सुनसरी:  कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन्।  आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबा...

पोखरा:  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ अन्तर्गत आयोजित प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताएका छन्। अन्तर्राष्ट्रिय नारा (UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS) तथा राष्ट्रिय नारा “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” सहित मनाइएको कार्यक्रममा मन्त्री थापाले नेपाली जनताले दशकौँ लामो राजनीतिक आन्दोलन र संघर्षको जगमा महिलाका अधिकार तथा सशक्तीकरणका क्षेत्रमा प्राप्त प्रगतिलाई ऐतिहासिक उपलब्धि बताए। “नेपालमा तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायहरूमा महिलाको सहभागिता निरन्तर बढिरहेको छ, जुन विश्वकै लागि प्रेरणादायी उदाहरण हो ।”, उनले भने । समानता, समावेशिता र सहभागितामूलक शासन प्रणालीलाई नेपालको संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री थापाले महिलाविरुद्धको हिंसा उन्मूलनमा कानुनको प्रभावकारी कार्यान्वयन अत्यन्त जरुरी रहेको बताए। देशभर बोक्सी प्रथा, छाउपडी, दाइजो, तिलक तथा छुवाछुत जस्ता कुसंस्कार आज पनि समाप्त हुन नसकेको उल्लेख गर्दै उनले यस्तो सामाजिक अन्धविश्वासका कारण धेरै महिलाहरू हिंसा, विभेद र अपमान सहन बाध्य रहनु परेको बताए। उनले थपे, “हिंसा अन्त्यका लागि परिवार र समुदाय स्तरमै चेतना वृद्धि गर्न निरन्तर अभियान चलाउनुपर्छ ।” डिजिटल प्रविधिबाट बढिरहेका दुव्र्यवहार र अनलाइन हिंसाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री थापाले प्रविधिको सुरक्षित र सकारात्मक प्रयोग आवश्यक रहेको बताए। कार्यक्रममा कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र अवसरयुक्त बनाउनु नै हिंसा रोकथामको मूल आधार भएको उल्लेख गरिन् ।  राज्य, समाज, नागरिक समाज, संघ–संस्था र महिला अधिकारकर्मीबीचको  मजबुत सहकार्यले नै समस्याको समाधान हुने भनाई उनको छ । मानव अधिकार आयोग गण्डकी प्रमुख नितु पौडेलले १६ दिने अभियानले सबै सम्बद्ध पक्षमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा थपेको बताइन् । “हामी सबै मिलेर महिलाविरुद्धका सबै प्रकारका हिंसा, विभेद, उत्पीडन, अन्धविश्वास र कुसंस्कार अन्त्य गर्दै समानता र न्यायमा आधारित समुन्नत समाज निर्माणतर्फ अघि बढ्नुपर्छ।”, उनले भनिन् । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दिनेश कुमार आचार्यले लैङ्गिक हिंसामुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी मात्र नभई भविष्यका पुस्ताप्रतिको कर्तव्य पनि भएको बताए । उनले हिंसा नियन्त्रणका लागि प्रहरीले समाज सँग मिलेर काम गरिरहेको उल्लेख गरिन् ।   गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीले समाज परिवर्तनका लागि सकरात्मक सोचको आवश्यकता रहेको बताइन् । लैङ्गिक हिंसा अन्त्यका लागि प्रविधिको सही प्रयोग गर्दै सकरात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकतालाई औंल्याइन् ।  प्रदेशका विभिन्न सरकारी निकाय, सामाजिक संघ–संस्था, नागरिक समाजका प्रतिनिधि तथा महिला अधिकारकर्मीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा गैसस महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, मन्त्रालयका महाशाखा प्रमुख प्रकाश देवकोटाले बोलेका थिए । 

तनहुँ:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि राजनीतिक दल, नागरिक समाजलगायत सरोकार भएका निकायले एकापसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ । जिल्लाको व्यास नगरपालिका–१ स्थित रतौली टोल विकास संस्थाद्वारा जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा सोमबार उहाँले मुलुकको विकासका लागि सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य गरी अआपसी सहकार्य बढाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  “जिल्लालाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीयवासीले देखाएको कार्य अनुकरणीय छ”, उहाँले भन्नुभयो, “सबै कुरा सरकारले मात्रै गर्न सक्दैन्, आफ्नो क्षेत्रको विकासका लागि राजनीतिक दल, आमनागरिक पनि एकजुट भएर लाग्न आवश्यक छ ।”  जेनजी आन्दोलनपछि मुलुक नयाँ मोडमा गएको चर्चा गर्दै डा वाग्लेले राजनीतिमा देखिएको विकृतिलाई सङ्ल्याउँदै अघि बढ्न आफ्नो पार्टीले पटकपटक प्रतिनिधिसभामा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्नुभयो । युवा विदेश पलायन हुनेलाई न्यूनीकरण गर्दै स्वदेशमा बसेर गरिखाने वातावरण सिर्जना गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा डा वाग्लेले धर्मशाला निर्माणार्थ रु २५ हजार सहयोग गर्नुभएको थियो । महायज्ञका मूल पण्डित कपिलदेव भट्टले वाग्लेलाई टीका, दोसल्ला र प्रमाणपत्रले सम्मान गनुभयो ।  धर्मशाला, होम कुण्ड र शिवलिङ्ग कुण्ड निर्माण गर्ने उद्देश्यले यही मङ्सिर ६ देखि १३ गतेसम्म महायज्ञको आयोजना गरिएको महायज्ञका मूल समारोह समितिका संयोजक अभिमानसिं बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञबाट करिब रु दुई करोडभन्दा बढी दान सङ्कलन गर्ने अपेक्षा गरिएको छ ।

मुस्ताङ:  मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा ११ करोड ८४ लाख ७५ हजार ४०० बराबरको आलु उत्पादन वृद्धि भएको जनाइएको छ । केन्द्रका अनुसार चालु आवमा प्रतिहेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो । गत वर्षभन्दा चालु वर्ष आलु उत्पादनको क्षेत्र १८ हेक्टर वृद्धि भएको हो । त्यसैगरी, गत वर्षको तुलनामा चालु आवमा यहाँ प्रतिहेक्टर करिब दुई मेट्रिक टन आलु उत्पादन वृद्धि भएको छ । चालु आवमा जिल्लाका किसानले फार्म गेट औसत मूल्य प्रतिकेजी ६५ मा बिक्री भएकाले सोहीअनुसार कुल उत्पादन मूल्यको लेखाजोखा गरिएको केन्द्र प्रमुख गुरुङको भनाइ छ । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको संयुक्त समन्वय र सहकार्यमा स्थानीय तहका कृषि प्राविधिकको उपस्थितिमा गरिएको क्रप कटिङ विधिबाट आलु उत्पादनको लेखाजोखा गरिएको उनले बताए । उनका अनुसार माथिल्लो मुस्ताङ, मध्यमुस्ताङ र तल्लो मुस्ताङलाई तीन क्षेत्रमा विभाजन गरी त्यहाँका विभिन्न आलु उत्पादनकर्ता किसानको खेतबारीमा पुगेर धेरै फल्ने, मध्यम फल्ने र कम फल्ने आलुको उत्पादन तथ्याङ्क सङ्कलन गरी औसत उत्पादनको मापन गरिएको छ । गत वर्ष जिल्लाका पाँच स्थानीय तहमा गरी कुल चार सय ६० हेक्टर क्षेत्रमा आठ हजार ४९६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष यहाँ प्रतिहेक्टर १८ दशमलव ३८ प्रतिशत आलु उत्पादन भएको थियो । केन्द्रका अनुसार गत वर्षको तुलनामा चालु वर्षमा १३ दशमलव ७६ प्रतिशत स्याउ उत्पादन भएको छ । त्यसैगरी, गत वर्ष चालु वर्ष एक हजार १६९ मेट्रिक टन आलु उत्पादन वृद्धि भएको केन्द्र प्रमुख गुरुङले बताए । गत वर्ष मुस्ताङमा प्रतिकेजी ६० मा आलु बिक्री भएकामा चालु वर्ष पाँच वृद्धि भई ६५ मा बिक्री भएको उनको भनाइ छ । चालु आवमा यहाँका पाँच स्थानीय तहमा उत्पादन भएको आलुमध्ये  ६० प्रतिशत जिल्ला बाहिर, ३० प्रतिशत जिल्लाभित्र र १० प्रतिशत बीउ प्रयोजनका रूपमा खपत भएको हो । यहाँ घरायसी प्रयोजन र होटल रेष्टुराँमा एकतिहाइ आलु खपत हुने गरेको केन्द्र प्रमुख गुरुङले जानकारी दिए । यहाँ स्याउबालीभित्र अन्तरबालीका रूपमा पनि आलुखेती गर्ने गरिएको छ । हिमाली जिल्ला उच्च भूगोलको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो हुन्छ । मुस्ताङको आलु तरकारी, उसिनेर तथा साँधेर खाने प्रचलन छ । यहाँ उत्पादन गरिने लोकल सेतो आलु सहरबजारका उपभोक्ता तथा जिल्लामा आएका पर्यटकले औधी रुचाउने गर्छन् । सहरबजारका थकाली भान्साघर होस् वा ठूला तारेहोटलमा किन नहोस् मुस्ताङी आलु आमउपभोक्ता माझ स्थापित भइसकेकाले पनि मुस्ताङी आलुको माग अधिक छ । पछिल्लो समय कोरला सडक सहज हुँदै जान थालेपछि मुस्ताङी स्याउपछि आलुको माग बढेको घरपझोङ–४ जोमसोमका किसान अजित थकालीले बताए ।

तनहुँ:  बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।” उहाँका अनुसार वैशाखमा तीन हजार २९७, जेठमा तीन हजार ३४२, असारमा दुई हजार ७६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार ८३२, असोजमा तीन हजार ७८६ र कात्तिकमा चार हजार ६२७ जनाले भ्रमण गरेका छन् । त्यसैगरी, आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । वैशाखमा एक हजार ८९८, जेठमा दुई हजार १३५, असारमा दुई हजार ११५, साउनमा दुई हजार ४५१, भदौमा एक हजार ९८२, असोजमा पाँच हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् । कात्तिक र मङ्सिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको सङ्ख्या ह्वात्तै बढेको देख्न सकिन्छ । विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।  यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्, उहाँले भन्नुभयो ।

काठमाडौं:  मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । उहाँले मङ्गलबारदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उहाँ नियुक्त हुनुभएको थियो । मुख्यसचिवका रूपमा उहाँले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गर्नुभयो । उहाँको कार्यकालमा नीतिगत एवम् कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।  जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले स्पष्ट पार्नुभयो । यस्तै, अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ । एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उहाँको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो । त्यस्तै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ । योसँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ । उहाँको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ । उहाँको कार्यकालमा अन्तर्राष्ट्रिय सहभागितासहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ । 

गलकोट:  बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आउनुभएको छ । बाह्र वर्षयता विमानस्थलको रेखदेख गर्दै आउनुभएकी सविताको काँधमा भौतिक सम्पत्तिको संरक्षणदेखि सरसफाइसम्मको जिम्मेवारी छ । सुनसान विमानस्थलमा एक्ली कर्मचारीका रूपमा उहाँ कार्यरत हुनुहुन्छ । बागलुङको बलेवा विमानस्थलमा २०४८ सालसम्म धुलो उडाउँदै नियमित विमान अवतरण र उडान भए पनि त्यसयता नियमित सञ्चालनमा आउन सकेको छैन ।  बागलुङ पोखरा राजमार्ग विस्तार भएपछि यात्रु अभावमा विमानस्थल बन्द भयो । स्थानीयले जग्गा खनेर २०२२ सालमा निर्माण गरेको  विमानस्थल  चलाउन पहल भने नभएको होइन । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थल अहिले सुनसान छ ।   बन्द भएको विमानस्थलमा समयसमयमा चाटर्ड उडान भने भइरहन्थे । करिब २६ वर्षपछि बागलुङ नगरपालिकाले विमानस्थल सञ्चालनमा ल्याउने प्रयास थालेसँगै नगरपालिकाको संयोजनमा विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा आएको थियो ।  नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना हिउँदमा धसलाम्मे र बर्खामा हिलाम्मे धावनमार्गमा उडानसमेत भरेका थिए । त्यसपछि विमानस्थल बन्द भयो र धावनमार्ग कालोपत्र थालियो । तर धावनमार्ग कालोपत्र भएको चार वर्ष बित्नै लागे पनि कालोपत्र धावनमार्गमा एकपटकसमेत जाहाज आउन सकेको छैन ।  बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछि विमानस्थल सञ्चालनमा ल्याउन हप्तामा दुई दिन उडान भर्ने र यात्रु अभाव हुँदाको भाडा नगरपालिकाले व्यहोर्ने सम्झौता गरेपछि केही महिना सञ्चालनमा आएको विमानस्थल धावनमार्ग पक्की बनेपछि ठप्प बनेको हो ।  कालोपत्र भएर चिटिक्क बनेको विमानस्थलमा अहिलेसम्म परीक्षण उडानसमेत नभएको बागलुङ नगरपालिका–१४ नारायणस्थानका वडाध्यक्ष एवं बागलुङ नगरपालिकाका प्रवक्ता चक्रबहादुर खत्रीले बताउनुभयो । उहाँले बलेवाका स्थानीय अझै जहाज आउनेमा आशावादी रहेको बताउँदै पटकपटक जहाज चलाउन पहल भए पनि सार्थकता पाउन नसकेको उल्लेख गर्नुभयो । “पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई विमानस्थल अवलोकनसमेत गराइयो, धुलो उडाउँदै उड्ने जहाज कालोपत्र हुँदा आएनन्, विमानस्थलमा उपकरण चुस्त र सुरक्षित छन्”, खत्रीले भन्नुभयो, “राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रको चरणमा रहेकाले कालोपत्र भइसक्दा यात्रु सहज ढङ्गले विमानस्थलमा आउने वातावरण भएमा विमानस्थल चल्न सक्छ, नगरपालिकाले विमानस्थललाई पाइलट प्रशिक्षण केन्द्र तथा अल्ट्रालाइटजस्ता शाहसिक उडानका लागि पहल गरिरहेको छ ।” पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले विमानस्थल चलाउन पहल गर्ने भनिए पनि निजी क्षेत्रका एयरलाइन्सले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्ने गरेको बताउनुभएको खत्रीले जानकारी दिनुभयो ।  धावनमार्ग कालोपत्र, तारबार, टावर मर्मत तथा विमान पार्किङ लगायतको काम सम्पन्न भएको चार वर्ष बित्दा परीक्षण उडान हुन नसक्नु दुःखद् भएको बागलुङ नगरपालिकाका पूर्वनगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।  “हाम्रो पालामा कालोपत्र भएको विमानस्थल चलाउन अहिलेको जनप्रतिनिधिले पल गर्न आवश्यक छ । तत्कालीन अवस्थामा आफूले नगरपालिकाको रु १० लाख धरौटी राखेर विमानस्थल चलाइएको हो । धावनमार्ग कालोपत्रपछि अहिलेको जनप्रतिनिधिले विमानस्थल चलाउन पहल गरेका छैन”, उहाँले भन्नुभयो ।  उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्यभागमा पर्ने विमानस्थलको पर्यटकीय रूपमा पनि सम्भावना भए पनि विमानस्थल चलाउन नसकिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले स्वीकार गर्नुभयो ।  उहाँले नगरपालिकाको पहलले मात्रै विमानस्थल चलाउन समस्या हुने बताउँदै सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा मात्रै विमानस्थल सञ्चालन गर्न सकिने धारणा राख्नुभयो । विमानस्थलको ७०० मिटर लामो धावनमार्ग कालोपत्र गरेर चिटिक्क पारे पनि अहिलेसम्म जहाज आउन नसकेको उहाँको भनाइ छ । चौबिस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । विमानस्थल हवाइजहाजको पर्खाइम चार वर्ष बितिसकेको छ । नागरिक उड्डयन प्राधिकरणले रु आठ करोड खर्चेर चार वर्षअघि मात्रै विमानस्थल कालोपत्र तथा अन्य पुराना पूर्वाधार मर्मत गरेको थियो । विमानस्थलमा गरेको लगानी जहाज नआउँदा बालुवामा पानी जस्तै भएको राम शर्माले बताउनुभयो । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज सञ्चालन हुने सक्छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई सुविधा पुग्नेछ । कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक पर्दछ । उक्त सडक कालोपत्रको चरणमा छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र सम्पन्न भएपश्चात् विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला निकाय बताउँछ । 

काठमाडौं:   आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । आयोगका अनुसार यही मङ्सिर १ गते १२, मङ्सिर २ गते पाँच, मङ्सिर ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए । सोमबार नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०, तराई–मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी, जनादेश पार्टी, नेपाल दर्ता भएका थिए । आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएकामा निर्वाचन प्रयोजनका लागि बुधबारसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

पोखरा:  लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरेकोे छ ।  पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर ८ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए । अन्य व्यवसायीहरुका लागी भने दोश्रो चरणमा मंसिर १५ गतेबाट स्टल बुकिङ खुल्ला गरिने थापाले बताए । यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि “महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानिय उत्पादनका स्टललाई प्राथमिकता दिईने र स्वदेशी उत्पादनहरुको प्रर्वद्धनको लागी मेड ईन नेपाल अन्र्तगत केही स्टलहरुको व्यवस्थापन गरिने संयोजक थापाले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले हालको विषम परिस्थितिका कारण शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक ध्रुबवावु भटृराईले बताए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल, पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

पोखरा:  दशौं मिस तामाङ पोखरा–२०२६ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ । तयारीका लागि पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइहरू बीच छलफल कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष मिस तामाङ पोखरा हुने गर्दछ । बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु)  ले महिला शिक्षित भए परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भए समाज र देश शिक्षित हुन्छ भन्ने अवधारणालाई मिस तामाङ प्रतियोगितासँग जोडेर व्यक्त गरे ।   नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसीले नारी शिक्षाले घर–समाज र देशलाई समृद्ध बनाउने भन्दै नारी क्षमता विकास, नेतृत्व निर्माण र आत्मविश्वास वृद्धि मिस तामाङ पोखराले पु¥याउँदै आएको योगदानमा जोड दिए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो पहिचान, प्रतिभा र सांस्कृतिक ज्ञान सहित अगाडि बढ्ने अवसर दिलाउने यो कार्यक्रम समुदायको सम्पत्ति हो भने । उनले यदि हामीले आफ्ना परम्परा, कला, भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण नगर्ने हो भने मौलिकता नै हराउने खतरा रहेकोमा जोड दिए । वक्ता र सहभागीहरूले मिस तामाङ प्रतियोगिता केवल सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक संरक्षण, नेतृत्व क्षमता विकास, र समुदायको अन्तरपीढीगत सम्बन्ध मजबुत पार्न महत्वपूर्ण माध्यम भएको बताएका छन् । छलफलमा संयोजक रोशिला ब्लोन,  तामाङ बौद्ध सेवा समितीका अध्यक्ष विष्णु तामाङ , तामाङ घेदुङ पोखरा महानगरका कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कार्यक्रमका कोरियोग्राफर जिता लामा लगायतले मिस तामाङ पोखराको महत्व, यसको सांस्कृतिक योगदान र प्रतिभा उजागर गर्ने भूमिकामाथि आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।    माघको ३ गते पोखरामा हुने मिस तामाङ पोखरा–२०२६ मा पोखराका अभिभावक र तामाङ समुदायलाई आफ्ना छोरी–चेलीलाई सहभागी गराई नयाँ कुरा सिक्ने, आत्मविश्वास बढाउने र क्षमता उजागर गर्ने उत्कृष्ट अवसर दिन बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले अनुरोध गरेको छ ।