पर्वत: उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भासिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भासिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ । कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने झण्डै ७० किलोमिटरमध्ये कालोपत्र भइसकेको सेतीवेणी–फलेबास खण्डमा बिग्रिएको सडक मर्मत हुन नसक्दा यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ । करिडोरको पाङ्राङ खण्डको सडक अविरल वर्षात्का कारण भासिएको हो । लोकमार्ग निर्माणको काम सम्पन्न भएको स्थानमा सडक भासिने तथा भत्कने क्रम वर्षात्का क्रममा रोकिएको छैन । सडक भासिएपछि यातायातका साधन सञ्चालन गर्न समस्या भएको छ । अहिले एकतर्फी रुपमा सवारीसाधन सञ्चालन भइरहेका कालीगण्डकी करिडोर आयोजना कार्यालय, पाल्पाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिनुभयो । सडक नियमित रुपमा मर्मतको काम नभएको भन्दै स्थानीयले गुनासो गर्ने गरेका छन् । सडकखण्डको सेतीवेणीदेखि कुर्घासम्मको सडक निर्माण कार्य अधिकांश सम्पन्न भए पनि केही भागको काम भने अझै अलपत्र छ । कुर्घादेखि पाङ्राङ जोड्ने स्थानमा सडक जीर्ण अवस्थामा छ । काम सम्पन्न भए जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या आएको इञ्जिनियर गौतमले बताउनुभयो । राष्ट्रिय सडक सञ्जालमा सूचीकरण हुन नसक्दा सडक विभागले मर्मतलगायतको काम गर्न नपाएको उहाँको भनाइ छ । पर्वत खण्डको २९ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको दुई वर्ष बितिसकेको छ । कुन निकायले रेखदेख गर्ने भन्ने स्पष्ट नहुँदा सडक मर्मत तथा रेखदेखमा समस्या भएको इञ्जिनियर गौतमले बताउनुभयो । पर्वत खण्डको सेतीबेनीदेखि फलेबास ढिकसम्मको सबै खण्ड कालोपत्र भइसकेको छ । कालोपत्र भइसकेको खण्डलाई राष्ट्रिय राजमार्गमा सूचीकरण नगर्दा कुन निकायले मर्मत र रेखदेख गर्ने भन्ने समस्या भएको उहाँले बताउनुभयो । सम्पन्न भइसकेको खण्डमा वर्षायाममा खसेको पहिरोसमेत पन्छाउन समस्या भएको कार्यालयले जनाएको छ । लोकमार्गअन्तर्गत पर्वतको सेतीवेणीदेखि अर्मादीसम्म ४३ किलोमिटर सडकको काम धमाधम भइरहेको छ । त्यसैगरी फलेबास–अर्मादी सडकखण्डको १४ किलोमिटर भने निर्माण कम्पनीको लापरबाही कारण समयसमा काम नहुँदा कालोपत्रको काम अगाडि बढाउन सकिएको छैन । उक्त खण्डमा समयमा काम नहुँदा कालोपत्रको कामको टेन्डर आह्वानसमेत हुन नसकेको र चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता नभएको कार्यालयले जनाएको छ । स्याङ्जाको मिर्मीदेखि पर्वतको सेतीबेनीसम्मको १० किलोमिटर सडक पनि कालोपत्र हुँदै छ भने पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलोमिटर सडकसमेत चालु आर्थिक वर्षभित्रै कालोपत्र गरिसक्ने लक्ष्य छ ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उहाँले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिनुभएको हो । “जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा ठूलो क्षति पुर्याइएपछि हाल संसद् भवन नै छैन । त्यसैले अब यो या त्यो बहानामा काममा ढिलाइ गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर परिचालित भई समय अगावै कार्यसम्पन्न गर्नुपर्छ”, मन्त्री घिसिङले भन्नुभयो । संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौंपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ । राष्ट्रिय र प्रतिनिधिसभा हलमा ‘फल्स सिलिङ’का लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको ‘मल्टिपरपज’ हलमा ‘फल्स सिलिङ’का लागि थप ट्रस निर्माण, इलेक्ट्रिकलअन्तर्गत मुख्य ‘एलटी प्यानल’, सहायक ‘एलटी प्यानल’, इलेक्ट्रिकल फायर फाइटिङ राख्नेलगायत काम बाँकी छन् । अनियमितता फेला परे तुरुन्तै कारबाही मन्त्री घिसिङले आफ्नो कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिनुभएको छ । उहाँले अनियमितता फेला परेमा त्यसमा संलग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिनुभयो । “विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ । त्यसैले अनियमिता हुने छिद्र पहिचान गरी त्यसलाई बन्द गर्नुहोस् । एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा संलग्नलाई छाडिने छैन । सेवा प्रवाहमा पनि सुधार गर्नुस्”, उहाँले निर्देशन दिनुभयो ।
काठमाडौं: संविधान सभाबाट नयाँ संविधान जारी भएको १० वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ । संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभालगायत सहभागी भएका थिए । समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी लगायतले मार्सपास गरेका थिए भने शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो । अहिलेको विशेष परिस्थितिका कारण दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन गरिएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए ।
काठमाडौं: संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको टुँडिखेलमा विशेष कार्यक्रम हुँदै छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए।
काठमाडौं: जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले बुधबार पार्टी अध्यक्ष डा चन्द्रकान्त राउत र सङ्गठन विभाग डा जयकान्त राउतको २४ घण्टाभित्र स्वेच्छिक राजीनामाको माग गरेका थिए । माग पुरा नभएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रवक्ता यादवले जानकारी दिनुभयो । देशको विषम परिस्थितिलाई मध्यनजर गरी जनभावना अनुरुप पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजिनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजीले बगाएका रगतको अपमान गरी उल्टै नेता कार्यकर्तालाई अङ्हकारको भाषामा आफ्नो आधिकारीक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि आफूहरुको ध्यानाकर्षण भएको राजीनामा पत्रमा उल्लेख छ । त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी आफूहरु पार्टीबाट राजीनामा दिने उनीरुको भनाइ छ ।
मुस्ताङ: मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरलानाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो । चीनतर्फ भन्सार जाँचपास गरी कोराला नाकाबाट हालसम्म १६१ विद्युतीय कारसहित ८५ मालवाहक मझौला कन्टेनर कोरला नाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँचपासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । चिनियाँ भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ कन्टेनरमध्ये हालसम्म ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको उनको भनाइ छ । यहाँबाट जाँचपास भईसकेका ४५ मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजस्व सङ्कलन भएको हो । मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काले बताए । चीनतर्फ निकासी भएका सामान हस्तकलाका सामग्री हुन् । चीनबाट आयात गरिएका दसैँ लक्षित मालवस्तु लोड गरिएका कन्टेनरमध्ये जाँचपास भइसकेका ४५ कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरिसकेको र जाँचपास हुन बाँकी ४० कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी चीनबाट आयात गरिएका १६० विद्युतीय गाडीको पनि भन्सार जाँचपास हुन बाँकी रहेको उनले बताए । चीनबाट आयात गरी मुस्ताङ भन्सारमा जम्मा भएका कुनै पनि विद्युतीय गाडीको हालसम्म जाँचपास भइनसकेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । भन्सार कार्यालयमा सीमित कर्मचारी हुँदा भन्सार जाँचपासमा ढिलाइ भएको उनको भनाइ छ । बैंक तथा वित्तिय संस्थाले चीनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमा जाँचपास तथा आयात वस्तुका लागि प्रतितपत्र ९एससी० खोल्न पर्ने व्यवस्था गरिएको छ ।
सुनसरी: सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो। मङ्गलबार बेलुका १० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ८२ हजार २८७ प्रतिसेकेण्ड पाइएपछि २४ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको बहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो। त्यसपछि लगातार पानीको बहाव घटेको थियो भने आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले बताउनुभयो। कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार अहिले कोशी ब्यारेजमा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो।
काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ । यसअघि मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५० मा किनबेच भइरहेको छ ।
काभ्रेपलाञ्चोक: यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेमा सोमबार बसेको सुरक्षा समितिको बैठकले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा खुला गर्ने निर्णय गरेको हो। यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाएर स्वीकृत सडक सुरक्षा कार्य योजनाबमोजिम यस्तो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ। गत असार पहिलो सातादेखि रातिको समयमा बीपी राजमार्गमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो। मनसुनमा बाढीपहिरोको जोखिमका कारण बिपी राजमार्गअन्तर्गत पस्थान बिन्दु काभ्रेपलान्चोकको धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो। यसअघि पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको थियो। काभ्रेको काभ्रेभञ्ज्याङबाट सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा अहिले पनि जोखिम छ। काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिएको थियो। गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो। बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति पुर्याएको थियो। कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा घि बढाइरहेको छ। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्।
                    
