राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । विमानस्थल निर्माणका लागि परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै आयोगले आइतबार २१ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको हो । उक्त विमानस्थल निर्माणको लागत अनुमान निर्धारण प्रक्रिया (इस्टिमेट) मा आर्थिक अनियमितता भएको दाबीसहित आयोगले गत मङ्सिर २१ गते पूर्वमन्त्री, पूर्वसचिव, पूर्वसहसचिव तथा अन्य उच्च अधिकारीसहित ५५ जना र विमानस्थल निर्माणमा संलग्न कम्पनी सिएएमसी इन्जिनियरिङ तथा परामर्शदातालाई प्रतिवादी बनाएर विशेष अदालतमा पहिलो भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आइतबार दायर गरिएको दोस्रो मुद्दामा आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीलाई प्रतिवादी बनाएको छ । यो विमानस्थल चिनियाँ ऋण सहायतामा चीनकै ठेकेदारबाट बनाइएको हो । विमानस्थल निर्माणमा संलग्न चिनियाँ निर्माण कम्पनी ‘चाइना सिएएमसी इन्जिनियरिङ’ र परामर्शदाता ‘इआरएमसी/ए–नोट/स्लेट जेभी’ लाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ । उक्त विमानस्थल निर्माणमा चिनियाँ एक्जिम बैङ्कको ऋण सहयोग छ । विमानस्थल इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा निर्माण हुने गरी परामर्शदाता नियुक्तिका लागि २८ लाख अमेरिकी डलर छुट्याइएको थियो तर उक्त रकमबाट परामर्शदाता नियुक्त नगरी बदनियतपूर्वक प्राधिकरणको छुट्टै आन्तरिक बजेटबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रुपियाँको लागत अनुमान स्वीकृत गरी दोहोरो खर्च गराइएको आयोगको निष्कर्ष छ ।
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा ३४ हजार रुपैयाँ घटेको छ । गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्या गरी रुखबाट लडेर मृत्यु भएको भनिएता पनि शव परिक्षणको प्रतिवेदनले सौरवको हत्या भएको पुष्टि गरेको हो । सोही आधारमा अनुसन्धान गर्ने क्रममा प्रकाश विकलाई पक्राउ गरेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार मदिरा सेवनपछि भएको विवादमा सौरवको हत्या भएको खुलेको हो । गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव विक घाँस काट्ने क्रममा लडेर घाइते भएको बताइएको थियो । त्यसपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी हुँदै गण्डकी मेडिकल कलेज पोखरामा लगिएको थियो । तर, अस्पतालले बाँच्ने सम्भावना कम भएको बताएपछि घर फर्काइएको थियो । त्यसपछि उनको निधन भएको थियो । त्यसपछि पोष्टमार्टम र शव परीक्षण प्रतिवेदन र सुक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको हो । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार, शनिबार पक्राउ परेका प्रकाशले प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्वीकार गरेका छन् । उनीविरुद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतले ७ दिनको म्याद थप गरी थप अनुसन्धानm गरिरहेको छ ।
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान गरेका सुरजजंग राणालाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारंभ गरे । सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले पहिलो पटक रक्तदान गर्नेहरुलाई हौसला र सकरात्मक धारणा बनाउन सहयोग पुग्ने गरी सचेतता अभियान चलाउनु पर्नेमा जोड दिए । रक्तदाताको लगत राखी दुर्लभ रक्त समूहलाई रिजर्भमा राख्न वडाध्यक्ष गुरुङले आग्रह गरे । कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमा क्याम्पस प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यष बिबेक के.सी, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष असिम पाण्डे, कलेजका सल्लाहकार छत्रधर आत्रेय, संचालक शान्ति खनाल, रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली र सहायक क्याम्पस प्रमुख सुनिदत्त बरालले रक्तदानको महत्वका बारेमा बोलेका थिए । कार्यक्रममा नयाँ रक्तदाताका रुपमा कलेजका व्यवस्थापन विषय अन्र्तगत स्नातक र स्नाकोत्तर तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको हो । विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका २६ का अध्यक्ष नरेन्द्र थापाले वित्तिय संस्थाले सामाजिक उत्तरदायित्व मार्फत कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष थापाले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ती र डिजिटल बैंकिङका क्षेत्रमा स्थानीय सरकारको तर्फबाट वडाले सहकार्य गर्न सक्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा एनआइएमबी बैंक लिमिटेड अर्घौ शाखाका प्रमुख प्रकाश सिग्देलले शिक्षाको क्षेत्रमा संस्थागत उत्तरदायित्व अन्तरगत विद्यार्थीलाई पोशाकमा सहयोग गरेको उल्लेख गरे । विद्यालय व्यवस्थपन समितिका निर्वतमान अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं २६ का वडासदस्य तिर्थबहादुर राजभाट, निमित्त प्रधानाध्याक राजेन्द्र शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक नवराज अधिकारीले गर्नु भएको थियो ।
पोखरा: आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ । यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई छनोट गरिएको हाे । पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र संचारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिक जस्ता गतिविधि समेटिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा आयोजना हुन लागेको २१ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका वासिन्दालाई निमन्त्रणा प्रदान गर्ने अभिप्राय पनि अभियानले लिएको उनले बताए । होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा हुने यस अभियानलाई पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले सघाएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनको राजधानी रहेको र यो शहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गरे । पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याई उनीहरुको बसाई अवधि लम्ब्याएर बसाईलाई थप रमाइलो र उल्लासपूर्ण बनाउन फेवा नव बर्ष महोत्सव सहयोगी हुने पनि उनले बताए । पोखरा पुग्न चाहने पर्यटकलाई यहाँ निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले थप सहजता थपेको पनि लामिछानेले स्मरण गराए । आन्तरिक पर्यटन प्रबद्र्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता बोकेर २२ बर्षअघि सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएपछि यसलाई संघले निरन्तरता दिएको जनाइएको छ । हवाई र स्थल कनेक्टिभिटिको विस्तार गर्दै पूर्वी नेपाल र पोखराविच पर्यटक तथा व्यवसायको आदानप्रदान गर्ने महत्वपूर्ण उद्धेश्य पनि अभियानले लिएको छ । यसका लागि विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म संचालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्न र ती शहरबाट पोखरासम्म स्तरीय पर्यटक बस सेवा संचालनका लागि समेत संघले पूर्वका व्यवसायीसँग सहकार्यको प्रस्ताव राख्ने छ । पर्यटनको राजधानी पोखराको होटल क्षेत्रमा मात्र पाँच खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको, यस क्षेत्रका एक हजार दुई सय होटलमा ४० हजार बिस्तारा रहेको र तिनमा १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको संघको आँकलन छ । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्धेश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले आगामी चैत २९ देखि वैशाख १ गतेसम्म फेवा तालको किनार लेकसाइडमा २१ औं फेवा नव बर्ष महोत्सव आयोजना गर्दै छ । उक्त महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका बासिन्दालाई संघले निमन्त्रणा प्रदान गर्ने छ ।
गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने व्यवस्था हटाएको छ। सेवाग्राहीहरूले छुट्टै आवेदन फाराम भर्नु नपरी सिधै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन्। केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तर–आबद्धता भएपछि यस्तो सुविधा सुरु गरिएको मन्त्रालयले जनाएको छ। आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्दै दोहोरो प्रक्रिया हटाएर सेवा सरल बनाउने नीति अघि बढाइएको बताए। मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले सेवा प्रवाह छिटो, खर्च घटाउने र सुशासन कायम गर्न सहयोग पुग्नेछ। हाल दैनिक ६–८ हजार राष्ट्रिय परिचयपत्र बनिरहेका छन्।
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ गरेको हो । जुवा खेलिरहेको प्राप्त सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट उनीहरुलाई सार्वजनिक हित, नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा वा सट्टेबाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा टिप्पर चालक अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४, का २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, रुपन्देही जिल्ला देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन–१० का ३३ वर्षीय राजन चिदी रहेका छन् । शनिबार बेलुकी ६ बजेतिर माथागढी–४, झडेवाबाट वडा नं. ७ रहबासस्थित चुनढुंगा खानीतर्फ गइरहेको खाली टिप्पर खानी स्थलमै दुर्घटनामा परेको थियो । टिप्पर दुर्घटनापछि घाइते भएका चारै जनालाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याएपछि तीन घाइतेलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए । गम्भीर घाइते चिदीको भने उपचारकै क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । घटनाबारे थय अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टिप्पर सडकदेखि ५० मिटर तल खसेको थियो ।

