पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

बर्दिया:   मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुतही जस्ता माछा प्रजातिका जलचर पाइन छाडेका छन् । बढैयाताल गाँउपालिका–५ जगतियाका ६० वर्षीय बलीराम थारु भन्नुहुन्छ, “पहिले धेरै मात्रमा घोंगी, गङ्गटा, सुतही पाइन्थे । अहिले पाइनै छाडे ।” आधुनिक खेती प्रणालीले गर्दा खेतमा रसायनिक मल र विषादीको प्रयोग बढ्न थालेपछि खेत, नदी, खोलामै यी प्रजाति मासिन थालेको उहाँको अनुमान छ । सिमसार र तालतलैयाहरुमा पानी कम हुनु, सुख्खा क्षेत्र बढ्नुले पनि यी माछाका प्रजातिहरु कम हुँदै गएको हुनसक्ने उहाँ बताउनुहुन्छ । पहिले स्थानीयले जाल तथा हेल्का वा हातले माछाको सिकार गर्थे । हिजोआज नदी, खोलानालाहरुमा विष हाल्ने, करेन्ट लगाउने चलन बढेपछि माछाका प्रजाति फस्टाउन नसकेको स्थानीय बताउँछन् । नेपालकै ठुलो ताल भनिने बढैयाताल १०७ विगाहमा फैलिएको छ । यो तालमा समेत दोहन हुन थालेपछि घोंगी, गङ्गटा, सुतही पाइन छाडेका छन् ।  बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीकाअनुसार पहिलेको तुलनामा अहिले थोरै मात्रामा यी प्रजाति पाइन्छन् । “तालमा पानी सुक्दै गएको छ, यहाँ आउने धेरै चराहरुले आहारा नपाउँदा चराहरुको बासस्थान समेत पाइन छोडेको छ । तालमा चराका चिरविर आवाज पनि सुनिन छाडेको छ ।” अर्कोतर्फ यसको संरक्षण भन्दा पनि बढी यस्ता प्रजाति मारेर बिक्री गर्ने चलन बढेपछि उनीहरुको बासस्थाननै मासिन थालेका हुन् । घोंगी, गङ्गटा,  सुतहीको परिकार स्थानीय घरबास (होमस्टे) हरुमा पाहुनाका लागि आकर्षण भएपछि सिकारीहरु व्यावसायिक रुपमै यसको सिकार गर्न थालेका छन् ।  यस क्षेत्रमा दुई थरिका घोंगी पाइन्छन् । गङ्गटा पाँच थरीका र सुतही दुई थरीका पाइन्छन् । बालविशेषज्ञ डा विश्वनाथ यादवकाअनुसार घोंगी, गङ्गटा सुतहीमा प्रोटिन, क्याल्सियम पाइन्छ । जसले ग्यास्ट्राइटिसका लागिसमेत औषधिको काम गर्छ । हड्डी बलियो बनाउँछ । यिनै विशेषता बारे थाहा भएकाले पनि हुनसक्छ यसको उपभोग वृद्धि भइ यस्ता जलचर मासिन थालेको डा यादव बताउनुहुन्छ ।  माछा प्रजातिका यी जलचरहरु लोप हुने क्रममा पुगेको एकिकृत कृषि विकास तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले जस्तो खेती प्रणाली छैन । धानमा रसायनिक मलको प्रयोग गर्नु, विषादी प्रयोग गर्नु, नदी नालाहरुमा डोजर लगाएर ढुङ्गा गिट्टी उत्खन्न गर्दा यी प्रजातिको बासस्थानमा समेत खलल पुगेको छ ।”  उहाँले विगतमाझैँ पानी पर्न छाडेपछि सिमसार क्षेत्र मासिँदा जलचरहरु मासिन थालेको बताउनुभयो । पहिलेका तुलनामा हिजाआज १० प्रतिशत मात्र घोंगी पाइने उहाँको भनाइ छ । सरोकारवालाहरु भने माछा प्रजातिका यी जलचरहरुको संरक्षण गर्नुपर्ने बताउँछन् ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु गरेका छन् । महाधिवेशनको प्रतिनिधि चयन देशभर आगामी मङ्सिर १३ गते एकसाथ हुने एमाले सचिवालयले जनाएको छ । आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा कुल दुई हजार १२७ प्रतिनिधि कायम गर्नेगरी यही कात्तिक १५ गतेको एमालेको सचिवालयले बैठकले निर्णय गरेको थियो । सोबमोजिम तयारी गर्न अन्तरपार्टी निर्देशन दिइएको छ । एमालेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टी सदस्यताको सङ्ख्या अनुपातमा विभिन्न क्षेत्र छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको बताउनुभयो । उक्त मापदण्डलाई मातहतका जिल्ला कमिटी र जनसङ्गठनले कार्यान्वयनका लागि सम्पर्क तथा आवश्यक समन्वय सुरु गरेका उहाँले जानकारी दिनुभयो । महाधिवेशनमा केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोगबाट २९, केन्द्रीय निर्वाचन आयोगबाट ३०, लेखा आयोगबाट २५ र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचितसहित २५ गरी ४६४ प्रतिनिधि हुनेछन् । यसैगरी स्वदेशका प्रदेशस्तरीय ९विशेष प्रदेशसहित०का कमिटीबाट कम्तीमा दुई महिलासहित पाँचका दरले ४५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । एक सय ६५ सङ्घीय निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी समावेशीताको सिद्धान्तअनुसार एक हजार १३५ प्रतिनिधि सहभागी हुनेछन् । हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुने सचिव डा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम् एक हजार २०० पार्टी सदस्यमा थप आठ सय सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक आठरआठ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् । स्वदेशका विशेष जिल्लाअन्तर्गत एक हजार २०० सम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीन निर्वाचित प्रतिनिधि रहनेछन् । सदस्य सङ्ख्या आठ सय नाघेमा प्रत्येक थप एक प्रतिनिधि गरी विशेष जिल्ला कमिटीअन्तर्गत कुल ४७ प्रतिनिधि निर्वाचित हुने अधिकारीले बताउनुभयो । यसैगरी दलित आरक्षणअन्तर्गत कम्तीमा महिलासहित ८१ र श्रमिकमा ४० प्रतिनिधि बन्नेछन् भने प्रवास कमिटीबाट तीन महिलासहित ३५ प्रतिनिधि हुनेछन् । केन्द्रीय विभागबाट ३२ र जनसङ्गठनबाट महिलासहित कुल १३७ प्रतिनिधि रहनेछन् । पार्टी केन्द्रले १०१ प्रतिनिधि मनोनित गर्ने कार्यालय सचिव डा अधिकारीले जानकारी दिनुभयो ।

मुस्ताङ:   मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवै जना पहिलो दिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेका थिए । त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए । प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका जिसी र कुँवर छ दिनसम्म छार्कामा रोकिएका उहाँले बताउनुभयो ।  हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का ब्यारेलबाट छुट्टिएका थिए ।  रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का ब्यारेलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गर्नुभयो । उहाँका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का ब्यारेलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताउनुभयो । उहाँका अनुसार रोकायाले दिनुभएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो ।

काठमाडौं:   विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ।  आज आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी नवयुवा तथा युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइने उल्लेख छ।   घोषणापत्रअनुसार जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्व वहन गर्नेगरी पार्टीको निर्माण र सञ्चालन गरिनेछ भने पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ। राज्यसत्ता सञ्चालनमा आमजनताको संस्थागत सहभागिता र सरकारको काममा निगरानी गर्ने व्यवस्था सुनिश्चित गरिनेछ। जनअपेक्षाअनुरूप काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याश्वान गर्ने व्यवस्था गरिनेछ।  पहिलो चरणमा सामान्यतः तीनखम्बे अर्थतन्त्रका रूपमा सार्वजनिक क्षेत्र, सामूहिक वा सहकारी क्षेत्र र निजी क्षेत्रमा उद्योगधन्दा विकास गरिनेछ। सार्वजनिक क्षेत्रको क्रमशः विस्तार गर्दै लगिनेछ। वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त एवं सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वय, सहकार्य र गतिशील भूमिकासहितको समाजवादी अर्थतन्त्र निर्माण गरिनेछ।  स्वदेशी कच्चापदार्थ र श्रमशक्ति प्रयोग हुने उद्योगधन्दाको व्यापक विस्तार र विकास गरी पर्याप्तमात्रामा रोजगारी सिर्जना गरिनेछ। देशको सम्पूर्ण श्रमसक्षम जनशक्तिलाई ‘योग्यताअनुसारको काम र कामअनुसारको दाम’ उपलब्ध गराउने गरी आर्थिक क्षेत्रको द्रुततर विकास गरिनेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता          नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे प्रतिबद्धतापत्र पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। नेपालको राष्ट्रिय स्वाधीनता, भौगालिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने, राष्ट्र र जनताप्रति इमान्दार, निष्ठावान् र समर्पित भई काम गर्ने सो पार्टीको प्रतिबद्धता छ।  समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापनाकालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान् लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीयस्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सवलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगायत विषयमा पहल गर्ने सो पार्टीको प्रतिबद्धता छ।  भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शीता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने तथा उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने घोषणा गरेको छ।  राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्तदुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आमजनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने नेकपाको प्रतिबद्धता छ।  विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरी सच्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रूपान्तरण गर्दै अघि बढ्ने तथा पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने प्रतिबद्धता पत्रमा उल्लेख छ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा  माओवादी–समाजवादी, नेकपा ९साम्यवादीलगायतका विभिन्न कम्युनिष्ट तथा समाजवादी समूहहरू एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको हो। सम्मेलनबाट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल चयन हुनुभएको छ।

काठमाडौं:  दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख रुपियाँ पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय पनि गरेको छ । त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ । बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साल, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।

पोखरा: पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् ।  पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।   सेफर्ड कलेज काठमाण्डौमा आयोजना गरिएको सो पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता अध्ययनमात्र नभई विषयगत ज्ञान, सीप र लेखन कलाका लागि दुई पुस्तक उपयोगी हुने बताए ।   सेफर्ड कलेजका क्याम्पस प्रमुख कविता शर्माले पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन हुनु खुशीको कुरा भएको बताइन् ।   पुस्तकका लेखक विनोद धौलागिरिले आफूहरुले अध्ययन गर्दा पाठ्यक्रममा आधारित पुस्तकको अभाव भएकोले सो अभाव पूरा गर्नका लागि पुस्तक तयार गरेको उल्लेख गरे ।   दुबै पुस्तक पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मास्टर्स इन मिडिया टेक्नोलोजी विषयको प्रथम सेमेष्टरमा अध्यापन हुन्छ । वास खवर डिजिटल पत्रिकाका सम्पादक समेत रहेका विनोद धौलागिरि नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य समेत हुन् ।   

पोखरा:   पोखराको विभिन्न स्थानबाट चोरी भएको स्कुटरसहित ५ जना युवक पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कास्की मातहतबाट खटिएको प्रहरीको टोलीले चोरी भएको तीन वटा स्कुटर सहित ५ युवकलाई प्रक्राउ गरेको हो ।  ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले चोरी भएको ग ९ प ८७६१ र ग १५ प ५२३७ नम्बरको स्कुटरसहित ४ जना र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ग ४ प ७६८४ नम्बरको स्कुटरसहित एकजना युवकलाई पक्राउ गरेको हो ।  प्रक्राउ पर्नेमा पोखरा महानगरपालिका ३३ बस्ने २१ वर्षीय शेरबहादुर पुन मगर, पोखरा ५ बस्ने २५ वर्षीय अजय नेपाली, पोखरा १० बस्ने २१ वर्षीय सुशिल गुरुङ, पोखरा ११ बस्ने २० वर्षीय सुदिप परियार र पोखरा १३ काहुँखोला बस्ने २७ वर्षीय रोशन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए । 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै भुसालसहितका नेताले विद्यमान नेतृत्व र कार्यशैलीका आधारमा कम्युनिष्ट पार्टी चल्न नसक्ने बताउँदै देशका विद्यामान समस्याको समाधानका लागि आफूहरूले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेलामार्फत् नयाँ रूपले सङ्गठित हुने स्पष्ट गर्नुभयो।  कार्यक्रममा सो पार्टीका नेताहरू धनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वामपन्थी पार्टीबीच आज एकता घोषणा भएको छ।

म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरूले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्रि सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाईमा रहेको तिनचुलेको वराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर विधीपूर्वक तानिएको हो ।  खेती किसानी र पशुुपालन गर्ने स्थानीयवासीहरूले परापुर्वकालदेखि हरेक वर्षको कात्तिक शुुक्ल पूूर्णीमाका दिन प्रकृतिलाई खुसी पार्न सामुुहिक रूपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताउनुभयो ।  “कात्तिक पूर्णिमाका दिन तिनचुुले वराह तालमा तोरन तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुुने र शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुुने जनविश्वास रहेको छ,” उहाँले भन्नुभयो “चार वटा टोलबाट सामुहिक र भाकल पूरा भएकाले व्यक्तिगत रूपमा तोरण ल्याएर तार्ने चलन छ ।” बैकुुण्ठ चर्तुुदर्शीका साँझ गाउँगाउँबाट माझखर्कमा लगिने तोरनलाई त्यहाँ देखि डोलीमा चढाएर बाजा र भजनकीर्तन सहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ । शिवालय मन्दिर देखि वराहतालको पुर्वी छेउको रुखमा तोरन तान्ने गरिएको छ ।  बाबियोको डोरी बाटेर थरिथरिका फुलहरू गाँसेर तोरन बनाउने चलन छ । तोरन लिएर पुगेका भक्तजनहरू बैकुण्ठ चर्तुुदर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकीर्तन गर्ने गर्छन्।  यस वर्ष पाँच वटा तोरन तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पुुजाआजा तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुुर घर्तीले जानकारी दिनुभयो । तोरन तार्न र पुजाआजाका लागि आएका भक्तजनहरुलाई समितिले निःशुल्क प्रसाद र चिया वितरण गरेको थियो ।  ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए । माझखर्कबाट तिनचुलेतर्फ तोरन लैजानुुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो ।  पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा विजयी भएका टिकावाङका लालबहादुर पटेललाई पहलमान घोषणा गरिएको थियो । पटेललाई फेता गुटाएर काँधमा बोकेर मन्दिर र वराह ताल परिक्रमा गरिइएको थियो ।  म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताउनुभयो ।  ताराखोला, मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुलेलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उहाँले बताउनुभयो । सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ ।