अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आइतबार रातिदेखि परेको हिउँ राराको हुटु, मिलीचौर आसपासमा एक फिटसम्म हिउँ जमेको छ । तालसँगै वरपरको वन सेताम्मे बनेको छ । सुर्खेतबाट रारा घुम्न आएका आन्तरिक पर्यटक बासुुदेव देवकोटाका अनुसार रारामा हिउँ पर्दा स्वदेशी तथा विदेशी पर्यटकहरू हिउँ खेलेर रमाएका छन् । रारा साच्चै स्वर्गको एक टुक्राजस्तै भएको महसुस लागेको उहाँले बताउनुभयो । रारामा यो वर्षको दोस्रो हिमपात रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख ऋषिकेश यादवले बताउनुभयो । उहाँका अनुसार करिब ५ इन्च हिउँ जमेको छ । हिउँ पर्नेक्रम अझै जारी छ । गएको पुस महिनामा पनि रारामा २ इन्च हिउँ परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन महिनाको मसान्तसम्म दस हजार आन्तरिक र विदेशी पर्यटक रारामा घुम्न आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चैतको महिनामा हिमपात हुँदा जिल्लामा चिसोले स्थानीय जनजीवन भने प्रभावित भएको छ । गाउँदेखि सदरमुकामको बजारसम्मका बासिन्दा आगो तापेर दिन कटाइरहेका छन् । रारा तालभन्दा एक घण्टा माथिको मुर्मा गाउँमा भने दुई फिट हिउँ जमेको छ । यो ठाउँ समुद्री सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा पर्दछ ।
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक' भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हाे। महोत्सव पोखरा २५ हेमजाको विष्णु पादुका खेलमैदान हेमजामा हुनेछ । महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालीन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णु पादुका क्लबले आयोजना गर्दै आएको छ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक पाण्डेका अनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए । तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको उद्धार गरिएको छ । घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो । वडाध्यक्ष पाण्डेका अनुसार राति करिब ८ बजे दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको छ । यो पनि पढ्नुहोस भारतीय नागरिक सवार माइक्रो बस गोरखाको कनटारमा दुर्घटना
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार रहेको बुझिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाउनुका साथै विभिन्न शोक प्रस्ताव पारित गरेको हो । पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयो । बैठकले आदिवासी जनजातितर्फ भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यको नाम तय गरेको छ । खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र यशोदाकुमारी बराल (पिछडिएको क्षेत्र र अपाङ्गता समेत) सिफारिस हुनुभएको छ । थारुतर्फ कृपाराम राणा तथा दलिततर्फ विष्णुमाया विक र नीता घतानी हुनुहुन्छ । मधेसीतर्फ रिङ्गला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल एवं मुस्लिमतर्फ साजिदा सिद्धिकी रहनुभएको उपमहासचिव भट्टले बताउनुभयो । उपमहासचिव भट्टका अनुसार बैठकले पार्टी अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा ज्यान गुमाउनुभएका जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक एवं श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकको सुरुमा दिवंगत नेताहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कास्की मोडेल हस्पिटलको प्राविधिक सहयोग रहेको कार्यक्रममा पोखरा महानरपालिका वडा नं ६ बैदामस्थित महिला सञ्जाल अन्तर्गत १८ वटै आमा समूहका प्रतिनिधि लगायत ९० जना पर्यटन व्यवसायी महिलाहरूको सहभागिता थियो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा.चण्डिका पण्डितले मेनोपज सचेतना सम्बन्धमा विभिन्न विषय बारे जानकारी गराउनुभयो । टेवान पोखराका अध्यक्ष शोभा न्यौपाने पाण्डेले टेवानले पर्यटन प्रवद्र्धनसँगै क्षमता अभिबृद्धि, स्वास्थ्य सेचतना लगायतका विषयमा समय समयमा विभिन्न किसिमका कार्यक्रम गर्दै आएको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन प्रवद्र्धन लगायत सामाजिक उत्तरदायित्वका क्षेत्रमा टेवानले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । टेवानका अध्यक्ष शोभा न्यौपाने पाण्डेकोे सभापतित्व एवम् महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजक सुधा सुवेदी बराल रहनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, जनस्वास्थ्यकर्मी जिता बराल, महिला सञ्जाल बैदामका अध्यक्ष बबिता मल्ल लगायतले बोल्नुभएको थियो । कार्यक्रमका अवसरमा सहभागीको सामान्य स्वास्थ्य परीक्षण सहित सुुगर, प्रेसर लगायतको निशुल्क परीक्षणको व्यवस्था मिलाइएको थियो भने टेवान र कास्की मोडल हस्पिटलबीच टेवानका सदस्यले लिन सक्ने सेवा सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ । आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ । निगमले निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई÷तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको प्रष्ट पारेको छ ।
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।

