काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर बुधबारबाट सेना परिचालन हुने भएको हो। निर्वाचनको महिना दिनअघिबाटै परिचालन गर्ने योजनाअनुसार सेना बुधबारबाट परिचालित हुन लागेको हो। सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय भएको छ। सशस्त्र प्रहरीले सुरक्षा गरिरहेको सार्वजनिक भवन, कारागार तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ। सशस्त्र प्रहरीलाई पनि निर्वाचनमा खटाउने छ। परिचालित सेना एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार फिल्डमा खटिनेछन्। सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले निर्वाचन सुरक्षार्थ नेपाली सेना बुधबारबाट फिल्डमा परिचालित हुने बताए। ‘निर्वाचन हुनभन्दा एक महिनाअघिबाटै परिचालन गर्ने म्यान्डेटअनुसार सेना आगामी २१ माघदेखि फिल्डमा खटिनेछन्। यसका लागि आवश्यक सबै तयारी पूरा भएको छ। सेना एकीकृत सुरक्षा योजनाले दिएको म्यान्डेटअनुसार नै फिल्डमा खटिनेछ,’ सहायक रथी बस्नेतले भने। गत कात्तिकमा राजनीतिक दलले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने सर्त राखिरहँदा निर्वाचन आयोगले सुरक्षाको वातावरण सुनिश्चित गर्न नेपाली सेनासहित चार वटै सुरक्षा निकाय संयुक्त रूपमा यथाशीघ्र परिचालन गर्न सरकारलाई आग्रह गरेको थियो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको बैठकले सिफारिस गरेपछि ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिइसकेका थिए। निर्वाचनलाई लक्षित गर्दै देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन हुनेछन्। आवश्यकताअनुसार गस्ती र पेट्रोलिङ गर्ने तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती पनि सञ्चालन हुने बताइएको छ। मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएपछि एक महिनाअघिबाटै सेना परिचालनको बाटो खुलेको हो। त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी सोहीअनुसार तालिम तथा अभ्याससमेत सम्पन्न गरेको छ। ९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पारित भएको थियो। यही योजनाअनुसार अहिले सेना परिचालनसँगै सुरक्षासम्बन्धी अन्य तयारी र ड्युटीहरू सुरु भएका छन्। आगामी निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी तीन लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ। सेनाका अनुसार नेपाली सेनाबाट मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार नेपाल प्रहरीबाट ७५ हजार ५९७ जना खटिनेछन्। प्रहरी मातहत रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुने र उनीहरूको तालिम सुरु भइसकेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुनेछन्। त्यस्तै १ हजार ९२१ गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिनेछन्।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर मङ्गलबार बिहान २ बजेतिर श्रीमती अम्बिका कुमारी मण्डलको हत्या गरी आफूले आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रवक्ता लीलाराज लामिछानेका अनुसार मुकेश राति नै ससुराली पुगेका थिए । मुकेशको घर र ससुराली घरको दूरी एक किलोमिटर भित्र पर्छ । विराटनगर बस्दै आएका दुबै जनाबीच घरायसी विवाद भएपछि अम्बिका माइत बस्दै आएकी थिइन् । श्रीमातले चक्कुले प्रहार गर्दा अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूको विवाह गत मङ्सिर १२ गते भएको थियो ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ शनिबारसम्म २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न भएको आयोग प्रवक्ता भट्टराईले जानकारी दिए । छपाई सम्पन्न भएकामध्ये ११ जिल्लामा ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । १६ लाख २१ हजार मतपत्र प्याकिङसमेत सकिएको छ । औसत १२ लाखभन्दा बढी मतपत्र छपाइ सकिएको र कार्यतालिकाले तोकिएको समयभित्र छपाइ सम्पन्न गरी सम्बन्धित क्षेत्रमा पठाउने तयारी आयोगको छ ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो । बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएको थियो ।
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १८ हजार ८०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य ३ लाख कायम भएको छ। यसअघि माघ १५ गते सुनको मूल्य ३ लाख ३९ हजार ३०० पुगेको ऐतिहासिक रेकर्ड कायम गरेको थियो। यस्तै चाँदी भाउमा पनि उच्च गिरावट आएको छ। महासंघका अनुसार यसदिन १ हजार ६५ रुपैयाँले घटेर एक तोला चाँदीको भाउ ५ हजार ५०० पुगेको छ। शुक्रबार चाँदी एकतोलाको ७ हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
पोखरा: कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । ‘चिप्ली गाउँमा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको सिद्ध युवा क्लबले आफ्नो ३८ औं वाषिकोत्सवको अवसरमा महाशिवरात्री मेलालाई निरन्तरता दिएको हो, अध्यक्ष गुरुङले भने, ‘ महाशिवरात्री मेलाले पर्यटकीय गाउँ चिप्लीको पर्यटन प्रवद्र्धन,खेलकुद र विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’ उनका अनुसार महाशिवरात्री मेलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता,छेलो, रस्साकस्सी र म्युजिकचियर प्रतियोगिता आयोजना गरिएको छ । वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै रस्साकस्सी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेतालाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र र फेटाले सम्मान गरिने क्लबका अध्यक्ष गुरुङले बताए । कास्कीको उत्तरी भेगमा अवस्थित मादी गाउँपालिका–६ चिप्ली गाउँमा पोखराको काहुँखोला, काभ्रेडाँडा, छाचोक, मेलबोट, थाक, तप्राङ हुँदै चिप्ली गाउँ पुग्न सकिन्छ । पोखराबाट सवारी यात्रामा १ घण्टामा नै चिप्ली गाउँमा पुग्न सकिन्छ ।
पोखरा: प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै सांग्रिलाले उपाधि चुमेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३ रन जोडे । सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट लिए । विपिन खत्री र राज परियारले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सांग्रिला ४३ ओभरमा १६८ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक ६४ रनको योगदान दिए । यस्तै कुशल नेपालले २० तथा राजु खनालले १८ रनको योगदान दिए । कास्कीका लागि अदित्य थापा र विश्वास पराजुलीले समान ३–३ विकेट लिए भने अनुप पौडेलले २ विकेट लिए । माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता थियो । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् । समूह ए बाट सांग्रिला र समूह बि बाट कास्की विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो ।
पोखरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो । नेकपा नेता श्रीनाथ बरालले कार्यालय उद्घाटन गरे । नेता बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको दाबी गर्दै उनले थपे, ‘नयाँले सम्हाल्ने स्थिति छैन, पुराना निकम्पा बने । नेकपाको नेतृत्वका लागि जित जरुरी छ ।’ कार्यक्रममा उम्मेदवार गुरुङले देशको निकास र विकासका लागि नेकपाले जित्न आवश्यक रहेको बताए । कास्की क्षेत्र नम्बर १ को विकासमा विगतदेखि वर्तमानसम्म नेकपाका नेताहरुको भूमिका रहेको भन्दै उनले थपे, ‘हिजो देव गुरुङदेखि कृष्णबहादुर गुरुङसम्म, दीपक कोइरालादेखि गायत्री गुरुङसम्मले यस क्षेत्रको विकासमा योगदान दिनुभयो, मैले वर्षमान पुन अर्थमन्त्री भएका बेला राजनीतिक सल्लाहकारका रुपमा बस्दा यहाँ ३५ करोड भन्दा बढीका योजना राखेको थिए ।’ उनले विकासको विरासत धान्न पनि कास्की क्षेत्र नम्बर १ नेकपाले जित्नुपर्नेमा जोड दिए । नेकपा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले देश बनाउने एकमात्र पार्टी नेकपा भएको विचार राखिन् । नेकपा केन्द्रीय सदस्य दीपक कोइरालाले विकास र समृद्धिको बाहक नेकपा भएकाले तारा चिह्नमा मतदान गरेर गर्न आग्र हगरे । कास्की १ का नेकपाका चुनावी कमान्डर सोमती गुरुङले नेकपाको नीतिमा देश अगाडि बढिरहेकाले नेतृत्व पनि नेकपाले गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य पूर्ण लामा र कल्पना पाण्डेले पनि बोलेका थिए । पोखरा ३३ मा कार्यालय स्थापना नेकपा कास्कीले क्षेत्र नम्बर २ मा पर्ने पोखरा ३३ बागमारामा शनिबार सम्पर्क कार्यालय स्थापना गरेको छ । फागुन २१ को निर्वाचन केन्द्रीत गतिविधिलाई सहज बनाउन कार्यालय खोलिएको हो । चुनावी तयारी स्वरुप नेकपाले पोखरा २० मा बैठक आयोजना गरेको छ भने उम्मेदवार थापाले भूमीहीनहरुसँग भेटघाट गरेका छन् । कार्यक्रममा नेकपा नेता श्रीनाथ बरालले नेकपा लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको मूलधार भएको बताए । उनले भने, ‘यहाँ सशस्त्र युद्धबाट आएको पार्टी र शान्तिपूर्ण राजनीतिबाट आएका सबै छौँ, हामी अबको नेपालको नेतृत्व गर्ने ल्याकत राख्छौं ।’ कार्यक्रममा कास्की २ का नेकपा उम्मेदवार किरण थापाले संकटमोचनका लागि भएको निर्वाचनबाट जनताले उचित नेतृत्व छान्ने विश्वास व्यक्त गरे । ‘पुरानाहरुको दुई तिहाइको दम्भले ठूलो विनाश भयो, नयाँ हुँ भनी दाबी गर्नेहरु ठगी आरोपमा मुछिएका छन्, सुकुम्बासी बस्तीमा डोजर चलाइरहेका छन्,’ उनले भने, ‘यो नयाँ हावाले पनि देशलाई निकास दिँदैन । नेकपासँग मात्र छ अहिलेको समस्याको समाधान ।’ कार्यक्रममा नेकपा नेताहरु नेत्रनाथ अधिकारी, खड्ग हमाल, समानुपातिक उम्मेदवार ज्ञानु आचार्यले पनि बोलेका थिए । कास्की ३ मा अगुवा कार्यकर्ता भेला नेकपा कास्की ३ का उम्मेदवार गोपाल गिरी शनिबार बिहान मत माग्न अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ र ५ पुगे । शनिबारै नेकपाले कास्की क्षेत्र नम्बर ३ मा पर्ने पोखरा महानगरका ११ वडाका अगुवा कार्यकर्ता भेला र उम्मेदवार परिचय कार्यक्रम आयोजना ग¥यो । भेलामा उम्मेदवार गिरीले आफ्ना योजना र पार्टीको कार्ययोजनाबारे प्रकाश पार्दै नेकपाको जितबाट मात्रै मुलुकले निकास पाउने जिकिर गरे ।
पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हा । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । उपाधीसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो । फाइनलमा पराजित भएको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे । सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार १११ रुपैयाँ हात पारे । महिलातर्फको उपाधि भने न्यू डायमण्ड स्पोट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्विन्स तेस्रो बने । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

