म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ । एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग र कीराको समस्या नदेखिएकाले आलुको उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/*८१ म एक हजार ७५० हेक्टरमा जिल्लामा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो । केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु १० करोड मूल्यबराबरको आलु पोखरा, काठमाडौँलगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी रु ४० देखि ४५ का दरले बारीबाटै आलुको व्यापार भएको छ । नियमित वर्षा भएकाले सिँचाइ, मौसम अनुकूल र रोग कीरा नदेखिएकाले उत्पादन बढेको अन्नपूर्ण गाउँपालिका–७ का वुद्धिवीर पुनले बताउनुभयो । उहाँका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ । अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो । गत वर्षमा एक हजार तीन सय रोपनीमा सञ्चालन भएको खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत एक हजार ८५ मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । कार्यक्रममार्फत तीनवटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि रु ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराएको केन्द्रले जनाएको छ । म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । रासस
काठमाडौँ: बौद्धधर्माम्वलीले मनाउने पर्व गुंला शुक्रबारबाट सुरु भएको छ । गुंलाको गुंलाथ्व पारुदेखि ११ औं महिना यँलाको यँलाथ्व पारुसम्म चल्ने यस पर्वलाई नेवाः समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्त्व मनाउने गर्दछ । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ । विशेषगरी काठमाडौँका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य लयायतका बुद्ध चैत्यहरुमा परिक्रमा गर्छन् । प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाउने गरिएको पाइन्छ । यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्त्व रहेको पाइन्छ ।
पोखरा: यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउनुभयो । “हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पु¥याउनुपर्छ,” भन्दै उहाँले प्रतियोगिता खेलकुदसँगै पर्यटन र अर्थतन्त्रसँग जोडिने भएकाले यसलाई बृहत् आयामबाट हेर्नुपर्नेमा जोड दिनुभयो । पुुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगी चन्द्रकान्त बरालले अघिल्लो संस्करणका कमजोरी सच्याउँदै यसपटकको प्रतियोगिता थप भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । पुम्दी र भुम्दी क्षेत्र आफैँमा पर्यटकीय सम्भावना बोकेका स्थान भए तापनि पर्वतीय दौडजस्ता कार्यक्रम अन्य गन्तव्यहरूको प्रवद्र्धनमा सहयोगी हुने बताउनु भयो । विश्व शान्ति स्तुप समितिका अध्यक्ष अशोक गुरुङले दोस्रो संस्करणलाई उत्कृष्ट बनाउन समिति सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समितिका सचिव दुर्गाबहादुर गुरुङले यस वर्ष प्रतियोगितालाई उत्सवकै रूपमा लिएर सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा युवा परिषद्का अध्यक्ष दिनेश बरालले प्रतियोगिताका लागि आवश्यक स्वयंसेवक परिचालनको सम्पूर्ण व्यवस्थापन गर्ने जानकारी दिनुभयो । कार्यक्रम संयोजक दीननाथ बरालले अघिल्लो संस्करणको अनुभवलाई आधार बनाएर यसपटक प्रतियोगितालाई थप व्यवस्थित र पुरस्कार पक्षलाईसमेत प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । पोखरा क्लिकको आयोजनामा हुने पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य र अफिसियल मिडिया पार्टनरमा सिटीवान टेलिभिजन रहेका छन् । प्रतियोगिताले स्थानीय प्रतिभाको प्रोत्साहनसँगै समग्र खेलसँग पर्यटन प्रवद्र्धनलाई जोडेर सामुदायिक एकता र आर्थिक समृद्धिका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले बताउनु भयो । विश्व पर्यटन दिवसको अवसरमा उक्त प्रतियोगिता हुने भएकोे हो । प्रतियोगिताका लागि आगामी भदौं पहिलो सातादेखि अनलाइन फर्ममार्फत् धावकले नाम रजिष्ट्रर गर्न सक्ने व्यवस्थापक सागर सुनारले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिताको उपाधि मिकी एफसीले उचालेको छ । नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा भएको प्रतियोगिताको फाइनलमा मिकी एफसीले सुजन डल्ले एफसीलाई २–१ गोलले हराउँदै उपाधि चुमेको हो । उपाधिसँगै मिकी एफसीले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । उपविजेता बनेको सुजन एफसीले ५० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भेट्रान्सतर्फको फाइनलमा डल्फिन भेट्रान्सले नयाँ गाउँ भेट्रान्सलाई ४–० को फराकिलो गोलअन्तरले हराउँदै उपाधि चुमेको छ । डल्फिनले उपाधिसँगै बोका प्राप्त ग¥यो भने नयाँ गाउँले भाले प्राप्त ग¥यो । युगपुरुष विपि कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो । मेलमिलाप तथा राष्ट्रिय एकता कायम गराउने व्यक्तिले दिएको सन्देशलाई आत्मसात गर्दै अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना स्वर्गारोहण भएका साथिहरुको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका थिए । दुई दिनसम्म चलेको प्रतियोगितामा ३० टिमको सहभागिता रहको थियो । प्रतियोगीताबाट बचत हुने रकम तनहँुको भानु नगरपालिका ७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ । सो बाल गृहमा हाल विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आस्रित रहेका छन् । अनिल गुरुङ, सजत कार्की र उत्तम गुरुङको स्मृतिमा उनका साथिद्धय अमित र अन्तिमले मुख्य प्रायोजन गरेका हुन भने, प्रदेश खेलकुद परिषद् गण्डकी, लोकतान्त्रिक खेलकुद संघ कास्की र नयाँ गाउँ युवा क्लबले सहयोग गरेका थिए ।
काठमाडौं: सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत असार ३० गते अन्तरिम आदेश गर्दै आयोडिनयुक्त नुन ऐन २०५५ यही साउन १ गतेदखि कार्यान्वयन नगर्न भनेको हो। आदेशमा ऐन निर्माण भई जारी भएको हाल करिब २५ वर्ष व्यतित भइसकेको अवस्था रहेको र हालसम्म ऐन कार्यान्वयनका लागि आवश्यक पूर्वशर्तको रुपमा रहेको नियमावली बनाउने काम पनि हुन नसकेको देखिएको उल्लेख छ। साथै विना आवश्यक पूर्वतयारी ऐन लागू गर्दा यस अदालतबाट यसअघि परेका मुद्दामा चिन्ता व्यक्त गरिएजस्तै आम जनताको स्वास्थ्य र जनजीविकासँग प्रत्यक्ष सरोकार रहने आयोडिनयुक्त नुनको आपूर्ति र बिक्री वितरण नै प्रभावित हुनसक्ने अवस्था देखिएको आदेशमा उल्लेख छ। आदेशमा भनिएको छ, “तत्काल ऐन लागू नगर्दा कसैलाई अपूरणीय क्षति पुग्नसक्ने अवस्था नदेखिएको र प्रस्तुत विषयवस्तुको प्रकृतिबाट रिट निवेदनको अन्तिम किनारा लाग्दाका बखत नै निरुपण हुन मनासिब हुँदा प्रस्तुत रिट निवेदनमा अन्तिम किनारा लाग्दाका बखत ठहरे बमोजिम हुने गरी हाललाई नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मिति २०८२ साउन १ गतेदेखि आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५ प्रारम्भ हुने गरी नेपाल राजपत्रमा प्रकाशित सूचना कार्यान्वयन नगर्नु नगराउनु।” आदेशमा आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ को व्यवस्था कार्यान्वयन गर्नका लागि नियमावली जारी नगरेकाले उक्त ऐन कार्यान्वयनमा रोक लगाइएको उल्लेख छ। अधिवक्ता शिलत महर्जनले २५ वर्षअघि बनेको ‘आयोडियनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५’ लाई जगाई आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आयोडिनसम्बन्धी नुनलाई निजी क्षेत्रबाट आयात र वितरण गर्ने योजना प्रत्यक्ष देखिएकाले उक्त ऐन लागू हुँदा मानव स्वास्थ्यमा दीर्घकालीनरुपमा गम्भीर असर पर्ने उक्त ऐन बदर गर्न माग गर्नुभएको थियो।
दार्चुला: नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्याँस गाउँपालिकाका युवाले चट्टान फुटाएर अहिले मानिस हिँड्न घोरेटो बाटो बनाएका छन् । व्याँसको वडा नम्बर १ र २ जोड्ने पैदल बाटो नभएपछि स्थानीयले चट्टान फोडेर बाटो बनाएका हुन् । महाकाली नदीको छेउको ठाडो चट्टान फोडेर आफ्नै भूमिमा पाइला टेक्न सकिने बाटो व्याँसका युवाले ज्यानको बाजी राखेर बनाएका छन् । व्याँस–२ का युवा जनकसिंह धामीको नेतृत्वमा यो काम भएको हो । व्याँस–१ को छाङ्गरु र तिंकर तथा वडा नम्बर २ को दुम्लीङ कल्जु गाउँ जोड्न स्थानीयले घोरेटो बाटो बनाएका हुन् । गाउँ जानुपर्दा जहिल्यै भारतको बाटो हिँड्नुपर्ने र भारतीय प्रहरीको अनुमति विना गाउँ जान नसकिने भएपछि यहाँका स्थानीय यो अवस्थाको अन्त्यका लागि यस्तो जोखिम उठाएर बाटो बनाएको धामी सुनाउँछन्। ‘यो बाटोले दुई वडामात्र होइन्, देशको भूगोल समेत जोडेको छ, यो बाटोमा जोखिमपूर्ण काम गरेबापत मजदुरले दैनिक एक हजारदेखि रु एक हजार ५०० ज्याला लिए’, उनले भने। व्याँसका दुई वडा जोड्ने परम्परागत घोरेटो बाटो भत्किएका कारण यो क्षेत्रमा आवतजावत ठप्प थियो । महाकाली नदी किनारैकिनार पैदल बाटो रहेकामा भारतले निर्माण गरेको सडकका कारण पूरै नदीको धार नेपालतर्फ आउँदा बाटो भत्किएपछि नेपालका दुई गाउँ जान बाटो थिएन । बाटो भत्किएपछि सुदूरपश्चिम प्रदेश सरकारले २०७७ सालमा नेपाली सेनाको सहयोगमा ४५० मिटर घोरेटो बाटो खोलेको थियो । त्यो बाटो एक वर्ष पनि टिकेन । सबैभन्दा कठिन भूगाले रहेको ‘थी भीर’ क्षेत्रको पैदल बाटो बनाउने जिम्मेवारी पाएका धामीसँग गाउँका ४३ युवाको साथ थियो । उनले भने, ‘ज्यानको मायाभन्दा मातृभूमि र राष्ट्रको माया बढी भएरै बाटो बनाएका छौं, सबैले सहयोग नगरेको भए यस वर्ष पनि बाटो बन्न सम्भव थिएन ।’ घोरेटो बाटोमा काम गरेका उज्जवलसिह महता बाँदर नचढ्ने भीरमा डोरी लगाएर काम गर्दा पनि अप्ठ्यारो महशुस नभएको बताउँछन्। ‘एकातिर कडा चट्टान थियो, तल हेर्दा पूरै महाकाली नदीले हानिरहेको, थोरै गल्ती भएको भए सक्कियो, काम गर्ने बेलाको समय सम्झिँदा अहिले पनि आङ जिरिङ हुन्छ’, उनले भने । सडक पहुँच नभएकाले दार्चुलाको छाङ्गरु र तिंकर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको तीन दशक भएको थियो । अहिले सबै क्षेत्रमा बाटो निर्माण भइरहेको छ । थोरै भए पनि राहत महशुस भएको बाटो निर्माणमा खटिएका डम्मरसिंह धामीको भनाइ छ । ‘परम्परागत बाटोको नाम निसाना मेटिएको थियो, पूरै कडा चट्टान डोरीमा अड्किएर काम गरियो’, धामीले भने, ‘यो बाटो खुलेपछि व्याँसको वडा नम्बर १ को छाङ्गरु तथा तिंकर र वडा नम्बर २ को दुम्लीङ गाउँ घोरेटो बाटोले जोडेको छ’, उनले भने। गाउँपालिकाले बोलपत्र आबहान गरेर बाटो बनाएको हो । बाटो निर्माणको जिम्मा मिसन–देवहरी जेभी निर्माण कम्पनीले गरेको हो । कुल पाँच करोड छ लाख नौ हजार ९९४ लागतमा घोरेटो बाटो निर्माणको ठेक्का पाएकामा असार मसान्तसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण व्यवसायी केशवबहादुर पालले बताए । ‘निकै जोखिमपूर्ण क्षेत्रमा काम थियो”, निर्माण व्यवसायी पालले भने, “तै पनि मजदुरले रातदिन काम गरेर यत्ति प्रगति भयो ।’ निर्माण कार्य नसकिएको भन्दै आगामी मङ्सिर १५ गतेसम्म म्याद थप गरिएको छ । अहिले अपि खोला लगायतका क्षेत्रमा पुल निर्माण र बाटो मर्मतको काम चलिरहेको निर्माण व्यवसायी पालले बताए। मजदुर लगाएर अहिले पनि थी भीरभन्दा माथिल्लो क्षेत्रमा काम चलिरहेको छ । व्याँसवासीलाई आफ्नै बाटो हिँडाउने गरी बाटोको काम भइरहेको उनको भनाइ छ । गाउँपालिकाका सबइन्जिनियर जगतसिंह डडालका अनुसार हालसम्म घोरेटो बाटो निर्माणमा चार करोड १३ लाख ३३ हजार २०१ खर्च भइसकेको छ । निर्माण कम्पनीले व्याँसको वडा नम्बर २ र १ मा पर्ने तम्बाकु, माल्पा, घाटीबगड, बयाली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ । त्यसअनुसार घोरेटो बाटोमा ६५० घनमिटर मेसनरी वाल, ५७७ घनमिटर ड्राइ वाल, ७२ घनमिटर स्टोन वाल, ५०० घनमिटर पलम कङ्कृट र २० घनमिटर (८५ मिटर) आरसिसि ढलान गरिएको छ । दोपाखे, अपिखोला र कुन्तीसाउमा छ मिटर लम्बाइ स्पानका तीन वटा आरसीसी पुल निर्माण गरिएको डडालले बताए।
काठमाडौं: नेपाल आयल निगमको सिनामंगल स्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई इन्धन डिपोलाई गुह्येश्वरी स्थित नेपाली सेनाको गल्फ कोर्समा स्थानान्तरण गर्नेसम्बन्धी परियोजनाको डिपिआर तयार भएको छ । यस योजना अन्तर्गत निगमले गत मङ्सिर ५, २०८१ मा स्थानीय कन्सल्टेन्टको रूपमा पुलचोक इन्जिनियरिङ संस्थान, पुलचोकलाई डिपिआरको जिम्मा दिएको थियो । सम्झौता अनुसार इन्जिनियरिङ संस्थानले ७ महिनामा परियोजनाको डिपिआर तयार गरी निगमलाई बुझाएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा इन्जिनियरिङ संस्थाले गुह्येश्वरीमा निर्माण गरिने हवाई इन्धन डिपो निर्माणको डिपिआर बुझाएको हो । प्रस्तावित निर्माण हुने डिपो अत्याधुनिक तथा पूर्ण रूपमा स्वचालित एल ३ लेबल अटोमेसनयुक्त हुनेछ । यस डिपोमा इन्धन भण्डारणको लागि हाल ३००० किलोमिटर क्षमताका ५ वटा भर्टिकल ट्याङ्कीको निर्माण हुनेछ भने भविष्यमा भण्डारण क्षमता बढाउनको लागि समेत खाली स्थान निर्माण हुने निगमले जनाएको छ । यसै परियोजना अन्तरगत इन्धन लोडिङरअनलोडिङका लागि क्रमश: ६ र ८ वटा बेहरु निर्माण हुने, अन्तर्राष्ट्रिय उडानका जहाजमा इन्धन भर्नको लागि ७ पिट हाइड्रान्ट रिफ्यूलिङ सिस्टम तथा २ वटा रिफ्यूलिङ डिस्पेन्सर पनि रहने निगमले जनाएको छ । डिपोमा अग्नि सुरक्षाका लागि २१०० किलोमिटर क्षमताका २ वटा स्ट्याटिस वाटर ट्याङ्की र पूर्ण स्वचालित फाइटिङ सिस्टम समेत जडान हुनेछ । यसै गरी प्रस्तावित निर्माण हुने डिपोमा प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मत संभार यार्ड, लगायत डिपोको सुरक्षार्थ खटिने नेपाली सेनाको लागि अलग्गै भवनको समेत व्यवस्था रहने छ। अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरू एपीआई ओआईएसडीको पूर्ण रूपमा पालना गर्दै निर्माण हुन लागेको यस डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख ५ हजार अनुमान गरिएको छ । हाल निगमले डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नागरिक उड्डयन प्राधिकरणले साइट क्लियरेन्सको काम अगाडि बढाएको र निगमले यो विस्तृत परियोजना प्रतिवेदन अध्ययन पश्चात् आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजन गरी भाद्र महिनामा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार बोलपत्र आह्वान गर्ने जनाएको छ । २ महिनाभित्रमा बोलपत्र मूल्याङ्कन लगायतका प्रक्रियाहरू टुङ्ग्याइ यसै आर्थिक वर्षको मङ्सिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्रमा ९२०८४ मङ्सिर सम्ममा० निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको छ । नेपाल आयल निगम लिमिटेडले साबिकमा रहेको सिनामंगल स्थित हवाई इन्धन डिपो नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८१/०४/२८ को निर्णय अनुसार स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद डा.तोषिमा कार्कीलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन् । त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधि मण्डलले भेट गरेको छ । महासङ्घका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको हो । उनीहरूले राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकताविहीन ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्ने लगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राखेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका समस्यालाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने बताए ।