पोखरा:  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्।  नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनक...

पोखरा:   लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् ।  फाउण्डेशनका संस्थापक गुरुङले आज आफ्नो जन्मोत्सवको अवसरमा पोखरा महानगरपालिका स्थित पोखरा वृद्धाआश्रम, मानवसेवा आश्रम छोरेपाटन शाखामा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाएका हुन् ।  जन्मोत्सवको अवसरमा फजुल खर्च भन्दा सामाजिक क्षेत्र सेवा गर्दै आएको फाउण्डेशनका संस्थापक गुरुङले बताए ।   ‘मैले आफ्नो जन्मोत्सवको अवसरमा विगत ८÷९ वर्षदेखि पोखरा वृद्धाआश्रममा आएर जन्मोत्सव मनाउँदै आएको छु, उनले भने, ‘यो सहयोग भन्दा पनि बाहिर गर्ने खर्च भन्दा सामाजिक कार्यमा खर्च गर्नुपर्छ भन्ने सन्देश हो, वृद्धाआश्रम र मानवसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर जन्मोत्सव मनाउन पाउँदा छुट्टै आनन्द हुन्छ ।’ पोखरा वृद्धा आश्रममा ४० जना  र मानवसेवा आश्रम छोरेपाटनमा ९४ जना आश्रीत रहेका छन् ।  यस्तै गुरुङले विगत ४ वर्षदेखि जन्मोत्सवको अवसरमा नै पोखरा महानगरपालिका–१४ का मृगौला पीडित नरबहादुर तामाङ र शारीरिक अपाङ्गता बिनिता तामाङलाई खाद्यान्नसँगै आर्थिक सहयोग गरेका छन् ।  मृगौला पीडित तामाङले हप्तामा दुई पटक डायलाइसिस गर्दै आएका छन् । भने, बिमला तामाङ शारीरिक अपाङ्गता छिन् ।  फाउण्डेशनका संस्थापक गुरुङ सामाजिक तथा खेलकुद विकासको क्षेत्रमा काम गर्दै आएका छन् ।  

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भइआएका दुई वटा विधेयकलाई आज प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक, २०८२’ प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए । गण्डकी प्रदेशसभाले गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक २०८२ गएको कात्तिक २८ गते पारित भएको हो । सो विधेयक कात्तिक २४ गते सभामा प्रस्तुत भएको थियो ।  गण्डकी विश्वविद्यालय ऐन २०७६ मा भएको पछिल्लो संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा परिर्वतन गरेको छ । गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक भने कात्तिक २४ गते प्रदेशसभाबाट पारित भएको थियो । 

गण्डकी:    पोखरा महानगर–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ ।  सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी संकलन गरी जैविक मल उत्पादन सुरु गरेको हो । वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा माटोको उर्वराशक्ति वृद्धि गर्दै प्राकृतिक स्रोत उपयोग गरेर हरित रोजगार सिर्जना गर्ने मूल उद्देश्यका साथ समूहले जैविक मल उत्पादनमा जोड दिएको समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार समूहले वन क्षेत्रको अँधेरीकुनामा संकलन गरेको वन पैदावारलाई नवीनतम् प्रविधि प्रयोग गरी मलमा परिणत गरेको छ । समूहले पहिलो पटक ३५ हजार किलो मल उत्पादन गरेर बिक्री गरेको छ । ठोट्ने खोला कृषि सहकारी संस्था लिमिटेडमार्फत् समूहले बजारीकरण गरिरहेको छ । जैविक मल प्रति किलो २५ रुपैयाँ र गडेँउले (वर्मि) मल प्रति किलो ४० रुपैयाँमा बिक्री हुँदै आएको छ । समूहले पहिलो पटक उत्पादित मल बिक्री गरी १३ हजार रुपैयाँ आम्दानी गरेको छ । अध्यक्ष श्रेष्ठले भने, “जैविक मल प्रयोगले माटोको जैविक तत्व वृद्धि गर्ने, उर्वराशक्ति दिगो राख्ने र रसायनिक अवशेषमुक्त उत्पादनलाई प्रोत्साहन गर्नेछ ।” सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको ‘एक वन, एक उत्पादन’ अभियान अन्तर्गत सुरु गरिएको परियोजनाबाट हरित रोजगार सिर्जना हुनाका साथै जैविक कृषि अभ्यास बढ्ने र वातावरण अनुकूलन उत्पादन प्रणाली विस्तार हुने उनको भनाई छ ।  पातपतिङ्गरलाई आधुनिक मेसिनद्वारा कटिङ गरी सानो आकारको बनाएर हरियो प्लाष्टिक टनेल भित्र राखिन्छ । सो टनेलमा गँड्यौलाको प्रयोग गरी मल बनाउने गरिन्छ । सो कार्यका लागि जैविक विविधता अनुसन्धान र विकास पहल ९लिवर्ड० ले २५ हजार गँड्यौलासहित आवश्यक भौतिक संरचना निर्माणमा सहयोग गरेको छ ।   हरियो पातपतिङ्गरको प्रति केजी तीन र सुकेको प्रति केजी पाँच रुपैयाँका दरले वन समूहले खरिद गर्दा चार लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनाइएको छ । गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल गुणस्तर परीक्षण प्रयोगशालाको प्रतिवेदन अनुसार आवश्यक मापदण्ड पूर्ण भएको प्रमाणित भइसकेको छ ।  उत्पादित मलमा चिस्यान ८ दशमलव १, पिएच ६ दशमलव २, नाइट्रोजन १ दशमलव ३, फस्फोरस ० दशमलव ५, पोटासियम ३ दशमलव ०३ र कार्वन २५ दशमलव ३४ प्रतिशत रहेको प्रयोगशालाको प्रतिवेदनमा उल्लेख छ । समूहका सदस्य एवम् कृषि प्राविधिक प्रशान्त श्रेष्ठकाअनुसार समूहले कौशीखेतीका लागि पाँच र कृषिका लागि २० केजीको मलको प्याकेट तयार गरेको छ । उनले डिभिजन वन कार्यालय कास्कीले भौतिक पूर्वाधार निर्माणका लागि चार लाख ५० हजार रुपैयाँ र गण्डकी जलाधार जलवायु उत्थानशील कार्यालयले कृषि पाठशाला सञ्चालनका लागि तीन लाख ५० हजार रुपैयाँ प्राप्त भएको जानकारी दिए । ८६ दशमलव ७५ हेक्टरमा फैलिएको उक्त वनमा हाल १९२ घरपरिवार उपभोक्ता छन् । गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लास्थित विनयत्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन समूहले विगतदेखि जैविक मल उत्पादन गर्दै आएको छ ।  पछिल्लो समय गाउँपालिकाले अपनत्व लिएको सो उद्योगमा हाल ८० जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको समूहले जनाएको छ । 

काठमाडौं:  नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैङ्कमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय विशाल राई, नुवाकोटका १८ वर्षीय साजन तामाङ र नुवाकोटकै १९ वर्षीय समीर तामाङ छन् । उनीहरुले गत मङ्सिर ८ गते महिलालाई लुटपाट गरी फरार रहेको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक  पवनकुमार भट्टराईले साँझको समयमा हिँडेर घर फर्किने क्रममा महिलाको साथमा रहेको नगद, सुन, बैङ्कका चाबी, मोबाइल सेट र महत्त्वपूर्ण कागजातसहितको झोला लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले मोटरसाइकलबाट आएर लुटपाट गरी भागेका थिए । पक्राउ परेकासँग प्रहरीले मोबाइल, चाबीको झुप्पो लगायतका सामानसहित १२ दशमलव ६३० ग्राम सुनको झुम्का, ७ दशमलव ८ लालको सुनको टप, रु. दुई हजार ५०० नगद बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं: आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु. ४०० ले घटेको छ भने चाँदी रु. ६० ले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु. तीन हजार २८० कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला रु। दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु. तीन हजार २२० मा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

काठमाडौं:  नेपाल राष्ट्र बैंकले आजदेखि एकसय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।  साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ।  राष्ट्र बैंकले आज सूचना जारी गरि एकसय दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो।  चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटको मध्य भागमा नेपालको नक्सा रहेको छ।  त्यसैगरि नयाँ नोटमा तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।  नयाँ नोट दृष्टिविहीन अनुकूलको रहेको छ। दृष्टिविहीनहरूले छामेरै थाहा पाउनेगरि नयाँ नोट डिजाइन गरिएको राष्ट्र बैंकले जनाएको छ।   

काठमाडौं:  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय सङ्ख्या घटाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा जारी विज्ञप्तिमा २० सदस्यीय सचिवालयबाट प्रधानमन्त्री कार्कीले १४ जनालाई हटाउनुभएको हो । यससँगै अब उहाँको सचिवालय ६ सदस्यीय भएको छ । ‘‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम भएपनि अनि जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज हुँदै आएको थियो ।’’ विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले यी ६ जना पहिले नियुक्त व्यक्ति नै भएको जानकारी दिनुभयो । अब कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत ९फोटोग्राफर० र जनस्वास्थ्य विज्ञ मात्र रहने छन् ।  

सुनसरी:  कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन्।  आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ (छावा) जन्माएकी हुन्। जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै उनले चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको जानकारी दिए। छावाको जन्म भएको ११औँ दिन नवजात हात्तीको औपचारिक रूपमा नामकरण कार्यक्रम आयोजना गरिएको आरक्षका प्रमुख यादवले जानकारी दिए। उनले आरक्ष कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा आयोजित समारोहमार्फत छावाको नाम ‘भुपेन्द्र गज’ राखिएको बताए। ‘शोभाकली करिब दुई दशकदेखि आरक्षमा कार्यरत अभिमुखी हात्तीमध्ये एक हुन्। उनलाई मुख्यतः गस्ती, वन्यजन्तु अनुगमन, तथा अत्यावश्यक उद्धार कार्यमा प्रयोग गरिन्छ’, प्रमुख यादवले भने। यो जन्मसँगै शोभाकलीबाट जन्मिएका छावाको सङ्ख्या सात पुगेको छ। आरक्षका अनुसार उनका अधिकांश सन्तान अहिले पनि विभिन्न संरक्षण क्षेत्र तथा हात्ती प्रजनन केन्द्रमा स्वस्थ रूपमा पालनपोषणमा छन्। नवजात भुपेन्द्र गज हाल प्रतिदिन औसत १०–१२ लिटर दूध सेवन गरिरहेको जनाउँदै उनले जन्मेको तेस्रो दिनदेखि आमा पछ्याउँदै हिँड्न थालेको माहुतेहरूले जनाएका बताए। कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। हात्ती, गैँडा, हरिण, निलगाईलगायत ४५० भन्दा बढी प्रजातिका चराको महत्वपूर्ण आवासस्थल मानिन्छ। आरक्षभित्र कार्यरत हात्तीले सीमावर्ती क्षेत्रको निगरानी तथा अवैध सिकार नियन्त्रणमा ठूलो योगदान पुर्‍याउँदै आएको आरक्ष कार्यालयले जनाएको छ। 

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सह–प्राध्यापक डिल्लीराम प्रसाईसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गर्दै उनीहरूले झुट्टा शैक्षिक विवरण पेश गरी सह–परीक्षा नियन्त्रक पद प्राप्त गरेको आरोप लगाएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सह–प्राध्यापक प्रसाईले २०८१ भदौ २६ गते सह–परीक्षा नियन्त्रक पदका लागि आवेदन दिँदा आफ्नो व्यक्तिगत विवरण (सीभी) मा ‘डा. डिल्ली आर. प्रसाई’ र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा ‘डा। डिल्लीराम प्रसाई’ लेखिएको पाइएको छ। प्रस्तुत प्रमाणपत्रहरू विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न भएको देखाइ पेस गरिएको भए पनि ती विवरण वास्तविक नभएको आयोगको ठहर छ। उक्त प्रमाणपत्रका आधारमा उनी २०८१ कात्तिक १२ गते सह–परीक्षा नियन्त्रक छनोट समितिबाट क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका लागि पहिलो नम्बरमा सिफारिस भएका थिए। त्यसपछि त्रिवि रजिष्ट्रार कार्यालयले २०८१ मङ्सिर १८ गते निर्णय गरी मङ्सिर १९ गतेदेखि लागू हुने गरी प्रसाईलाई सह–परीक्षा नियन्त्रक पदमा नियुक्त गरेको थियो। आयोगका अनुसार चयन प्रक्रियामा संलग्न समितिका संयोजक प्रा. डा. जयालक्ष्मी प्रधान र सदस्यहरू प्रा। डा। मोतिलाल शर्मा तथा प्रा. डा. मेघराज पोखरेलले प्रसाईसँग मिलेमतो गरी विद्यावारिधि गरेको भनी आठ अंकको झुट्टा विवरण समावेश गराई परीक्षाफलमा हेरफेर गरेका थिए। यसरी बदनियतपूर्वक तथ्य लुकाई–छिपाई गलत प्रतिवेदनसहित नियुक्तिको सिफारिस गरेको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ। अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।