काठमाडौं: नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा विशेषा भेलाको आयोजना गरेको छ। बुधबार दिउँसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए। भेलामा काठमाडौँ बाहिरबाट पनि सयौँको संख्यामा नेता कार्यकर्ताहरु आउने अर्का नेता मनोजमणी आचार्यले बताए। जेन्जी आन्दोलन लगत्तै पार्टीको सुधार र पुनर्गठन गर्नुपर्ने र त्यसका लागि चुनाव अगाडि नै महाधिवेशन गर्नु पर्ने माग गर्दै आएका नेता तथा कार्यकर्ताहरुले नियमित महाधिवेशन नहुने संभावना देखेपछि विषेश महाधिवेशनको माग गरेका हुन। उनीहरुले विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर पार्टीका कार्यवहाक सभापति पूर्णवहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए। काँग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा ३ महिना भित्रका विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ। सोअनुसार आगामी पुष २८ भित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतामा काँग्रेस परेको छ। वहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको माग बमोजिम महाधिवेशन गर्ने निर्णय काँग्रेस केन्द्रीय समितिले गर्नुपर्नेमा अनिर्णित भइरहेकाले केन्द्रीय समितिलाई दवाव दिन आज विशेष भेला आयोजना गरिएको भेलाको तयारी गरिरहेका काँग्रेसका अर्का नेता युवराज पाण्डेले जानकारी दिए। उनले भोली बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको निर्णय नभएमा महाधिवेशन माग गर्नेहरुले नै महाधिवेशन घोषणा गर्ने सन्देश भेला मार्फत दिने बताए।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही मंसिर १ देखि आज (मंसिर १० गते) सम्मको समय दिएको थियो । आयोगका अनुसार मङ्गलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत ८० वटा दलले निर्वाचनका लागि दल दर्ता गरेका छन् । निर्वाचन आयोगमा पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन् । यसमध्ये निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलले मात्रै आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने छन् । आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत भएका दलहरूको नामावली प्रकाशन गर्नेछ ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलनमार्फत् मेलाको तयारी चलिरहेको र योपटक मेलाको मुख्य सहयात्रीको रुपमा पोखरामै रहेको नेपाल मणिपाल शिक्षण अस्पताल रहेको जानकारी दिएको हो । संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको नारासँग मणिपालको उद्देश्य मिलेकोले यो सहकार्य सम्भव भएको बताए । ४० को दशकमै पोखरालाई शिक्षा,स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गरेको स्मरण गर्दै उनले भने,‘ पोखराको भौगोलिक अवस्थिति र हावापानी स्वास्थ्य पर्यटनका निम्ति उचित रहेको यसबाट हामीले मनग्ये विदेशी मुद्रा आर्जन अनि रोजगारी सिर्जना गर्न सक्छौँ भन्ने पुष्टि हुँदै गएको छ । आधुनिक चिकित्सा पद्धतिलाई अंगालेर नेपाल मणिपाल अस्पतालले पोखरा उद्योग वाणिज्य संघको त्यो पुरानो सपनालाई मलजल गरेको छ । त्यसैले त नेपाल मणिपाल अस्पताल हामीसँग जोडिन आइपुगेको छ ।– उनले पोखरालाई आधुनिक चिकित्सा सेवादेखि आयुर्वेद,योग र ध्यानको केन्द्र पनि बनाउन सकिने पनि बताए । अध्यक्ष कार्कीका अनुसार योपटकको मेलाको नारा पनि ‘लगानीको सम्वद्र्धन, उद्योग–व्यवसायको प्रवद्र्धन’ नै जानकारी दिए । मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना,पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ । मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशिलता विकासको थलो बनाउनकै लागि यसपटक समयावधि घटाएर ५ दिनको बनाइएको उनको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा महासचिव शोभा गौतमको संचालन रहेको पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय आएका नयाँ प्रविधिबारे जानकारी गराउने,साइबर सुरक्षाबारे सचेतता फैलाउनेलगायतका कार्यक्रम समावेश गरिने जानकारी दिए । यसअघि बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले क्यान नेपाल महासंघ,कास्कीले विगत १३ वर्षदेखि आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई मेलामा समाहित गर्नुको उद्देश्य सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समयका प्रविधि,दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका राख्नु रहेको बताएका थिए ।
काठमाडौं: भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इंल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। समूह ‘सी’मा रहेको नेपालले इंल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालको पहिलो खेल इंल्यान्डसँग फेब्रुअरी ८ मा हुनेछ। त्यसपछि दोस्रो खेलमा फेब्रुअरी १२ मा इटालीसँग र तेस्रो खेलमा फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग खेल्नेछ। लिग चरणको अन्तिम अर्थात चौथो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल फेब्रुअरी १७ मा हुनेछ। नेपालका चारै खेल मुम्बईमा हुनेछन्। विश्वकपको पहिलो खेलमा फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड प्रतिस्पर्धा हुनेछ। यो खेल कोलोम्बोमा हुनेछ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाश पाउन लाग्नुभएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गर्नुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहबिच अर्याललाई बिदाइ गर्नुभएको हो। बिदाइका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म गर्नुभएको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले धन्यवाद ज्ञापन गर्दै आगामी जीवन सुखमय रहोस् भनी कामना गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
पोखराः रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा जारी कास्की आइडलको टपटेन छनोट चरण सम्पन्न भएको छ । आइडलमा गायन र नृत्य विधामा प्रतियोगीहरूले आफ्ना प्रस्तुति राखेका छन् । गायनतर्फ सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, सन्तोष विके, सुरज परियार र दीपक सुनार टपटेनमा छनोट भएका छन् । त्यसै गरी, नृत्यतर्फ कृपा विके, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर टपटेनमा परेका छन् । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदीले प्रतियोगिताबाट अब्बल कलाकार जन्मिने विश्वास व्यक्त गरे । गायकसमेत रहेका सुवेदीले गायन र नृत्यका क्षेत्रमा कास्की आइडलले वास्तविक आइडलको जन्म हुने भन्दै स्थानीय तहहरूले कला, साहित्य र सङ्गीतका क्षेत्रमा लगानी गर्न हिच्किचाउन नहुने धारणा राखे । कार्यक्रममा निराजन कोइराला, सुदिप ढुङ्गाना, सुवास खड्का तथा कराते प्रशिक्षक विनोद नेगीलगायतले शुभकामना दिएका थिए । रूपा वाङ्मय प्रतिष्ठानका अजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य तथा स्थानीय प्रतिभा पहिचानमा यसको भूमिकाबारे प्रकाश पारेका कार्यक्रममा स्वागत गीत सनम गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रमको सफल सञ्चालन ज्योति खड्काले गरेकी थिइन् ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । मन्त्री खरेलले मन्त्रिपरिषद्का १४ निर्णय एकसाथ सार्वजनिक गरेका हुन् ।
काठमाडौं: एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। मंसिर २७–२९ गते काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै पोखरेलले शनिबार सार्वजनिक गरेको विस्तृत राजनीतिक–संगठनात्मक अभिव्यक्तिमा आफू नेतृत्वका लागि तयार भएको बताएका छन्। पोखरेलले जननेता मदन भण्डारीदेखि हालसम्मको एमाले राजनीतिक यात्राप्रति सम्मान व्यक्त गर्दै हालको राजनीतिक अवस्थामा पार्टीले गम्भीर आत्मसमीक्षा र संगठन पुनर्गठन गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले भदौ २३ पछिका घटनाले संविधानको मार्गरेखालाई पुनः सही बाटोमा ल्याउने जिम्मेवारी एमालेमाथि आएको टिप्पणी गरे। आफू अध्यक्षमा उठ्न लागेको मुख्य कारणका रूपमा उनले पार्टीमा आन्तरिक लोकतन्त्र, पारदर्शिता, संगठन पुननिर्माण र नेतृत्व हस्तान्तरणको संस्कृतिलाई संस्थागत गर्नुपर्ने उनले बताए। पार्टीमा दुई कार्यकालको नेतृत्व सीमालाई विधानमै पुनःस्थापना गर्नुपर्ने, अनुशासन, लेखापरीक्षण र संगठनात्मक स्वायत्ततामा स्पष्ट मापदण्ड लागू गर्नुपर्ने उनले अडान राखेका छन् । पोखरेलले पार्टीमा युवा, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम र अल्पसंख्यकको सम्मानजनक सहभागितालाई सुनिश्चित गर्न विधान संशोधन आवश्यक रहेको बताए। उनले जनसंगठनहरूलाई गुटबन्दीबाट मुक्त गरी प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने प्रणाली मजबूत बनाउनुपर्ने उल्लेख गरे। पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पुनः पार्टीमा फर्काउने वातावरण बनाउनुपर्ने कुरा पनि उनले उठाए। भदौ २३ को जेन–जी आन्दोलनप्रति सम्मान व्यक्त गर्दै पोखरेलले आन्दोलनमा भएको हिंसा र घुसपैठप्रति छानबिन माग गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले अब नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा आफूले राखेको बताउँदै पोखरेलले प्रतिनिधि छनोटदेखि महाधिवेशनसम्म पार्टी सदस्यलाई विवेकपूर्ण सहभागिताका लागि आग्रह गरेका छन्। पोखरेलले महाधिवेशनमा पेश गर्ने विस्तृत राजनीतिक दस्तावेज चाँडै सार्वजनिक हुने जानकारी दिए।
पोखरा: लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ अन्तर्गत आयोजित प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताएका छन्। अन्तर्राष्ट्रिय नारा (UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS) तथा राष्ट्रिय नारा “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” सहित मनाइएको कार्यक्रममा मन्त्री थापाले नेपाली जनताले दशकौँ लामो राजनीतिक आन्दोलन र संघर्षको जगमा महिलाका अधिकार तथा सशक्तीकरणका क्षेत्रमा प्राप्त प्रगतिलाई ऐतिहासिक उपलब्धि बताए। “नेपालमा तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायहरूमा महिलाको सहभागिता निरन्तर बढिरहेको छ, जुन विश्वकै लागि प्रेरणादायी उदाहरण हो ।”, उनले भने । समानता, समावेशिता र सहभागितामूलक शासन प्रणालीलाई नेपालको संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री थापाले महिलाविरुद्धको हिंसा उन्मूलनमा कानुनको प्रभावकारी कार्यान्वयन अत्यन्त जरुरी रहेको बताए। देशभर बोक्सी प्रथा, छाउपडी, दाइजो, तिलक तथा छुवाछुत जस्ता कुसंस्कार आज पनि समाप्त हुन नसकेको उल्लेख गर्दै उनले यस्तो सामाजिक अन्धविश्वासका कारण धेरै महिलाहरू हिंसा, विभेद र अपमान सहन बाध्य रहनु परेको बताए। उनले थपे, “हिंसा अन्त्यका लागि परिवार र समुदाय स्तरमै चेतना वृद्धि गर्न निरन्तर अभियान चलाउनुपर्छ ।” डिजिटल प्रविधिबाट बढिरहेका दुव्र्यवहार र अनलाइन हिंसाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री थापाले प्रविधिको सुरक्षित र सकारात्मक प्रयोग आवश्यक रहेको बताए। कार्यक्रममा कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र अवसरयुक्त बनाउनु नै हिंसा रोकथामको मूल आधार भएको उल्लेख गरिन् । राज्य, समाज, नागरिक समाज, संघ–संस्था र महिला अधिकारकर्मीबीचको मजबुत सहकार्यले नै समस्याको समाधान हुने भनाई उनको छ । मानव अधिकार आयोग गण्डकी प्रमुख नितु पौडेलले १६ दिने अभियानले सबै सम्बद्ध पक्षमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा थपेको बताइन् । “हामी सबै मिलेर महिलाविरुद्धका सबै प्रकारका हिंसा, विभेद, उत्पीडन, अन्धविश्वास र कुसंस्कार अन्त्य गर्दै समानता र न्यायमा आधारित समुन्नत समाज निर्माणतर्फ अघि बढ्नुपर्छ।”, उनले भनिन् । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दिनेश कुमार आचार्यले लैङ्गिक हिंसामुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी मात्र नभई भविष्यका पुस्ताप्रतिको कर्तव्य पनि भएको बताए । उनले हिंसा नियन्त्रणका लागि प्रहरीले समाज सँग मिलेर काम गरिरहेको उल्लेख गरिन् । गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीले समाज परिवर्तनका लागि सकरात्मक सोचको आवश्यकता रहेको बताइन् । लैङ्गिक हिंसा अन्त्यका लागि प्रविधिको सही प्रयोग गर्दै सकरात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकतालाई औंल्याइन् । प्रदेशका विभिन्न सरकारी निकाय, सामाजिक संघ–संस्था, नागरिक समाजका प्रतिनिधि तथा महिला अधिकारकर्मीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा गैसस महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारी, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, मन्त्रालयका महाशाखा प्रमुख प्रकाश देवकोटाले बोलेका थिए ।

