मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   क्लबले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि संकलित रकमबाट शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा खर्च गर्दै आएको क्लबका अध्यक्ष लोक बहादुर थापाले स्पष्ट पारे ।   उनका अनुसार १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लबको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास नर्माणको लक्ष्य राखेको छ ।   उक्त योजनाको डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको  क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।     उनका अनुसार सो जग्गामा २० कोठाको भवन निर्माण हुनेछ  । यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र १४ औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइनेछ ।    यससँगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरतासमेत दिइने उनले बताए ।    रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर मुख्य प्रायोजक रहेको १४ औं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता, टिकटक प्रतियोगिताको आयोजना गरिने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।     उनका अनुसार महोत्समा चर्चित लोकदोहोरी गायक गायिकाहरु रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने लाईभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाईजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन  र पर्पल संगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।    

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’   तर, आइतबारसम्म कसैलेपनि बुझाएका छैनन् । त्यसोत बुझाउने समय अझै दुईहप्ता बाँकी छ ।    आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी अवैध रुपमा राखिएका हातहतियार बुझाउन सूचित गरिएको हो ।   ‘आसन्न फागुन २१ गते सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको छ यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि कास्की क्षेत्र भित्र अवैध रुपमा राखिएका हातहतियार माघ १५ भित्र बुझाउन सूचना जारी गरेका हौं ।’ जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शिव लम्सालले भने ।    लम्सालका अनुसार प्रशासनको तथ्याङ्कमा १ हजार ४ सय बढी इजाजत प्राप्त हातहतियार छन् ।   गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रशासन जलेसँगै सबै तथ्याङ् जलेर नष्ट भएको उनले बताए ।    ‘कास्कीमा इजाजत प्राप्त हातहतियार १ हजार ४ सय बढी नै छन् । यकिन तथ्याङ्क संघीय मन्त्रालयबाट माग्दै छौ । आएपछि कति इजाजत प्राप्त छन् भन्ने यकिन तथ्याङ्क दिन सकिन्छ, प्रवक्ता लम्सालले भने, ‘दुई÷दुई वर्षमा ति हातहतियारको नवीकरण हुन्छ ।’   प्रवक्ता लम्सालका अनुसार हतियारको प्रकृति हेरेर शुल्क निर्धारण हुन्छ । उनले न्यूनतम ३ हजार शुल्क लाग्ने बताउदै भने ‘हतियार कस्तो र कुन प्रकृतिको छ त्यो हेरेर नवीकरण शुल्क लाग्छ ।’    उनले गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनपनि सबै सेवा सुचारु भएपनि हतियार नवीकरण गर्ने सेवा सुचारु हुन नसकेको बताए ।   ‘कार्यालयबाट सबै प्रकारका सेवाहरु पुनः सुरु भइसेको छ । यही हातहतियार नवीकरण गर्ने सेवा मात्रै सुचारु हुन सकेको छैन । सबै तथ्याङ्क जलेकाले माथी मन्त्रालयबाट डेटा मगाउँदै छौ, आउने क्रम पनि छ । त्यसपछि यो सेवा पनि यथाशिघ्र सुरु हुन्छ ।’   तोकिएको समयमा अवैध हातहतियार खरखजना नबुझाएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।    

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।  

पोखर:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ ।   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा शुभकामना सन्देशमार्फत् राष्ट्र एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।    ‘आज मनाइँदै गरेको ३०४ औं पृथ्वी जयन्तीले नेपाल एकीकरण अभियानको गौरवमय इतिहाससँगै मुलुक एकीकरणको योगदानकर्ताहरूलाई स्मरण गराएको छ ।’   सन्देशमा भनिएको छ – ‘पृथ्वीनारायण शाहकै अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो । त्यसपछिका विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहन पुग्यो । पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’   सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।   यो दिवसले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।  यससँगै उपभोक्ताले एक तोला सुन किन्न दुई लाख ७० हजार ६०० रुपैयाँ खर्चिनुपर्नेछ ।  यसअघि शुक्रबार (पुस २५) छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ पुगेको छ ।  यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ कायम थियो ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदानको सम्मान गर्नुभएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गर्नुभयो ।  मुख्यसचिव सुमनराज अर्याल,नेपाल सरकारका उच्चपदस्थ अधिकारी,संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभयो । हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताए । घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँडफाँट गर्नुपर्ने, पार्टीका अरू पदाधिकारीमा पनि आफ्नो तर्फका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भंग भएका विषयमा सभापति रवि लामिछानेले बैठकमा जानकारी गराएको उनले बताए । पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि सहकार्य अगाडि बढ्न नसकेको रास्वपाको दाबी छ । एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँटको प्रस्ताव आएपछि सहकार्यलाई पूर्णता दिन समस्या भएको नेता खनालको भनाइ छ ।  दुई दलबीच यसअघि भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र ‘मेरिटोक्रेसी’को नारालाई मूल आधार बनाउनेलगायत सातबुँदे सहमति भएको थियो ।

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ ।  महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसिटिभी क्यामेराको निगरानीबाट सुरक्षा प्रदान गरिने भएको हो । कास्कीका सुरक्षा निकायका प्रतिनिधी र महोत्सव आयोजक बिचको बैठकले महोत्सवमा भइपरी हुन सक्ने घटनालाई मध्येनजर गरी महोत्सव स्थलको सुरक्षालाई चुस्त बनाइने निर्णय गरेको छ ।  सो अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगतका वर्षहरु भन्दा यो वर्ष सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताईन् ।  अघिल्लो संस्करणमा कुनै अप्रिय घटना नघटेको भएतापनि अहिलेको परिस्थिती फरक रहेका कारण त्यसमा सम्पूर्ण सुरक्षा निकायले ध्यान दिन आवश्यक रहेको बताईन् ।  महोत्सवकै आम्दानीबाट सामाजिक काम मार्फत युनाईटेड क्लबले आफ्नो पहिचान बनाउन सफल भएको बताउदै शर्माले १४ औं पोखरा महोत्सवको सफलताको समेत कामना गरिन ।   कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले महोत्सवमा कानुनले बञ्चित गरेका क्रियाकलापहरु सञ्चालन गर्न नहुने बताए ।  त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जेन्जी आन्दोलन पछि कानुन हातमा लिने गरी मानिसहरुले अवान्छित क्रियाकलापहरु गर्ने गरेको बताउदै महोत्सव स्थलमा त्यस्ता हर्कत गर्नेलाई कडा कारबाही गर्ने बताए ।  पोखरा महोत्सव अन्य महोत्सव भन्दा फरक हुने भएकाले आफुहरुले त्यही अनुरुप सुरक्षा योजना बनाइ अगाडी बढेको उनको भनाइ रहेको थियो ।  सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सिनाले महोत्सवमा आवश्यक पर्ने सुरक्षाका लागि आफ्नो मातहतबाट सुरक्षाकर्मी परिचालन हुने बताए ।  युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले विगतका महोत्सवहरुमा सुरक्षा निकायको साथ र सहयोगलेनै कुनैपनि अप्रिय घटनाहरु नभएको र यस पटकपनि साथ र सहयोग रहनेमा आफु आशावादी रहेको बताए ।  क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका कार्यसमिति सदस्य तथा महोत्सवका सुरक्षा व्यवस्थापन उप समिति संयोजक बुद्ध कार्कीले महोत्सव स्थलको बारेमा जानकारी गराएका थिए ।   

पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ ।  मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्ने छ ।  प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष शैलेस बानियाँले जानकारी दिए ।  प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।  दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समान २० हजार प्रदान गरिने आयोजकले जनाएको छ । एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने अध्यक्ष बाँनियाँले बताए ।  भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ ।  भलिबल खेललाई प्रोत्साहन गर्दै स्थानिय युवाहरूलाई खेलकुदमा संलग्न गराउने उद्देश्य राखिएको क्लबले जनाएको छ ।  प्रतियोगिताले समुदायमा खेलकुदप्रति उत्साह र एकता बढाउने अपेक्षा क्लबको छ ।  प्रतियोगिताबाट बचेको रकमले मनोहर व्यायामशाला निर्माण गर्ने र आगामी दिनमा खेलकुद क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न मूल समारोह समिति र विभिन्न उपसमितिहरू गरिएका छन् ।