पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

काठमाडौं:   २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन् । राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आगामी हप्ताभित्र सबै क्षतिको विवरण सङ्कलन गरिसक्ने गरी टोली परिचालन गरिएको हो ।  तथ्याङ्क सङ्कलनमा एकरुपता तथा सहजताका लागि आयोगले ‘क्षति मूल्याङ्कन सर्वेक्षण पोर्टल’ समेत सञ्चालन गरेको र सम्बन्धित स्थानीय तह तथा प्रदेश र सङ्घका कार्यालयले अनलाइनमार्फत क्षतिको विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।  “प्रदर्शनका क्रममा क्षति पुगेका ४४ जिल्लाका करिब २६० हाराहारी पालिका, सबै प्रदेश र सङ्घीय सरकारका विषयगत मन्त्रालय एवं केन्द्रीय निकायलाई ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको छ । सङ्कलित तथ्याङ्क तथा विवरण सर्वेक्षण पोर्टलमा राख्नुपर्नेछ”, सहायक प्रवक्ता लुइँटेलले भन्नुभयो । तथ्याङ्क उपलब्ध गराउनका लागि सम्बन्धित पालिका, प्रदेश कार्यालय तथा सङ्घीय निकायलाई जिम्मेवार बनाइए पनि सहजीकरणका लागि प्राविधिक जनशक्तिसहितको टोली खटाइएको आयोगले जनाएको छ । आइतबारसम्म सबै टोली कार्यस्थलमा पुगिसक्ने र एक हप्ताभित्र तथ्याङ्क संकलन गरिसक्ने लुइँटेलले बताउनुभयो ।    यसअघि, प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन तथा पुनःनिर्माण योजना तयारीका लागि गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिलाई क्षतिको मूल्याङ्कन र पुनःनिर्माण योजना तयार गर्नेगरी कार्यादेश दिइएको छ । यस्तै, योजना आयोगका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह,सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका सहसचिवको प्रतिनिधित्व रहेनगरी सहजीकरण उपसमितिसमेत गठन गरिएको छ । योजना आयोगका सहसचिवको नेतृत्वमा सचिवालय गठन गरिएको छ ।  यस्तै, आयोगका अनुसार उपसचिवको नेतृत्वमा ४१ जिल्लामा ३४ र उपत्यकाका तीन जिल्लामा चार वटा टोली गरी ३८ टोली परिचालन गरिएको छ । साथै सुपरीवेक्षणका लागि सहसचिवको नेतृत्वमा सबै प्रदेश र उपत्यकामा गरी ११ वटा टोली परिचालन गरिएका छन् । 

मुस्ताङ:  अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पुर्‍याएको छ ।  जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोलानजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।   उनका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भासिएर सडक जोखिम बढेको जानकारी दिए । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।   बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पुर्‍याएको छ । यद्यपि, सुरक्षा नियकायले हाललाई अस्थाइ रुपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ ।  जोमसोम–कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ ।  “मुक्तिनाथ–जोमसोम सडकका विभिन्न ठाउँमा पहिरो खस्नेक्रम जारी छ, हामीले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झाने प्रयास गरिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी भुसालले भने, “जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारीसाधनलाई माथि जान रोक लगाएका छौँ ।”      प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै माथि जान दिइने बताए । यसैगरी जोमसोम–कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ ।  पहिरो गएको स्थानमा एक भारतीय कार फसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।  पहिरोका कारण फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।  बाढीपहिरोले कागबेनी–छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध भएको छ । ताङ्वे–छुसाङबीचमा पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पुर्‍याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्णरुपमा अवरुद्ध छ । वर्षाका कारण सडक अवरुद्ध भए अलपत्र १७ जना यात्रीहरुलाई बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताए । वर्षा रोकिएपछि उनीहरुलाई गाउँले बस्तीनजिक ल्याउने योजना रहेको बताए ।  अवरुद्ध जोमसोम–कागबेनी सडकको आज बिहान प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालगायत सुरक्षाकर्मीले अवलोकन गरेका छन् । जोमसोम–कागबेनी सडक भासिएपछि मर्मत गरी सञ्चालनमा ल्याउन दुईरतीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले कबिरामलाई पक्राउ गरेको हो ।  गम्भीर घाइते भएकी धनिकलाको कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो ।  सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा सत्रमा छलफल गरिएको थियो । पहिलो सत्रमा सुबिन भट्टराइको पछिल्लो कृति ‘चमेली फूल बैजनी रुमाल’ पुस्तकमाथि लेखक भट्टराईसँग नायिका सनिशा भराईले संवाद गरेकी थिइन् ।    साहित्यकार सुबिन भट्टराईको मष्तिष्कमा लामो समयदेखि खेलिरहेका कथा सुबिन पुस्तकका लागि कथा लेखनमा लागेको बताए ।   ‘कुनै पनि कथा मष्तिष्कमा लिंगरिङ गरेर बसिरह्यो भने आफूले आफूलाई त्यो विषय लेख्नुपर्छ भनेर निर्देशन दिन्छ,’ सुबिनले पुस्तक लेख्नुअघिको कुरा सम्झिँदै भने, ‘यसमा भएका कथाहरु पनि लामो समयदेखि मेरो मष्तिष्कमा रहेको थियो । पटक्कै जान मानेनन् र अब तैले लेख्नुपर्छ भनेर मलाई महसुस भयो र लेखेँ ।’    पुस्तकमा समेटिएको कथा हरेक मानवको वरिपरि हुने सुबिनको अनुभव छ  ।   ‘कथाहरु हाम्रो वरिपरि नै रहेको सुबिनको अनुभव छ । हामी सबैसँग कथा छ । कसैले लेख्छ, कसैले भन्छ, आआफ्नो कुरा हुने रैछ,’ उनले सुनाए ।   दोस्रो सत्रमा डा. नवराज केसीद्वारा लिखित स्वस्पर्शको स्पर्श पुस्तकमा आधारित रहेर लेखक डा. केसीसँग साहित्यकार उपेन्द्र पौडेलले संवाद गरेका थिए ।   संवादमा पुस्तकका लेखक डा. नवराज कसी जीवनको उत्तर दिने क्रममा ‘खुसी भेट्नु अलिकति र अरुलाई खुसी दिनु अत्याधिक’ हो भन्नेमा केन्द्रित थिए । आफूलाई आवश्यक परेको बस्तु उहीँ बेला प्राप्त गर्नु नै जीवनको उद्देश्य भएको उनको भनाइ थियो ।   उनले भने, नहुँदा जति महत्व दिन्छौं त्यो हुँदा खेरी नै त्यसको महत्व दिऔं भन्नु नै जीवनको सबैभन्दा ठूलो उद्देश्य हो ।’    उनले आफ्नो पछिल्लो पुस्तकमा आमाको माया पनि झल्काएको सुनाए । पुस्तक लेख्ने क्रममा उनले धेरैभन्दा धेरैको जीवनका कथा संकलन गरी लेखन सुरु गरेको पनि उनले बताए ।   ती पात्रहरुकै अनुमतिमा कथा पुस्तकमा समेटिएको उनको भनाइ थियो । जसले गर्दा अन्यले प्रेरणा प्राप्त गर्न सकुन भन्ने उद्देश्य रहेको थियो ।    आफ्नो पुस्तक पढेर निशब्द हुदैं जीवन बदलेको उदाहरण पनि आफूलाई इमेलमार्फत जानकारी गराएको प्रसंग पनि उनले सुनाए ।   ‘मैले केही दिन यता मेरो इमेलमा धेरै म्यासेजहरु पाइरहेको छु । त्यो मध्ये एउटा बहिनीले लेखेको मन छुने म्यासेज छ, “मैले आत्महत्या गर्न डोरी किनिसकेको थिएँ । स्वस्पर्श पढेँ डोरी हटाएँ र बाँच्न सुरु गरे”, उनले भने, ‘त्यसपछि उनको फेसबुक प्रोफाइल निरन्तर हेररहेको छु उनी नाचेको घुमेको फोटोहरु देख्छु । सायद मलाई संकलकबाट लेखक ती बहिनीले बनायो की जस्तो लाग्छ ।’    उत्सवको अन्तिम सत्रमा पछिल्लो समय प्रकाशित ‘युगदेखि युगसम्म’ पुस्तक माथि राजेश हमालले पत्रकार अपिल त्रिपाठीले संवाद गरे ।   संवादमा अभिनेता हमालले आफ्ना विगतका धेरै कुरा सुनाए । उनीहरुबिचको कुराकानी ‘युगदेखि युगसम्म’ मा आधारित थियो ।   उक्त पुस्तक राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयायलाई समेटिएर लेखिएको छ । उक्त सेसनमा राजेशले आफ्नो व्यक्तिगत जीवनसँगै राजनीतिक अवस्थाको बारेमा पनि चित्रण गरे ।   उनले राजनीतिमा चासो नराखे पनि राजनीतिले चासो राख्ने उल्लेख गरे ।   ‘राजनीति एउटा यस्तो जटिल विषय हो । तपाईंले राजनीतिलाई चासो नराखेता पनि राजनीतिले तपाईंलाई चासो राख्छ,’ उनले भने । राजनीति देशको मेरुदण्ड भएकाले कुनै पनि व्यक्ति राजनीतिक घेराबाट उम्किन नसक्ने अभिनेता हमालले बताए । 

काठमाडौँ:  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।   अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।   गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० ले घटेर २ लाख ४१ हजार ९ सय रुपियाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर २ लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो ।   हिजो मङ्गलबार प्रतितोला २ हजार ९ सय रुपियाँले घटेपछि २ लाख ३७ हजारमा कारोबार भएको सुन बुधबार पुन: तोलामा ७ सय घटेर २ लाख ३६ हजार ३ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला २ हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर २ हजार ९६५ पुगेको हो ।   अन्तर्राष्ट्रिय बजारमा आज सुन ३ हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।   सो क्रममा बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र बसमा सवार ५ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।   दुर्घटनामा परेका अन्दाजी ५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको हाे । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।   बस चालक र बस वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा छ।

पाल्पा:  बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सम्पन्न ढल्क्यो जोवान (३० वर्षमाथि) भलिबल प्रतियोगितामा फोक्सिङकोट भेट्रान्स र साबिक वडास्तरीय पुरुषतर्फ जनज्योती युवा क्लब दान्सिँघा च्याम्पियन बनेको छ ।   माउण्ट एभरेष्ट युवा क्लबले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेको ढल्क्यो जोवानतर्फ फोक्सिङकोट भेट्रान्सले गल्याङलाई २–१ सेटले पराजित गर्दै उपाधि जितेको हो ।   सहिद केवल गाहा खेल मैदानमा भएको प्रतियोगितामा न्यू मिलन युवा क्लब खानीगाउँ तृतीय बनेको क्लबका अध्यक्ष धिरज गाहामगरले जानकारी दिए ।   उनका अनुसार प्रथम, द्वित्तिय र तृतीय बनेको टिमले क्रमश: २० हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र र मायाको चिनो हात पार्याे ।   यसैगरी साबिक वडास्तरीय पुरुष भलिबल तर्फ जनज्योती प्रथम बन्यो । फाइनल खेलमा भाल्याल्हुङ क्लब भालेबासलाई २–० को सोझो सेटमा हराउँदै दान्सिँघा प्रथम बन्यो । यस्तै उक्त विधामा कालीगण्डकी युवा क्लब शिखरडाँडा तृतीय बन्यो ।    प्रथम, द्वित्तिय र तृतीय बनेको टिमले क्रमश: १५ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्याे ।   प्रतियोगिताबाट ढल्क्यो जोवानतर्फ रामपुर भेट्रान्सका सन्तोष श्रेष्ठ र वडास्तरीयतर्फ भालेबासका अर्जुन मगर उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।      उनीहरुलाई समापन तथा पुरस्कार समारोहका अथिति नेपाल मगर महिला संघ पाल्पाका अध्यक्ष राधा थापामगर, पुरस्कारदाता शिव राना, तिलक थापा, तल्लोकोलडाँडा टोल विकास संस्थाका संयोजक विष्णु राना (सजल), क्लबका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।   गत ७ गतेदेखि सञ्चालनमा रहेको दुवै विधागरी कुल ३२ टिमको सहभागिता रहेको थियो ।    बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा क्रियाशिल माउण्ट एभरेष्ट युवा क्लब खेलकुदको क्षेत्रमा मात्र नभई साँस्कृतिक र सामाजिक क्षेत्रमा पनि त्रियाशिल रहँदै आएको छ ।             

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ ।    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।   आज राति देशभर आंशिक बदली बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।   मौसम विभागका अनुसार आज  देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ ।   ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ ।   यस्तै बागमती प्रदेशका काठमाडाैँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।