काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

काठमाडौं:  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।  यस्तै आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली  प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।

पोखरा:  पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता रहेको छ ।  टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले पुरुषतर्फ माल्दिभ्सको माल्दिभ्स भलिबल एशोसियसन र महिलातर्फ थाइल्याण्ड क्वीन्स विदेशी टोलीको रुपमा सहभागी जनाएको जानकारी दिए । पुरुषतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन् । महिलातर्फ तीन विभागीयसहित न्यू डायमण्ड युथ स्पोट्र्सले सहभागिता जनाएको आयोजकले जनाएको छ । च्याम्पियनसिपको पहिलो खेल भोलि बिहान ९ बजे महिलातर्फ न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । दोस्रो खेल पुरुषतर्फको आर्मी र माल्दिभ्स भलिबलबिच हुने तालिका छ । उद्घाटन खेल गण्डकी प्रदेश र एपीएफबिच हुने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्दा करिब एक करोड ८० लाख खर्च लाग्ने अध्यक्ष शर्माले जानकारी दिए ।  खेल हेर्नका लागि पहिलोपटक सिजनल टिकटको व्यवस्था गरिएको छ । ३ हजार ५ सय रुपैयाँमा दर्शकले प्रतियोगिताका सबै खेल हेर्न पाउनेछन् ।

पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय फुटबलको उपाधि हात पारेको छ । बुधवार सम्पन्न विद्यालयस्तरीय फुटबलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरीय फुटबलको उपाधि हात पारेको हो । त्यसैगरी टोल तथा क्लबस्तरीय फुटबलमा स्यानी मजुवा टोल बिकास संस्था बसुन्धरा मार्ग  दिब्यज्योती क्लब फाइनलमा प्रवेश गरेका छन । फाइनल खेल महोत्सवको अन्तिम दिन माघ १० गते समापन समारोह अगाडी आयोजना गरिने खेलुकद कार्यक्रमका संयोजक आशीष भण्डारीले जानकारी दिए । विद्यालयस्तरीय यूनी हक्की प्रतियोगितामा सेंट फ्रान्सिसको दबदबा महानगर स्तरको विद्यालयस्तरीय यूनी हक्की प्रतियोगिताअन्तर्गत सम्पन्न सेमिफाइनल, तेस्रो स्थान तथा फाइनल खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । छात्र तथा छात्रा दुवै तर्फ उत्कृष्ट प्रदर्शन गर्दै सेंट फ्रान्सिस विद्यालयले उपाधि जित्न सफल भएको छ । छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा विभूति विद्यालयलाई ४–२ गोलले हराउँदै सुकराज बालभद्र विद्यालय फाइनलमा प्रवेश ग¥यो । छात्रातर्फ तेस्रो स्थानका लागि भएको खेलमा कालिकाले विभूतिमाथि ५–० को फराकिलो जित हात पार्दै तेस्रो स्थान सुरक्षित ग¥यो । फाइनल खेलमा सेंट फ्रान्सिसले सुकराज बालभद्र विद्यालयलाई ५–१ गोलले पराजित गर्दै छात्रातर्फको उपाधि जित्यो । छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा सेंट फ्रान्सिसले एसओएस विद्यालयलाई १८–० को एकतर्फी जित दर्ता गर्दै फाइनलमा स्थान बनायो । दोस्रो सेमिफाइनल खेलमा कालिकाले नेपाल भारत विद्यालयलाई ९–४ गोलले पराजित ग¥यो । छात्रतर्फ तेस्रो स्थानका लागि भएको खेलमा एसओएस विद्यालयले नेपाल भारत विद्यालयलाई ४–२ गोलले हराउँदै तेस्रो स्थान हासिल ग¥यो। फाइनल खेलमा सेंट फ्रान्सिसले कालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै छात्रतर्फ पनि उपाधि आफ्नो पक्षमा पार्न सफल भयो । त्यसैगरी पुरुष सडक दौड प्रतियोगितामा सुनगाभा जाल्पामार्ग टोल बिकास संस्थाका क्या. याम बहादुर राना प्रथम भए । घलेचोकदेखि  महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा रानाले ५ मिनेट, ८ सेकेण्ड २५ मिलिसेकेण्डमा पार गरेका थिए ।  त्यसैगरी दौडमा तल्लो नयाँगाउँ टोल बिकास संस्थाका क्या. ठाकुर बहादुर थापा मगरले निर्धारित दुरी ५ मिनेट १५ सेकेण्ड ४६ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे । त्यसैगरी निर्धारित दुरी ५ मिनेट १७ सेकेण्ड ७६ मिलिसेकेण्डमा पार गर्दै कोलपाटन टोल बिकास संस्थाका ओम बहादुर खोर्जाले तृतीय स्थान हाँसिल गरे । दौडमा गलेश्वर युवा क्लबका सन्तोष भण्डारी र तल्लो नयाँगाउँ टोल बिकास संस्थाका तिल बहादुर रानाले शान्तवना स्थान हाँसिल गरे । त्यसैगरी महिला तर्फको सडक दौडमा जन जागृती आमा समुहकी पोम कुमारी बुढा प्रथम भए । ट्याक्सी चोकदेखि महोत्सव स्थल वनविज्ञान अध्ययन संस्थान सम्म सम्पन्न दौडमा बुढाले ३ मिनेट ११ सेकेण्ड ८० मिलिसेकेण्डमा पार गर्दै महिला तर्फको दौडको उपाधि हात पारेकी हुन । त्यसैगरी एकता आमा समुहकी मन माया रानाले निर्धारित दुरी ३ मिनेट १२ सेकेण्ड ८३ मिलिसेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरिन । स्यानी मजुवा आमा समुहकी बसन्ती आलेले निर्धारित दुरी ३ मिनेट २० सेकेण्ड ६६ मिलिसेकेण्डमा पार गर्दै तेस्रो स्थान हाँसिल गरिन । संगम टोल महिला समुहकी रुपा बरुवाल र जनजागृती आमा समुहकी मिना कुमारी थापाले शान्तवना स्थान हाँसिल गरिन ।  त्यसैगरी क्लव तथा टोल बिकास संस्था बीचको भलिवल प्रतियोगितामा चन्द्रसूर्य क्लबले उपाधि हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा गलेश्वर युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगितामा चन्द्र सूर्यले २५–१८, २५–१६ र २५–१६को सेटले गलेश्वर युवा क्लबलाई पराजित गरेको प्रतियोगिता संयोजक आशिष भण्डारीले जानकारी दिए । त्यसैगरी शहरी स्वास्थ्य केन्द्र पोखरा १५ मा आयोजित क्षयरोग सम्बन्धी  ए आई एक्सरे जाँचमा ३ सय ८६ जनाले परीक्षण गरेका छन । जस मध्ये ५ जनामा क्षयरोग पोजेटिभ देखिएको र १६ जना सम्भावितको खकार जाँचको लागि लगिएको स्वास्थ्य केन्द्र प्रमुख सम्झना थापाले जानकारी दिइन । थापाका अनुसार उक्त जाँचमा पोखरा १५, ७ र ९ नम्बरका बासिन्दाहरुको सहभागीता रहेको थियो ।

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन ।  प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन । त्यस्तै, स्याङ्जाका दुजिक थापाले १४.१३ मिटरको उत्कृष्ट प्रदर्शनसहित द्वितीय स्थान प्राप्त गरे भने पर्वतका युवराज गुरुङले १३.५९ मिटर छेलो फाल्दै तृतिय स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश नगद ४०, २५ र १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  प्रतियोगितामा बिजयीहरुलाई महोत्सव आयोजक युुनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कार्यसमिति सदस्यहरु गणेश खड्का, सन्तोष कार्की, प्रतियोगिताका संयोजक गज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । अन्तिम चरणमा कास्की, पर्वत, स्याङ्जा र लमजुङ लगायत जिल्लाका ८ जना खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यस्ता प्रतियोगिताले स्थानीय स्तरका खेलाडीलाई प्रतिभा प्रकट गर्ने अवसर मिल्नुका साथै परम्परागत खेलको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ । त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अन्जुली बो.ई., सूर्योदय इ.बोे.ई. कास्की मोडनाइज्ड, शोसल पब्लिक स्कुल र अमरसिंह मावि (ई) फाइनलमा प्रवेश गरेका छन । र आयोजकको वाइल्ड कार्डबाट विभूती शिक्षा सदन फाइनलमा प्रवेश गरेको छ । फाइनल राउण्ड माघ १० गते हुने विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताका संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सव दशौं दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । दर्शकको सहभागीता संगै महोत्सवमा राखिएका स्टलहरुको कारोबार समेत बढ्दो छ । महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर र साँझको लाइभ ब्याण्डमा सबिन राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

काठमाडौं:  पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिनुभयो । उहाँले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा सुरु हुने जनाउनुभयो ।  शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना छ । उहाँले पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी दिनुभयो । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित असिनाको सम्भावना रहेको पनि ढकालले बताउनुभयो । शनिबार  केही सुधार हुने भए पनि बदलीको असर देशभर देखिने र चिसो बढाउने विभागले जनाएको छ । मौसम बदलीको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले आज एक सूचना जारी गरी अनुरोध गरेको छ ।

काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।  रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ । उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ सुरु भएको थियो ।  आज बेलुका ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरिएको हो । बिहीबार ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।  माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी उहाँले गराउनुभयो ।  देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनले पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा बैठक राखेका हुन् । सभापति बनेपछि थापाले दुईवटा बैठक राखेका थिए । जसमा एउटा ललितपुर र अर्को काठमाडौंको पार्टी प्यालेसमा राखिएको थियो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा विशेष महाधिवेशनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्दैछन् । सानेपामा शुक्रबार दिउँसो पदस्थापना गरेपछि उनी यसपटक उठ्न लागेको नयाँ निर्वाचन क्षेत्र सर्लाही ४ पुग्ने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । जहाँ उनलाई कांग्रेस छाडेका डा। अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनौती दिँदैछन् । विशेष महाधिवेशनको विवादमा सर्वोच्च अदालत अदालतले अन्तरिम आदेश नदिएसँगै गगनलाई कामको बाटो खुलिसकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन गैरकानुनी रहेको बताउँदै सर्वोच्चमा रिट हालेको थियो । उक्त रिटमा न्यायाधीश सुनीलकुमार पोखरेलले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सभापति थापाको नाममा कारण देखाऊ आदेश मात्रै दिएको छ। उनले १५ दिनभित्र लिखित जवाफ दिनुपर्नेछ । प्रारम्भिक आदेशमा सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै कानुनी र संवैधानिक अवस्था हेरेर सुनुवाइ गर्नुपर्ने देखिएको जनाएको छ। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भइसक्दा पनि कांग्रेसले आफ्नो वेबसाइट अद्यावधिक गरेको छैन। कांग्रेसको वेबसाइटमा पुरानै कार्यसमितिको नाम र तस्बिर छ। तर जहाँबाट गगन थापा र विश्वप्रकाश शर्मासहितको नाम र तस्बिर हटाइएको छ। यस्तोमा शुक्रबार गगनले सानेपामा पदस्थापन गर्न लागेका हुन् । ‘भोलि पार्टीको निर्वाचन केन्द्रित बैठकहरू छन् । सभापतिज्यू पार्टी केन्द्रीय कार्यालय पुगेर पहिला पदस्थापना गर्नुहुनेछ’, चालिसेले भने, ‘त्यसपछि निर्वाचन क्षेत्रमा जाने कार्यक्रम निर्धारण गर्छौँ ।’

म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गर्नुभएको थियो ।  नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।  समीर र यास्मिनका आमा मनिरजा नेपाली हुनुहुन्छ भने उहाँका श्रीमान् सलिम खान भारतको कलकत्ताका हुनुहुन्छ । ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा शृङ्गार व्यवसाय गर्दै आउनुभएको छ । श्रीमान् सलिमले भारतको नागरिकता त्यागिसक्नुभएको छ । उहाँले विसं २०५२ र २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदानसमेत गरिसकेको बताउनुभयो ।  समीर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता छ । दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस गरेको समीर र यास्मिनको प्रतिक्रिया छ ।  नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो ।

पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ ।      पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ लागतका सीरक, डसना, ग्याँस, तेल, प्लेट, हटकेश लगायतका समाग्री सहयोग गरिएको हो ।      बृद्धाश्रममा आज आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले समाग्री हस्तान्तरण गर्नुभएको हो ।      बृद्धाश्रमको सहयोगका लागि वडाका तर्फबाट निरन्तर साथ र सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछाने र संस्थापक अध्यक्ष प्रेम लिगलले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस किसिमको सहयोगको निरन्तरताको अपेक्षा गर्नुुभयो ।      संस्थापक अध्यक्ष लिगलका अनुसार बृद्धाश्रममा विभिन्न जिल्लाका ३५ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् ।      असहाय ज्येष्ठ नागरिकहरूलाई आश्रय दिदै आएको बृद्धाश्रमको सञ्चालनलाई दीगो, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारी निकायसँगै सामाजिक संघ संस्थाको निरन्तर सहयोग आवश्यक रहेको बृद्धाश्रम सञ्चालक समितिका सदस्य विष्णुबहादुर बस्नेतको भनाइ छ ।