पोखरा: पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बागलुङमा जन्मिएर पनि पर्यटकीय राजधानी पोखरा हुँदै गण्डकीको यात्रा तय गर्नु खुसीको कुरा रहेको बताए । ‘बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा तय गर्ने हिम्मत राखेको ढोरपाटन अझै स्थापित हुनेछ’ उनले भने । आचार्यले प्रविधि फेरिए पनि संचारमाध्यम र पत्रपत्रिकाको महत्व बढ्ने क्रम नेपालमा मात्र नभइ संसारभर रहेको दृष्टान्त सुनाए । अमेरिकामा पुग्दा पनि उनले पत्रपत्रिकाको महत्व बढी देखिएको बताए । डिजिटल फड्कोसँगै दस्तावेजीकरणका लागि पत्रपत्रिकाको महत्व जहिले पनि रहने बताए । कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रपत्रिका नविकरणको काम अब पोखराबाटै हुने बताए । उनले संघियताको सच्चा अभ्यास अब प्रेस रजिष्ट्रार कार्यालयले थाल्ने भन्दै संचारकर्मीहरुले अब काठमाण्डौं धाउने समस्या भोग्न नपर्ने बताइन् । उनले संचार उद्यममा सहकार्य र एक अर्काको सम्मान गर्ने भावनाको आवस्यकता रहेको पनि बताइन् । उनले संचारमाध्यम र संचारकर्मीहरु सहकार्य गरेर हिंड्दा मात्रै गन्तव्यमा पुगिने बताइन् । प्रेस स्वतन्त्रताका लागि संचारमाध्यमको एकताको आवस्यकतामा उनले जोड दिइन् । ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमको अध्यक्षता, पोखरा व्युरो प्रमुख बासुदेव मिश्रको संचालन र कार्यकारी सम्पादक रामकृष्ण बोहोराको धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्षिकोत्सवको अवसरमा उत्कृष्ट संवाददाताको रुपमा स्याङजा संवाददाता अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपालीलाई सम्मान तथा पुरस्कृत गरियो । महानगरप्रमुख आचार्यले दुवैजनालाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । ढोरपाटनले हरेक वर्ष उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कार तथा सम्मान गर्दै आएको छ भने दुइ वर्षमा सामाजिक क्षेत्रका अगुवालाई पनि सम्मान गर्दै आएको छ । २०५९ साल भदौ १ गते ढोरपाटन दैनिक स्थापना भएको हो । राजाको निरंकुश शासन व्यवस्थाको समयमा पत्रिकाले बागलुङको ग्रामीण क्षेत्रको सूचना प्रवाह गथ्र्यो । संघियता कार्यान्वयन पछि ढोरपाटनले बागलुङबाट पोखराको यात्रा तय गर्दै गण्डकी प्रदेश स्तरीय बनाएको प्रधान सम्पादक गौतमले जानकारी दिए । आगामी दिनमा पनि ढोरपाटनलाई अब्बल बनाउन पहल गर्ने उनले बताए । गण्डकीका नविनतम् प्रयास, पोखरा पर्यटन वर्ष २०२५ समेतलाई ध्यान दिएर विशेषांक प्रकाशित गरिनुको साथै आगामी दिनमा पनि सोही प्रकृतिका सामाग्री पस्कने गौतमले प्रतिबद्दता समेत जनाए ।
पोखरा: पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । रेडियो नेपालमा २०५१ साल भदौं १ गते पहिलो पटक मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । मगर पत्रकार संघ कास्कीले ३१ औं मगर प्रसारण दिवसको अवसरमा पोखरामा अग्रज सञ्चारकर्मी हर्क आलेमगर र खेम सारुमगरलाई सम्मान समेत गरेको छ । सञ्चारकर्मी आले र सारुमगरलाई गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगर, मगर संघ गण्डकी प्रदेश अध्यक्ष तारामाया थापा मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगरले सम्मानपत्र, फेटासहित सम्मान गरे । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरामा हर्क आलेमगर २०५१ साल र खेम सारुमगर २०५३ सालदेखि कार्यरत हुनुहुन्छ । उहाँहरुले मगर भाषामा समाचार तथा कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ । रेडियो नेपालमा २०५१ साल भदौं १ गते देखि मगर भाषासहित ९ वटा मातृभाषामा समाचार प्रसारण भएको थियो । मगर प्रसारण दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनपछि बौल्दै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले मगर समुदायले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा पछाडि परिरहेको बताउनुभयो । ‘हामी शिक्षा र चेतनाको अभावले पछाडि परिरहेका छौं, शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा नै हामी पछि परिरहेका छौं, सांसद गाहामगरले भन्नुभयो, ‘समुदायमा जनचेतना वृद्धि गर्न हरेक क्षेत्रमा अगाडि बढ्न मगर समुदायले अब शिक्षालाई प्राथमिकतामा दिन आवश्यक छ ।’ सांसद गाहामगरले सामाजिक क्षेत्रमा सक्रियता बढाउन नसक्दा सरकारले गरिरहेको कामको बारेमा समुदायले त्यसको बारेमा जानकारी लिन नसकेको समेत बताउनुभयो । ‘अहिले सरकारले हरेक क्षेत्रमा काम गरिरहेको छ, तर हाम्रो हाम्रो समुदायबाट सामाजिक क्षेत्रमा चासो र सक्रियता हुन नसक्दा भइरहेको काम बारे जानकारी लिन सकिरहेका छैनौं, उनले भने, ‘समाजको विकासका निम्ति सबैले सामाजिक क्षेत्रमा चासो राख्न जरुरी छ ।’ उनले गण्डकी प्रदेशमा सरकारी कामकाजको लागि मगर र गुरुङ भाषासम्बन्धी बनेको विद्येयक प्रमाणिकरण भइसकेकाले कार्यान्वयनका लागि सबैको साथसहयोग रहेको बताउनुभयो । ३१ औं मगर प्रसारण दिवसको अवसरमा सम्मानित भएका आले र सारुमगरले मगर समुदायको भाषा, कला र संस्कृतिको संरक्षणको लागि यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए । ‘५१ साल ९ वटा मातृभाषामा एकैपटक समाचार प्रसारण भएको थियो, उहाँहरुले भन्नुभयो, ‘नेपाल बहुभाषिक र बहुजाति भएको देशमा सरकारको यो निर्णय भाषा,कला र संस्कृति संरक्षणको लागि महत्वपूर्ण भुमिका खेलेको छ, यसमा हामीले सबैले चासो देखाउन आवश्यक छ ।’ कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापामगरले गण्डकी प्रदेश सरकारले कामकाज भाषाको रुपमा मगर र गुरुङ भाषालाई प्रयोग गर्न बनेको विद्येयक प्रमाणिकरण भइसकेको भन्दै कार्यान्वयनका लागि सबै एकजुट हुन आवश्यक रहेको बताईन् । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले आदिवासी समुदायको संस्कृति संरक्षणसँगै हरेक क्षेत्रमा पत्रकारहरुले कलम चलाउँदै आएको बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका इन्चार्ज रुद्र श्रीस मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, मगर संघ सराङकोट इकाई समितिका अध्यक्ष सञ्जिव थापा मगर लगायतले बोलेका थिए । कार्यक्रम नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षता, उपाध्यक्ष प्रविण थापा मगरको स्वागत र कार्यवाहक सचिव बलबहादुर रोकामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौं: यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सङ्गठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् । २०७८ सालमा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमात्रै विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ । शनिबार भएको बैठकमा महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । गौतमका अनुसार बागमती, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूको तर्फबाट स्वागतद्वार राखिने भएको हो । यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघ लगायतका जनसङ्गठनले लिएका छन् । बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिपोर्टिङका लागि पासको पनि व्यवस्था गरिने जनाइएको छ । महाधिवेशनको मूल नारा तय गर्ने काम भइरहेकाले केही दिनभित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन, भिडियो सामग्रीहरू उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा ब्यापक बनाउने तयारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने निर्णय गरिएको छ । गौतमका अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको व्यवस्था पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन् । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सक सहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ । एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संसोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र साङ्गठनिक प्रतिवेदन महासचिव शङ्कर पोखरेले पेस गर्ने छन् । एमालेले महाधिवेशन सफल पार्नका लागि यस अघि नै विभिन्न कमिटीहरु बनाएर नेताहरुलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरूले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए । व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिने नीति र विधी तय गर्ने उत्सव भएकाले सबैलाई गम्भिरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । महासचिव पोखरेलले व्यवस्थपनको जिम्मा पाएका सबै समितीहरुलाई तिव्रताका साथ काम गर्न पनि निर्देशन दिए । एमालेले आजदेखि विधान महाधिवेशनको काउन्ट डाउन ९दिनगन्ती० पनि सुरु गर्ने भएको छ । विधान महाधिवेशन सुरु हुन अब १९ दिन बाँकी छ ।
पोखरा: राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्डकी २ कोत्रे प्रथम भएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रमको परिसरमा गरिएको प्रतियोगितामा भद्रकाली खैजरी भजन समूह, गजुरी – २ धादिङ द्वितीय, मातृकेश्वर एकता भजन समूह, पोखरा २५ हेमजा तृतीय र शिशुवा सत्संग भजन समूह, शिशुवा सान्त्वना भएका छन् । प्रतियोगितामा उत्कृष्ट भेषभुुषातर्फ राधाकृष्ण गुरुकुल विद्यालय पुरस्कृत भएको छ भने उत्कृष्ण बाद्यबादनतर्फ तल्लीपोखरी भजन समूह, शुक्लागण्डकी – १ थप्रेक पुरस्कृत बनेको छ । प्रतियोगितामा कुल १२ वटा समूह सहभागी भएका थिए । प्रतियोगिताका विजयीहरू प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट भेषभुुषा र उत्कृष्ट बाद्यबादन स्वरुप पाँच÷पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा प्रा.डा.कुसुमाकर न्यौपाने, भुलाप्रसाद भण्डारी र भरतचन्द्र गौतम रहनुुभएको थियो । कार्यक्रममा गन्धर्व समाज र गगन नेवाः खलले अप्रतियोगितात्मक झाँकी प्रस्तुत गरेका थिए । संस्थाका तर्फबाट उत्कृष्ट कार्यवापत ज्येष्ठ नागरिक अग्नीप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा प्राचीन मौलिक संस्कृति जोगाउनुु आवश्यक भएको बताउँदै त्यसका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो । राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्ञ्जयराज ढकालले हाम्रा संस्कृतिको मौलिकता जोगाउनकै लागि विगत १० वर्ष यता महोत्सवसँगै प्रतियोगिता गरिदै आइएको बताउँदै यसका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताउनुुभयो । पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले हाम्रा संस्कार संस्कृतिहरू जोगाउँदै भावी पुस्तामा पु¥याउनुुपर्नेमा जोड दिनुुभयो । समूहका अध्यक्ष ढकालको सभापतित्व एवम् सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेश खत्रीले गर्नुुभएको थियो ।
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई बीवाईडीले मुख्य प्रायोजन गरि साथ दिने भएको हो । मुख्य प्रायोजनका गर्ने सम्झौता पत्रमा आयोजक केन्द्रकातर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र बीवाईडीका तर्फबाट पोखरा शाखा प्रमुख निराजन खनालले हस्ताक्षर गरेका थिए । सम्झौता पछि प्रमुख खनालले बीवाईडीले पर्यटकीय नगरि पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बुद्ध चोकमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा सहितको आफनो नयाँ सोरुम शुक्रबारदेखि संचालनमा ल्याएको जानकारी दिए । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले पोखरामा आफनो २० औ सोरुम संचालनमा ल्याएको उनले बताए । नयाँ सोरुम स्थापना सगै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजकाको अवसमा आयोजना हुने महोत्सवमा जोडिन पाउदा खुसी लागेको उनले बताए । आयोजक केन्द्रका अध्यक्ष अधिकारीले महोत्सव सम्पन्न गर्न बीवाईडी जस्तै व्यवसायिक संस्थाको साथ आवश्यक रहेको बताएका थिए । महोत्सव सम्पन्न गर्न साथ दिएकोमा बीवाईडीलाई केन्द्रको तर्फबाट उनले धन्यवाद समेत दिए । ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको बताए । १० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान रहनेछन् । महोत्सव स्थलमा व्यापारिक स्टल, रेष्टुरेन्ट, वाल उद्यान निमार्णको काम धमाधम भै रहेको छ । महोत्सवमा एक सय ५० व्यापारिक र १२ रेष्टुरेन्टका स्टल रहने छन् । व्यापारिक र रेष्टुरेन्टका सम्पुर्ण स्टलहरु बुकिङ भै सकेको अध्यक्ष अधिकारीले जानकारी दिए । आयोजक केन्द्रका उपाध्यक्ष एंव अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणाका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए ।
पोखरा: छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङ्गकोट सहकारी तथा रेडियो सराङ्गकोटका अध्यक्ष कृष्ण थापा र सैनिक आवासिय महाविद्यालयका शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गर्नुभएको थियो । पहिलो रक्तदाता कृष्ण थापा नियमित रक्तदाता हुनुहुन्छ । उहाँले शनिबार आफ्नो जन्मदिनको अवसरमा ८२ पटक रक्तदान गर्नुभएको हो । समाजका कार्यबाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा व्यवसायका लागि पोखरा बसाइसराई गरि आएकाहरुको साझा संस्था छाङ्गेली नेवा खलले विभिन्न साँस्कृतिक गतिविधीका साथ सामाजिक कार्य रक्तदान गरेकोमा खुसी प्रकट गनुभयो । उहाँले संसारको जुनसुकै कुनामा पुगे पनि समाजको आवश्यकता रहने कुरामा जोड दिंदै समाज जहिले पनि मानव कल्याणका लागि समर्पित रहनुपर्ने बताउनुभयो । रेडियो सराङ्गकोट तथा सराङ्गकोट सहकारीका अध्यक्ष नियमित रक्तदाता कृष्ण थापाले आफुले प्रत्यक ३ महिनामा रक्तदान गर्ने गरेको बताउदै पितृ उद्दारका लागि भन्दै समाजले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गर्नुभयो । प्रदेश रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले अस्पतालमा उपचारर्त रगतको आवश्यकता पर्ने मानिसलाई रगतको बदलामा रगतकै आवश्यक पर्ने भएकाले यसको महत्व अन्य दान भन्दा माथी रहेकाले रक्तदान जीवनदान भनिएको प्रष्ट्याउनु भयो । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका उपाध्यक्ष श्याम मल्ल, महासचिब गोकर्ण अधिकारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष जसपाल पाख्रिन तामाङ, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, समाचार प्रमुख आरजु विष्ट, समाजका सचिब जयराम कायस्थ लगायतले बोलेका थिए ।
काभ्रेपलाञ्चोक: बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ । कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अनुरोधसमेत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनको समयमा बिपी राजमार्गमा उच्च जोखिमका कारण रातको समयमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ । मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म र साउन महिनाभर साँझ ५ देखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो । गतसाल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ ।
सर्लाही: सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए । मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए । गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने बसन्तपुरमा दुर्घटनामा परेको थियो । जसमा एक जना फरार भएको छ भने अर्का घाईतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी सर्लाहीका प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो । घटनामा संलग्नहरूको पहिचान भइसकेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । मृतक यादव यसअघि सर्लाही सदरमुकाम मलङ्गवाको निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध भए पनि अहिले खेती किसानी गर्नुहुन्थ्यो । उहाँले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयहरूले जनाएको छ ।
पोखरा: अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो । उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रतियोगितालाई दिगो रूपमा आयोजना गर्न सुझाव दिनुभयो । “कामको सिलसिलामा विदेशमा भए पनि जन्मभूमि र खेल पर्यटनको विकासमा योगदान दिन पाउँदा खुसी लागेको छ,” गुरुङको भनाइ थियो । पूर्व अध्यक्ष थकालीले गुरुङको सहयोगलाई ‘प्रशंसनीय र प्रेरणादायी’ भन्दै खेलकुदमार्फत् अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च राख्न गुरुङको योगदान अविस्मरणीय रहेको बताउनु भयो । प्रतियोगिताका संयोजक बरालले विदेशबाटै पहिलो पटक प्रथम पुरस्कार प्रायोजन भएकाले थप प्रोत्साहन मिलेको बताउनु भयो । उहाँले अघिल्लो वर्षको तुलनामा पुरस्कार राशिमा दोब्बर वृद्धि भएको र बाँकी पुरस्कार प्रायोजनका लागि विभिन्न संघ–संस्थालाई आह्वान गरेको पनि बताउनु हुन्छ । सम्झौता हस्तान्तरण कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवराज बराल, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितकोसमेत सहभागिता रहेको थियो । लेफ्टेनेन्ट कुसाङ गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीन पटक लगातार जित्ने कीर्तिमानका साथै एभरेष्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल हुनुभएको थियो । पिता दिलबहादुर गुरुङ र माता धनसिरी गुरुङको कोखबाट पहिलो सन्तानका रूपमा जन्मिनु भएको कुसाङ कुमार गुरुङ प्रारम्भिक बाल्यकालदेखि नै भद्र, शालीन र आज्ञाकारी स्वभावका हुनुहुन्थ्यो । उहाँले प्रारम्भिक शिक्षा जनज्योति निम्न माध्यमिक विद्यालयबाट सुरु गरी माध्यामिक तह त्रिशहीद माध्यमिक विद्यालय, पञ्चमूल, स्याङ्जाबाट पूरा गर्नुभएको हो । सन १९८३ मा बेलायती सेनामा भर्ती भई टीडीबीजीको आधारभूत तालिम सकेपछि २÷२ गोर्खा राइफल्समा नियुक्त हुनु भएको गुरुङले सन् १९८९ मा उत्कृष्ट एनसीओको रूपमा “प्यारिस ट्रफी” प्राप्त गर्नुभयो । सन १९९४ मा दोस्रो र छैटौं गोर्खा राइफल्सको समिश्रण भएपछि उहाँ पहिलो रोयल गोर्खा राइफल्समा परिणत हुनुभयो । प्रशिक्षकका रूपमा उत्कृष्ट योगदानका लागि १९९५ र १९९६ मा लगातार दुई वर्ष “कमाण्डर ट्रफी” बाट विभूषित हुनुभयो । फकल्यान्ड आइल्यान्डमा तैनाथ हुँदा उत्कृष्ट कार्यका लागि उहाँलाई “कमाण्डर फकल्यान्ड आइल्यान्ड कमेन्डेसन” बाट उहाँको कार्यको उच्च प्रशंसा गरिएको थियो । सेनाको आदेशपालन र नेतृत्व क्षमताका कारण पल्टनका आरएसएम हुँदा नै २००२ मा महारानी एलिजावेथ द्वितीयबाट लेफ्टेनेन्ट पदमा पदोन्नति प्राप्त गर्नु भएको उहाँले २४ वर्षको अनुकरणीय सेवा पूरा गरी अवकास प्राप्त गर्नु भएको हो । सन् १९९१–१९९३ मलेसियाको “कोटा किनाबालु धावन प्रतियोगिता” लगातार तीन वर्ष जित्ने कीर्तिमान (गिनिज वल्र्ड रेकर्ड) कायम गर्नुभएका गुरुङ ब्रिटिस फोर्सेस हङकङ क्रस कन्ट्री १० पटक भन्दा बढी विजेता हुनुभएको थियो । उहाँले ब्रिटिस फोर्सेस रोड रेस विजेता, ब्रिटिस आर्मी क्रस कन्ट्री समूह स्वर्ण पदक, ब्रिटिस आर्मी एथलेटिक समूह स्वर्ण पदक, हङकङ “फोर पिक रेस” कीर्तिमानी समयसहित स्वर्ण पदक, अन्तर्राष्ट्रिय एभरेस्ट म्याराथन रजत पदक, १२ म्याराथन र २३ हाफ म्याराथन पूरा गर्दै समाजसेवामा सक्रिय गुरुङ विभिन्न प्रतिष्ठित संस्थामा आवद्ध हुनुहुन्छ । उहाँ सहारा यूके, चार भञ्ज्याङ तमु समाज यूके, एनआरएन यूके, क्याम्बर्ली नेपालीज गोर्खा सोसाइटी, पर्वत वेलफेयर सोसाइटीको सल्लाहकारसमेत रहनुभएको छ । गोर्खा कप, नेपाली मेला, ल्होछार महोत्सवदेखि तमु प्रतिष्ठानका परोपकारी भोजसम्म उहाँले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ । उक्त प्रतियोगितालाई सफल पार्न विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स,, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, परिचय एड्भर्टाइजिङ, पुइमे फाष्ट फुड एण्ड बार लगायतको सहयोग रहेको छ । प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । साथै नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने पोखरा क्लिक डटकमका वरिष्ठ संबाददाता असफल गौतमले बताउनु भयो । गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो । यसैगरी, वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत हुने भएका छन् । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको व्यवस्थापक सागर सुनार बताउनु हुन्छ । उहाँका अनुसार भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।