पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

पोखरा:  कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बद्ध सबैमा आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तर्गत स्थानीयस्तरमा हुने कार्यक्रम सञ्चालनको स्वीकृति/अनुमति सम्बन्धित स्थानीय तहबाट लिनुपर्नेमा कतिपय कार्यक्रम पूर्वस्वीकृति नलिई र स्थानीय प्रशासनलाई समेत पूर्व जानकारी नदिई सञ्चालन गरिएको पाइएको भन्दै अनुमति लिएर मात्र गर्न आग्रह गरेको हो । कास्की जिल्लाभित्र कुनै पनि सभा, समारोह, प्रदर्शन, परम्परागत तथा व्यावसायिक मेला, जात्रा, कन्सर्ट, सांस्कृतिक कार्यक्रम आदिको आयोजना पूर्व अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृतिरअनुमति लिएर मात्र आवश्यक शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ । निवेदन दिँदा कार्यक्रम अवधिभर आवश्यक शान्ति, सुरक्षाको व्यवस्थापनका लागि  आयोजकको नाम र सम्पर्क नम्बर, कार्यक्रम सञ्चालन हुने मिति, स्थान, सुरु हुने तथा समापन हुने समय, सहभागी सङ्ख्यासमेत स्पष्ट खुलाउनुपर्ने प्रशासनले जनाएको छ । त्यस्तै निवेदनमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृति/अनुमति, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपिलगायतका कागजात पेस गर्न पनि प्रशासनले आग्रह गरेको छ ।   

मुस्ताङ:  मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ ।  गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ ।  कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरकरफरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताउनुभयो ।  यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ । यसवर्ष छ हजार १०८ मेट्रिकटन बढी स्याउ जिल्लाबाहिर निकासी हुँदा रु ८६ करोड १८ लाख ४० हजार मुस्ताङ भित्रिएको केन्द्र प्रमुख गुरुङले बताउनुभयो । साथै ७६३ मेट्रिकटन अर्थात् रु ११ करोड दुई लाख ३० हजार बराबर स्याउ जिल्लामै खपत भएको छ । अब ७६३ मेट्रिकटन स्याउ हार्भेस्ट गर्न बाँकी छ ।  यहाँ कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ । जसमा स्थानीय स्याउ छ हजार ६९ मेट्रिकटन र हाइब्रिड स्याउ एक हजार ५६७ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ । यहाँ स्थानीय स्याउ रु ७८ करोड ८९ लाख ७० हजार बराबरको उत्पादन भएको हो । हाइब्रिडतर्फ रु ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी रु १३० र हाइब्रिड स्याउ प्रतिकेजी रु २०० मा बिक्री भइरहेको छ । यसवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ४१ मेट्रिकटन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६ दशमलव १२ मेट्रिकटनले उत्पादन भएको केन्द्रले जनाएको छ । गतवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १० दशमलव ७४ मेट्रिकटन भएकोमा यसवर्ष शून्य दशलव ३३ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व घटेको छ ।  यसैगरी गतवर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ मेट्रिनटनले उत्पादन भएकोमा यसवर्ष प्रतिहेक्टर उत्पादकत्व एक दशमलव १२ मेट्रिकटन वृद्धि भएको छ । यहाँ स्थानीय र हाइब्रिड गरी समग्रतामा प्रतिहेक्टर उत्पादकत्व एघार दशलव ८७ मेट्रिकटन रहेको केन्द्रले जनाएको छ । यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आंशिक ह्रास आएको देखिए माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले बताउनुभयो । यसवर्ष स्याउ उत्पादनशील क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादन बढेको हो । गतवर्ष ५६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशील क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यसवर्ष ५८३ हेक्टर क्षेत्रफल पुगेको हो । यसैगरी गतवर्ष ५० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा १० हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो ।

ढोरपाटन:  बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह (ताल), काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् । जब गाउँगाउँमा मोटरबाटो पुगे त्यसपछि तालमा पानी कम हुँदै गएको ढोरपाटन नगरपालिका–९ का धनबहादुर पुनले बताउनुभयो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जाने सडक छेउमै रहेको तालले पर्यटकलाई आकर्षित गर्दै आएको थियो । तर सात वर्ष अगाडि नगरपालिकाले ताल वरपर डोजर लगाएपछि करिब ९० प्रतिशत पानी सुकेको उहाँको भनाइ छ । पुनले भन्नुभयो, “पहिले रुद्राताल ठूलो थियो, धार्मिक आस्थाका हिसाबले यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने मान्यता थियो, यहाँको जलले स्नान गर्दा शरीरमा कुनै पनि रोग लाग्दैन भन्थे, अहिले त पानी सुकेर हिलोमात्र छ, जब यहाँ डोजर लगाएर सम्याउने काम भयो, त्यसपछि तालको पानी सुक्यो, अहिले त नामको मात्र ताल छ, तालमा पानी छैन ।” जैमिनीको गाजा दहमा पनि डोजर लगाएपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीयको दाबी छ । चार वर्ष अगाडि डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल ६ वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् ।  आर्थिक वर्ष २०७९/८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानको भनाइ छ । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको उहाँ बताउनुहुन्छ । तालमा एकाएक पानी सुक्न थालेपछि आफूहरू अचम्मित भएको किसानले बताउनुभयो ।  “पाँच–छ वर्ष अगाडि पानीले भरिभराउ ताल अहिले पूरै रित्तै छ, ताल ठूलो थियो, सफा पानी हुन्थ्यो, हामी सानो हुँदा यही पानी भरेर खान्थ्र्यौँ”, उहाँले भन्नुभयो, “तालमा डोजर लगाउनु हुँदोरैनछ, पानी रोक्नलाई गाउँपालिकाले सिमेन्टको पर्खाल लगायो, तर तालको पानी सबै सकियो ।” तमानखोला गाउँपालिकाले पनि ताललाई व्यवस्थित गर्न रु ३० लाख लगानी गरेर संरक्षण थालेको थियो । तर अहिले संरक्षण गर्दा उल्टै ताल नै सुक्न थालेको छ । गाउँपालिकाले ताल संरक्षणका लागि तारबार लगाउनुका साथै त्यसवरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ ।  गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पानीको स्रोत भएको ठाउँमा डोजर प्रयोग गर्दा मुहान नै सुक्ने बताउनुभयो । पालिकाले व्यवस्थित गर्न डोजर चलाउँदा विभिन्न ठाउँमा पानीको मुहान सुकेपछि अहिले त्यस्ता ठाउँमा मेसिन प्रयोग गर्न छाडेको बताउनुभयो ।  त्यसैगरी, बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराहतलमा पनि पानी केही कम भएको पाइएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकीय गन्तव्य बनेको छ । अन्य तालका तुलनामा यसमा पानी अलि बढी छ । यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेका स्थानीय बताउँछन् । बागलुङ र रुकुमपूर्वको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथिपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन् । तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ ।

काठमाडौं:  आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणदेखि अपराजित रहेको नेपालले आज ओमानलाई हराउन सके तेस्रो पटक टी–२० विश्वकप यात्रा पक्का गर्नेछ । नेपालले यसअघि पहिलो पटक सन् १०२४ मा बङ्गलादेशमा भएको र सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्कप खेलेको थियो ।  ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८:४५ बजे सुरु हुने खेलमा नेपाल आफ्नो अपराजित यात्रा कारण राख्न चाहन्छ । जसले छनोटसँगै उपाधि यात्रा समेत सहज बन्नेछ । ठिक यस्तै ओमान पनि घरेलु मैदानको फाइदा उठाउँदै आफ्नो अपराजित यात्रा कायम राख्ने अभियानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि फाइनल सरह महत्वपूर्ण छ ।  विगतको इतिजा हेर्दा नेपाल ओमानभन्दा बलियो छ । यसअघि दुई टोलीबिच भएको सात भिडन्तमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ । सुपर सिक्सका अघिल्ला दुई खेलमा अन्तिम ओभरमा पुगेर नतिजा आफ्नो पक्षमा पारेको नेपाललाई ओमानविरुद्ध बलियो आत्मविश्वासको खाँचो छ । नेपालले युएई विरुद्ध एक र कतारविरुद्ध पाँच रनको सनसनीपूर्ण जित निकाल्दै आफुलाई बलियो रुपमा प्रस्तुत गरिरहेको छ । त्यसैले ओमानलाई पनि उस्तै हार चखाएर नेपाल आज एक खेल अगावै विश्वकप यात्रा तय गर्न चाहन्छ । यसपछि नेपालले अन्तिम तथा चौथो खेल शुक्रबार सामोआसँग खेल्नेछ । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

गण्डकी:   पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ ।  पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको छ । “अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले पुलका लागि चाहिने केवललगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।”  तीन वर्षको सम्झौता अवधि भए पनि पुलको डिजाइन स्वीकृत गर्न र मापदण्डभित्रका संरचना हटाउन एक वर्ष लागेको प्रमुख कुँवरले बताउनुभयो । पछिल्लो दुई वर्षमा पुल निर्माणले गति लिए पनि अपेक्षित प्रगति हुन नसकेको उहाँको भनाइ छ ।  विक्रम संवत् २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । चीनबाट पुलको केवल ल्याउन उक्त कम्पनीले प्रतीतपत्र ९एलसी० खोल्ने तयारी गरेको प्रमुख कुँवरले बताउनुभयो । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चार जगको काम पूरा भइसकेको छ । चार टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।  आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम चाँडो हुने निर्माण कम्पनीले जनाएको छ ।  छ लेनको उक्त सडकका अहिले रहेको पुलको तल र माथि गरी आकर्षक बनावटका दुई ‘सिग्नेचर’ पुल बन्नेछन् । एसियाली विकास बैँकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको हो ।  ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण बढ्नेछ । पुरानो प्रविधिको भन्दा अहिले निर्माणाधीन पुल डिजाइनका हिसाबले आकर्षक रहेको आयोजना प्रमुख कुँवरले बताउनुभयो । एक सय ९० मिटर लामो उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो ।  पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा ‘सिग्नेचर’ पुल निर्माणाधीन अवस्थामा छन् । पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका छन् । आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने० मा ११ पुल बनिसकेका र दुई पुल निर्माणाधीन अवस्थामा छन् ।  तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सम्पन्न भएको छ । पोखराको विजयपुर खोला र सेती नदीमा पुल निर्माणको चरणमा रहेको आयोजना प्रमुख कुँवरले बताउनुभयो । 

काठमाडौं:  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि नै लागू हुने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । देउवाले केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका हुन् । उनले खड्कालाई कार्यवाहक सभापति बनाएर आफू थप उपचारका लागि सिंगापुर जान लागेका छन् । जेन(जी आन्दोलनका क्रममा कुटपिट हुँदा टाउकोको पछाडि १२ टाँका लगाएर उपचार गरिएका देउवाले पहिलो पटक सार्वजनिक हुँदा आफूले गरेका कामको फेहरिस्त सुनाए । उनी उक्त सम्बोधनमार्फत् नै देउवालाई कार्यवाहक सभापति बनाएर आफू सिंगापुर गएर उपचारमा लाग्ने खबर गरिसकेको एकजना केन्द्रीय सदस्यले बताएका छन् । उनले कांग्रेसका नेताहरूलाई सम्बोधन गर्दै सुशील कार्की नेतृत्वको अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न नचाहेको देखिएको बताएका छन् । ‘देशमा अब द्वन्द्व हुनु आवश्यक छैन । देशमा विकसित नयाँ परिस्थिति अनुसार पार्टीलाई एकतावद्ध बनाउनुपर्छ’, उनले भने, ‘पार्टीको आन्तरिक जीवन सुदृढ गरेर १५ औँ महाधिवेशन गर्ने प्रस्ताव भएको छ । हामीले अहिलेको अवस्थामा अन्य राजनीतिक दलसँग सहकार्य गर्न आवश्यक छ ।’ देउवाले असंवैधानिक रुपमा संसद् विघटन गरिएको पनि बताए । ‘अहिले नै स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन हुने ग्यारेन्टी छैन । निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था राम्रो हुनुपर्छ । शान्ति सुरक्षा र भयरहित अवस्था बनाउने काम सरकारले गर्नुपर्छ’, उनले भने, ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा सरकारले दलहरूसँग संवाद गर्नु जरूरी छ । तर त्यसो गरेको देखिएको छैन ।’

चितवन:  कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ ।  घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए ।  घटना विवरणअनुसार नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरु खतिवडासँग जम्काभेट भएपछि प्रहरी भन्दै उम्किएका थिए ।  खतिवडाले भन्नुभयो, “नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शङ्का लाग्यो ।” “मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घर अगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए”,  घटना विवरण सुनाउँदै उहाँले भन्नुभयो,  “एक्कासि नयाँ मान्छे देख्दा म आत्तिएँ । चोर १ भन्ने सम्झेँ । तर बोल्न सकिनँ ।” ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काकाको घरतर्फ गएको खतिवडाले बताउनुभयो ।  भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उहाँले बताउनुभयो । निजहरुले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उहाँले सुनाउनुभयो ।  घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरु चोर हुन् भन्ने एकिन भएको खतिवडाले बताउनुभयो ।  राति नै प्रहरीलाई खबर गरी घटनाको विवरण सुनाएको उहाँले जानकारी दिनुभयो । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तुसमेत बोकेको देखेको खतिवडाले बताउनुभयो ।  उहाँका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरु बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरुलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताउनुभयो ।  इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताउनुभयो । उनीहरु प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उहाँले बताउनुभयो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्काबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।” चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार  छन् ।

काठमाडौं:  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।  कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा। देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धन्वन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।  कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँसी तिथि रहेको समितिले जनाएको छ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म ९म्ह० पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुभएको छ ।  यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ ।  शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ ।   शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।

म्याग्दी:   जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् ।  पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताउनुभयो ।  सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताउनुभयो । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा गत असारदेखि ठूला सवारीसाधन सञ्चालन हुनसकेका थिएनन् । यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् । पहिरो खसिरहने भएकाले बेनी–दरवाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्रयाक्टर चलेका सडकमा मर्मत भएपछि बस तथा ट्रक सञ्चालन हुन थालेका छन् ।  म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले सडक सुधार भएपछि दरवाङदेखि काठमाडाँै र काठमाडौँदेखि दरवाङ रात्रिबस सञ्चालन गर्न थालिएको बताउनुभयो । म्याग्दी नदीमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना, सडक, भवन, खानेपानी, पुल, प्रसारण लाइन, सबस्टेशन आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ ।  पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–दरवाङ सडकको विभिन्न ठाउँमा रहेका पहिरोको दीर्घकालीन रोकथाम नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित हुने गरेको छ ।