पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई प्रदान गरिन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार पेश भएको प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका गतिविधि, पहल र उपलब्धि समेटिएको छ । प्रतिवेदनमा मधेशी समुदायको अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन, समावेशी विकास तथा नीतिनिर्माणका क्षेत्रमा आयोगले गरेका कामकारबाहीलाई विस्तृत रूपमा समेटिएको सदस्य सिंहले जनाइन् । कार्यक्रममा प्रदेश प्रमुख भट्टले मधेशी समुदायको हकहित सुनिश्चित गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको बताए । आयोगले सरकारी सेवामा मधेसीहरूको प्रतिनिधित्व वृद्धि गर्न आवश्यक प्रशिक्षण कार्यक्रम गरेकामा खुशी व्यक्त गरे । भट्टले मधेसको समस्या मधेसको मात्र नभएर सबैको साझा समस्या भएकाले देश, सरकार, समाजले एकजुट भएर समाधान गर्नुपर्ने बताए । प्रदेश प्रमुखको कार्यालयले सिफारिस कार्यान्वयनका लागि प्रतिवेदनलाई प्रदेशसभामा पठाइने पनि जानकारी दिए । सबैभन्दा बढी जनसंख्या रहेको मधेशमा धेरै समुदाय रहेको उल्लेख गर्दै उनले मधेशमा रहेका दलित समुदायको पक्षमा काम गर्न पनि आग्रह गरे । आयोगकी सदस्य सिंहले मधेशी समुदायको हकहितका लागि नीति, नियम बनाउन आग्रह गर्दै मधेशी समुदायको पक्षमा काम गर्न प्रादेशिक रुपमा बजेटको विनियोजन गर्न पनि अनुरोध गरिन् ।
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त गरेको छ । उहाँले राष्ट्र बैङ्कको सुपरीवेक्षण विभाग, बैङ्क तथा वित्तीय संस्था नियमन विभागलगायत विभिन्न विभागमा रहेर काम गर्नुभएको छ । पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गर्दै सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सामान्य प्रशासनमन्त्री रावलले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको छ । मूल्य समायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन ।” सामान्य प्रशासनमन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थमा सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब रु ११ अर्ब ७२ करोड घाटा भइरहेको छ । इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने र इभी ९विद्युतीय सवारी० तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको उहाँले स्पष्ट पार्नुभयो । यस्तै, मन्त्रिपरिषद्को बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैङ्कले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ । बैठकले ललितपुरको पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई ललितपुरकै गोदावरीमा स्थानान्तरण गरी जल तथा ऊर्जा आयोगको सचिवालयो कार्यालयलाई पुल्चोकमा हाल जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र रहेको भवनमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । समस्याग्रस्ता सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम र सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी, पूर्वाधार विकासतर्फ नागढुङ्गा सुरुङमार्गको पश्चिम खण्डमा पर्ने धुनिबेँसी नगरपालिका र पासाङल्हामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक खण्डमा पर्ने उत्तरगया गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न सरकारले स्वीकृति प्रदान गरेको छ । काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणका लागि काठमाडौँ, ललितपुर र मकवानपुरका विभिन्न वन क्षेत्रको कुल ४६।३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र १८ हजार ८९८ वटा रूख काट्न अनुमति दिने निर्णय पनि बैठकले गरेको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । मेलाको मुख्य आकर्षणका रुपमा खुला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र माछापुच्छ्रे गाउँपालिकास्तरीय सामूहिक नृत्य प्रतियोगिता रहेका छन् । खुला क्लबस्तरीय पुरुष भलिबलतर्फको विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दोस्रो हुने टिमले ६० हजार रुपैयाँ र सेमिफाइनल पुग्ने दुई टिमले १०÷१० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । पुरुषतर्फको खेल तालिका बुधबार नै सार्वजनिक गर्ने आयोजकले जनाएको छ । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपैयाँ र दोस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । महिला भलिबलमा १० टिमको सहभागिता रहेको छ । भलिबल प्रतियोगिताका विजेतालाई नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट खेलाडी, सर्भर, स्पाइकर, डिफेन्डर, सेटर र ब्लकरले ट्रफी प्राप्त गर्नेछन् । यसैगरी, माछापुच्छ्रे गाउँपालिकाका स्थानीयका लागि मात्र आयोजना गरिएको सामूहिक नृत्य प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र पाउने छन् । नृत्य प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क निःशुल्क गरिएको छ । मेलाका अवसरमा अन्य विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरु पनि आयोजना गरिएका छन् । स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी तथा विविध सांस्कृतिक कार्यक्रम, छेलो प्रतियोगिता, रसाकस्सी, म्युजिकल चेयर, बेलुन फुटाई र भाले निकाल्ने प्रतियोगिता हुने आयोजकले बताए । ल्वाङ्ग गाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यहाँ एकै दिन करिब ६ सय जना पर्यटकलाई राख्न सक्ने क्षमताका होटल तथा होमस्टेहरु सञ्चालनमा रहेका छन् ।
काठमाडौँ: मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो । आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।
पोखरा । स्वदेशी लगानी र नेपाली आतिथ्यतालाई प्राथमिकता दिँदै आएको होटल पौवा ग्रुपले आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ । १० वर्षअघि रुपन्देहीको सालझण्डीबाट सेवा सुरु गरेको यस ग्रुपले वार्षिकोत्सवको अवसरमा देशभरका आफ्ना शाखाहरूमा तीन दिने ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको हो । नेपाली स्वाद र संस्कारलाई विश्वस्तरमा चिनाउने लक्ष्य राखेको होटल पौवा अहिले देशका २० विभिन्न स्थानमा विस्तार भइसकेको छ । ग्रुपले आफ्नो १०औँ गौरवमय यात्रा पूरा गरेको अवसरमा यही चैत २६, २७ र २८ गते विशेष ‘स्वाद उत्सव’ सञ्चालन गर्दैछ । सो उत्सवमा ग्राहकहरूले नेपाली रैथाने स्वादका साथै विशेष अतिथि सत्कारको अनुभव लिन पाउने होटलका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा अधिकांश शाखामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिसहित ‘शुभकामना साँझ’ आयोजना गर्ने ग्रुपको तयारी छ । होटल पौवा ग्रुपले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा महत्वकांक्षी ‘मिसन १००’ कोसमेत घोषणा गरेको छ । ७ वटा कोठाबाट सुरु भएको होटल पौवाको यात्रा १० वर्षमा आइपुग्दा २० वटा शाखा र १ हजार भन्दा बढी कर्मचारीसम्म विस्तार भएको छ । ‘मिसन १००’ लक्ष्य केवल संख्यात्मक मात्र नभई व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र नेपाली हस्पिटालिटीलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने योजना रहेको भण्डारीले बताए । २५० भन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको यस ग्रुपले चैत २८ गते भैरहवामा लगानीकर्ता सम्मेलन गरी भावी रणनीतिक योजना तय गर्ने जनाएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको हो । अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने र समर्थकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी महामन्त्री सुनील लम्सालले बैठकमा आआफ्नो धारणा राख्नुभएको छ । उहाँहरुले आ–आफ्नो धारणा राख्नुभएपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले सभामुखमा अर्याल निर्वाचित भएको बैठकसमक्ष घोषणा गर्नुभयो । यसैगरी, सभामुख पदमा निर्वाचित अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुहुनेछ ।शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । को हुन् डोलप्रसाद अर्याल ? डोलप्रसाद अर्याल नेपाली राजनीतिज्ञ हुनुहुन्छ । उहाँ वि.सं. २०७९ माघमा प्रचण्ड नेतृत्वको सरकारमा २० दिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहनुभएको थियो । वि.सं. २०७९ को निर्वाचनमा उहाँ खस जनताको वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भई विघटित प्रतिनिधि सभाका पूर्व सदस्य हुनुहुन्थ्यो । हाल उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिको रुपमा क्रियाशील हुनुहुन्छ । उहाँ माघ २०७९ मा सर्वोच्च अदालतले रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सबै सार्वजनिक पदबाट हटाएपछि छोटो समयका लागि कार्यवाहक अध्यक्ष नियुक्त भएका हुनुभएको थियो । त्यसपछि सहकारी मुद्दामा लामिछाने कारागारमा रहँदा पनि अर्यालले कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका हुनुहुन्थ्यो । लामिछाने कारागार मुक्त भएपछि अर्याल उपसभापति पदमा कायम हुनुभएको छ । अर्याल दुई पटक श्रम मन्त्री बनिसक्नुभएको छ । जेनजी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनमा उहाँ रास्वपाबाट काठमाडौँ–९ निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगित गरेको थियो। आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो। स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ। आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ। मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए। नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ। आयोगले मतदाता नामावली संकलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आयोजक समितिका संयोजक वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा महोत्सव तयारी विशेष भेला सम्पन्न गरेको छ। उक्त भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक, सदस्यहरू ,सम्बन्धित सरकारवाला एवं स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरूले हालसम्म गरेका कामको कार्यसम्पादन प्रस्तुत गरेका थिए । भेलाले हरेक क्षेत्रबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया रहेको निष्कर्ष निकालेको छ । साथै उक्त भेलाले २०८२ चैत्र २३ गतेका दिन विष्णुपादुका खेलमैदानमा अवस्थित क्लब भवन प्राङ्गण दिनको ठिक १ बजे महोत्सवको पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहनुभएका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले भेलाका बिच आलु महोत्सव पोखराको मात्र नभई समग्र देशकै ब्रान्ड बनेको उल्लेख गर्नुहुँदै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पारेका थिए । हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत् प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रूपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको थप उल्लेख गरे । भेलामा पूर्व अध्यक्ष रमेश कार्की एवं निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका महोत्सवमा भएका कमी कमजोरीलाई मूल्याङ्कन गर्दै आगामी दिनमा त्यसको सुधार गर्नुपर्ने र नयाँपन झल्कने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए। ‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रूपमा आलु तथा ताजा तरकारीहरूको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी समेत रहने छ । मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव विकल थापाले सञ्चालन गरे ।
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले यही चैत १८, १९, २० र २१ गतेको अभियानअन्तर्गत दुई सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना, कोशी प्रदेशबाट १८ जना, १९ गते कोशीबाट एक, मधेस प्रदेशबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई र कर्णालीबाट ११ जना पक्राउ परेका थिए । यस्तै २० गते मधेश प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई तथा २१ गते काठमाडौँ उपत्यकाबाट ६२ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुःख र हैरानी दिने, सार्वजनिकस्थलमा अभद्र व्यवहार गर्नेलगायतका व्यक्तिहरू छन् । प्रवक्ता काफ्लेले अभियान जारी रहने बताए ।

