काठमाडौं:    जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह याद...

पोखरा:  पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ लिग चरणका खेल सम्पन्न भएका छन् ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा लिग चरण सकिएका हुन् ।  समूह ए बाट बालकल्याण मावि विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । बालकल्याणले ३ खेलमा ३ जितसहित कुल ९ अंक जोड्दै समूह विजेता बनेको हो ।  भद्रकाली ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ दोस्रो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गर्दा समान अंक रहेको स्नोभ्यू र शान्तिदिप गोलअन्तरको आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा रह्यो ।  समूह बी बाट शैनिक आवासिय ९ अंक र हेम्जा बोर्डिङ ४ अंकका साथ प्रथम र दोस्रो स्थानमा रह्यो । सिर्जना सेकेन्डरी स्कुल ३ र कुम्दिनी होम्स १ अंक बटुल्दै बाहिरियो ।  समूह सी बाट सोसल पब्लिक र फिस्टेल एकेडेमी अघि बढ्दा त्रिभुवन मावि र डायमण्ड बाहिरियो । समूह डी बाट शिशु कल्याण बोर्डिङ र बालोदय अघि बढ्दा अल्फा र सिद्धिविनायक बाहिरियो भने समूह इ बाट गण्डकी र कालिकाले स्थान बनाउँदा  सगरमाथा र रिलायन्स बाहिरियो ।  तालिकाको एफ बाट शिशुकल्याण मावि र गुरुकुलले स्थान पक्का गर्दा बेसलाइन र शान्ति निकुञ्ज बाहिरिएको प्रतियोगिताको म्याच कमिस्नर गोपाल थापाले जानकारी दिए ।  उनका अनुसार भोलि (मंगलबार) देखि नकआउट चरणका खेलहरु हुनेछन भने छात्रा तर्फको खेल समेत हुनेछन् । प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।  छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ । प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले  सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।

पोखरा:  ४७ सय मिटर उचाइमा अवस्थित लोमन्थाङमा विश्वकै सबैभन्दा उच्च स्थानमा हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते हुने भएको छ ।  आयोजक मुस्ताङ गल्फ कोर्सका प्रवन्ध निर्देशक इन्द्रधारा विष्टले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम हुने जानकारी दिएका छन् । यसपालिको प्रतियोगितामा नेपालसहित विभिन्न देशका ५५ देखि ६० जना गल्फरले सहभागिता जनाउनेछन् । नेपालका उत्कृष्ट ४ प्रोफेसनल गल्फरबीच छुट्टै प्रतिस्पर्धा हुनेछ, जसका विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । एम्योचर खेलाडीका विजेतालाई आकर्षक ट्रफी प्रदान गरिनेछ । अघिल्ला संस्करणमा ९ होलमा सीमित खेलाइँदै आएको प्रतियोगिता यसपटक १८ होलमा हुनेछ । सर्वाधिक चासोको विषय ‘होल इन वान’ का लागि सजावटसहितको घोडा नै पुरस्कार राखिएको बिष्टले बताए ।  जुन विश्वकै अद्वितीय आकर्षणका रुपमा रहेको उनले उल्लेख गरेका छन् । साथै, विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, क्लोजेस्ट टु द पिन, मस्ट बर्डिज र लङ्गेस्ट ड्राइभतर्फ छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ । यस वर्षको प्रतियोगिता ‘टी फर क्लाइमेट’ भन्ने शीर्षकमा आयोजना हुँदैछ । जलवायु संकटतर्फ विश्वको ध्यानाकर्षण गराउँदै वातावरणीय सचेतना फैलाउने उद्देश्य रहेको उनको भनाइ छ । प्रतियोगितामा ख्यातिप्राप्त लोक, आधुनिक र सेलो कलाकारको विशेष प्रस्तुति पनि रहनेछ ।  प्रतियोगिता सफल बनाउन सरकारी तथा गैरसरकारी निकायको सहकार्य रहेको छ । लोमन्थाङ गाउँपालिका र गण्डकी प्रदेश सरकार प्रवद्र्धकका रुपमा रहेका छन् भने प्रभु बैंक, सिटी एक्सप्रेस, बाह्रसिंगे बियर, जर्मन बेकरी, सोल्टी पानी लगायतका संस्थाले प्रायोजन गरेका छन् । बिष्टका अनुसार, लोमन्थाङको गल्फ कोर्सलाई विश्वकै उच्च स्थानमा रहेको मनमोहक गल्फ कोर्सका रुपमा स्थापित गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउने अभियान समेत अघि बढाइएको छ ।  

पोखरा:  पोखरामा आइतबार गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले गौरा पर्व मनाएको हो । समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, विशेष अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द लगायतको उपस्थिति रहेको थियो । प्रदेश प्रमुख भट्टले गौरा पर्वलाई एकताको पर्वका रहेको बताउनुभयो । सुदूरपश्चिममा यो पर्वको निकै महत्व रहेको र धुमधामका साथ मनाइने गरेको बताउनुहुँदै उहाँले अहिले सुदूरपश्चिमेली जहाँ जहाँ पुगेका छन्, त्यहाँ गौरा पर्व मनाइने गरेको उल्लेख गर्नुभयो । ‘काम विशेषले घरबाहिर गएका व्यक्तिहरु यसै पर्वमा फर्कने गर्दछन् । यो पर्वले आपसी सम्बन्धलाई बलियो बनाउने गरेको छ । कुनै भेदभाव बिना नै अंगालो मारेर देउडा खेल्दै रमाउने गरेका छन् ।’ उहाँले भन्नुभयो – ‘गौरा पर्वले मानिसमा धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पुगेको छ । समाजलाई एकसूत्रमा बाँधेको छ ।’ विवाह गरेका चेलीहरू माइती आउँदा परिवारमा खुसी थपिने गरेको भन्दै उहाँले गौरा सामूहिक रूपमा मनाउने पर्व भएकाले यसले समाजिक सद्भावलाई पुनर्ताजगी प्रदान गर्ने उल्लेख गर्नुभयो । ‘देउडा एकअर्कासँग अँगालो मारेर खेल्ने गरिन्छ । जसले हामी एक हौं भन्ने सन्देश दिन्छ । वर्षभरि तीतामीठा जे भए पनि गौरा पर्वमा सबैलाई बिर्साइदिन्छ ।’ उहाँले भन्नुभयो – ‘नयाँ ताजा सम्बन्ध जोडिदिन्छ । जसले एकताको सन्देश दिन्छ । गौराले आपसमा रहेका तिक्तालाई पनि हटाइदिन्छ ।’ कार्यक्रममा देउडा गीत प्रस्तुतीसँगै बिरुडा खुवाइएको थियो । समाजका अध्यक्ष निरज पन्तका अनुसार भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरूडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरूडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र धारामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरूडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ। सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्राएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन्। साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ । सोही दिन महिलाले प्रसादका रूपमा बिरूडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरूडा थापिदिने चलन छ।  सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दसैंभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ। गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरूद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् । देउडाका साथै धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । यी सबै सामूहिक खेल हुन् । वर्ष खान नपाउनेहरू पनि गौरामा मिठो खान्छन् । वर्षभरि फाटेका लुगा लगाउनहरू पनि एक जोर नयाँ लुगा लगाउँछन् । जसले समाजमा सबै समान भएको देखाउँछ । अर्को महत्वपूर्ण कुरा यदि गाउँमा कुनै मानिस मरेमा त्यो वर्ष गौरा ल्याइँदैन । त्यो वर्ष सबैले दुःख साटासाट गर्दछन् । यसले गाउँलेमा भएको आत्मीयतालाई झल्काउँछ । एकको दुःख सबैको दुःख हो । दुःख र सुख सबै बराबर साटासाट गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दछ । यसबाट के पुष्टि हुन्छ भने गौरा पर्व सामाजिक एकता तथा सद्भावको पर्व हो । यसले समाजलाई एकताको सूत्रमा बाँधेको छ । संस्कृति, भाषा चलनको संरक्षणसँगै सामाजिक सद्भाव पनि कायम राखेको छ । समग्रमा, गौरा पर्वले सामाजिक एकता, पारिवारिक मिलन तथा भाषा संस्कृतिको संरक्षणका लागि अतुलनीय योगदान पु¥याएको छ ।  

पोखरा:  सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ।  सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालन (प्रथम संशोधन), कार्यविधि २०८२” बमोजिम घरेलु हिंसा, लैंगिक हिंसा तथा मानव बेचविखनबाट पीडित महिला र बालिकाको उद्धार, संरक्षण, आश्रय र पुनस्थापना सेवा प्रदान गर्नेछ। केन्द्र सञ्चालनका लागि आवश्यक कर्मचारी तलब–भत्ता, प्रशासनिक खर्च र दैनिक व्यवस्थापनको जिम्मेवारी पनि कोपिला नेपालले नै लिनेछ । मन्त्रालयले लैंगिक हिंसा निवारण कोषबाट उद्धार, आश्रय, लत्ताकपडा, स्वास्थ्योपचार, कानुनी सहायता, पोसिलो खाना लगायतका शीर्षकमा खर्च उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । पीडितहरूको संख्या, बसाइ अवधि, उद्धार विवरण र खर्च अभिलेख प्रमाणित गरी त्रैमासिक आधारमा रकम भुक्तानी हुने जनाइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बिन्दु कुमार थापाले हिंसापीडित महिलाका लागि दीर्घकालीन पुनस्र्थापना केन्द्र यसअघि प्रदेशमै नभएको जानकारी गराए । उनका अनुसार अहिले आएर मात्र प्रदेश सरकारले यसको थालनी गरेको छ ।   प्रदेश सरकारले ७० प्रतिशत र पोखरा महानगरपालिकाले ३० प्रतिशत बजेट व्यवस्थापन गरेर केन्द्र सञ्चालनलाई सुनिश्चित गराइएको हो । कोपिला नेपालले दीर्घकालीन पुनस्र्थापना केन्द्रलाई व्यवस्थित तवरले संचालन गर्नेमा मन्त्री थापा विश्वस्त छन् । गण्डकी प्रदेश सरकारले महिला, बालबालिका तथा समाजकल्याणतर्फ महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको उनले उल्लेख गरे । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकालले लामो समयदेखि प्रयास हुँदै आएको दीर्घकालीन पुनस्र्थापना केन्द्र स्थापनाको कार्य २०८२ सालमा कानुनी कार्यविधि पारित भएपछि सम्भव भएको बताए । यसअघि ८ वटा अल्पकालीन पुनस्र्थापना केन्द्र सञ्चालन भए पनि दीर्घकालीन पुनस्र्थापना केन्द्र पहिलोपटक स्थापना भई सञ्चालनमा आएको उनको भनाई छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस सम्झौतामार्फत केन्द्र सञ्चालनलाई ऐतिहासिक दिनको संज्ञा दिएकी छिन् ।  “लैंगिक हिंसापीडितहरूले अझै पनि उजुरी दिन डराउँछन्। यसरी संस्थागत संरचना बनेपछि उनीहरूको सुरक्षा र अधिकार सुनिश्चित हुने आशा गरिएको छ।”, उनले भनिन् । कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले लामो यात्रापछि सपना पूरा भएको बताइन् । “१५ वर्षअघि देखिएको सपना आज साकार भएको छ। अब यो यात्रामा अझ धेरै चुनौती छन्। हिंसापीडितलाई सुरक्षित बनाउन र उनीहरूको जीवनलाई नयाँ दिशातर्फ लैजान सबैको सहकार्य आवश्यक छ।”, उनले भनिन् । हिंसा पीडित महिला तथा बालिकाहरुको उद्यार, संरक्षण, राहत र पुनस्र्थापनाका लागि उक्त केन्द्र संचालनमा ल्याइएको हो ।  पोषणयुक्त खाना, लत्ताकपडा, सुरक्षित आवास, स्वास्थ्य उपचार, शिक्षा, मनोसामाजिक परामर्श, कानुनी सहायता, पारिवारिक पुनर्मिलन, सीप विकास तालिम र पुुनस्र्थापना जस्ता विषयवस्तुलाई उक्त केन्द्र संचालन गर्ने कार्यविधिमा समेटिएको छ । ७ वर्ष सम्मका आश्रित बालबालिकालाई पीडितसँगै केन्द्रमा राख्न पाउने व्यवस्था समेत मिलाइएको जनाइएको छ ।   

पोखरा:  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना गरिएको तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ सम्पन्न भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा ५ भाद्रदेखि सुरु महोत्सव समापन समारोहमा विभिन्न प्रतियोगताका विजेताहरुको घोषणा सगै पुरस्कार वितरण गरिएको थियो । विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय, आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।  महोत्सव अन्र्तगत आयोजना गरिएको तीजगीत प्रतियोगितामा सहनसिल दिदिवहिनी समूह पोखरा २२ प्रथम, पोखरा नसिङ्ग क्याम्पस समूह दोस्रो, कमल जैसी आमा समुहले तेस्रो स्थान हात पार्दा उर्जासिल दिदीवहिनी समूह पोखरा १० र एकलधारा सृजनशिल मिलन समाज पोखरा ५ ले सान्तवना स्थान हात पारे ।  प्रतियोगितामा उत्कृष्ट भेषभूषा वैशि क्षेत्र दिदीवहिनी समुह, उत्कृष्ट शब्द मिलीजुली आमा समूह, उत्कृष्ट नृत्य कास्कीकोट दिदिवहिनी समूह र विशेष सहभागिताको पुरस्कार राष्ट्रिय मा.वि. कक्षा ५ समूहले हात पारे । एकल नृत्यतर्फ सृष्टी गुरुङ प्रथम, पद्मा पौडेल दोस्रो, दिया गुरुङ तेस्रो र सृष्टी सुनारले सान्तवना स्थान हात पारिन ।  ढिकी जाँतोतर्फ हुमकला आर्चायको समूह प्रथम, विजया अधिकारीको समूह दोस्रो, चन्द्रा अधिकारीको समूह तेस्रो र सर्मिला तामाङको समूहले सान्त्वना स्थान हात पारे । छेलोतर्फ दुजिक थापा मगर प्रथम, मिलन सुनार दोसो सञ्जय अडाइ मगरले तेस्रो स्थान हात पारे ।                                                                                                                                                                                                                        विजेतामध्ये तिज गितमा प्रथम हुनेले ३५ हजार ५५५, देस्रोले २० हजार ५५५, तेस्रोले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा, शब्द, नृत्य र विशेष सहभागिताले तीन हजार ५५५ नगद पुरस्कार पाए । एकल नृत्य, ढिकी जाँतो र छेलोतर्फ जनही प्रथमले १२ हजार ५५५, दोस्रोले सात हजार ५५५, तेस्रोले पाँच हजार ५५५ र सान्त्वनाले तीन हजार ५५५ नगद पुरस्कार पाए ।  यसै गरि महोत्सव उद्घाटन पुर्व निकालिएको प्रभातफेरीमा बगर तमु समाज पोखरा १ बगरले झाँकी, मिरुवा तमु समाज पोखरा २ . मिरुवाले भेषभुषा र अभियान आमा समुह पोखरा पोखरा १ लामपाटनले उत्कृष्ट आमा समूह घोषित हुदै जनही पाँच पाँच हजार नगद पुरस्कार पाए । १० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल सगै वाल उद्यान रहेका थिए । त्यसै गरि महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुती समेत रहेको थियो ।  

रसुवा:  गोसाईंकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ। पहिरोबाट खसेको ढुङ्गा लाग्दा पर्सा जिल्ला, विश्रामपुर–४ निवासी १९ वर्षीय विनय दास थारु घाइते भएका छन्। रोजगारीका सिलसिलामा टिमुरे बस्दै आएका थारु पहिरोको समयमा रसुवागढी पैदल यात्रा गरिरहेका थिए। उनको टाउको, कान र काँधमा चोट लागेको टिमुरे स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि उनलाई आइतबार बिहान ९ः४० बजे बा १४ च १६६१ नम्बरको स्कर्पियो गाडीमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ।   पहिरोका कारण भन्सार निर्माण कार्य अवरुद्ध भएको र आसपासमा थप क्षतिको जोखिम रहेको जनाएको छ ।

बैतडी:  बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्दछन् । व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । शनिबार गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । व्रतालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् । महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ । यसैबीच गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते सोमबार गौरापर्वको बिदा दिएपछि सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।

पोखरा: गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङले गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्नका लागि सबैभन्दा पहिला गुरुङ एकता अनिवार्य रहेको बताएकी छिन् ।  तमु धिं नेपाल ताङतिङ दुधपोखरी तमु समाजको ४० औं वार्षिकोत्सव साधारण सभा, सम्मान एवं गुरुङ भाषा कार्यान्वयन र चुनौती विषयक कार्यक्रममा बोल्दै सांसद गुरुङले यस्तो बताएकी हुन् ।  ‘गण्डकी प्रदेशमा मगर गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न विद्येयक पास भएर प्रदेश प्रमुखले प्रमाणिकरण गर्नु भएको छ, सांसद गुरुङले भने, ‘हाम्रो मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयनका लागि सर्वप्रथम हामीमा एकता हुनु आवश्यक छ, सबैभन्दा बढी बोलिने भाषालाई कामकाजको भाषाको रुपमा कार्यान्वयनका लागि लैजान आवश्यक छ र त्यसमा त्यसमा एकता अनिवार्य छ ।’ गण्डकी प्रदेश सरकारले भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न विद्येयक प्रमाणिकरण भइसकेकाले यसमा छिटो कार्यान्वयन लैजाने दायित्व समुदायमा आएको सांसद गुरुङले बताईन् ।  उनले कास्कीको पर्यटकीय गाउँ ताङतिङ शान्ति, संस्कृतिको सुगन्ध र मानवीय प्रेमको असली स्वाद अनुभव गर्न पाउने भएकाले यसको विकास र प्रवद्र्धनमा सबै एकजुट हुन आवश्यक रहेको समेत बताईन् ।  यस्तै कार्यक्रममा तमु धिं नेपालका केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा मादी क्षेत्रमा बोलिने भाषा बढी जनसंख्याले बोल्ने भएकाले उक्त भाषालाई नै लैजानु पर्ने तर्क राखे ।  ‘गुरुङ भाषालाई सरकारी कामकाजको भाषालाई कार्यान्वयनमा लैजाने दायित्व हाम्रो काँधमा आएको छ, यसमा केही समस्या हाम्रो समुदायमा देखिन्छ, उनले भने, कास्कीको मादी, घान्द्रुक, लमजुङ, मनाङ, मुस्ताङ क्षेत्रका गुरुङ समुदायले बोल्ने भाषामा लवजमा केही भिन्नता देखिन्छ तर मादी क्षेत्रमा बोल्ने भाषा बढी जनसंख्याले प्रयोग गर्ने भएकाले उक्त भाषालाई नै हामीले अगाडि सार्नुपर्छ भन्ने मेरो तर्क हो, हामीले यो अवसरमा कार्यान्वयन लैजान सकेनौ भने पछिल्लो पुस्ताले हामीलाई के भन्छ होला ?’ उनले आफ्नो जन्मभुमी गाउँमा आफुपछिको पुस्ता गुरुङ भाषा बोल्न छाडेकाले गण्डकी प्रदेश सरकारले कामकाजको भाषाको रुपमा गुरुङ भाषालाई मान्यता दिएपछि भाषाको संरक्षण हुनेमा आशावादी रहेको बताए ।  उनले गुरुङ समुदायमा तीन वटा लिपी प्रयोग गर्दै आएकाले सबैको सहमतिमा एक लिपीलाई कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए । भाषाको साहित्यिक विकास भइरहेकाले यसमा सबैको एकमत आवश्यक रहेको उनको भनाई छ । गण्डकी प्रदेश सरकारले गुरुङ भाषालाई सरकारी भाषाको रुपमा कार्यान्वयन गर्दै गर्दा अवसर पनि रहेकाले गुरुङ भाषा जानेका स्थानीयलाई नै त्यो अवसर दिन पर्ने बताए ।  ताङतिङ दुधपोखरी तमु समाजको ४० औं वार्षिकोत्सव साधारण सभा तथा सम्मान कार्यक्रममा तमु धिं नेपालका केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले गण्डकी प्रदेशमा गुरुङ भाषा कार्यान्वयन र चुनौतीको विषयमा बोलेका थिए ।  ताङतिङ दुधपोखरी तमु समाजको ४० औं वार्षिकोत्सव साधारण सभामा एसइई, कक्षा १२ मा उत्तिर्ण विद्यार्थी, खेलाडी, विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।  कार्यक्रममा मादी गाउँपालिका–२ का वडाध्यक्ष भोजबहादुर गुरुङ, तमु प्ले लु संघका केन्द्रिय सदस्य ओमबहादुर गुरुङ, तमु धिं नेपालका केन्द्रिय उपाध्यक्ष श्रीप्रसाद गुरुङ, लगायतले गुरुङ समुदायको संस्कार सस्कृति भाषा संरक्षणमा जोड दिएका थिए ।  कार्यक्रम ताङतिङ दुधपोखरी तमु समाजका अध्यक्ष अनेरा सुवदार मेजर बिरधोज गुरुङको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष चन्द्रमाया गुरुङको स्वागत र सचिव क्याप्टेन मन्त्री जङ गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।  कार्यक्रममा सचिव क्याप्टेन मन्त्री जङ गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डम्मर जङ गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०४२ सालमा स्थापना भएको ताङतिङ दुधपोखरी तुम समाजमा १ सय ७६घरधुरी आवद्ध छन् ।   

पोखरा: टे«किङ्ग इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराको २७ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट टिकाबहादुर लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित बनेको छ ।      समितिको प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्षमा टिकाराम लम्साल, सचिवमा रमेशराज अधिकारी, सहसचिवमा बुद्धिबहादुर बस्नेत र कोषाध्यक्षमा केशवराज बास्तोला निर्वाचित बन्नुभएको छ ।      त्यस्तै समितिका सदस्यहरूमा योगेश सुवेदी, किरण काफ्ले, हरिमाया ढुङ्गना, राजकुमार नेपाली रहनुभएको छ । समितिको निवर्तमान अध्यक्षमा प्रमोद भण्डारी रहनुभएको छ ।      यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यसको उजागरका लागि सबैको प्रयास आवश्यक भएको बताउनुभयो ।      पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि सबैको साझा प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन सम्बद्ध सबै संघ संस्थासँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धन विकासका कार्यक्रम अघि बढाइने बताउनुभयो ।      टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीको सभापतित्व एवम् सचिव महेन्द्र जिसीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष टिकाबहादुर लम्सालले गर्नुुभएको थियो भने सहसचिव टिकाराम लम्सालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रमेशराज अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।