पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा जेन जी प्रदर्शनकारीले तोडफोडसहित आगजनीको प्रयास गरेका छन् । मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच भएको मुठभेडले स्थिति तनावपूर्ण बनेको छ । पोखरा सभागृह चोकमा भएको प्रदर्शनपछि गएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका हुन् । आगजनीको प्रयासपछि प्रहरीले बल प्रयोग गरी आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास गरेको छ । प्रदर्शनकारी तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको थियो ।
काठमाडौं: ‘जेनजी’को प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, घाइतेहरु अन्य अस्पतालमा समेत रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजी प्रदर्शन उग्र बनेपछि सेना परिचालन गरिएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर, बिजुलीबजार, मध्य वानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो । प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको छ । प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । अहिले प्रदर्शनकारीले संसद भवनभित्र प्रवेश गरी नाराबाजी गरिरहेका छन् ।
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गर्नुभएको हो । जेन जीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । सोमबार दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र चार किल्ला तोकी सो सीमाभित्र आवत–जावत गर्न कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ । बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शङ्खमुल ओरालो हुँदै शङ्खमुल पुलसम्म कर्फ्यू जारी भएको छ ।
म्याग्दी: म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुन: सञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नम्बर ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भूगर्वविद् रोनित पौडेलले जानकारी दिए । ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान हुनेछ,’ उनले भने ‘खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढ्छ ।’ ओखरबोटको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानी भन्दाबढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको मालिका गाउँपालिका–३ का ७२ वर्षीय विसराम पटेलले बताए । यस तामाखानीमा दैनिक दुई सय भन्दा बढी कामदारले काम गर्नुका साथै प्रत्येक दिन सात–आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले जानकारी दिए । तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानको लम्बाइ दुई सय ५० देखि पाँच सय मिटरसम्म रहेको छ । त्यहाँ दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् । वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइका साथै लिखित रुपमा प्रभावित क्षेत्रका बासिन्दाबाट सुझाव सङ्कलन गरिसकेको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी भएका प्रभावित क्षेत्र ओखरबोट र खटेनका बासिन्दाले वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन माग गरिएको स्थानीय दीपक पटेलले बताए । स्थानीय खनेलहरुले रैथाने प्रविधिबाट उत्खनन गरिएको मालिका गाउँपालिका– ४ (साविक ओखरबोट–८) खटेनडाँडास्थित तामाखानी मुख्य हो । धवलागिरि गाउँपालिका–१ गुर्जा, ५ मल्कवाङ, ७ मच्छिम, रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी, ८ चौरसहित २१ ठाउँमा तामाखानी छन् । खानीहरु सञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानीय खनेल’हरुको सीप पुस्तान्तरण हुनसकेको छैन । म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल जातीको परम्परागत पेसा खानी खन्ने थियो ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज ९सोमबार० प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहून्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउनुहुन्छ । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिनुभयो । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताउनुभयो । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दुुुुुसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ महाशाखाले जनाएको छ । कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पोखरा: नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्राम लगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत निर्णय फिर्ता लिन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । महासंघ गण्डकीका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वको समूहले सिडिओ शर्मामार्फत सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ । ‘सामाजिक सञ्जालमा आधारित सयौं आम्दानीका स्रोतहरु प्रभावमा परेका छन् भने यसले लाखौं मानिसको दैनिकी र रोजगारीमासमेत प्रभाव पारेको छ,’ महासंघले सिडिओमार्फत बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘घुम्न आउने पर्यटकहरुले बुकिङ गर्न छाडेका छन् भने बुकिङ गरिरहेकाहरुले पनि रद्ध गर्न थालेका छन् ।’ महासंघले विश्वभरि रहेका व्यावसायिक संस्थाहरुबीचको सम्बन्ध, सम्पर्कमै असर पारेको बताएको छ । सामाजिक सञ्जाललाई व्यवस्थित नियमन गर्न आवश्यक कानुन निर्माण गर्ने कुरामा असहमति नभएको तर पर्याप्त कानुनी आधार र कुटनीतिक प्रयासबिना बन्द गर्ने निर्णयप्रति भने असहमति रहेको महासचिव गौतमले बताए । ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकलाई प्रभावित पार्नु कानुनी शासन र लोकतान्त्रिक मूल्यविपरीत रहेको हाम्रो निश्कर्ष छ,’ गौतमले भने । नेपालमा सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसद्मा विचाराधीन रहिरहेको अवस्थामा सरकारले पुरानो २०६३ सालको कानुनलाई टेकेर बनाएको निर्देशिकाअनुसार बन्द गर्ने निर्णय तत्काल फिर्ता गर्न अध्यक्ष जितुले माग गरे । ‘कुटनीतिक पहल गर्दै सामाजिक सञ्जाल नियमनको प्रक्रिया थाल्न अनुरोध छ,’ उनले भने, ‘देशमा सिर्जित लाखौंको रोजगारी खोस्ने, अर्थतन्त्रलाई नै प्रभावित पार्ने कदमबाट पछि हट्दै व्यवसायी तथा आम नागरिकको पक्षमा निर्णय गर्न माग गर्दै श्रीमान प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं ।’ फिने गण्डकीका प्रवक्ता कृष्ण आचार्यले पदमार्गमा जाने बल्ल सिजन लाग्दै गर्दा सरकारको निर्णयले धेरै असर गरेको सुनाए । फेसबुकसँगै अधिकतम सम्पर्क र व्यावसायिक कुराकानी ह्वाट्सयपबाट हुने गरेको उनले बताए । अहिले त्यो नै नचलेपछि ब्यापारिक सम्बन्ध नै टुटेको उनले दुखेसो गरे । पर्यटकले सामाजिक सञ्जाल नै नचल्ने तिमीहरुको देशमा किन आउने भन्न थालेको उनले दुखेसो गरे ।
पोखरा: पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो । पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा सुरुआतबाटै अग्रता बढाउँदै लुम्बिनीले १५–१० को सहज जित दर्ता ग¥यो । पहिलो जितसँगै लुम्बिनीले २ अंक जोडेको छ । ३ खेलमा जितविहीर रहेको पोखराले एक अंक जोडेको छ । लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३–१ को सेटमा पराजित भएको थियो । पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ । पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो । यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको थियो । लिगको चौथो दिन सोमबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली यसविश र काठमाडौं स्पाईकर्सबिच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसपछि भोलिको दोस्रो तथा अन्तिम खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग २८ भदौसम्म चल्नेछ ।