पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित गरी विद्यालय र कलेजमा अभियान संचालन गर्ने योजना अनुसार कार्यक्रम जारी राखेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रम पोखरा महानगरपालिका वडा नं २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रधानाङ्गले सम्वदेनशील उमेर समूह छनोट गरी कार्यक्रम संचालन गरिनु प्रशंसनीय भएको बताउनुभयो । वडा सदस्य गोमा सुवेदीले स्थानीय सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । विन्ध्यवासिनी माविका प्रधानध्यापक बसन्त पाण्डेले यो अभियानमा शिक्षा र स्वास्थ्य दुवै विषय जोडिएका निकै उपयोगी भएको बताउनुभयो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।  

लमजुङ:  लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।  क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले भने, ‘सो जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बेंसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहरमा ल्याएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।’ प्रहरीले जिप चालक बेँसीसहर–९ का २९ वर्षीय मदन दुलाललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ । बालिकाको शव परीक्षण भइरहेको र परीक्षणपश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।

काभ्रपेलाञ्चोक:  सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे। सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए। उनले भने,ुवर्षौँदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक्याएर छपाइ थालेका छौँ।ु उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने छ । सञ्चारमन्त्री खरेलले भने, ु२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।ु लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए। पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीन अर्ब लगानी भएको छ ।

मुस्ताङ:  मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो ।  सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म विस्तार भइसकेको छ ।  उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङको जोमसोम आएर मालसामान ढुवानी गर्न तथा पोखरा-काठमाडौँ आउजाउ गर्न डोल्पा सदरमुकाम दुनैभन्दा छोटो मार्गका रुपमा लैजान सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ-डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोलेको हो ।  यसैगरी, मुस्ताङबाट मालसामान उपल्लो डोल्पा पुर्‍याउन तथा मुस्ताङीलाई भेडाच्याङ्ग्रा र याकचौँरी ल्याउनसमेत मुस्ताङ(डोल्पा सडक विस्तार गरिएको थियो । समुद्री सतहको चार हजार मिटर उचाइबाट विस्तार गरिएको मुस्ताङ-डोल्पा सडक भारी हिमपातका कारण सडक अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।  सडक अवरुद्धका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक तथा सवारीसाधन लैजान सकिएको छैन । मुस्ताङ-डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बागलुङसँग माग गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसैगरी एक साताअघि परेको भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा एक सातादेखि विद्युत् र इन्टरनेट सेवाका साथै मोबाइल फोन सेवा अवरुद्ध भएको त्यहाँका वडा सदस्य छिरिङपाल्साङ गुरुङले जानकारी दिनुभयो ।  साङ्ता गाउँमा एक वर्षअघि गाउँपालिकाको समन्वयमा त्यहाँ रहेका १३ घरधुरीलाई  वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले सोलार जडान गरी विद्युतीकरण गरेको थियो ।  कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक बर्खाको आठ महिना गाउँमै बस्छन् भने हिउँदको चार महिना फल्याक, जोमसोमलगायतका स्थानमा जाडो छल्ने गर्छन् ।

काठमाडौं:  आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ ।    सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरूको नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।   ‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरूको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,’ अदालतको सूचनामा भनिएको छ, ‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्‍याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’   बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदन पत्र, दोहोर्‍याई पाउँ भन्ने निवेदन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर स्वदेश फर्किनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीले स्वागत गर्नुभएको हो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो । सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गर्नुभयो । साथै उहाँले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले मङ्गलबारनै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको थियो । पौडेलले बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गर्नुभएको थियो ।  यसअघि ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको थियो ।  संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । सो सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गर्नुभएको थियो । 

म्याग्दी:  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृष्य अनौठो र सुन्दर देखिन्छ । पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयद्वारा ‘स्काई केभ’ (आकाशे गुफा) नामाकरण गरिएको छ ।  नारच्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने यो गुफा अनौठो र आकर्षक भएको स्थानीय माइकल पुनले बताउनुभयो । “अन्नपूर्ण आधार शिविर आउने जाने पर्यटकले पदमार्गबाट अनौठो मानेर पहाडको टुप्पोमा रहेको गुफा हेर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “गुफासम्म पुग्ने पदमार्ग नभएकाले पर्यटक यहाँ पुग्न सकेका छैनन् ।”  मुख्यबाट ३० मिनेट हिँडेपछि समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको आकाशे गुफामा पुग्न सकिन्छ । करिब १५ मिटर लामो गुफा सुरुङ जस्तै रहेको पुनले बताउनुभयो । गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग नभएकाले पैदालयात्रा जोखिम मानिएको उहाँको भनाइ छ ।   पुनका अनुसार गुफाभित्रैबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला तथा वरपरका पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । काठमाडौँबाट अन्नपूर्ण आधार शिविर घुम्न आएका सुजित भट्टले पहाडको टुप्पोमा कडा चट्टानले बनेको स्काई केभ अनौठो लागेको प्रतिक्रिया दिनुभयो । “टाढैबाट हेर्दा पनि गुफाका विषयमा धेरै उत्सुकता जाग्यो”, उहाँले भन्नुभयो, “सम्बन्धित ठाउँमै पुगेर अवलोकन गर्ने सुविधा भएमा कौतूहलता मेटिने थियो ।”  नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले स्काई केभ पदमार्गको एक आकर्षण भएको बताउनुभयो । “विसं २०६८ मा मौरिस हर्जोग पदमार्गको अध्ययनका क्रममा स्काई केभ पनि पहिचान भएको थियो”, उहाँले भन्नुभयो, “पदमार्गसँगै रहेका अन्य स्थानमा आधारभूत पूर्वाधार बनाएर पर्यटक आउने वातावरण बनाइएको छ ।”  स्काई केभसम्म पुग्ने पदमार्ग बनाएर भ्रमणमा आउने पर्यटकको बसाइ लम्बाउने र सहायक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण हिमालका प्रथम आरोहण टोलीका अगुवा फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा पदमार्ग घोषणा गरेको थियो ।  नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा दुई घण्टा गाडी र हुमखोलाबाट फुतफुते झरना, साँधीखर्क, गुफाँफाँट हुदै भुसकेत जाने पदमार्गको बिचभागमा स्काई केभ पर्दछ । हुमखोलाबाट तीन घण्टाको पैदलयात्रामा स्काई केभ भएको पहाडको फेदीमा पुगिन्छ ।  मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविर पुगेर आउनुभएका म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले स्काई केभसम्म पुग्ने पदमार्ग, आवश्यक पूर्वाधारलगायत संरचना निर्माण गरी पर्यटन प्रवर्धनका लागि गाउँपालिका, प्रदेश सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग समन्वय गर्ने बताउनुभयो ।

काठमाडौं:  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन वर्षदेखि शहिद स्मारक ‘ए’ डिभिलन लिग नगरेपछि खेलबिहीन बनेका फुटबल खेलाडीले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिएका छन् ।  राष्ट्रिय टोलीका खेलाडीहरुले एन्फा मुख्यालयमा पुगेर धर्नासहित आन्दालन गरेका हुन् । खेलाडीहरुले एन्फाले यसवर्ष पनि ‘ए’ डिभिजन लिग गर्छु भनेर छलछाम गरेको बताएका छन् । खेलाडीहरुले विरोध स्वरुफ आफुले विभिन्न समयमा पाएको मेडल समेत एन्फा गेटमा झुन्ड्याएका थिए ।  एन्फाले हालै मात्र यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र शहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवेका आधारमा गर्ने निर्णय गरेको थियो । खेलाडीले भने पहिले लिग सकेर मात्र राष्ट्रिय लिग गर्नुपर्ने माग राखेका छन् ।  एन्फाले तत्काल यसमा ध्यान नदिए कडा आन्दोलन गर्ने पनि जनाएका छन् । फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले खेलाीहरुले दुई वर्षअघि देखि पटक पटक लिग गर्न एन्फालाई विज्ञप्ती र छलफलमार्फत आग्रह गर्दे आएपनि नसुनेको बताउनुभयो । लिग नहुँदा खेलाडी वेरोजगार भएको र विभिन्न देशमा पलायन हुनु परेको पनि लामाले बताउनुभयो ।  खेलाडीको आन्दोलनपछि एन्फा मुख्यालय सातदोवाटोमा बिहानैदेखि सुरक्षा ब्यवस्था कडा पारिएको छ । खेलाडीले एन्फाका पदाधिकारीलाई भेड्न चाहेपछि प्रहरीले एन्फा भित्र पस्न दिएको थिएन । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचि किरण राईलगायत पदाधिकारी काठमाडौँ बाहिर रहेको भन्दै प्रवक्ता सुरेश शाहले खेलाडीलाई थामपुर पार्ने प्रयत्न गर्नुभएको थियो । खेलाडीको धर्ना र आन्दोलनलाई पूर्व खेलाडी, प्रशिक्षक, जेनजी युवालगायतले साथ दिएका छन् । एन्फाले पछिल्लो पटक २०७९ सालमा ‘ए’ डिभिलन लिग गरेको थियो । एन्फाको आन्तरिक राजनीतिका कारण ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग नियमित हुन सकेको छैन । 

काठमाडौं:  अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले अब स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाटै जारी गर्न सकिने व्यवस्था मिलाइएको जनाएको हो । अहिलेसम्म करदाता सेवा कार्यालयबाट जारी हुँदै आएको स्थायी लेखा नम्बर ती कार्यालयहरू खारेज भएकोले अब सो सेवा स्थानीय तहबाटै जारी गर्ने व्यवस्था मिलाईको विभागले जनाएको छ । तर, स्थानीय तहबाट सेवा सुचारू हुन समय लाग्न अवस्थासम्म भने ती सेवा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको पनि विभागले जनाएको छ ।