँझको करिब ६ देखि ७ बजेको समयमा उनी हराएको बताइएको छ । करिब ४ फिट १० इन्च उचाइकी उनी कालो पाइन्ट र रातो टी–शर्ट लगाएकी थिइन् । उनी लामो समयसम्म घर नफर्किएपछि उनको परिवारले सबैलाई खोजि गर्न आग्रह गरेको छ । परिवारले रितुलाई कहिकतै देखेको खण्डमा मोबाइल नम्बर ९८४६६०३२८५ मा सम्पर्क गर्न आग्रह गरको छ ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चुनिएका हुन् । सो कार्यसमितिको उपाध्यक्षमा विष्णु गुरुङ निर्वाचित भए । यस्तै सचिवमा दिलु लामा मोक्तान दोहोरिएकी छिन् । भने, सह–सचिवमा बबिता कार्की र कोषाध्यक्षमा भोजबहादुर गुरुङ (भोज गुरुङ) चुनिए । कार्यसमिति सदस्यहरूमा प्रकाश गुरुङ, मन बहादुर गुरुङ र अमिर शर्मा चयन भए । जिवन गुरुङको नेतृत्वमा गठित ११ सदस्यीय कार्यसमितिमा ३ जनालाई भने बैठकबाट मनोनित गरिनेछ । नवनिर्वाचित अध्यक्ष गुरुङले पोखरा क्षेत्रका लोक दोहोरी रेस्टुरेन्ट व्यवसायीहरू तथा सम्पूर्ण कलाकारहरुको हकहितको पक्षमा काम गर्दै आएको स्परण गराउँदै पुनः संस्थालाई सकरात्मक बाटोमा डोर्याउने प्रतिबद्धता जनाएका थिए । नवनिर्वाचित नेतृत्वले कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्ताएको रात्रिकालीन दोहोरी व्यवसायलाई थप चलायमान बनाउनुका साथै लोक संस्कृतिको जगेर्ना गर्न सघाउ पुर्याउने व्यवसायीहरूको अपेक्षा छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने गरेको, अनुमतिपत्र नलिई उद्योग संचालन गरेको, लेबल अपूर्ण र अनुमतिपत्र नलिई खाद्य व्यवसाय संचालन गरेको पाइएपछि मुद्दा चलाएको हो । कार्यालयलाई खाद्य तथा दाना ऐनअनुरुप सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा चलाउने कानुनी हक छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको आयोजनामा चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक प्रगति विवरणबारे समीक्षा गोष्ठीका क्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले चालु आवको अवधिमा ७ मुद्दा दायर गरिएको जानकारी दिएका हुन् । संघ सरकारअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहित गण्डकी प्रदेशका २ डिभिजन कार्यालय (दमौली र बागलुङ) ले समय–समयमा खाद्य बस्तुको अनुमगन तथा निरीक्षण गर्दै आएको छ । श्रेष्ठका अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नमुना संकलन गरी प्रयोगशालामा पठाउने गरिन्छ । नेपाल सरकारले तोकेको अनिवार्य मापदण्डमा यदि परेन भने थप अनुसन्धान गरी मुद्दाको प्रक्रियामा अघि बढाइने गरिँदै आएको छ । उनले प्रगति प्रतिवेदन सार्वजनिक गर्दै मानिसको स्वास्थ्यलाई ध्यानमा राखी कार्यालयहरुले गण्डकी प्रदेशका विभिन्न बजार, उद्योग, होटल, रेष्टुरेन्टलगायतको नियमित अनुगमन तथा निरीक्षण गर्दैआएको पनि जनाए । प्रमुख अतिथि उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले उपभोक्ताका लागि भनी खाद्य, कृषि, मासु, स्वास्थ्य, यातायात, शिक्षासमेत १० क्लष्टर रहेकामा तीमध्ये उपभोक्ताको स्वास्थ्यसँग सिधैँ सरोकार राख्ने खाद्य महत्वपूर्ण भएको बताए । उनले भने, ‘स्वास्थ्य बिरामीलाई मात्र भयो, शिक्षा पढ्नेलाई मात्र भयो, तर महिला, बालबालिका, केटाकेटी, बुढाबुढी सबैको निम्ति चाहिने भएकाले खाद्य स्वच्छ हुनु जरुरी छ ।’ जसबाट स्वच्छ समाज सिर्जनासहित समग्र देश विकासमा योगदान दिन सकोस्, उनले भने । ‘बदमासी गर्नेले लुकाउन चाहन्छ, बदमासी नगर्नेले देखाउन चाहन्छ । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मिडियासामु यसरी आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गर्नु पारदर्शीको नमुना हो,’ प्रमुख अतिथि कोइरालाल भने, ‘यसको अनुशरण अरु कार्यालयले पनि गर्नु जरुरी छ ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका योजना तथा अनुगमन महाशाखा प्रमुख प्रतिमा श्रेष्ठले विभागले विभिन्न सचेतनाका कार्यक्रम ल्याउन लागेको जानकारी दिइन् । विभागलाई मात्र ७३ करोड बजेट बिनियोजन भएको उल्लेख गर्दै स्थानीय पालिकाले पनि खाद्य निरीक्षण पनि राख्न सकेमा अझ प्रभावकारी कार्यक्रम गर्न सकिने बताइन् । सो अवसरमा दमौलीस्थित डिभिजन कार्यालयबाट खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य, बागलुङस्थित डिभिजन कार्यालयबाट खाद्य अधिकृत सुमन लामिछानेसमेतको उपस्थिति थियो ।
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्यटन प्रवर्द्धनसम्बन्धी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ। समितिले गण्डकी प्रदेशसँगै देशका विभिन्न जिल्लामा पुगेर पोखराको पर्यटन प्रवर्द्धन, आन्तरिक पर्यटन विस्तार तथा व्यवसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको जनाएको छ। यसअघि शुक्रबार बागलुङ बजारमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी, पर्यटनकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले पोखरा र बागलुङबीच पर्यटन सहकार्य, प्राकृतिक तथा धार्मिक गन्तव्यहरूको प्रवर्द्धन, पर्यटकको बसाइ अवधि लम्ब्याउने रणनीति र सेवा गुणस्तर सुधारका विषयमा धारणा राखेका थिए। कार्यक्रममा “प्रकृतिसँग रमाऔं” भन्ने अवधारणालाई केन्द्रमा राख्दै पोखराको प्राकृतिक सौन्दर्य, तालतलैया, हिमश्रृंखला तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेकोमा जोड दिइएको थियो। होटल व्यवसायलाई समयानुकूल व्यवस्थित र प्रतिस्पर्धी बनाउन संयुक्त पहल आवश्यक रहेको सहभागीहरूको भनाइ थियो। पृथ्वी होटल व्यवसायी समिति कास्कीका अध्यक्ष मोतीप्रसाद श्रेष्ठले पर्यटन पुनरुत्थान, अन्तरजिल्ला सहकार्य र पोखरालाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। आज मुसिकोट र रुकुमकोटमा हुने अन्तरक्रिया कार्यक्रममा स्थानीय होटल व्यवसायी, पर्यटनकर्मी, उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयहरूबाट खटिएको टोलीले विशेष खोजतलास अभियानका क्रममा २० जना पुरुष र ७ जना महिला गरी कुल २७ जना फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक कारबाही तथा जरिवाना असुलउपर गर्नका लागि कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए । प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल ४ वर्ष १५ दिन कैद सजाय भुक्तान हुन र ४८ लाख १ हजार ८ सय ८० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी चेक अनादर कसूरका १२ जना र केही सार्वजनिक अपराध कसूरका ५ जना रहेका छन् । यसैगरी अंश मानाचामल सम्बन्धी कसूरका ४ जना, लेनदेन बिगो सम्बन्धी कसूरका २ जना तथा बैंकिङ कसूरका २ जना प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान सम्बन्धी कसूर र अभद्र व्यवहार सम्बन्धी कसूरका १–१ जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको ‘पोखरा पर्यटन खेलकुद सम्मेलन’ मा वक्ताहरुले यस विषयमा जोड दिएका छन् । सम्मेलनमा वक्ताका रुपमा थिए, पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, स्काई डाइभ पाइलट यशोदा केसी थापा, प्रदेश खेलकुद परिषद्, गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशी । उनीहरुसँग पत्रकार सन्देश श्रेष्ठ छलफलमा थिए । उक्त सेसनमा वक्ताहरुले खेलकुद र पर्यटनलाई जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने तर यसका लागि नीतिगत झन्झट, महँगो यातायात र मन्त्रालयहरूबीचको समन्वयको अभाव मुख्य तगारो बनेको धारणा राखेका थिए । उनीहरुले खेलकुदलाई केवल खेलको रूपमा मात्र नभई एउटा ठूलो उद्योग र सामाजिक रूपान्तरणको माध्यमको रूपमा परिभाषित गर्नुपर्नेमा जोड दिएका थिए । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघका कोषाध्यक्ष निरञ्जन राजवंशीले विश्व बजारमा खेल पर्यटनले ओगटेको हिस्सा र नेपालको अवस्थाबारे गहिरो विश्लेषण गरे । उनले स्पोट्र्स टुरिज्मलाई ‘लक्जरी टुरिज्म’ को रुपमा व्याख्या गर्दै सामान्य पर्यटकको तुलनामा खेल पर्यटकले १० देखि १०० गुणा बढी खर्च गर्ने तथ्य प्रस्तुत गरे । राजवंशीका अनुसार थाइल्याण्डको अर्थतन्त्रमा गल्फले र भियतनामको अर्थतन्त्रमा एड्भेन्चर स्पोट्र्सले ठूलो योगदान दिएको छ भने स्वीजरल्याण्डले आफ्नो ६० प्रतिशत भूभाग ओगट्ने हिमाललाई ‘अल्पाइन टुरिज्म’ मार्फत विश्वकै महँगो गन्तव्य बनाएको छ । नेपालमा पनि त्यस्तै सम्भावना भए पनि राज्यको नीतिले साथ नदिएको उनले गुनासो गरे । विशेष गरी विदेशी पर्यटकका लागि काठमाडौंबाट पोखरा आउने हवाई भाडा अत्यन्तै महँगो हुनु र सडकको दुरावस्था हुनुले खेल आयोजनाहरूलाई असर गरेको उनको तर्क थियो । राजवंशीले भने, ‘विदेशी खेलाडी वा पर्यटकले काठमाडौंबाट पोखरा आउन सयौँ डलर खर्चनुपर्ने अवस्था रहेसम्म हामीले खेल पर्यटनबाट सोचेजस्तो लाभ लिन सक्दैनौँ, राज्यले हवाई कनेक्टिभिटी र भाडा दरमा पुनर्विचार गर्नैपर्छ ।’ उनले नेपालको एड्भेन्चर स्पोट्र्सलाई विश्व बजारमा प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड र खेलकुद निकायहरुले संयुक्त ‘स्पोट्र्स क्यालेन्डर’ बनाउनुपर्नेमा उनको सुझाव थियो । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदको परिभाषा र यसको गहिराइलाई बुझ्न जरुरी रहेको बताए । उनले खेलकुदलाई केवल पदक जित्ने वा उत्सव मनाउने माध्यम मात्र नभई यसलाई स्वास्थ्य र सामाजिक रुपान्तरणसँग जोड्नुपर्ने औंल्याए । गुरुङका अनुसार विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले प्रत्येक सात जनामा एक जना मानसिक समस्याबाट ग्रसित भएको देखाएको सन्दर्भमा खेलकुद एउटा ठूलो ओखती बन्न सक्छ । उनले भने, ‘हामीले खेलकुदलाई मनोरञ्जन मात्र ठान्यौँ, तर यो सामाजिक रूपान्तरणको अभिन्न अङ्ग हो, राज्यले यसको मर्म नबुझ्दा कुल बजेटको शून्य दशमलव ६ प्रतिशत मात्र लगानी गरेको छ, जुन अत्यन्तै न्यून हो ।’ गुरुङले राज्यका विभिन्न मन्त्रालयहरूबीच समन्वयको ठूलो खाडल रहेको पनि स्पष्ट पारे । सामाजिक विकास मन्त्रालयले एउटा कार्यक्रम गरिरहँदा पर्यटन मन्त्रालयलाई त्यसको जानकारी नहुने र दुवैले खेलकुदकै शीर्षकमा छुट्टाछुट्टै बजेट खर्चने प्रवृत्तिले प्रतिफल प्राप्त हुन नसकेको उनले बताए । गुरुङले थपे, ‘अहिलेको मुख्य चुनौती भनेकै समन्वयको अभाव हो, मन्त्रालयहरूका बीचमा ‘कम्युनिकेसन ग्याप’ छ, जसले गर्दा लगानी बालुवामा पानी हाले जस्तै भएको छ ।’ उनले निजी क्षेत्रले सञ्चालन गरेका जिमखाना र फुटबल मैदानहरूले पनि ठूलो रोजगारी सिर्जना गरेको र तिनलाई राज्यले उचित पहिचान दिनुपर्ने धारणा राखे । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखराको पर्यटनमा खेलकुदको भूमिका महत्वपूर्ण भए पनि पूर्वाधार विकासमा राज्य सुस्त देखिएको बताए । मुग्लिन–पोखरा सडकको अवस्थाले पर्यटकको बसाइ र आगमन दुवैमा गम्भीर असर पारेको उनको भनाइ थियो । भट्टराईका अनुसार पोखरामा धेरै अन्तर्राष्ट्रिय स्तरका खेलहरू हुने सम्भावना भए पनि ती खेलहरूका लागि आवश्यक पर्ने पूर्वाधार र सरकारी सहयोगको कमी छ । उनले भने, ‘पोखरा आफैँमा एउटा ’एयर कन्डिसन सिटी’ हो, यहाँको मौसम खेलकुदका लागि विश्वकै उत्कृष्ट छ, तर हामीले यसलाई ब्रान्डिङ गर्न सकेनौँ ।’ भट्टराईले पोखरामा आयोजना हुने म्याराथन, ट्रायथलन जस्ता खेलहरूलाई विश्वभर चिनाउनका लागि स्थानीय तह र प्रदेश सरकारले एउटा छुट्टै ‘स्पोट्र्स डेस्क’ स्थापना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कतिपय अवस्थामा पोखरामा ठूला अन्तर्राष्ट्रिय खेलहरू भइरहँदा पनि पर्यटन सम्बद्ध संस्थाहरूलाई पत्तै हुँदैन, समन्वय नहुँदा हामीले विदेशी पर्यटकलाई ती खेलहरूमा सहभागी गराउन वा देखाउन चुकिरहेका छौँ ।’ उनले आन्तरिक पर्यटन नै अहिलेको मुख्य आधार भएको र नेपालीहरूले पनि खेलकुदमा ठूलो खर्च गर्न थालेकाले उनीहरूलाई लक्षित गरी प्याकेजहरू ल्याउनुपर्ने बताए । साहसिक खेल स्काई डाइभकी पाइलट यशोदा केसी थापाले नेपालमा साहसिक पर्यटनका लागि स्काई डाइभिङ एउटा बलियो माध्यम बन्न सक्ने तर यसका लागि राज्यको नीति अत्यन्तै संकुचित रहेको अनुभव सुनाइन् । उनले थाइल्याण्डमा सिकेको सीपलाई नेपालमा प्रयोग गर्न खोज्दा कानुनी र नीतिगत बाधा व्यहोर्नुपरेको बताइन् । थापाले भनिन्, ‘हामीले उपकरणहरू विदेशबाट ल्याउनुपर्छ, जसमा सरकारले चर्को कर लगाउँछ, अर्कोतिर नागरिक उड्डयन प्राधिकरणले हामीलाई १५–१५ दिनको अस्थायी अनुमति मात्र दिन्छ, यस्तो अवस्थामा कसरी ढुक्क भएर व्यवसाय गर्ने ?’ स्काई डाइभिङ अत्यन्तै महँगो खेल भएकाले यसलाई सर्वसुलभ बनाउन राज्यले विशेष सहुलियत दिनुपर्ने उनको माग थियो । उनले बताए अनुसार यदि स्काई डाइभिङलाई प्याराग्लाइडिङ जस्तै नियमित र सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बन्ने हो भने पोखरामा विदेशी पर्यटकको बसाइ लम्ब्याउन धेरै मद्दत पुग्छ । थापाले थपिन्, ‘स्काई डाइभिङका लागि नेपालको आकाश र दृश्य संसारकै उत्कृष्टमध्येमा पर्छन्, तर हामीले राज्यलाई यसको महत्व बुझाउन सकेका छैनौँ, नीतिगत सुधार भएमा यसले हजारौँको रोजगारी र लाखौँको विदेशी मुद्रा आर्जन गर्न सक्छ ।’ छलफलको समापन गर्दै सहजकर्ता सन्देश श्रेष्ठले प्यानलिस्टहरूका कुराले खेल पर्यटनको विकासका लागि स्पष्ट र दीर्घकालीन सरकारी नीति; गुणस्तरीय भौतिक पूर्वाधार; र सबै सरोकारवाला निकायहरुबीचको प्रभावकारी समन्वय अनिवार्य रहेको निष्कर्ष निकाले । उनले भने, ‘हामीले सम्भावना मात्रै भनिरह्यौँ तर ती सम्भावनालाई अवसरमा बदल्ने ठोस योजना बनाउन सकेनौँ, अबको समय भनेको ‘एक्सन’ को हो ।’ पोखरालाई विश्वको खेल पर्यटन मानचित्रमा स्थापित गर्न निजी क्षेत्रको उत्साहलाई राज्यले नीतिगत सहजता र पूर्वाधार विकासमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरुको भनाइ छ । यसो गर्न सकेमा मात्र खेल पर्यटन नेपालको अर्थतन्त्रको बलियो खम्बा बन्न सक्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा प्रमुख वक्ताका रुपमा पोखरा विश्वविद्यालयका स्कुल अफ विजनेश डा. उमेशसिंह यादवले गण्डकी प्रदेशमा खेलकुद पर्यटनको संभावना, चूनौति र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सविन मेमोरियललाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै मेजर एफसीले नगद रु ९१ हजार, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको सविन मेमोरियलले नगद रु ५१ हजार, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट सर्वाेत्कृष्टसँगै सर्वाधिक गोलकर्ताका रुपमा मेजर एफसीका भोला सिलवाल पुरस्कृत बने । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै दिव्यशक्ति गुरुङ घोषित भए । कुल १९ टिमको सहभागिता रहेको प्रतियोगितामा ए डिभिजन फुटबल खेलाडी जिवन गुरुङका धर्मपत्नी सरिता गुरुङको उपचारका लागि आर्थिक सहयोगसमेत संकलन गरिएको प्रतियोगिता संंयोजक दिपक गुरुङ (मेजर) ले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, समाजसेवी तथा पुरस्कारदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी सामुदायिक होमस्टेका प्रतिनिधिहरू आफ्ना मौलिक संस्कृति, पहिचान र रैथाने स्वादसहित सहभागी भएपछि बन्दीपुरमा पर्यटकीय चहलपहल फेरिएको छ । नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एव भिटोफ को सह आयोजना सुरु भएको मेलामा ग्रामीण जीवनशैली, स्थानीय उत्पादन र परिकारहरूको समृद्ध झलक प्रस्तुत गरिएको छ । मेलाको पहिलो दिन छिमेकी जिल्लाहरूबाट आएका आन्तरिक पर्यटकहरूको उल्लेख्य उपस्थिति रहँदा बन्दीपुर बजार उत्सवमय बनेको छ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गण्डकीका विभिन्न जिल्लाबाट आएका पाहुना र पर्यटकहरूको सहभागिताले बन्दीपुर यतिबेला ‘मिनी गण्डकी प्रदेश’ जस्तै देखिएको बताए । “हामीले बन्दीपुरको पुरानो शाखलाई कायम राख्दै ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले यो मेला आयोजना गरेका हौँ,“ उनले भने । मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, लोपोन्मुख कौरा नाच, सोरठी र घाटु नाच प्रस्तुत गरिएका छन् । प्रदर्शनीमा राखिएका ३० भन्दा बढी स्टलहरूमा ग्रामीण भेगका अर्गानिक कृषि उत्पादन र हस्तकलाका सामग्रीहरूले पर्यटकको ध्यान खिचेका छन् । पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेले यस्ता मेलाले ग्रामीण होमस्टे र सहरका पर्यटन व्यवसायीबीच सिधा सम्बन्ध स्थापित गर्ने विश्वास व्यक्त गरे । मेलाको दोस्रो दिन शनिबार ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ विषयमा विशेष प्यानल छलफल आयोजना गरिँदै छ । उक्त बहसमा टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, पर्यटनविद् आशुतोष प्रधान, डा. अनु कुमारी लामा र होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाशचन्द्र गुरुङले बहस गरेका छन् । यस्तै, ‘कस्तो गाउँ ? कस्तो सहर !’ शीर्षकको अर्को संवादमा वरिष्ठ पर्यटन व्यवसायी भरत बस्नेत, टीकाराम सापकोटा, तारानाथ पहारी र सम्पादक आर. के. अदिप्त गिरीबीच बहस हुनेछ । बन्दीपुरलाई काठमाडौं, पोखरा र सौराहा जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूको केन्द्र (हब) का रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । ढुङ्गाले छापिएका कलात्मक घर, मौलिक संस्कृति र हिमशृङ्खलाको मनोरम दृश्यका लागि प्रसिद्ध बन्दीपुरमा आयोजित यस मेलाले समग्र ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा दिने आयोजकको अपेक्षा छ ।
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रबार देखिए । होटल स्रोतका अनुसार उनीहरू होटल परिसरमा रहेको ‘छु मी’ रेस्टुरेंटमा भोजन गर्न आएका थिए । उनिहरुको आगमनले एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको होटल स्रोतले जनाएको छ । “शुक्रबार अपराह्न हाम्रो लागि विशेष बन्यो, जहाँ हामीले पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह तथा शाही परिवारलाई आत्मीय भोजन अनुभव प्रदान गर्ने अवसर पायौं,” होटलले भन्यो । भोजनपछि पूर्व राजा शाहले रेस्टुरेन्टको आतिथ्यता, सेवा तथा वातावरणप्रति सन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ। उनले पोखराको आतिथ्य संस्कृतिलाई प्रशंसा गर्दै यस्तो स्तरका सेवाले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने संकेत गरेका बताइएको छ। पूर्व राजपरिवारले शान्त र निजी वातावरणमा चिनियाँ परिकारको स्वाद लिँदै पारिवारिक समय बिताएका थिए। अंशुवरा ग्रुपको लगानी रहेको ३१ पार्क होटल परिसरमा अवस्थित ‘छु मी चाइनीज रेस्टुरेन्ट’ पोखरामा गुणस्तरीय चिनियाँ खानाका लागि परिचित रहँदै आएको छ। पोखरामा उच्चस्तरीय अतिथि आगमनले समग्र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। विशेषगरी ३१ पार्क होटलजस्ता आतिथ्य सेवा प्रदायक संस्थाहरूले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्दै पोखरालाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यस्ता उच्चस्तरीय भ्रमण र सकारात्मक प्रतिक्रियाहरूले पोखराको छवि अझ सुदृढ बनाउन मद्दत पुर्याउनेछ। निजी तथा अनौपचारिक भए पनि पूर्व राजपरिवारको उपस्थिति र उनीहरूले दिएको सन्देशले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

