काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेकामा दोलखाको मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष ईश्वर कोइराला, तत्कालीन वडासचिव विनय उप्रेती र कार्यालय सहायक दलबहादुर थापा छन् । मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष समेतले मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ताबापतको रकम निकाली हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा मेलुङ गाउँपालिका–१ बाट आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्ममा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका १४ लाभग्राहीको सामाजिक सुरक्षा भत्ता उनीहरूले बुझेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ । खड्काले २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनले सहज रूपले नेतृत्व परिवर्तन गर्न सकिने अवस्था भएको भन्दै अहिले प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरेका छन् । ‘प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदै छ’, खड्काले भनेका छन्, ‘तसर्थ, अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ ।’
कास्की: धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् । उत्तरतिर लस्करै देखिने हिमश्रृङखला र आतिथ्यताले पाहुनाहरु पुलकित हुन थाल्छन् । यो पर्यटकीय राजधानी पोखराको छिमेकी पालिका माछापुच्छ्रे गाउँपालिकाको ह्याङ्जाकोट गाउँ हो । जहाँ २०६४ सालदेखि सामुदायिक होमस्टे सञ्चालनमा छ । २० घरदेखि सुरु भएतापनि बसाइँसराइँका कारण हाल १ दर्जन घरले होमस्टे सञ्चालन गर्दै आएका छन् । जुन गाँउ प्रकृति र संस्कृतिमा निकै धनि छ । कसरी जाने ? पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस गाउँसम्मै पक्की सडकको सुविधा छ । सिमपानी, याम्दी, हेम्जाको मिलनचोक, मेलबोट झिझिर्का, धितालबाट हुँदै ह्याङ्जाकोट पुग्न सकिन्छ । अधिकांश गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा करिब ५० घर रहेको छ । तर, १२ घरमा मात्रै होमस्टे सञ्चालनमा छ । करिब ८० जना पाहुना राख्ने क्षमता भएको यस होमस्टेमा प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ प्याकेजको व्यवस्था छ । हेर्नुहोस्, थप तस्बिर:
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिने छ । महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा हुने बन्दसत्रको सुरुआत विशेष महाधिवेशनको कार्यविधि निर्माणबाट गरिने छ । त्यसपछि नौ वटा समूह निर्माण गरी चार प्रमुख विषयमा नीति मन्थन गरिने कार्यसूची तय गरिएको छ । उहाँका अनुसार बन्दसत्रमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयहरूमा विस्तृत छलफल हुनेछ । नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा पनि व्यापक छलफल हुने उनले जानकारी दिनुभयो । नेतृत्व परिवर्तन गर्ने पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने पोखरेलले बताउनुभयो । नयाँ कार्यसमिति निर्विरोध चयन हुने सम्भावना रहेकाले मतदान गर्नुपर्ने अवस्था नआउने उहाँको धारणा छ।यसैबीच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि आज बिहान मात्रै काठमाडौँ आइपुगेकाले उहाँहरूलाई बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो ।
तनहुँ: तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो । उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताउनुभयो । हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
पोखरा: नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी. परीक्षा–२०८१मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान, एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाले यस वर्ष शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गरेको छ । कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष राम बहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली र कास्कीका अध्यक्ष हेमन्त अधिकारीले नगद २५ हजार सहित सम्मान पत्र, दोसल्ला ओढाई सम्मान गरेका थिए । यसैगरी स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान गरिएको छ । यसरी सम्मानित हुने विद्यालयहरुमा न्यू लिटिल स्टेपसेकेन्डरी स्कुल–२०५७, नेसनल क्रियशन एकेडेमी–२०६३, ओम एकेडेमी–२०६३ र पिक एभरेष्टबोर्डिङ स्कुल–२०६४ रहेका छन् । एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू अञ्जुली आवासीय मा.वि, बालप्रतिभा बोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेन्डरी स्कुल, लाविन रेसिडेन्सियल स्कुल, नेसनल व्रिmयसन एकेडेमी, पुष्पसदन एकेडेमी कास्की, श्री रत्नज्योति मा.वि. र युनिभर्सबोर्डिङ स्कुललाई सम्मान गरिएको थियो । एस.एल.सी. परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मानमा आशिष गौतम, कास्की मोर्डनाइज्ड एकेडेमी, ३.८५ जी.पी.ए., अलिशा पुन, त्रिवेणी पब्लिक मा.वि., ३.७८ जी.पी.ए. ल्याउने विद्यार्थीलाई नगद १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मानमा दिप्सन घर्ती, कास्की मोर्डनाइज्ड एकेडेमी, ४.०० जी.पी.ए., नितेश थापा, कास्की मोर्डनाइज्ड एकेडेमी, ४.०० जी.पी.ए., सुस्मा खत्री, बड्स एकेडेमी, ४.०० जी.पी.ए., नितु भण्डारी, बड्स एकेडेमी, ४.०० जी.पी.ए. र कृतिका बि.क., लाविन रेसिडेन्सियल स्कुल, ४.०० जी.पी.ए. ल्याएका विद्यार्थीलाई नगद ५०÷५० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान हुनेमा बगमारा एकेडेमिक गार्डेन पोखरा–३३, कास्कीका शिक्षक विष्णु कुमारी अधिकारी, बड्स एकेडेमी पोखरा–०६, कास्कीका शिक्षक गीता देवी डुम्रे, गोर्खा बोर्डिङ स्कुल पोखरा–१६, कास्कीका शिक्षक दिपा थापा, ज्ञानज्योति बोर्डिङ स्कुल माछपुच्छ«े–०४ का शिक्षक दुर्गा अधिकारी, ज्ञानज्योति विद्याकुञ्ज मा.वि पोखरा–३२, कास्कीका शिक्षक मित्रबन्धु सुवेदी रहेका छन् । हेम्जा बोर्डिङ स्कुल पोखरा–२५, कास्कीका शिक्षक रिता देवकोटा पौडेल र कर्मचारी चेत बहादुर कुँवर, कान्तिपुर एकेडेमीअफ साइन्स एण्डटेक्नोलोजी पोखरा–१४, चाउथेका कर्मचारी विजय लामा, कास्की मोडर्नाइज्ड एकेडेमी पोखरा–१४, चाउथेका शिक्षक गंगा आले र कर्मचारी विमाया माझकोटी, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पोखरा–२७, कास्कीका शिक्षक पुनम थापा, न्यू लेखनाथ पब्लिक एकेडेमी पोखरा–३०, कास्कीका शिक्षक इन्दिरा सुवेदी, कृष्णतिवारी, ओम एकेडेमी पोखरा–१७, कास्कीका शिक्षक बिष्णुमाया सुनार, शान्ती थापा कर्मचारी अमृत वि.क. रहेका छन् । पिक एभरेष्टबोर्डिङ स्कुल माछपुच्छ«े, कास्कीका शिक्षक पार्वती भण्डारी गौतम, पुस्पा रिमाल आचार्य, पयेनियर इङ्लिस एकेडेमी पोखरा–१५, कास्कीमन शिक्षक रोशनी गुरुङ, पुष्पसदन एकेडेमी पोखरा–१२, कास्कीका शिक्षक अजय थापा र मञ्जु पहारी थापा, सागर मेमोरियल बोर्डिङ स्कुल माछपुच्छ«े–३, कास्कीका शिक्षक बेदकुमार श्रेष्ठ, सिर्जना श्रेष्ठ लेखापाल सिता देवी श्रेष्ठ रहेका छन् । त्यस्तै शान्ति बाटिका बोर्डिङ स्कुल पोखरा–३२, कास्कीका शिक्षक राजबन्धु बस्नेत, मिठु मल्ल, शोभा श्रेष्ठ लेखापाल पुष्पा कुमारी थापा कर्मचारी इन्द्रकुमार श्रेष्ठ, सनराइज प्रिपारोटरी स्कुल पोखरा–२४, कास्कीका शिक्षक लोकनाथ लामीछाने, दुर्गा भण्डारी पराजुली, त्रिवेणी पब्लिकमा.वि पोखरा–२७, कास्कीका शिक्षक खगराज धमला कर्मचारी रिता पुर्जा र श्री रत्नज्योती मा.वि. पोखरा–८, कास्कीका शिक्षक सारदा कुमारी पौडेल रहेका छन् । कार्यक्रममा बौल्दै प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठले एन प्याब्सनले गर्ने हरेक कार्यक्रम उत्कृष्ट रहेको बताए । सम्मानित व्यक्तित्व बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालाले पवित्र संस्थाबाट सम्मानित हुन पाएको भन्दै खुशी व्यक्त गरिन् । शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले संस्कारयुक्त, प्रतिस्पर्धी, जीवन जिउन सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको बताए । कार्यक्रममा नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष राम बहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकरर जैसी, प्याब्सियु केन्द्रीय कार्यसमिति अध्यक्ष शिवलाल उपाध्याय, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक पुनम थापाले बोलेका थिए । नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’ को गायनतर्फको फस्ट रनरअप सुशान्त भण्डारी र सेकेन्ड रनरअप सबिना परियार भएका छन् । सन्तोष परियार र विशाल पाण्डेले गायनतर्फ सान्त्वना पुरस्कार प्राप्त गरे । यस्तै नृत्यतर्फ क्रिस्टिना जिसी फस्ट रनरअप, आकृषा पोखरेल सेकेन्ड रनरअप तथा लोजिना पटेल र ऋदम लिम्बू सान्त्वना भए । दुवै विधामा उपाधि विजेताले जनही रु. ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै फस्ट रनरअपले रु. ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सेकेन्ड रनरअपले रु. १० हजार नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् । विगत डेढ महिनादेखि सञ्चालित आइडलका विभिन्न चरण पार गरेर दुवै विधामा ५र५ जना फाइनलमा प्रवेश गरेका थिए । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले ‘कास्की आइडल’ जस्तो कार्यक्रमले स्थानीय तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउँदै राष्ट्रिय स्तरका कलाकार जन्माउने आधार निर्माण गरेको बताए । कार्यक्रम संयोजकसमेत रहेका अध्यक्ष आदर्श पोखरेलले सामाजिक, साहित्यिक र सांस्कृतिक विकाससँगै युवा प्रतिभालाई उचित मञ्च प्रदान गर्नु नै प्रतिष्ठानहरूको उद्देश्य भएको बताए । लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले यस्ता कार्यक्रमले सांस्कृतिक पहिचान संरक्षण, प्रतिभा विकास र यस क्षेत्रको पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याउने धारणा राखिन् । गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीतकार प्रतिष्ठान गीतकारको हकहितका लागि मात्र नभई समग्र साङ्गीतिकरसांस्कृतिक क्षेत्रको उत्थानका लागि क्रियाशील संस्था भएको बताए । उनले आगामी दिनमा पनि नेपाली वाङ्मयका विविध क्षेत्रमा प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाए । गायक रामभक्त जोजिजू तथा गायिका ईतु जोजिजूको समेत प्रस्तुति रहेको कार्यक्रममा अनिल ढुऽगाना र सनम गुरुङलगायतका कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन झलक गुरुङ र ज्योति खड्काले गरेका थिए । कार्यक्रममा रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदी, एचएम एजुकेसन सर्भिसका निर्देशक दुर्गाप्रसाद गुरुङ, उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष डा. ऋतु पौडेल, गीतकार रेशम रचक, समाजसेवी सन्तोष तिमिल्सिना, मधु क्षेत्री, डा. निराजन कोइराला, मदन घिमिरेलगायतले शुभकामना दिएका थिए ।
काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार २०८२ पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम पुस २८ गते सोमबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा नाम फिर्ता लिन सकिने उहाँको भनाइ छ। प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिनका लागि निवेदन दिन सकिने जानकारी गराइएको आयोगले जनाएको छ।
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ । दोस्रो विशेष महाधिवेशन सचिवालयले विज्ञप्ति जारी गर्दै प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले नाम दर्ता गराएको जनाएको छ । कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।

