काठमाडौँ: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जनाइएको छ । यस्तै, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने छ । फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ गरिने छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको रहेको आयोगका विज्ञप्तिमा उल्लेख छ । निर्वाचनमा राजनीतिक दल एवं सरोकार भएकाहरूसँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्ने जनाइएको छ । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले आगामी कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले जनाएको छ । रासस
धादिङ: जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरी भाइरल भएका युवा आमाकै हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ३० वर्षीय यम बहादुर कँडेल रहेका छन् । उनले आफ्नै ५५ वर्षीया आमा राममाया कँडेलको बीभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले जानकारी दिए। यमबहादुर गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा उनले प्रहरीसँग विवाद गरिरहेको भाइरल भिडिओहरूमा देख्न सकिन्छ। भिडिओमा उनले प्रहरीसामु उभिएर ‘मेरो आँखामा डर छरु ल हेर्नुस् म डराएको छुरु म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिनँ’ भन्दै गरेको देख्न सकिन्छ। प्रहरीलाई आमा र देशबारे सोच्न भन्दै आक्रोश पोखेका थिए । यमबहादुरले आइतबार राति साढे ८ बजे धारिलो हतियार खुँडाले आमाको हत्या गरेको एसपी रिजालले बताए। उनका अनुसार प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुरलाई नियन्त्रणमा लिएको छ। घटनास्थल अत्यन्त भयावह रहेको बताइएको छ । आमाको शरीर र टाउको छुट्टिने गरी हत्या भएकोले दुईवटा मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनी गुण्डा नाइके दिनेश अधिकारी ग्याङमा संलग्न भएर काम गर्दै आएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।
झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बु रहेका छन् । उनी सवार प्रदेश १–०२– ०४७ प ६९२२ नम्बरको मोटरसाइकललाई आइतबार साँझ साढे ६ बजे बेलबारी –११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो ।
काठमाडौँ: नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ । कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हाे । जेनजी प्रदर्शन नियन्त्रण बाहिर जानसक्ने आकलन गरेर मानवश्रोत विकास विभागका तत्कालीन एआईजी दान बहादुर कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो । भदौ २४ मा कार्की रानपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङमा ५१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै मनाङको तालमा ४२ मिलिमिटर वर्षा भएको छ। कास्कीको लुम्लेमा २५.८ मिलिमिटर, दाङको लालमतियामा २७.२ मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार सोमबार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ। यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानकारी दिएका छन। सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार विभिन्न ठाउँमा पहिरो र बाढीका घटनामा परेर ३७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुरमा २ र खोटाङमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षासँगै पहाडी जिल्लामा पहिरो र तराईमा डुबानको जोखिम अझै उच्च रहेको प्रहरी भनाइ छ। त्यस्तै लगातारको वर्षापछि उर्लिएको सप्तकोशीको बहाब सोमबार बिहान भने घटेको छ। कोशी बराज कार्यालयका अनुसार आइतबार साँझ ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको बहाब सोमबार बिहान ४ लाख ५५ हजार ९१० क्युसेकमा झरेको हो । हाल पनि बराजका सबै ५६ वटै ढोका खुला रहेका छन्। पानीको बहाब घटे पनि नदी किनारका बस्तीमा जोखिम कायमै रहेको अधिकारीहरूको भनाइ छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध नभएको जनाएको छ । र, सडक प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न भनेको छ । असोज १७ र १८ गतेको वर्षापछि पहिरो खस्ने र बाटो अवरुद्ध हुने गरेको थियो । जमिन भिजेर कमजोर भएकाले कुनै पनि बेला ढुंगा वा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको हो । चितवन भएर यात्रा गर्नेहरुलाई बेलुका ९ बजेभित्र चितवन आइसक्न र पोखरा वा काठमाडौंतर्फ जानेहरुलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट निस्किसक्न भनिएको छ । हिजो बेलुका ९ बजेपछि चितवन आइपुगेका गाडीहरुलाई प्रहरीले आँपटारी क्षेत्रमा रातभर रोकेर आज बिहान ६ बजेदेखि गन्तव्यमा जान दिएको छ ।
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् । भारी र अतिभारी वर्षाका कारण यी तीन प्रदेशमा जनजीवन अत्यधिक प्रभावित छ । वर्षा त करिब रोकिइसकेको छ । तर अझै बाढी र पहिरोको जोखिम टरेको छैन । अन्यत्र भौतिक क्षतिको मात्र बढी भएपनि इलाममा भौतिकसहित मानवीय क्षति अध्यधिक भयो । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृति सोङमी रहेका छन्। यस्तै, फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन्। यस्तै, देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ। पहिरोमा परी माङसेबुङ गाउँपालिका–१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ। पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ती वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई रहेका छन् ।

