हेमजा आलु महोत्सव सुरु
पाेखरा | चैत २७, २०८२
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । 'सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक' भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म चल्नेछ ।
महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु आफैंमा महत्वपूर्ण भएको उल्लेख गर्दै आलु महोत्सवले समग्र पोखरालाई नै ब्रान्डिङ गर्न सफल भएको सुनाए । उनले आलु महोत्सवलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै सोही अनुसार रातो किताबमा समेटिएको स्पष्ट पनि पारे ।
हेमजाका विकास आयोजना चौरासी नहर, साझाचोक तिब्बतीयन क्याम्प सडक तथा सुइखेत खोला व्यवस्थापन लगायतका योजना महानगरको प्राथमिकतामा रहेको पनि उनले उल्लेख गरे ।
महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा वडा नम्बर २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले महानगर किसानको पक्षमा रहेको दाबी गर्दै आलु महोत्सव हेमजावासीको चाड भएको भनाइ राखे । उनले कृषि मर्यादित, गर्वलायक पेसा भएको जनाउँदै आलु महोत्सवका कारण हेम्जा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिन सफल भएको दाबी गरे ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महोत्सवले कृषिमा आत्मनिर्भर हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै महानगर कृषि, पर्यटन तथा व्यापारमार्फत स्थानीयको जीवनस्तर उठाउन लागि परेको भनाइ राखे । उनले त्यस क्रममा आलुको इतिहासका बारेमा स्पष्ट पनि पारे ।
मूल समारोह समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवालाको साथ सहयोगमा आलु महोत्सवलाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गर्दै महोत्सवमार्फत पोखरामा कृषि पर्यटक वृद्धि हुने अपेक्षा सुनाए । महोत्सवको जननी संस्था किसान बहुउद्देश्यीय सहकारी संस्थालाई धन्यवाद दिँदै संयोजक श्रेष्ठले कृषि जीवन बचाउने कर्म भएको चर्चा गरे ।
महोत्सव सुरु हुनुपूर्व हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजागाजासहित कृषि झाँकी र्याली निकालियो । उक्त र्याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गरेसँगै मूल समारोहमा परिणत भयो ।
महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको वृहत् प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा, परीक्षण तथा रोग निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।
त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालन गरिने आयोजक विष्णुपादुका क्लबले जनाएको छ ।
महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारिक स्टल छन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ १०० रुपैयाँ तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । त्यहाँ प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ ।
मूल आयोजक समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विपिन पौडेलले स्वागत तथा महासचिव विकल थापाले कार्यक्रम संचालन गरे ।
महोत्सवको दोस्रो दिन शनिबार कलाकारहरू शान्तिरानी परियार, परशुराम अधिकारी, सुनील गायक लगायतका प्रस्तुति पनि रहनेछन् ।
पोखरा: कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...
पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्ध...

