पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रतिभा माविले जितेको हो । पोखरा रंगशालामा आईतबार भएको फाइनल खेलमा मदरल्याण्ड सेकेण्डरी स्कुललाई ५८ रनले पराजित गर्दै प्रतिभाले पोखरामा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको हो । आईतबारको खेलमा प्रतिभा माविले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रनको योगफल तयार गर्यो । प्रतिभाका लागि सफल श्रेष्ठले ४९ बलमा ७२ रनको अर्धसतकीय पारी खेले । त्यस्तै, मिसन विकले २१ ब्लमा १८ रनको योगदान दिए । प्रतिभालाई विशाल स्कोर बनाउनबाट रोक्ने क्रममा मदरल्याण्डका भुवनबहादुर भण्डारीले ३ ओभरमा १ मेडन ओभरसहित ४ रन खर्चेर ३ विकेट लिए भने विलोभ मल्ल, सद्रीस पौडेल, रमेश भट्ट र शुभम गिरीले १÷१ विकेट लिए । १३८ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको मदरल्याण्ड भने १३.४ ओभरमा सबै विकेट गुमाएर केवल ७९ रनमा समेटियो । मदरल्याण्डका लागि रोमिस भट्टले ११ बलमा १३ रन बनाउनुबाहेक अन्यको व्याट नचल्दा पराजय बेहोर्दै उपबिजेतामै सिमित बन्यो । मदरल्याण्डलाई सस्तैमा समेट्न प्रतिभाका सफल थापाले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट र सफल श्रेष्ठले ३.४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । खेलमा प्रतिभाका अलराउण्डर सफल श्रेष्ठ प्लेयर अफ म्याच घोषित भए । च्याम्पीयन बनेको प्रतिभा माविले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उप–बिजेता बनेको मदरल्याण्डले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा च्याम्पीयन बनेको प्रतिभा माविका सफल श्रेष्ठ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । त्यस्तै, प्रतिभा माविका सहबुद्दिन अन्सारी उत्कृष्ट ब्याट्स म्यान र बाल मन्दिर माविका सुमन अधिकारी उत्कृष्ट बलर बने । उनीहरुलाई पनि ट्रफी प्रदान गरिएको थियो । बिजयीहरुलाई गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सदस्य भोजराज बराल, प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली, निर्देशक सन्देश पौडेललगायतले पुरकास्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिता ग्रासरुट क्रिकेटको विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने,‘यो प्रतियोगिता ग्रासनेस टु ग्रेटनेस क्रिकेटका लागि कोशेढुंगा सावित हुनेछ ।’ आयोजक प्रतिभा माविका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले क्रिकेटको विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको बताए । प्रतिभा माविका प्राचार्य किरण सापकोटाले आगामी वर्षदेखि छात्र र छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरे । यसपटक छात्रहरुबाट शुरु गरेका छौं,उनले भने,‘आगामी वर्षदेखि छोराछोरीहरु सबैले खेल्नसक्ने गरी छात्र, छात्रा दुवै विधामा प्रतियोगिता आयोजना गर्ने जानकारी गराउँछु ।’
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्ती, टोलमा पुगेर आफ्ना एजेण्डा बताइरहेका कुशलले नयाँ पार्टी भनेरमात्रै नहेर्न र उसको योजना, क्षमता पनि हेर्न अनुरोध गरेका छन् । कास्कीको अँधेरीखोला, मौजा, सहरी वडादेखि निर्मरपोखरीसम्म आफ्ना एजेण्डा राख्दै मतादातालाई भेट्दै हिँडेका कुशलले देशमा सुशासन र विकासका लागि अनुहारमात्र बदलेर नहुने बताए । ‘सामाजिक सञ्जालमा अहिले गलत सूचना र सामाग्रीको बाढी छ । यसलाई हेरेर धेरैले रमाइलो मानेका छन् तर मतदाताले एजेण्डा, उम्मेदवारको क्षमता र उसको विज्ञता हेरेर मत दिनुपर्छ,’ कुशलले पोखरा–८ का मतदातासँग भने, ‘देशको खास समस्या कहाँनेर हो ? त्यो समाधान कसरी हुन्छ ? सुशासन कायम गर्छु भनेरमात्रै हुन्छ कि त्यो समस्या पनि पहिल्याउनुपर्छ ? यो कुरा सोधरमात्र मत दिनुहोला ।’ कुशलले फोहोरलाई मल, ग्यास, ऊर्जामा बदलेर व्यवस्थापन गर्न कसरी सकिन्छ भनेर आम्दानी, रोजगारीसँग जोड्न अनुसन्धान, प्रयोग आफूले गरेकोसमेत सुनाए । विकसित देशहरुमा पनि फोहोरको समस्या रहेको बताउँदै उनले नेपालजस्तो शहरमा बेलैमा नसोच्ने हो भने ठूलो समस्या निम्तिने बताए । ‘हिमाल, नदी र तालसँग सम्बन्धित पर्यटनबाट पोखराजस्तो सहरले अहिले सानो फाइदा लिएको छ । यसलाई व्यवस्थित गर्ने, पर्यावरणीय र जलवायु परिवर्तनलाई बेलैमा नीतिगत तहबाट जोड्ने काम गर्न सकिएन भने पोखरालेसमेत ठूलो क्षति बेहोर्न सक्छ,’ कुशलले भने, ‘कति उम्मेदवारले यो मुद्धा उठाइरहेका छन् र बोलिरहेका छन् ? त्यो हेरेर मत दिउँ ।’ लामो समय ऊर्जाविज्ञको रुपमा काम गरेका कुशलले नेपालमा जलवायु परिवर्तन क्षेत्रमा सरकारलाई नीति निर्माणमै सघाएका थिए । गण्डकी प्रदेशको जलवायु नीति, पोखराको ऊर्जा नीति बनाएका कुशलले भने, ‘पहिलो कुरा त नीति निर्माणमै सरकार गम्भीर भएन, दोस्रो कुरा बनेको नीति पनि ठिक ढंगले कार्यान्वयन नभएपछि म आफैं सांसद बनेर त्यो काम गर्छु भनेर घरदैलोमा आएको हुँ ।’ अहिलेको एआइको जमानामा सामाजिक सञ्जाल प्रयोग गरे पनि सबै सामाग्रीमा विश्वास गरेर धारणा नबनाउने उनले आग्रह गरेका छन् । बढ्दो सहकारीकरणले पोखराजस्तो ठाउँमा उत्पादन र रोजगारीका सिर्जना हुने क्षेत्र पहिचान गर्नुपर्ने उनको भनाइ छ । ‘एकातिर हाम्रा पाटनहरु सकिँदै गए । खेतीयोग्य जमिनमा कंक्रिटका घरहरु बनेका छन्,’ कुशलले घरदैलोमा बुझाउने प्रयत्न गर्दै भनिरहेछन्, ‘सहरलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनलाई प्रविधि र बजारसँग जोड्ने नीति चाहिन्छ । यो नीति पोखराका लागि मात्रै होइन, देशकै लागि चाहिन्छ ।’ पोखरासहित गण्डकीले भोगिरहेको जलवायु परिवर्तनको असर, फोहोर व्यवस्थापनको मुद्धा, ऊर्जा क्षेत्रबाट लिन सकिने लाभसँगै यहाँको पर्यटन, यातायात व्यवस्थापनको मुद्धालाई कुशलले एजेण्डा बनाएर मतादाताको ध्यान खिच्ने काम गरिरहेका छन् । आफू सस्तो प्रचारबाजीमा नरमाउने, भीड जम्मा गरेर बिनाएजेण्डा हल्ला गरेर नहिँड्ने कुशलले बताइरहेका छन् । एजेण्डाका विषयमा आफूलाई पनि प्रश्न गर्न र पुराना दलको विकल्प भन्दै आएका सबै नयाँलाई पनि सोध्न उनले अनुरोध गरेका छन् ।
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ। स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा ऊ वेस्ट इण्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो। दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्। समूह 'बी' मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ। समूह 'डी' बाटै दक्षण अफ्रिका र क्यानडाबीच खेल हुनेछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल हुनेछ। यी दुई देशले पनि पहिलो खेल खेल्न लागेका हुन्।
नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल, प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकल र ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको हाे । उनको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको गुरुङले बताए । दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडी सवार कावासोती नगरपालिका–१७ गोछाडाका ४४ वर्षीया प्रमेश्वरी महतो र उहाँका ४ वर्षीय छोरा जेसन महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् । उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् । बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार दोस्रो चरणका ८ खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए । उनका अनुसार दीप युनाइटेड र सम्झना क्लब नयाँगल्लीबीच भएको पहिलो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा दीपले ३–२ गोल अनतरले पराजित गर्याे । यस्तै दोस्रो खेलमा आयोजक बिटी टिम ‘ए’ ले एनएएफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । आयोजकको जीतमा विकास साईले निर्णायक गोल गरे । यस्तै त्रिशक्ति युवा क्लब लाहाचोक र मार्सल ह्वाइटबीच भएको तेस्रो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा लाहाचोकले ४–३ गोल अनतरले हरायो । मार्सल ब्ल्याक र एट टु नाइनबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले जीत निकाल्यो । रामघाट ग्रीन र बानियाँ ब्रदर्शबीच भएको पाँचौ खेल पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा रामघाट ग्रीनले ३–२ को गोल अन्तरले पराजित गर्याे । छैटौं खेलमा रामघाट ह्वाइटले तालपारी एफसीलाई २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा मनिष तामाङले २ गोल गरे भने, तालपारीका लागि निखिल रानाले सान्त्वना १ गोल गरे । सातौ खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ ले मसिना एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । लामागाउँको जीतमा युनिक तामाङ र दिवस छन्त्यालले समान १/१ गोल गरे । आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’ ले बेस्ट ब्वाइज भिमादलाई २–० गोल अन्तरले हरायो । लामागाउँको जीतमा सँगम गुरुङ र एलिश तामाङले समान १/१ गोलको योगदान दिए । सोमबार पनि बिहान ८ बजेबाटै दोस्रो चरणकै खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
भारतले साफ यु १९ महिला फुटबल च्याम्पियन्ससिपको उपाधि जितेको छ। भारतसँग ४-० ले पराजित भएपछि बंगलादेशले उपाधि रक्षा गर्न सकेन । पोखरा रगंशालामा आज भएको फाइनलमा बंगलादेशलाई हराएपछि भारत तेस्रो पटक यु १९ च्याम्पियनस बनेको हो। भारतले यसअघि सन् २०२२ र २०२४ मा यो उपाधि जितेको थियो। समूह चरणमा बंगलादेशले भारतले २-०, नेपाल ४-० र भुटान १२-० ले हराएको थियो। ५ पटकको च्याम्पियन बंगलादेशले फाइनल भने समूह चरणको प्रदर्शनलाई दोहोराउन सकेन । बंगलादेश यसअघि २०१८,२०२१,२०२३,२०२४ र २०२५ मा च्याम्पियन बनेको थियो। २०२४ मा बंगलादेशमा भएको फाइनलमा दुई टोलीबीच विवाद भएपछि साफले दुबै टोलीलाई विजेता घोषणा गर्दै संयुक्त रुपमा उपाधि दिएको थियो। आज एकपक्षिय खेलको पहिलो हाफमा १-० ले अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्यो। ४२ औँ मिनेटमा जुलान नोङमाइथेमको गोलमा भारतले अग्रता बनायो। ६३ औँ मिनेटमा एलिजावेथ लार्काको गोलमा भारतले अग्रता दोब्बर पार्यो। त्यसको पाँच मिनेटमा नै पर्ल फर्नान्डेजको गोलमा भारतले आरामदायी अग्रता बनायो। ८३ औँ मिनेटमा अंविता रघुरमनको गोल थपेपछि भारतले सहजै खेल जित्यो । च्याम्पियनसिपमा बंगलादेश अपराजित रहँदै फाइनल खलेको थियो। बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहेर फाइनल खेलेका हुन्। ४ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा घरेलु टोली नेपाल तेस्रो र भुटान चौथो स्थान भएको छ ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शनिबार) ८ खेल सकिएका छन् । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा पहिलो चरणका ८ खेल सकिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले बताए । उनका अनुसार शनिबार भएको पहिलो खेलमा एन्जो ग्रुपले टुंडिखेललाई २–० गोल अन्तरले पराजित गर्याे । यस्तै दोस्रो खेलमा राइजिङ नेपाललाई रामघाटले ठमेल २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा सुदिन गुरुङले २ गोल गरे भने, राइजिङ नेपालका लागि सन्तोष मगरले सान्त्वना १ गोल फर्काए । तेस्रो खेल लिभिक एफसीको अनुपस्थितीमा वाकओभरमार्फत तालपारी विजयी बन्यो । बेस्ट ब्वाइज क्लब र भिमकाली क्लबबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा बेस्ट ब्वाइज क्लबले ४–३ गोल अन्तरले जीत निकाल्यो ।\ पाँचौ खेलमा स्याङ्जा युथ क्लबले फूलबारी क्लबलाई २–० को गोल अन्तरले पराजित गर्याे । स्याङ्जाको जीतमा समिर पुरीले २ गोल गरे । छैटौं खेलमा एसटिबिएस एफसीलाई लभ्ली ब्वाइजले ४–२ गोल अन्तरले पराजित गर्याे । लभ्ली ब्याइजको जीतमा स्वचन थापा, सविन थापा, अन्जन थापा र रोहित नेपालीले समान १र१ गोल गरे । भने, एसटिबिएसका लागि विवेक गुरुङले २ गोल गरे । यस्तै आयोजक बिटी टिम बि र कल्याण बेसी लमजुङबीच भएको सातौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा आयोजकले ३–२ गोल अनतरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक निकेश गुरुङले जानकारी दिए । उनका अनुसार शनिबारको अन्तिम खेलमा फायर पिज्जाले भाइब्रेन्टलाई ४–१ को फराकिलो गोल अन्तरले हरायो । फायर पिज्जाको जीतमा मनिस ठकुरीले ह्याट्रिक र सुवास गुरुङले १ गोल गरे । भने, भाइब्रेन्टका लागि खगेन्द्र पुनले समान्त्वना १ गोल गरे । आइतबार पनि बिहान ८ बजेबाटै पहिलो चरणकै खेल हुने क्लबका सल्लाहकार विनिता गुरुङले जानकारी दिइन् । उनका अनुसार आइतबार पहिलो खेल सम्झना क्लब नयाँगल्ली र दीप युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए । सापकोटाका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
आचारसंहिता उल्लंघन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्। आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन्। आयोगले कूल ३४ राजनीतिक दल र स्म्वद्ध उम्मेदवारलाई स्पटिकरण सोधेकामध्ये २४ जनाले बुझाए पनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन्। जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाइ आर्थिक बाहेकका अन्य विषय हेर्ने अख्तियारी छ। जिल्लामा प्रमुख कोष नियन्त्रक र कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ। जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लंघनका सम्बन्धमा प्राप्त भएका उजुरीलाई आवश्यक कारवाही गरिएको आयोगले जनाएको छ।

