काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

तनहुँ:  मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।  पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् । मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ ।  साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसक्नुभएका प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो ।  मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ ।  मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन–नारायण सडकखण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाको भनाइ छ । मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।

बारा: जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं:   नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू। दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  हिजो सुन प्रतितोला रू ।दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू. तीन हजार नौ सय बढेको हो । त्यसैगरी आज चाँदी रू. दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सिरहा:  सिरहा जिल्लाको गोल बजार नगरपालिका–१३ स्थित भेल्हा डंगराहा गाउँमा एक किशोरको अपहरणपछि हत्या गरिएको दर्दनाक घटना सार्वजनिक भएको छ। १५ वर्षीय अभिषेक सिंहको शव मङ्गलवार बिहान गाउँकै आँपको बगैँचामा फेला परेको प्रहरीले जनाएको छ। अभिषेक गत असोज ५ गते साँझ अचानक हराएका थिए। परिवारले रातभर खोजतलास गरे पनि उनको कुनै अत्तोपत्तो लागेन। तर भोलिपल्ट बिहान अभिषेककै इमो एपमार्फत आमालाई आएको एक सन्देशले घटनाले नयाँ मोड लिएको थियो। सन्देशमा लेखिएको थियो– “तपाईँको छोरा हाम्रो कब्जामा छ। पाँच करोड रुपैयाँ नदिए उसको ज्यान लिनेछौँ। प्रहरी वा अरू कसैलाई खबर गरे परिणाम घातक हुनेछ।” यस्तै किसिमका धम्कीपूर्ण सन्देशहरू लगातार आइरहेका थिए। अपहरणकारीहरूले आफूहरू बिहारबाट भएको दाबी गर्दै पैसा नदिए हत्या गर्ने चेतावनी दिएका थिए। परिवार अत्यन्तै तनावमा परेपछि अन्ततः प्रहरीले सहयोग लिएको थियो। घटनाको अनुसन्धानमा खटिएको टोलीका अनुसार अभिषेकको शव स्थानीय आँप बगैँचामा भेटिएको हो। घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको फरेन्सिक टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले घटनाको पुष्टि गर्दै अनुसन्धान तीव्र पारिएको जानकारी दिनुभयो।  “हत्या गम्भीर प्रकृतिको देखिएको छ, अपराधीको पहिचान तथा पक्राउका लागि हामी सबै स्रोत परिचालन गरिरहेका छौं,” एसपी शर्माले भन्नुभयो।  हालसम्म घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न सकेको छैन। तर प्रारम्भिक अनुमान अनुसार अपहरणपछिको योजनाबद्ध हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीयवासी भने सो घटनापछि आक्रोशित र त्रसित छन्। बालकको निर्दोष हत्या र पाँच करोड फिरौतीको मागले गाउँमा सन्त्रास फैलिएको छ।

वीरगञ्ज:  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो। गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै  एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। सो अवधिमा आयात बढेसँगै रु एक अर्ब २९ करोड बढी राजस्वसमेत संकलन भएको छ। ‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन  आयात हो,’ प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने। गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले नौ अर्ब ८९ करोड राजस्व संकलन गरेको थियो। त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड संकलन गरेको छ। चालु आवको दुई महिनामा रु ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा पाँच अर्ब २८ करोड राजस्व संकलन भएको छ। गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा चार अर्ब ५१ करोड राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए। चालु आवको दुई महिनामा छ अर्ब ८२ करोडको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले चार अर्ब ५४ करोड राजस्व संकलन गरेको छ।  गत आवको सोही अवधिमा भने रु छ अर्ब ४० करोडको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा तीन अर्ब ९९ करोड राजस्व सङकलन भएको थियो। त्यस्तै चालु आवको दुई महिनामा पाँच अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्यास आयात हुँदा ९६ करोड राजस्व संकलन भएको छ।  गत आवको सोही अवधिमा भने पाँच अर्ब ३६ करोडको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा एक अर्ब राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

म्याग्दी:  सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ ९आठ हजार १६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट ५० लाख ७१ हजार सलामी दस्तुर ९शुल्क० प्राप्त भएको छ । शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको ९आठ हजार १६३ मिटर अग्लो० मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन् । शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताए । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् । गत वसन्तयाममा दुई समूहका १५ जनाले आरोहण अनुमति लिएबापत ३६ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एउटा समूहका १४ पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रुसका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणका लागि चुनौती बन्ने गर्छ । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

धादिङ:  गए राति खसेको पहिरोका काारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्गस्थित वेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्वर ७ मौवा खेला भन्ने स्थानमा गएको पहिलरोले सडक अबरुद्ध भएको हो । सडकभन्दा माथिबाट खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहे पनि समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभएको छ। राजमार्ग बन्दका कारण सयौँ सवारीका साधनहरु सडकमा नै अलपत्र छन ।

काठमाडौं:  आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो। ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ। सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ।

चितवन:  गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ।  तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक आज साँझ ५ः३० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केही समय एकतर्फी सञ्चालनमा आएको सडक राती बन्द गरिएको थियो। आज बिहान देखि एकतर्फी रुपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजे देखि ३ बजे सम्म पूर्णरुपमा बन्द गरी पहिरो पन्छाइएको थियो।  अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।