पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पोखरा क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई १ विकेटले हराएको छ । १२५ रनको विजयी लक्ष्य पाएको पोखराले ३३ ओभरमा ९ विकेट गुमाउँदै १२६ रन बनायो । आतिफ मियाँले २१, मुस्कान थापाले २० र सुवाष भण्डारीले २० रन जोडे । लेखनाथका लागि साहिल पौडेल र सुवाष वास्तोलाले ३/३ तथा सज्जन क्षेत्रीले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको लेखनाथ क्रिकेट क्लब ३३.४ ओभरमा १२४ रन बनाउँदै अलआउट हुन पुग्यो । लेखनाथका लागि राजकुमार छन्त्यालले ३०, सहिल पौडेलले २२ र देव यादवले १७ रन बनाए । पोखरा क्रिकेट क्लबका लागि सुर्जन गुरुङले ४, देव शाह र प्रज्वल पौडेलले २/२ विकेट लिए । यस्तै अर्को खेलमा राइजिङ पोखरा क्रिकेट क्लबले लेकसाइड क्रिकेट क्लबलाई ६७ रनले हराएको छ । लेखनाथस्थित इडन हेवन क्रिकेट मैदानमा भएको खेलमा ११२ रनको विजयी लक्ष्य पाएको लेकसाइडलाई १६.१ ओभरमा अलआउट गराउँदै राइजिङले जित हासिल गरेको हो । लेकसाइड ४४ रनमै अलआउट भए । लेकसाइडका लागि मोहम्मद रिजाले १८ र सुमित रौनियारले ९ रन बनाए । राइजिङका लागि अन्जन केसीले सर्वाधिक ६ विकेट लिए । कृष्ण पौडेल र समिर भुजेलले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राइजिङले २२ ओभरमा १११ रन बनाउँदै अलआउट हुन पुग्यो । राइजिङका लागि अनिल गुरुङले ३१, कृष्ण पौडेलले २९ र रोनक झाले २० रन जोडे । लेकसाइडका लागि विकास पाठक र सन्देश शाहीले समान ३÷३ तथा निरज ढकालले २ विकेट लिए ।
सर्लाही: नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ । आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताउनुभयो । सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उहाँको भनाइ थियो । नेपाली कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले मधेसले कांग्रेस र लोकतन्त्रका लागि लगाएको गुणबारे जानकार भएको बताउनुभयो । “अब म यहाँको भाषा, रहनसहन, वेशभूषा, संस्कार संस्कृति सबै पढ्छु र सिक्छु । केही नेता साथीहरुले एक लाइन भए पनि स्थानीय भाषामा सम्बोधन गरिदिनु भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “म दुई दिनको चटक देखाउन आएको हैन । त्यसैले सबै सिक्छु अनिमात्रै बोल्छु ।” काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधि भएर मधेसका सवालहरू संसदमा धेरै पटक उठाएको उल्लेख गर्दै उहाँले यस पटक मधेस र मधेसका सवाल नजिकबाट बुझ्ने प्रतिबद्धता जनाउनुभयो । एक पटक भए पनि मधेसप्रति समर्पित नभई, मधेसमा आफू र आफूमा मधेस नल्याई सम्पूर्ण रुपमा नेपाली हुन नसक्ने ठानेर आफू मधेस झरेको उहाँले स्पष्ट पार्नुभयो ।
काठमाडौं: नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ । थाइल्यान्डको नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४–१ गोलले हरायो । प्रतियोगिताको अन्तिम खेलमा भारतले पाकिस्तानलाई ४–१ गोलले हराएपछि नेपाल उपविजेता बन्नबाट चुक्यो । भारत उपविजेता बन्यो भने नेपाल गोलअन्तरका आधारमा तेस्रो भएको हो । च्याम्पियनसिपको उपाधि माल्दिभ्सले अपराजित रहँदै जितेको छ ।
पोखरा: पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्नेछ । तालिमको पहिलो दिन डा.आरती रेग्मीले व्यक्तित्व विकास सम्बन्धमा सहजीकरण गरिन् । उनले शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धमा आफ्नो प्रस्तुति राखेकी थिइन् । तालिम संयोजक मीना बरालका अनुसार दोस्रो दिन मंगलबार व्यवसाय प्रवद्र्धन र ‘ब्रान्डिङ’ सम्बन्धमा समिर बराल र डिजिटल मार्केटिङ सम्बन्धमा विजय कुमालले तालिम दिनेछन् । अन्तिम दिन बुधबार साइबर अपराध र अनलाइन ठगी सचेतना सम्बन्धमा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले सहजीकरण गर्नेछन् । तालिको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ निर्देशक मणिराज लामिछानेले तालिममा गरिने लगानीले व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुपर्ने बताए । उनले पर्यटन व्यवसायी महिलाको सवलीकरणका लागि आवश्यकताका आधारमा अन्य शीर्षकमा पनि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डीएसपी नवराज भट्टराईले साइबर अपराध बढिरहेको अवस्थामा यसबाट बच्न अपनाउनुपर्ने उपायकाबारेमा तालिमले स्पष्ट पार्ने अपेक्षा व्यक्त गरे । पोखरा पर्यटन परिषद्का सचिव नारायणप्रसाद सुवेदीले तालिमबाट लाभ लिएर व्यावसायिक जीवनमा उतार्न सहभागीलाई आग्रह गरे । टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदा मात्रै व्यवसायमा पनि सफल हुन सकिने भएकोले यस्ता तालिम फलदायी हुने बताइन् । टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले तालिमबाट अपेक्षित उपलब्धी हासिल गर्ने बताइन् । ‘क्षमता अभिवृद्धिमा पर्यटन बोर्डले सहयोग गरेको छ अब पर्यटन प्रवद्र्धनमा पनि व्यवसायी महिलाका लागि बजेट छुट्याउन आवश्यक छ,’ उनले भनिन् । संस्थाकी महासचिव शोभा अधिकारी पौडेलद्वारा सञ्चालित कार्यक्रममा संयोजक मीना बरालले तालिमको उद्देश्यबारे बताएकी थिइन् ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता गराएको छ । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसियसनलाई पराजित गरेको थियो । आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । यसअघि आजै भएका खेलमा महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकाल्यो । पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । महिलातर्फ एपीएफले त्रिभुवन आर्मी क्लबलार्य पराजित गरेको थियो । आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता ग¥यो । च्याम्पियनसिपअन्तर्गत भोलि मंगलबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ आर्मी र थाइल्याण्ड क्विन्सबिच बिहान साढे ८ बजेबाट सुरु हुनेछ । दोस्रो खेल महिलातर्फ नै न्यू डायमण्ड स्पोट्र्स क्लब र पुलिसबिच हुनेछ । त्यसपछि पुरुषतर्फका २ खेल हुनेछ । पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भिड्नेछन् । पुरुषतर्फको दोस्रो खेल गण्डकी र पुलिसबिच हुने तालिका छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
रुपन्देही: रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो । मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई यहाँ प्रवेश गरेको अनुभूति होस् भन्ने उद्देश्यले झण्डा राखिएको कार्यक्रम संयोजक तथा स्थानीयवासी अर्जुनकुमार गिरीले बताए । ‘नेपाल आएका छौँ’ भन्ने पर्यटकलाई जानकारी दिन यो कार्य अगाडि बढाइएको उनको भनाइ छ । यसले बेलहिया नाकाको सौन्दर्यकरणका लागि पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । राष्ट्रियता झल्काउन झण्डा आवश्यक रहेको उनले बताए । आफूहरुले गरेको यो कार्यले नेपालभरी सन्देश पुग्ने गिरीले बताए । झण्डाहरु नेपाल भन्सार एजेण्ट सङ्घ, रुपन्देहीले उपलब्ध गराएको उनको भनाइ छ । बेलहिया गाउँ समाजले ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ नाराका साथ नाका क्षेत्रको सौन्दर्यकरण थालेको छ । यसक्रममा सरसफाईसँगै पार्किङ व्यवस्थापनमा पनि जोड दिइएको कार्यक्रम संयोजक गिरीले बताए । बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले ‘सफासुग्घर र हराभरा बेलहिया’ बनाउने अभियानमा रहेको बताए । नेपालमा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक बेलहिया नाकाबाट भित्रिने गरेका छन् ।
मनाङ: आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली कांग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । “निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन वटा चिन्ह मात्रै रहने भएको हो”, उहाँले भन्नुभयो । नेपाली कांग्रेससका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ ‘नवीन’ चुनावी मैदानमा छन् । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मनाङमा कूल सात हजार मतदाता छन् । देशकै सबैभन्दा कम मतदाता रहेको यस जिल्लामा एक अस्थायीसहित २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँको निर्वाचन सम्पन्न गर्न १७१ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चितवन: चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ । उहाँले भन्नुभयो “आज देखि क्यामेरा उठाउने काम सुरु भएको छ । दुई देखि तीन दिनमा क्यामेरा उठाउने काम सकिने छ ।” उहाँका अनुसार तालिम दिएका १५० गणकहरू गणनामा खटिएका छन् । दोस्रो भागमा १३ क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । ती क्यामेरा निकाल्न थालिएको हो । सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको थियो । एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गाणना गरिएको हो । मगरका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ । तेस्रो भाग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा रखिने छ । दोस्रो भागमा राखिएका क्यामेरा उठाएर ती क्षेत्रमा राखिने उहाँले जानकारी दिनुभयो । चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभागमा पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरेका छन् । गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिनुभयो । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उहाँले भन्नुभयो । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार ४ ओभरमै खेल सकिएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेकसाइड क्रिकेट क्लबले ४ ओभरमै खेल सकाउँदै १० विकेटको जित हासिल गरेको छ । एभरेष्ट क्रिकेट क्लबले दिएको २१ रनको अति सामान्य लक्ष्य पछ्याएको लेकसाइडले ४ ओभरमा २४ रन बनाउँदै जित हासिल गरेको हो । यो एक दिवसीय क्रिकेटमा विरलै हुने घटना हो । ५० ओभरको खेल ४ ओभरमै सकिएको जारी प्रतियोगिताकै सबैभन्दा छिटो सकिएको खेल बनेको छ । त्यसअघि टस जितेर व्याटिङ थालेको एभरेष्ट १२.३ ओभरमा मात्र २१ रनमा अलआउट हुन पुगेको थियो । अति सामान्य विजयी लक्ष्य दिएको एभरेष्ट निकै कम्जोर देखियो । समिर आलमले ४ र सचिन यादवले ३ रन बनाए । लेकसाइडका लागि निरज ढकालले ५ र चन्दन राउतले ४ विकेट लिए । आइतबार नै सम्पन्न अर्को खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई २४ रनले हराएको छ । १६२ रनको सामान्य विजयी लक्ष्य पाएको पोखरा ३२.५ ओभरमै स्तब्ध भयो । पोखराले १३७ रन बनाउँदा अलआउट हुन पुगेको हो । पोखराका लागि मुस्कान थापाले उत्कृष्ट व्याटिङ गरेपनि जितका लागि पर्याप्त रहेन । उनले ८६ बलको सामना गर्दै ७६ रनको योगदान दिएपनि खेर गयो । सुवाष भण्डारी १६ रनमा आउट भए । त्यसअघि टस जितेर ब्याटिङ थालेको माछापुच्छ्रे ३७.१ ओभरमा १६१ रनमा अलआउट हुन पुग्यो । अनिश जिसीले ४१ बलमा ४१ रन बनाए । दिपक माझिले २० बलमा २७ रन तथा कविन सापकोटाले ५३ बलको सामना गर्दै २५ रन जोडे । पोखराका लागि सुवाष भण्डारी र देव शाहले समान ३÷३ विकेट लिए । सागर भुजेलले २ विकेट लिए । माछापुच्छ्रेका लागि कविन सापकोटाले ४ विकेट लिए । अनिश जिसीले ३ तथा रितेश बरालले २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अनिश जिसी घोषित भए । माघ २ देखी सुरु प्रतियोगिता पोखरा र लेखनाथमा जारी छ । प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् ।

