सुनसरी । सप्तकोशी नदीको जल सतह विहान ११:१५ बजेसम्म पनि खतराको बिन्दुमा छ । कोशी परियोजनाद्वारा जारी सूचनाअनुसार विहान ११:१५ बजे त्यहाँ एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गए रातिको तुलनामा कम हो । अहिले सप्तकोशी ब्यारेजबाट विहारतर्फ पानी बहावका लागि २० वटा ढोका खुला गरिएको छ । यसअघि २६ ढोकासम्म खोलिएको थियोे ।
भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ । नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो त्रिशूली–१ र त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा पावरहाउस तथा सुरुङ क्षेत्रमा खोजी जारी राखेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली थ्री ‘बी’ मा एक्साभेटर र ब्याकहो लोडर प्रयोग गरी आवासगृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गर्दै पावरहाउसतर्फ खोजी केन्द्रित गरिएको छ । त्यसै गरी रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली थ्री ‘ए’ र त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी जारी राखेको हो । नेपाली सेनाले हालसम्म हवाई माध्यमबाट मात्र चार हजार १७७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् । रसुवागढी जलविद्युत् आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सुरुङ तथा आयोजनाका अन्य संरचनामा खोजी गरिरहेको छ । लाङटाङ जलविद्युत् आयोजनामा ड्रोन प्रयोग गरी सुरुङभित्र खोजी गरिए पनि हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ । त्यसै गरी चिलिमे जलविद्युत् आयोजनामा भने खोजी कार्य थप कठिन बनेको छ । संयुक्त टोलीले एक्साभेटर र लोडर प्रयोग गरी सुरुङमा थुप्रिएको करिब एक सय मिटर माटो तथा भग्नावशेष हटाएको छ । सुरुङभित्र पानी भेटिएपछि पानी हटाउने कामसँगै उद्धार टोलीले डोरीको सहायताले भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ ।
पोखरा । माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा आफ्नो दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । बढ्दो माउथ पब्लिसिटीसँगै चलचित्रका शोसमेत थपिएका छन् । पोखरा ट्रेडमलस्थित क्युएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरमा ‘पेन्सन पट्टा’ हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको छ । पोखरामा मंगलबारका शोसमेत थपिएका छन् । क्युएफएक्सले दैनिक ६ शो, मिडटाउन सिनेमाजले ५ शो र श्रीकृष्ण चलचित्र मन्दिरले ३ शो सञ्चालन गरिरहेका छन् । चलचित्रका सबै शो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ । सोमबार ‘पेन्सन पट्टा’का कलाकार दयाहाङ राई, पुस्कर गुरुङ, सोल गुरुङ, विश्वास गुरुङ, माया गुरुङ, मनिका गुरुङ, डिबी गुरुङ लगायतका कलाकार पोखराका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । निर्देशक एवम् लेखक माओत्से गुरुङसहितको टोलीले दर्शकसँग चलचित्रको प्रतिक्रिया लिएको थियो । मिडटाउन सिनेमाज र पोखरा ट्रेडमलस्थित क्युएफएक्सका दुई शोमा पुगेर नायक दयाहाङ राईले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । दर्शकको प्रतिक्रिया लिँदै उनले आफूले व्यक्तिगत रूपमा सोचेको भन्दा पछिल्लो समय चलचित्रले राम्रो माया पाइरहेको बताए । रसुवाको बाढी र ग्यासको समस्याका कारण मनोरञ्जनका लागि हल पुग्ने दर्शकको संख्या कम हुनसक्ने आफूले सोचेको भए पनि त्यसो नभएको दयाहाङले उल्लेख गरे । चलचित्रमा आफूले निभाएको ‘राजन’ पात्रलाई दर्शकले आफ्नै परिवार वा सामाजिक परिवेशभित्रको पात्रका रूपमा पाएको उनको भनाइ छ । कलाकार पुस्कर गुरुङले ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटी निकै सकारात्मक र बढ्दो रहेको बताए । पोखरा मात्र नभई काठमाडौंका हलमा समेत आफू पुग्दा दर्शकले दुई–दुई पटकसम्म चलचित्र हेर्न आएको उनले उल्लेख गरे । ‘हिजोभन्दा आज र आजभन्दा भोलि अझ धेरै पेन्सन पट्टाको माहोल बढ्दै गएको छ,’ पुस्करले भने । नायिका सोल गुरुङले पहिलो पटक दर्शकको प्रतिक्रिया लिन हलहलमा पुग्दा उत्साह थपिएको बताइन् । नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दो देख्दा खुशी लागेको उनको भनाइ छ । निर्देशक माओत्से गुरुङले पोखरा मात्र नभई बुटवल, चितवन, लमजुङ, तनहुँ, झापा र काठमाडौंका केही स्थानमा समेत चलचित्रले राम्रो दर्शक सहभागिता पाइरहेको बताए । चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको र फिल्म समीक्षकबाट समेत सौहार्दपूर्ण समीक्षा आएकाले पछिल्लो समय दर्शक हलमा पुगिरहेको उनले उल्लेख गरे । ‘रिलिजको तेस्रो दिनसम्म काठमाडौंमा दर्शकको कमी थियो । तर चौथो दिन सोमबारबाट काठमाडौंमा समेत दर्शकको भीड बढ्दो छ,’ माओत्सेले भने । काठमाडौंका विभिन्न मल्टिप्लेक्समा चलचित्रलाई समय उपलब्ध गराइएको र ती हलमा दर्शकको उपस्थिति राम्रो रहेको उनको भनाइ छ । कास्कीको ताङतिङ र त्यसैको सेरोफेरोमा आधारित ‘पेन्सन पट्टा’ सामाजिक यथार्थवादी कथामा निर्माण भएको चलचित्र हो । परिवार, प्रेम, त्याग, समर्पण र लाहुरे परिवेशको कथाले दर्शकलाई आफ्नै जीवन र सामाजिक परिवेशसँग जोडेको निर्माण पक्षको भनाइ छ । चलचित्र हेर्न परिवार नै बोकेर हल पुग्ने दर्शकको संख्या बढ्दो रहेको छ । कतिपय दर्शकले पाँच पटकसम्म चलचित्र हेरेको समेत निर्माण पक्षले जनाएको छ । लाहुरे परिवेशको कथा भएकाले भूपू सैनिक तथा लाहुरेका परिवारले समेत चलचित्रलाई विशेष माया दिइरहेका छन् । गुरुङ समुदायका मात्र नभई विभिन्न समुदायका दर्शक हलमा उपस्थित भइरहेका छन् । दर्शकको बाक्लो उपस्थितिसँगै पोखराका हलले मंगलबारका शोसमेत बढाएका छन् । बढ्दो माउथ पब्लिसिटी र दर्शकको सकारात्मक प्रतिक्रियाले ‘पेन्सन पट्टा’को प्रदर्शन यात्रा थप उत्साहजनक बन्दै गएको छ । माओत्से गुरुङ फिल्मस ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, प्रतिक्षा गुरुङ, डिबी गुरुङ, मनिका गुरुङ, सोल गुरुङ, सुरज तमु लगायतका कलाकारको अभिनय रहेको छ । दर्शकको माया, हलमा बढ्दो भीड र थपिँदै गरेका शोले ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै गएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सो समितिको वरिष्ठ उपाध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा सुबेदार मेज मन्त्रीजंग गुरुङ, सचिवमा सुबेदार मेजर अनेरी क्याप्टेन मन्त्रीजंग गुरुङ, सहसचिवमा सपना गुरुङ, कोषाध्यक्षमा क्याप्टेन जमबहादुर गुरुङ र सहकोषाध्यक्षमा सुबेदार जयबहादुर गुरुङ चयन भए । त्यस्तै सदस्यहरूमा क्याप्टेन भक्तराज गुरुङ, हवल्दार दिलबहादुर गुरुङ, हेमबहादुर गुरुङ, रूपबहादुर गुरुङ, नैना सिंह गुरुङ, देवबहादुर गुरुङ, शकुन्तला गुरुङ, मेघबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, हवल्दार डिलबहादुर गुरुङ, सुबेदार उमरजंग गुरुङ, सुबेदार ईरबहादुर गुरुङ र शेरबहादुर गुरुङ चयन भए । यसअघि कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एकताको सुुत्रमा बाँध्न समाजको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन् । उनले एकतामा शक्ति हुने बताउँदै भनिन्, ‘हामी समाजको शक्तिलाई विश्वास गर्ने समुदाय हो । त्यसैले समाजको एकता आजको आवश्यकता हो ।’ अधिवेशनले अनुराधा गुरुङको अध्यक्षतामा १५ सदस्यीय महिला उपसमिति र थमन गुरुङको अध्यक्षतामा १५ सदस्यीय युवा उपसमिति पनि सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमिति, महिला उपसमिति र युवा उपसमितिका पदाधिकारी तथा सदस्यहरूले अधिवेशनकै क्रममा सपथ ग्रहण गरे । कास्कीको मादी गाउँपालिका–२, ताङतिङ स्थायी घर भई पोखरामा बसोबास गर्दै आएका तमु समुदायका व्यक्तिहरूद्वारा स्थापित ताङतिङ दूधपोखरी तमु समाजले पोखरामा रहेका ताङतिङबासीबीच आपसी एकता, सहकार्य, सामाजिक सद्भाव तथा विभिन्न सामाजिक गतिविधिलाई अघि बढाउँदै आएको छ । नवनिर्वाचित अध्यक्ष चन्द्रमाया गुरुङले समाजलाई थप उचाइमा पुर्याउन अनवरत कसरत गर्ने प्रतिबद्धता जनाएकी थिइन् । महिलाको नेतृत्वसँगै समाजका गतिविधिमा महिला तथा युवाको सहभागिता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्रसिंह बोहोराका अनुसार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको उपचारका क्रममा मृत्यु भएको हो । वीरेन्द्रनगर नगरपालिका–९ का २७ वर्षीय रोशन घिसिङले चलाएको स्कुटरमा सवार जिसी नगरपालिका–४ हर्रे आइपुग्दा बेहोस भएका थिए । उनी बेहोस भएको जानकारी चालक घिसिङले प्रहरीलाई दिएपछि निजको उद्धार गरिएको थियो ।
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको रु ५७ हजार बराबरको तीन क्विन्टल ५० किलो तोरी र चार थान साइकलसहित उनीहरूलाई बिहीबार नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकबहादुर रावतका अनुुसार भारतबाट भन्सार छली ल्याइएका रु २५ हजार बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा बेलौरी नगरपालिका– २ बैजुडाँडा फालिएको अवस्थामा भेटिएका छन् । का सामान पनि स्थानीय टेडुवा प्रहरीचौकीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । यसैबीच, जुवाको खालबाट आठ जना पक्राउ परेका छन् । उनीहरूबाट नगद रु ५५ हजार पनि बरामद भएको छ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९००ले वृद्धि भई दुई लाख ९६ हजार ९०० कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।
पोखरा: सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् । फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले नगद २५÷२५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् । स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुमाजूद्वारा स्थापित यो पुरस्कार फोनिजको २७ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले बिहीबार अर्पण गरेको हो । कार्यक्रमका कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले जिल्ला प्रशासन र पत्रकार एकआपसमा जोडिएको बताए । जिल्लाका कतिपय संवेदनशील विषयमा पत्रकारले ध्यान दिनुपर्नेमा उनको जोड थियो । आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पुरस्कृत पत्रकार खेम सारु मगरले जीवनको आधा समय पत्रकारिता क्षेत्रमा व्यतित गरिरहँदा यो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु आफ्नो लागि अहोभाग्य रहेको बताए । त्यस्तै अर्का सम्मानित व्यक्ति जिटीले पत्रिका वितरकको रुपमा काम गर्दागर्दै पत्रकारिता क्षेत्रमा जोडिदा यो पुरस्कारले यही क्षेत्रमा अझै केही अगाडि बढ्ने प्रोत्साहन मिलेको बताए । कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङ, नवनियुक्त पोखरा प्रज्ञा प्रतिष्ठान उपकुलपति तिलप्रसाद पुन “तिलक”, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कमलप्रसाद पौडेल, पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य, लेखक, फोनिजका सदस्य रवीन्द्र माकाजू, पुरस्कारदाता बिमलमान गुभाजूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठान कास्कीका परिषद् सदस्य रवीन्द्र माकाजूले स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूका विषयमा जानकारी गराएका थिए । त्यस्तै गण्डकी प्रदेश फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङले सम्मानित प्रतिभा परिचय दिएकी थिइन् । सम्मानित पत्रकार सारु विगत ३ दशक यता कास्कीको पोखरा तथा जिटी स्याङ्जामा विगत २ दशक यता पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् । यसभन्दा अगाडि यो पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा मगर, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बाग्लुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केवी राना मगर, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरका कमला राना मगर र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसकेका छन् । फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरज थापामगरले सञ्चालन गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो । “हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नति गर्ने गरी प्रस्ताव गरिएको छ”, सापकोटाले रासससँग भन्नुभयो । गुनासोकर्ताले सोझै सम्वन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कारबाहीको जानकारी लिन सक्नेछन् । यस्तै, सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित निकायमा पठाउन सकिनेछ । प्रगति अनुगमन गर्ने तथा सेवाग्राहीलाई जानकारी दिने प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार सरकारी कल सेन्टरलाई अन्तरआबद्ध गर्ने अवधारणा पनि अघि सारिएको छ । जसअनुसार निःशुल्क टेलिफोन नम्बर ११११ मा आएको गुनासोको विषयअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था गरिनेछ । “सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा गुनासोका लागि गरिएको कल पुनः हेलो सरकारमा फर्कने व्यवस्था प्रस्ताव गरिएको छ । यसबाट नागरिकले एउटै विषयमा पटक–पटक विभिन्न कार्यालय गुनासो र सुझावका लागि धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो । योजनामा सेवाग्राहीले यसअघि गरेका गुनासोको विवरण, त्यसको अवस्थालगायत अभिलेख पनि प्रणालीमा देखिने व्यवस्था प्रस्ताव गरिएको छ । एउटै व्यक्तिले एउटै विषयमा पटक–पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गर्ने व्यवस्था पनि गरिने भएको छ । उहाँका अनुसार हालै ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन’ तयार पारिएको छ । उक्त दिग्दर्शनले सङ्घ, प्रदेश, स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने व्यवस्था प्रस्ताव गरेको छ । साथै गुनासो सुनुवाइका लागि समयसीमा निर्धारण गर्दै अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यति मात्रै होइन, गुनासो समाधान भइसकेपछि गुनासोकर्तालाई प्रणालीमार्फत समाधान भएको विषयको जानकारी गुनासोकर्ता कहाँ पुग्ने र समस्या समाधान भएको हो वा होइन भन्ने विषयमा गुनासोकर्ताबाट पृष्ठपोषण लिएर मात्रै गुनासो फछ्र्यौट हुने व्यवस्था गरिएको छ । हेलो सरकारका अनुसार यी सुधार विषय कार्यान्वयनमा आएपछि हेलो सरकारलाई नागरिक गुनासोमात्र दर्ता केन्द्रमा सीमित राखिने छैन । नागरिकका गुनासो व्यवस्थापनका सवै चरणमा प्रभावकारी रूपमा कार्य गर्ने, राष्ट्रिय समस्याको विद्यमान स्थितिको यथार्थ अवस्था झल्काउने, सरकारलाई नीति निर्माणको आधार र पृष्ठपोषण दिने एवम् सुशासन र शासकीय सुधारको दिशानिर्देशको गर्ने माध्यमका रूपमा हेलो सरकार बन्नेछ । एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा हेलो सरकारमा गत आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा आव २०८२÷८३ मा बढेर ६९ हजार ७२४ पुगेका छन् । अर्थात् गत आवमा मात्रै ५३ हजार १५६ गुनासा थपिएका छन् । उपसचिव सापकोटाका अनुसार वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको उल्लेख गर्दै यो सरकारप्रतिको विश्वास र भरोसा भएको उल्लेख गर्नुभयो । सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा बढेको उहाँको भनाइ छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्क हेर्दा हेलो सरकारमा एक लाख २४ हजार ५८१ गुनासा दर्ता भएका छन् । तीमध्ये २०८२÷८३ मा मात्रै ६९ हजार ७२४ गुनासा प्राप्त भएका छन् । जुन पाँच वर्षको कुल गुनासाको करिब ५६ प्रतिशतले बढी हो । आव २०७८÷७९ देखि २०८१÷८२ सम्म चार वटा आर्थिक वर्षमा कुल ५४ हजार ८५७ गुनासा प्राप्त भएका थिए भने गत आवमा मात्रै ६९ हजार ७२४ वटा गुनासा प्राप्त भएका छन् । तीन महिनामा ५० हजारभन्दा बढी गुनासा हेलो सरकारमा पछिल्ला करिब तीन महिनामा ५० हजारभन्दा बढी गुनासा दर्ता भएका छन् । कार्यालयका अनुसार उक्त अवधिमा कुल ५० हजार ७२१ गुनासा प्राप्त भएकामा ३९ हजार १७७ गुनासाको समाधान गरिएको छ । हेलो सरकारका उपसचिव सापकोटाका अनुसार तीन महिनामा प्राप्त गुनासामध्ये १८ हजार ५४२ गुनासा फछ्र्यौट गरिएको छ भने ५४७ गुनासा नहेरिएको अवस्थामा छन् । त्यस्तै, एक हजार ६४२ गुनासा हेरिएका, एक हजार ३२७ प्रक्रियामा रहेका, छ हजार ५६ पूर्ण तोकिएका÷नहेरिएका तथा दुई हजार ४४६ गुनासा अपूर्ण, असम्बन्धित वा नतोकिएका रहेका छन् । यस्तै, हेलो सरकारको टोल–फ्री सेवामार्फत ५० हजार १९६ वटा फोन कल प्राप्त भएकामा ४० हजार १६ वटा कलको सम्बोधन गरिएको जनाइएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा साउनको १ देखि १८ गतेसम्म मात्रै नौ हजार ६१० वटा गुनासा प्राप्त भएका छन् । जसमध्ये छ हजार ६०१ वटा गुनासा फछर्यौट भएका छन् । हेलो सरकारले सार्वजनिक गरेको विवरणमा सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप, इमेललगायत माध्यमबाट प्राप्त गुनासाको संख्या भने यसमा समावेश नगरिएको उल्लेख गरेको छ ।

