पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमबाट ७ लाख रकम संकलन भएको क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उक्त रकमबाट वडा प्रहरी कार्यालय बगरलाई १ थान कम्प्युटर सहयोग गरेको उनले बताए ।   ‘जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति पुगेको वडा प्रहरी कार्यालयलाई सञ्चालनका ल्याउनका लागि कठिनाई भएको अवस्थालाई मध्यनजर गरेर हामीले पूर्वघोषित कार्यक्रम अनुसार नै कम्प्युटर सहयोग गरेका हौं, उनले भने, ‘यसले थोरै भएपनि कार्यालय सञ्चालनका लागि सघाउ पुग्न विश्वास लिएका छौं ।’   उनले वडाबासीलाई सुरक्षाको प्रत्याभूति दिने कार्यालयलाई सबैले सहयोग गर्नुपर्ने बताए ।     क्लबले केही दिनमै पोखरा २५ हेमजास्थित मानव सेवा आश्रमलाई र जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाईसमेत सहयोग गर्ने तयारी क्लबका सचिव विकास सुवेदीले जानकारी दिए ।   सिमपानी क्षेत्रको सरसफाईलाई ध्यान दिएर यसअघि सडक किनारका पोलहरुमा डस्टबिन राखिएको सुवेदीले बताए ।   उनका अनुसार गत कात्तिक ४ गते सम्पन्न सिमपानी साँझमा तमु, मगर, तामाङ, थकाली लगायत समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरिएको थियो ।   सो कार्यक्रममा नौलो विहानी संस्था, तरेली साँस्कृतिक परिवारका नृत्यहरु र द इन्फ्लेम ब्याण्डले लाइभ कन्सर्ट प्रस्तुत गरेको थियो ।   कार्यक्रमकाबीच आर्थिक सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको थियो । क्लब स्थापना लामोसमयदेखि सामाजिक तथा खेलकुदको क्षेत्रमा क्रियाशिल रहदैं आएको छ ।        

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आरम्भमै उनीहरूले आआफ्नो सक्रिय सहभागितामा दल दर्ता गराएका छन् । केही महिनाकै अन्तरालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि उनीहरू दल दर्ता गरेर चुनावी स्पर्धामा उत्रिने तयारीमा छन् ।   पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग नजिक रहेर विगतमा उहाँको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हाल्नुभएका प्रशान्त सिंहले आन्तरिक तयारी पूरा नभई ‘प्री म्याच्युअर’ तरिकाले दल दर्ता गराउनुपरेको बताउनुभयो ।   उहाँले भन्नुभयो, “सामान्य अवस्थामा दल दर्ता गरेर जान अझै एक वर्ष लाग्ने भनेका थियौँ तर बाध्यतावश यतिबेलै दर्ता गर्न आउनुप¥यो ।”   प्रशान्त सिंह आफ्नै संयोजकत्वमा    ‘पिपुल फस्र्ट पार्टी’ दल दर्ताको निवेदन लिएर पुग्नुभएको छ । उहाँले नागरिक सर्वोच्चतासहितको नागरिकतन्त्र आफ्नो दलको आधार हुने जिकिर गर्नुभयो ।   सिंहसहित राजनीतिक विश्लेषक डम्बरनारायण खतिवडासमेत सो दलमा आबद्ध हुनुहुन्छ । उहाँहरूको समूहले विगत दुई वर्षदेखि ‘नागरिक प्रथम’ अभियानसमेत सञ्चालन गरेको छ ।  नेपाल सरकारका पूर्वसचिव इन्जिनियर अनुपकुमार उपाध्यायले ‘उज्यालो पार्टी नेपाल’ दर्ता गर्न निवेदन दिनुभएको छ ।   सो दलले निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय समितिको विवरणमा छ जना इन्जिनियर र सात जना डाक्टर अटाएका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्यका रूपमा स्वतन्त्रबाट निर्वाचित डा. तारा जोशी सो दलको केन्द्रीय समिति सदस्य हुनुहुन्छ ।    आपराधिक गतिविधिमा संलग्न भएपछि २०७५ फागुनमा सरकारले राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहले आगामी निर्वाचनमा भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ । चन्द महासचिव रहने गरी ‘कम्युनिस्ट पार्टी नेपाल’ दल दर्ताका लागि निवेदन परेको छ । कागजात पूर्ण नहुँदा आयोगले हालसम्म मान्यता दिएको छैन ।    आयोगले दल दर्ता आह्वान गरेपछि दिनेशराज प्रसाईंको नेतृत्वमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले दल दर्ताको निवेदन दिएर दलको मान्यता पाएको छ । २९ सदस्यीय केन्द्रीय समिति रहेको सो दलमा नेपालको चर्चित निजी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतसमेत हुनुहुन्छ । उद्यमी गोपीलाल न्यौपानेले ‘नेपाल लिभरल पार्टी’ दर्ता गर्न निवेदन दिनुभएको छ ।    आफूलाई अर्थविद् र उद्यमीका रूपमा चिनाउने न्यौपानेले आर्थिक पुँजीवाद, आर्थिक उदारवाद र स्वतन्त्रताको पक्षमा आवाज उठाउन दल दर्ता गर्न लागेको बताउनुहुन्छ ।    जेनजी आन्दोलनलगत्तै ‘राष्ट्रिय जेनजी पार्टी नेपाल’ समेत दर्ताका लागि निर्वाचन आयोग पुग्यो । कात्तिक २ गते नै निर्वाचन आयोग पुगेको सो दलका पदाधिकारीले आयोगले मागेको थप कागजात उपलब्ध गराउन नसकेपछि कात्तिक ३० गते दल दर्ताको निवेदन फिर्ता लिएको छ । सो दलको प्रमुख व्यक्ति ३२ वर्षीय हिराप्रसाद सोतीले आफैँ ‘उज्यालो पार्टी नेपाल’ को केन्द्रीय समितिमा सनाखत गर्नुभएको छ ।    आन्दोलनको नेतृत्व गरेका जेनजी युवामध्ये कसैले पनि कात्तिक २९ गतेसम्म आयोगमा आफ्नै अध्यक्षतामा दल दर्ताका लागि निवेदन दिएका छैनन् तर जेनजी आन्दोलनताका दमकमा घाइते हुनुभएका राजेश प्रतेल आफ्नै संयोजकत्वमा दल दर्ता प्रक्रियामा हुनुहुन्छ । सो दलका २१ जना केन्द्रीय समितिमध्ये करिब १९ जना २८ वर्षभन्दा मुनिका हुनुहुन्छ ।    कात्तिक २९ गते किशोरी कार्कीको अध्यक्षतामा ‘नवनिर्माण पार्टी’ दर्ताका लागि निवेदन दर्ता भएको छ । कात्तिक २८ गते दल दर्ताका लागि निर्वाचन आयोग पुग्नुभएकी कार्कीले अपुग कागजात पेस गर्नुभएको छैन । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र निर्वाचित हुनुभएका हर्कराज राईले ‘श्रम संस्कृति पार्टी’ दर्ता गराउनुभएको छ ।    आयोगमा दर्ताको निवेदन परेको ‘नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)’ ले थप कागजात बुझाउन नसक्दा मान्यता पाएको छैन । ‘नागरिक सर्वोच्चता पार्टी’, ‘नेपाल राष्ट्रिय युवा पार्टी’, ‘सार्वभौम नागरिक पार्टी’, ‘नेपाली प्रथम पार्टी’, ‘राष्ट्रिय स्वाभिमान पार्टी नेपाल’, ‘समावेशी समाजवादी पार्टी’, ‘राष्ट्रिय गौरव पार्टी’, ‘एकता नेपाल’) लगायत ३० दल दर्ताको प्रक्रियामा छन् ।    आयोगमा दर्ता गराउन पुगेका प्रस्तावित दलका पदाधिकारीमध्ये अधिकांशले चर्चित व्यक्तिहरूको समर्थन आफूलाई प्राप्त रहेको दाबी गरेका छन् । ‘नागरिक बचाउ दल’ का पदाधिकारीले आइतबार आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै व्यवसायी दुर्गा प्रसाईंको मौन समर्थन रहेको दाबी गरे ।    ‘उज्यालो नेपाल पार्टी’ लाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङको समर्थन रहेको दाबी गरिएको छ । मन्त्री घिसिङ आफैँले सो विषयमा औपचारिक धारणा सार्वजनिक गर्नुभएको छैन ।    आयोगमा यसअघि नै दर्ता कायम रहेको ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ ले नाम परिवर्तनका लागि निवेदन दिएको छ । सो दलमा नेकपा (माओवादी केन्द्र) बाट अलग्गिनुभएका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारलगायत नेताहरू आबद्ध हुने बताइएको छ । 

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ । जीवनमा कसको लेखान्तर कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ बसाहास्थित आमसालमा जन्मी हुर्किएर कान्छी छोरीलाई डाक्टर बनाउने सपनासहित काठमाडौँको कपनमा मजदुर काम गर्दै आएका सारकुमार राईको कान्छी छोरीलाई डाक्टर बनाउने सपना पनि गत भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर ढलेपछि सदाका लागि राईको सपना अन्त्य भएको छ । जीवनमा आफूले ठुलो प्रगति गर्न नसके पनि सन्तानलाई ठुलो मान्छे बनाउने उत्कट चाहना हरेक बाबुआमालाई हुने गर्दछ तर सबैका चाहना पूरा हुन सक्दैनन् । यही अधुरो चाहनामै जीवन गुमाउनुपर्‍यो सारकुमारले पनि । विसं २०५६  देखि २०५८ सम्म सर्लाही र चितवनतिर रोजगारी गर्दै हिँडेको स्व। राईले २०५८ सालमा सर्लाही बरहथवाकी सुनिता मगरसँग भेट भएपछि दुवैको प्रेम विवाह भएको स्व। राईका श्रीमती सुनिता बताउनुहुन्छ । दुवैको जेठी छोरीका रुपमा २०६३ सालमा ठुली छोरी अनुसाको जन्म भएको र २०६८ सालमा कान्छी छोरी आकृतिको जन्म भएको स्व राईका श्रीमती सुनीता बताउनुहुन्छ । दुवै छोरीको जन्म भए पनि दुःख र बेरोजगारीका कारण ठुली छोरीलाई कक्षा ८ भन्दा बढी पढाउन नसकिएको पनि सुनीता बताउनुहुन्छ । सानैदेखि कान्छी छोरीको पढाइ राम्रो रहेका कारण पनि चितवनमा रोजगार गर्दै आएका सारकुमार राईले आफू काठमाडौँमा गएर रोजगारी गरेर भए पनि कान्छी छोरीलाई डाक्टर बनाउने भन्दै चितवनबाट काठमाडौँको कपनमा गएर घर रङरोगन गर्ने मजदुर काम गर्दै आउनुभएको थियो । गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा काम छाडेर जेनजी मजदुरहरुसहित सडकमा हिँडिरहेका राईलाई देब्रेपट्टिको कञ्चटमा गोली लागेपछि त्यहीँ ढल्नुभयो । त्यस दिनको घटना स्मरण गर्दै सुनीता भन्नुहुन्छ, “तत्काल उहाँलाई फोन गरेँ उठेन, तर रातको ९ बजे उहाँकै साथीले मलाई फोन गरेर दाई त गोली लागेर अस्पतालमा गम्भीर बिरामी हुनुहुन्छ भनेपछि म त बेहोस भएँछु ।” जीवनमा यस्तो घटना सुन्नुपर्ला भन्ने उहाँले कहिल्यै सोच्नुभएको थिएन । दुई दिनपछि चितवनबाट काठमाडौँ पुग्दा श्रीमानको मृत्यु भइसकेको थियो ।  सुनीताका अनुसार श्रीमानको मृत्युपश्चात् आफू उदयपुरको चौनपा–३ बसाहा फर्केर आएको र त्यसको १० दिनपछि श्रीमानको शवलाई घरमा सेनाले काठमाडौँबाट ल्याइदिएका कारण घरको आफैँ कर्ता भएर किराँती राईको अन्तिम संस्कार गराउनुभयो । कान्छी छोरी र आफू किरिया पुत्री बसेर काजकिरिया सम्पन्न गरेको श्रीमती राई बताउनुहुन्छ । स्व। सारकुमार राईको दिदी कुमारी राईका अनुसार सारकुमार राईको घरपरिवारमा पाँच दाजुभाईमध्ये सारकुमार साइला छोरा रहेको र उहाँले गाउँको स्कुलमा सामान्य ६ कक्षासम्म मात्र अध्ययन गरेका थिए । विसं २०७२ मा आमा नेपी मायाको निधन भएको र २०८० सालमा बुबा गजब सिं राईको निधन भएको स्व। राईकी दिदी कुमारी बताउनुहुन्छ । स्व। राई सात वर्षदेखि काठमाडौँको कपन क्षेत्रमा घरको रङ्गरोग गर्ने मजदुरका रुपमा काम गर्दै आउनुभएको थियो भने श्रीमती सुनीता चितवन भरतपुर महानगरपालिका–११ स्थित मनशिला बोर्डिङ स्कुलको होस्टेलमा काम गर्ने गर्नुहुन्छ । उहाँले सोही स्कुलमा कान्छी छोरी आकृतिलाई पढाउँदै आउनुभएको छ ।  अहिले उनी कक्षा १० मा अध्ययनरत छिन् । सुनीताका अनुसार ठुली छोरी अनुसालाई पढाउन नसकिएका कारण हाल भारतको हिमाञ्चल प्रदेशमा आफ्नी दिदीसँग बस्दै आएकी छिन् । श्रीमती सुनीता श्रीमानबारे यसो भन्नुहुन्छ, “चौदण्डीको बसाहामा सबै दाजुभाइको संयुक्त १५ कट्ठा सुक्खा बारी जग्गा रहेको र एउटा काठको घरसमेत रहेकामा हाल दाजुहरु र उहाँहरुको परिवारहरु बस्दै आएका छन् ।” सुनीताका अनुसार श्रीमानले मजदुर गरेर नै बसाहामा एउटा घर पनि बनाउने र कान्छी छोरीलाई पनि डाक्टर पढाउने अठोट गरेर चितवनबाट आफूसहित छोरीलाई यहाँ राखेर काठमाडौँ जानुभएको थियो । छोरीलाई डाक्टर पढाउनका लागि धेरै खर्च लाग्ने भनेर केही खर्च पनि जुटाउँदै कृषि विकास बैंकमा जम्मा गर्ने गरेको सुनीता बताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, “श्रीमान् काठमाडौँमा हुँदा दुई–तीन महिनामा एकपटक भेट्न चितवन आइरहनुहुन्थ्यो, हिजोआज त म एक्लै छु तर छोरीलाई हेरेर मन बुझाएर बसेकी छु ।” छोरी डाक्टर पढ्न थालेपछि मात्र श्रीमतीसहित बसाहा गएर घर बनाउने र बस्न भन्दै काठमाडौँबाट घर फर्कने अठोट लिएर काठमाडौँ कपनमा मजदुरी गर्दै आएका सारकुमार भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुग्नुभयो । श्रीमान्को अधुरो सपना आफूले पूरा गर्ने भन्दै श्रीमती सुनीता भन्नुहुन्छ, “श्रीमान्ले अधुरो छाडेर गएको सपना छोरीलाई डाक्टर बनाउने सपना मैले पूरा गर्ने अठोट लिएकी छु ।”  सारकुमारलाई जेनजी सहिद घोषणा गरेपछि सरकारबाट सहयोग भएको रु। १५ लाखमध्ये पाँच लाख श्रीमान्को काजकिरियामा खर्च भएको र र बाँकी १० लाख कृषि विकास बैंकमा जम्मा गरेर राखेको उहाँको भनाइ छ । श्रीमान्ले मजदुर गरेर कमाएको केही रकम पनि बैंकमा रहेको र पछि सोही खर्चबाट र सरकारले केही सहयोग गरे आफूले घर नबनाएर भए पनि छोरीलाई डाक्टर बनाएरै छाड्ने सुनिताको अठोट रहेको छ ।   स्व सारकुमारका छिमेकी चौनपा–३ बसाहाका रामबहादुर राईका अनुसार सारकुमार सानैदेखि सोझो र इमानदार र परिश्रमी रहेका थिए । घरमा धेरै भाइछोराहरु रहेको र आर्थिक कमजोर भएका कारण गाउँमा ६ कक्षासम्म मात्र अध्ययन गर्नुभएका सारकुमार मजदुरी गर्नकै लागि सर्लाहीबाट चितवन हुँदै काठमाडौँको कपनमा काम गर्दै आउनुभएको थियो । आफू दुःखले पढ्न नपाए पनि कान्छी छोरीलाई डाक्टर बनाउने सपना बोकेका राईको गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुगेपछि उनको सपना अधुरै अन्त्य भएको बसाहा आमसालका कृपाराज राईले बताउनुहुन्छ । उदयपुर बेलका नगरपालिका–४ का सन्तोष विक पनि जेनजी आन्दोलनका क्रममा राईसँगै गोली लागेर सहिद हुनुभएको छ ।

म्याग्दी:   यहाँ उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ ।  कोदोको परिकार ढिँडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । “पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो”, उहाँले भन्नुभयो, “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।” यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । उद्यमी खड्काले गाउँबाट काम विशेषले बजारमा बसाइँसराइ गरेका, विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाले कोदोको पीठो र बिस्कुट किनेर लैजाने गरेको बताउनुभयो । कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको व्यवसायी खड्काले बताउनुभयो । भुटेको कोदोको पीठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ । प्रतिदर्जन (१२ वटा) कोदोको बिस्कुट रु. ६० का दरले बिक्री हुने गरेको छ । पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र कोदोको बिस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको उद्यमी खड्काले बताउनुभयो । कोसेलीघर स्थापना र कोदोको बिस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’ गर्न कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा रु। दुई लाख अनुदान सहयोग गरेको थियो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले परम्परागत बाली संरक्षण र प्रवर्द्धन कार्यक्रममार्फत कोदोलगायत खाद्य, दलहन बालीको खेती विस्तार, प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सहयोग गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु। १५ लाख बजेट विनियोजन भएको छ । कार्यक्रममार्फत उद्यमी तथा किसानले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् । केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ । समुद्री सतहदेखि तीन हजार १०० मिटर उचाइको भूगोलसम्म कोदोखेती गर्न सकिन्छ । क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिकादेखि ज्येष्ठ नागरिकका लागि उत्तम खानाका रूपमा लिइन्छ । गर्भवतीहरूका लागि पनि कोदो पोषिलो खाना हो । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने र झाडापखलाका रोगीका लागि कोदो अति राम्रो मानिने केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ । नेपालमा नसर्ने रोगबाट ग्रसित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कोदोको परिकार उपभोगका लागि माग बढेको ताकमका उद्यमी अनिल भण्डारीले बताउनुभयो ।  खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई विविधीकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

काठमाडौं:  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा छ हजार नौ सय रुपियाँले गिरावट आएको छ । आज एक तोला सुनको मोल दुई लाख ४२ हजार आठ सय रुपियाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार सात सयमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि रु. १५० ले घटेको छ ।  आज चाँदी प्रतितोला रु। तीन हजार १३५ मा कारोबार भइरहेको छ ।  गत शुक्रबार त्यति नै परिमाणको  चाँदी रु। तीन हजार २८५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।  निगमले भारतबाट मूूल्य धेरै बढेर आएको भए पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र बढाउने निर्णय गरेको उल्लेख गरेको छ।  बढाएको मूल्य शनिबार रातिबाट लागू हुनेछ।  

काठमाडौं:   दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली याशिवले जितेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि रक्षा गरेको हो । सुरुवाती दुई सेट कर्णालीले २६–२४, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि ललितपुरले उत्कृष्ट पुनरागमन गर्दै २५–१३, २५–१७ को अग्रता बनायो । निर्णायक सेटमा कर्णाली १५–८ ले विजयी भयो ।  यसअघि पोखरामा भदौ २० देखि २८ गतेसम्मका लागि तय भएको प्रतियोगिता जेनजी आन्दोलनका कारण बिचैमा रोकिएर काठमाडौँमा भएको हो । लिगमा ६ वटा  फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । 

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ ।  पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताए । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । उनका अनुसार आजको जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरेका छन् ।  यसैगरी रूपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको बिर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरे ।  एमालेले भदौ २३ र २४ मा ‘जेन(जी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उनले बताए ।  यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला  सम्पन्न गरिसकेको छ ।

पोखरा:   शिव शक्ति क्याम्पस, फूलबारीको शनिबार १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला ‘विशाल’ निर्वाचित भएका छन् । समाजसेवी, शिक्षासेवी एवं पूर्व बैंकर हुन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । १५ सदस्यीय सञ्चालक समिति सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा. तुलसी प्रभास खनाल र गणेशबहादुर कार्की छन् । सदस्यसचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकतर्फबाट सदस्यमा लीलावती पनेरु र सूर्यप्रसाद घिमिरे चयन भए । पदेनसदस्यमा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपाने छन् । यस्तै, त्रिवि प्रतिनिधि, विद्यार्थी प्रतिनिधिसमेत मनोनीत हुन बाँकी छ । अध्यक्ष बास्तोलाले वार्षिक प्रतिवेदन पेस गर्दै क्याम्पसको स्थायित्व, दीर्घकालीन विकासमा सबैको हातेमाले जरुरी रहेको उल्लेख गरे । क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले गत आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थापक एवं पूर्व प्राचार्य प्रेमबहादुर राई, निवर्तमान क्याम्पस प्रमुख दीपक बास्तोला र लामो समयदेखि प्राध्यापन गर्दैआएका मनोज बास्तोलालाई सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता रोहितराज बास्तोला, ग्यालेक्सी माविका निर्देशक राजु कायस्थलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कायस्थले आफ्ना बाबु राधेश्याम कायस्थको नाममा १ लाख बराबरको तथा वडाध्यक्ष कर्माचारीले १ लाख ५ हजार ५५५ रुपैयाँ बराबरको अध्यक्षकोष स्थापना गर्ने घोषणा गरे । अध्यक्ष टुवराज बास्तोला ‘विशाल’को अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपानेले गरेका थिए । कलेजमा विभिन्न नाममा स्थापित छात्रवृत्तिहरु विद्यार्थीलाई प्रदान गरिएको थियो भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।