पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सो समितिको वरिष्ठ उपाध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा सुबेदार मेज मन्त्रीजंग गुरुङ, सचिवमा सुबेदार मेजर अनेरी क्याप्टेन मन्त्रीजंग गुरुङ, सहसचिवमा सपना गुरुङ, कोषाध्यक्षमा क्याप्टेन जमबहादुर गुरुङ र सहकोषाध्यक्षमा सुबेदार जयबहादुर गुरुङ चयन भए । त्यस्तै सदस्यहरूमा क्याप्टेन भक्तराज गुरुङ, हवल्दार दिलबहादुर गुरुङ, हेमबहादुर गुरुङ, रूपबहादुर गुरुङ, नैना सिंह गुरुङ, देवबहादुर गुरुङ, शकुन्तला गुरुङ, मेघबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, हवल्दार डिलबहादुर गुरुङ, सुबेदार उमरजंग गुरुङ, सुबेदार ईरबहादुर गुरुङ र शेरबहादुर गुरुङ चयन भए । यसअघि कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एकताको सुुत्रमा बाँध्न समाजको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन् । उनले एकतामा शक्ति हुने बताउँदै भनिन्, ‘हामी समाजको शक्तिलाई विश्वास गर्ने समुदाय हो । त्यसैले समाजको एकता आजको आवश्यकता हो ।’ अधिवेशनले अनुराधा गुरुङको अध्यक्षतामा १५ सदस्यीय महिला उपसमिति र थमन गुरुङको अध्यक्षतामा १५ सदस्यीय युवा उपसमिति पनि सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमिति, महिला उपसमिति र युवा उपसमितिका पदाधिकारी तथा सदस्यहरूले अधिवेशनकै क्रममा सपथ ग्रहण गरे । कास्कीको मादी गाउँपालिका–२, ताङतिङ स्थायी घर भई पोखरामा बसोबास गर्दै आएका तमु समुदायका व्यक्तिहरूद्वारा स्थापित ताङतिङ दूधपोखरी तमु समाजले पोखरामा रहेका ताङतिङबासीबीच आपसी एकता, सहकार्य, सामाजिक सद्भाव तथा विभिन्न सामाजिक गतिविधिलाई अघि बढाउँदै आएको छ । नवनिर्वाचित अध्यक्ष चन्द्रमाया गुरुङले समाजलाई थप उचाइमा पुर्याउन अनवरत कसरत गर्ने प्रतिबद्धता जनाएकी थिइन् । महिलाको नेतृत्वसँगै समाजका गतिविधिमा महिला तथा युवाको सहभागिता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको उपचारका क्रममा मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिका–९ का २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी नगरपालिका–४ हर्रे आइपुग्दा बेहोस भएका थिए । उनी बेहोस भएको जानकारी चालक घिसिङले प्रहरीलाई दिएपछि निजको उद्धार गरिएको थियो ।
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर रावतका अनुुसार भारतबाट भन्सार छली ल्याइएका रु २५ हजार बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका– २ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन् । का सामान पनि स्थानीय टेडुवा प्रहरीचौकीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । यसैबीच, जुवाको खालबाट आठ जना पक्राउ परेका छन् । उनीहरूबाट नगद रु ५५ हजार पनि बरामद भएको छ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९००ले वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।
पोखरा: सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् । फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले नगद २५÷२५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् । स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुमाजूद्वारा स्थापित यो पुरस्कार फोनिजको २७ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले बिहीबार अर्पण गरेको हो । कार्यक्रमका कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले जिल्ला प्रशासन र पत्रकार एकआपसमा जोडिएको बताए । जिल्लाका कतिपय संवेदनशील विषयमा पत्रकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पुरस्कृत पत्रकार खेम सारु मगरले जीवनको आधा समय पत्रकारिता क्षेत्रमा व्यतित गरिरहँदा यो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु आफ्नो लागि अहोभाग्य रहेको बताए । त्यस्तै अर्का सम्मानित व्यक्ति जिटीले पत्रिका वितरकको रुपमा काम गर्दागर्दै पत्रकारिता क्षेत्रमा जोडिदा यो पुरस्कारले यही क्षेत्रमा अझै केही अगाडि बढ्ने प्रोत्साहन मिलेको बताए । कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङ, नवनियुक्त पोखरा प्रज्ञा प्रतिष्ठान उपकुलपति तिलप्रसाद पुन “तिलक”, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कमलप्रसाद पौडेल, पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य, लेखक, फोनिजका सदस्य रवीन्द्र माकाजू, पुरस्कारदाता बिमलमान गुभाजूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठान कास्कीका परिषद् सदस्य रवीन्द्र माकाजूले स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूका विषयमा जानकारी गराएका थिए । त्यस्तै गण्डकी प्रदेश फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङले सम्मानित प्रतिभा परिचय दिएकी थिइन् । सम्मानित पत्रकार सारु विगत ३ दशक यता कास्कीको पोखरा तथा जिटी स्याङ्जामा विगत २ दशक यता पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् । यसभन्दा अगाडि यो पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा मगर, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बाग्लुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केवी राना मगर, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरका कमला राना मगर र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसकेका छन् । फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरज थापामगरले सञ्चालन गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो । “हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नति गर्ने गरी प्रस्ताव गरिएको छ”, सापकोटाले रासससँग भन्नुभयो । गुनासोकर्ताले सोझै सम्वन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कारबाहीको जानकारी लिन सक्नेछन् । यस्तै, सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित निकायमा पठाउन सकिनेछ । प्रगति अनुगमन गर्ने तथा सेवाग्राहीलाई जानकारी दिने प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार सरकारी कल सेन्टरलाई अन्तरआबद्ध गर्ने अवधारणा पनि अघि सारिएको छ । जसअनुसार निःशुल्क टेलिफोन नम्बर ११११ मा आएको गुनासोको विषयअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गरिनेछ । “सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा गुनासोका लागि गरिएको कल पुनः हेलो सरकारमा फर्कने व्यवस्था प्रस्ताव गरिएको छ । यसबाट नागरिकले एउटै विषयमा पटक–पटक विभिन्न कार्यालय गुनासो र सुझावका लागि धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो । योजनामा सेवाग्राहीले यसअघि गरेका गुनासोको विवरण, त्यसको अवस्थालगायत अभिलेख पनि प्रणालीमा देखिने व्यवस्था प्रस्ताव गरिएको छ । एउटै व्यक्तिले एउटै विषयमा पटक–पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गर्ने व्यवस्था पनि गरिने भएको छ । उहाँका अनुसार हालै ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन’ तयार पारिएको छ । उक्त दिग्दर्शनले सङ्घ, प्रदेश, स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने व्यवस्था प्रस्ताव गरेको छ । साथै गुनासो सुनुवाइका लागि समयसीमा निर्धारण गर्दै अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यति मात्रै होइन, गुनासो समाधान भइसकेपछि गुनासोकर्तालाई प्रणालीमार्फत समाधान भएको विषयको जानकारी गुनासोकर्ता कहाँ पुग्ने र समस्या समाधान भएको हो वा होइन भन्ने विषयमा गुनासोकर्ताबाट पृष्ठपोषण लिएर मात्रै गुनासो फछ्र्यौट हुने व्यवस्था गरिएको छ । हेलो सरकारका अनुसार यी सुधार विषय कार्यान्वयनमा आएपछि हेलो सरकारलाई नागरिक गुनासोमात्र दर्ता केन्द्रमा सीमित राखिने छैन । नागरिकका गुनासो व्यवस्थापनका सवै चरणमा प्रभावकारी रूपमा कार्य गर्ने, राष्ट्रिय समस्याको विद्यमान स्थितिको यथार्थ अवस्था झल्काउने, सरकारलाई नीति निर्माणको आधार र पृष्ठपोषण दिने एवम् सुशासन र शासकीय सुधारको दिशानिर्देशको गर्ने माध्यमका रूपमा हेलो सरकार बन्नेछ । एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा हेलो सरकारमा गत आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा आव २०८२÷८३ मा बढेर ६९ हजार ७२४ पुगेका छन् । अर्थात् गत आवमा मात्रै ५३ हजार १५६ गुनासा थपिएका छन् । उपसचिव सापकोटाका अनुसार वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको उल्लेख गर्दै यो सरकारप्रतिको विश्वास र भरोसा भएको उल्लेख गर्नुभयो । सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा बढेको उहाँको भनाइ छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्दा हेलो सरकारमा एक लाख २४ हजार ५८१ गुनासा दर्ता भएका छन् । तीमध्ये २०८२÷८३ मा मात्रै ६९ हजार ७२४ गुनासा प्राप्त भएका छन् । जुन पाँच वर्षको कुल गुनासाको करिब ५६ प्रतिशतले बढी हो । आव २०७८÷७९ देखि २०८१÷८२ सम्म चार वटा आर्थिक वर्षमा कुल ५४ हजार ८५७ गुनासा प्राप्त भएका थिए भने गत आवमा मात्रै ६९ हजार ७२४ वटा गुनासा प्राप्त भएका छन् । तीन महिनामा ५० हजारभन्दा बढी गुनासा हेलो सरकारमा पछिल्ला करिब तीन महिनामा ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन् । कार्यालयका अनुसार उक्त अवधिमा कुल ५० हजार ७२१ गुनासा प्राप्त भएकामा ३९ हजार १७७ गुनासाको समाधान गरिएको छ । हेलो सरकारका उपसचिव सापकोटाका अनुसार तीन महिनामा प्राप्त गुनासामध्ये १८ हजार ५४२ गुनासा फछ्र्यौट गरिएको छ भने ५४७ गुनासा नहेरिएको अवस्थामा छन् । त्यस्तै, एक हजार ६४२ गुनासा हेरिएका, एक हजार ३२७ प्रक्रियामा रहेका, छ हजार ५६ पूर्ण तोकिएका÷नहेरिएका तथा दुई हजार ४४६ गुनासा अपूर्ण, असम्बन्धित वा नतोकिएका रहेका छन् । यस्तै, हेलो सरकारको टोल–फ्री सेवामार्फत ५० हजार १९६ वटा फोन कल प्राप्त भएकामा ४० हजार १६ वटा कलको सम्बोधन गरिएको जनाइएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा साउनको १ देखि १८ गतेसम्म मात्रै नौ हजार ६१० वटा गुनासा प्राप्त भएका छन् । जसमध्ये छ हजार ६०१ वटा गुनासा फछर्यौट भएका छन् । हेलो सरकारले सार्वजनिक गरेको विवरणमा सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप, इमेललगायत माध्यमबाट प्राप्त गुनासाको संख्या भने यसमा समावेश नगरिएको उल्लेख गरेको छ ।
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद गरिएको छ । जिल्लाका विभिन्न पाँच स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई जुवा कसुरअन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको छ । कतिपय मुद्दा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाइसकिएको उहाँले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्षमा १०१ जना जुवाडे पक्राउ गरी कारबाही गरेको थियो । उनीहरूबाट रु १२ लाख नौ हजार ३६५ बरामद गरिएको थियो । उनीहरूलाई समेत जुवा कसुरमा कारबाही गरिएको थियो । पछिल्लो समय जुवा खेल्ने स्थानमा प्रहरीले खोजतलास बढाएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्कलनका लागि आज अपराह्न ३ः०० बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ । निक्षेप सङ्कलनको विवरण आजै निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने छ । निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ । न्यूनतम रु १० करोड र अधिकतम रु पाँच करोड गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिने छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताएको छ । एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी आवेदन पनि पेस गर्न सक्ने जनाइएको छ । राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन समय–समयमा निक्षेप सङ्कलन उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ ।
काठमाडौं: कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ । सङ्घीय शासन प्रणालीअनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ । उक्त नीतिकाबारे आफ्नो धारणा राख्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो । नीतिले भूमि खण्डीकरण, बाँझो जमिनको वृद्धि, सिँचाइ तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ्दो आयात निर्भरताजस्ता समस्याको समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था गरेको छ । नीतिमा आधारभूत खाद्यवस्तुमा आत्मनिर्भरता हासिल गर्ने, कृषि व्यवसायीकरण तथा औद्योगिकीकरणलाई प्रवर्द्धन गर्ने, उत्पादनको ब्रान्डिङ गरी अन्तरराष्ट्रिय बजार विस्तार गरिने उल्लेख छ । जैविक विविधताको संरक्षण गर्ने, वातावरणमैत्री कृषि प्रणाली विकास गर्ने तथा डिजिटल कृषि प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्तनलाई कृषि विकाससँग जोड्ने व्यवस्था नीतिमा छ । उत्पादन तथा उत्पादकत्व वृद्धि, समावेशी कृषि यान्त्रिकीकरण, भूमि संरक्षण तथा सदुपयोग, कृषि अनुसन्धान तथा प्रविधि विस्तार, न्यूनतम समर्थन मूल्य, कृषि बिमा, सहुलियतपूर्ण कृषि ऋण, खाद्य स्वच्छता तथा पोषण सुरक्षालगायत विषयलाई नीतिले प्राथमिकतामा राखेको छ । कृषि बजार तथा उद्योग विकास, निजी क्षेत्र र सहकारीको लगानी प्रवर्द्धन, माटो स्वास्थ्य व्यवस्थापन, जलवायु अनुकूलन, कृषि तथ्याङ्क प्रणाली सुदृढीकरण तथा कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्ने विषयलाई नीतिमा प्राथमिकता दिइएको छ । नीति कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानुनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोत परिचालन, निजी क्षेत्रको सहभागिता तथा नियमित अनुगमन र मूल्याङ्कनको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले राष्ट्रिय कृषि नीति, २०८३ को प्रभावकारी कार्यान्वयनबाट खाद्य आत्मनिर्भरता, रोजगारी सृजना, आयात प्रतिस्थापन, कृषि निर्यात अभिवृद्धि तथा समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ ।

