पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो ।    प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेकी छन् ।   उनकै आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार (आज) अपराह्न ४ बजे सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबिच निर्वाचनकेन्द्रित संवाद हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीबिच संयुक्त बैठक आयोजना गरिएको बताए ।   उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।    प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग संवाद गरे।   उ​क्त बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न दलहरूले सरकारलाई आग्रह गरेका थिए ।    प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधिसहित विभिन्न पक्षसँग निरन्तर संवाद गरिरहेकी छन् । सरकारले निर्वाचनको तयारीका काम अगाडि बढाएको छ ।   सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको प्राविधिक तयारीबारे गृहकार्य अघि बढाएको छ । निर्वाचन आयोगले पनि आफ्नो क्षेत्राधिकारभित्रको काम आरम्भ गरिसकेको छ ।   

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए ।   घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।   बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताउनुभयो । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला   दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।  बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । खञ्जनेश्वर महादेवमा भक्तजन यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो । त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो । पछिल्लो समय पहिले जति नआए पनि यहाँ भाइटीकाका दिन भक्तजनको लाम लाग्ने गर्छ । विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् ।  भक्तपुरका नेवार समुदायका केहीले भने बुधबार नै किजापूजा गरेको जनाइएको छ । भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीले गरेको निर्णयअनुसार यस्तो गरिएको भक्तपुर नगपालिकाले जनाएको छ ।

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ ।   कार्यालय प्रमुख (एसपी)डा.रामचन्द्र सत्यालले सोमबार आयोजित कार्यक्रममा घुङ्ग्रुलाई अवार्ड प्रदान गरेका हुन् ।   हवाई मार्ग हुँदै काठमाडौँ आउने र विदेशतर्फ तस्करी गर्न लागिएको गाँजा लगायतका लागुऔषध अनुसन्धानमा घुङ्ग्रुले उत्कृष्टता हासिल गरेको केनाईन कार्यालयका प्रमुख डा.रामचन्द्र सत्यालले बताए ।   घुङ्ग्रुले सुँघेर २०८१ चैत र २०८२ साउनमा विमानस्थलमा दुई वटा लागुऔषधको घटना पत्ता लगाएको थियो । जर्मन सेफर्ड जातको पोथी प्रहरी कुकुर घुङ्ग्रुको सङ्केतको आधारमा आरोपी पक्राउ परेका थिए ।   २०७४ चैतमा जन्मिएको घुङ्ग्रु लागुऔषध नियन्त्रण ब्युरो अन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छ ।   २०८० चैत ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित कार्गो कम्प्लेक्सको आयात तर्फको गोदाममा चेकजाँच गर्दा घुङ्ग्रुले वासिङ मेशिनमा लागुऔषध रहेको सङ्केत गरेको थियो ।   सो सङ्केतको आधारमा वासिङ मेशिन फुटाउँदा विदेशबाट आयात गरिएको २० केजी गाँजा भेटियो ।   २०८२ साउन ५ मा आगमनतर्फको लगेज चेकजाँच गर्दा बैंककबाट आएका भारतीय नागरिकले ल्याएको १४ केजी गाँजा भेटियो । सो गाँजा ल्याउने भारतीय नागरिक धर्मेश रसिकभाई चुनारा पक्राउ परेका थिए ।   त्यस्तै, २०८१ चैत २४ मा चिप्स, चकलेट र मासुको प्याकेटहरूमा लुकाएर ल्याइएको ९ केजी अमेरिकन गाँजा बरामद गर्न पनि घुङ्ग्रुले सघाएका थिए । 

पोखरा:   प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । आइतबार पोखरा–२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टीन एक्लै हिँडिरहेको अवस्थामा खुकुरी देखाइ हातपात गरी अभद्र व्यवहार गरेको सूचनाका आधारमा दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई घटनामा संलग्न व्यक्तिहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिइएको हो ।  पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन विक र तनहूँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रवक्ता बस्नेतले बताउनुभयो ।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।  समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिए। वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ। नरक चतुर्दशी आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन्। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ। यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ। यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ। यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ।

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनीतिक दबाब र नयाँ पुस्ताको विचारबीच त्रिकोणीय द्वन्द्व चलिरहेको छ।   सामाजिक सञ्जालमा जन्मिएको, विश्व प्रवृत्तिबाट प्रभावित र आत्म–पहिचान खोजिरहेको पुस्ता — Gen Z र Gen Y — अहिले नेपालमा मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली भू–समीकरणको केन्द्रीय पात्र बन्दैछ। तर, प्रश्न यहीँ छ ।   के यो युवा चेत साँच्चै नयाँ राजनीतिक लहर हो ? वा यो लुसिफरको जस्तै आकर्षक “प्रकाश” हो, जसको अन्त्यमा अदृश्य उपनिवेशको अन्धकार लुकेको छ?   - लुसिफरको प्रतीक र नयाँ पुस्ताको विद्रोह   लुसिफर — प्रकाश ल्याउने देवदूत, जसले विद्रोह गरेपछि अन्धकारको पर्याय बन्यो।   त्यो प्रतीक आजको युवा पुस्तामा स्पष्ट देखिन्छ । उनीहरू प्रश्न गर्छन्, अस्वीकार गर्छन्, र परम्पराको चुनौती लिन्छन्।   यो विद्रोहको ऊर्जा सशक्त छ, तर मार्गदर्शक दर्शन बिना, यही ऊर्जा दिशाहीन हुन सक्छ।   नेपालका युवाहरू राजनीतिक, सामाजिक र सांस्कृतिक स्तरमा “पुरानो सत्तावाद” विरुद्ध आवाज उठाइरहेका छन्। तर यही आवाज, यदि बाह्य शक्तिहरूको रणनीतिक प्रयोगमा पर्‍यो भने, त्यो स्वतन्त्रता होइन । अदृश्य अधीनता हुनेछ।   - खम्पा बिद्रोहका अवशेष    इतिहासको छायाँ, वर्तमानको रणनीति हाम्रो भूगोलले बिर्सन नसक्ने एउटा अध्याय हो, खम्पा बिद्रोह (१९६०–७० को दशक)।   तिब्बती विद्रोहीहरू, विदेशी शक्तिहरूको समर्थनमा नेपालको भित्री भूभाग प्रयोग गरेर सशस्त्र गतिविधि चलाइरहेका थिए।   नेपालले त्यसबेला कूटनीतिक दबाब, सैनिक कदम र राष्ट्रिय एकताको माध्यमबाट त्यो संकट नियन्त्रण गर्‍यो। तर आज, ती “खम्पा अवशेषहरू” प्रत्यक्ष रूपमा होइन, विचार र सञ्जालका रूपमा पुनर्जीवित भइरहेका छन् ।   सांस्कृतिक अभियान, धर्मका नाममा विदेशी लगानी, र ‘फ्रि तिब्बत’ को आडमा चल्ने वैचारिक सञ्जालहरूका रूपमा Gen Z र Gen Y को संवेदनशील चेत  जसले स्वतन्त्रता, मानवअधिकार र आत्मनिर्णयका कुरा गर्छ ।   त्यही सञ्जालको “Soft Target” बन्न सक्ने खतरा बढ्दैछ। विद्रोहको नाममा, फेरि पनि, नेपाललाई “Strategic Buffer Zone” बनाउने खेल सुरु भएको अनुभूति हुन थालेको छ।   - डिजिटल लुसिफर   प्रविधिको प्रकाश कि प्रभावको औजार ? आजको पुस्ता डिजिटल विश्वमा जन्मेको छ । TikTok, X, Instagram र YouTube उनका राजनीतिक पाठशाला हुन्।   तर त्यही माध्यम “Lucifer को प्रकाश” जस्तै आकर्षक छ। देखिन्छ उज्यालो, तर भित्र अन्धकार लुकाएको छ।   सामाजिक सञ्जालका ट्रेन्ड, अन्तर्राष्ट्रिय NGO र Foundation हरूको ‘Narrative’ ले युवाको विचार संरचना नै पुनर्लेखन गर्दैछ। नेपालको भू–राजनीतिक स्थिति चीन र भारतबीच यही कारणले “विचार युद्ध” को नयाँ मैदान बनेको छ। अब तोपको आवाज होइन, TikTok ट्रेन्ड र ह्याशट्यागको तुफानले दिशा तय गर्छ।   यो नै २१औँ शताब्दीको अदृश्य उपनिवेशवाद हो । जसमा आत्मा कब्जा गर्न बन्दुक होइन, बृत्ति, फन्ड र फ्रेम प्रयोग गरिन्छ।   - युवा चेत र राष्ट्रिय सन्तुलन :   विद्रोहलाई दृष्टिमा रूपान्तरण गरौँ नेपालका युवाहरूले विद्रोह गर्नु अपरिहार्य छ । तर त्यो विद्रोह राष्ट्रविरोधी नभई राष्ट्र–नवीकरणकारी हुनुपर्छ।   लुसिफरको विद्रोहले स्वर्ग गुमायो, तर बुद्धको जागरणले संसार उज्यालो बनायो। अब नेपाली युवाको हातमा छ — कुन बाटो रोज्ने? देशको कुल जनसंख्याको करिब ६५ प्रतिशत भाग १५ देखि ४५ वर्ष उमेर समूहमा पर्छ, जसमा Gen Y (३०–४४ वर्ष) पुस्ता मात्रै करिब ३५–४० प्रतिशत छन्। यिनै पुस्ता हुन् ।   जसले जनआन्दोलन, गृहयुद्ध, गणतन्त्र र प्रवासनको पीडा देखेका छन्, अनि परिवर्तनको अनुभव बोकिरहेका छन्। यो पुस्ता न त पुरानो युगको अन्ध विश्वासमा छ, न त नयाँ युगको भ्रममा उनीहरू चेत र क्षमता दुवैका प्रतिनिधि हुन्।   हाम्रो असन्तोष जायज छ, तर दिशाहीन असन्तोषले बाह्य शक्तिलाई लाभ पुर्‍याउँछ।   युवाहरूले पार्टी होइन, नीति पढ्नुपर्छ; विचार होइन, परिणाम माग्नुपर्छ। त्यसैले, विद्रोहको ऊर्जा र राष्ट्रिय चेतको संयोजन नै नयाँ लहर बन्न सक्छ।   - निष्कर्ष   खम्पाको छायाँ र लुसिफरको प्रकाशबीचको नेपाल नेपाल आज पनि “भू–राजनीतिक संक्रमण” बाट गुज्रिरहेको छ।   एकातिर विदेशी शक्तिहरूका “Democracy Promotion” नामका कार्यक्रमहरू छन्, अर्कोतिर आफ्नै दलहरूभित्रको असंवेदनशीलता। Gen Z र Gen Y बीचको विचार चेत, यो समयको निर्णायक शक्ति हो।   तर यदि त्यो चेत विदेशी फाउन्डेशनका मापदण्डमा ढालियो भने खम्पा बिद्रोहको बन्दुक सायद फर्केर आउने छैन, तर विचारको गोला फेरी चल्नेछ। नेपालका युवाले बुझ्न जरुरी छ ।   विद्रोह गलत होइन, तर विद्रोहको दिशा गलत भयो भने, स्वतन्त्रता पनि परनिर्भरता बन्छ।   यदी लुसिफरको चमकलाई बुद्धको उज्यालोमा रूपान्तरण गर्न सक्यौं भने, यो पुस्ता नेपाललाई पुनः जागरणको मार्गमा लैजानेछ । नत्र, यो केवल अर्को अदृश्य उपनिवेशको सुरु हुनेछ।    

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिएको हो। उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने छन्। टोलीमा नियमित खेलाडी सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसी समावेश छन्। साथै, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलमले पनि टोलीमा स्थान पाएका छन्। अनिल शाह पनि टोलीमा फर्किएका छन्। यस सिरिजमा नेपालसँगै यूएई र अमेरिका सहभागी हुँदैछन् ।  

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ ।  डेढ महिनामा सात हजार ४६१ पर्यटकको आगमन भएको एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार याम सुरु भएपछि इजरायलका एक हजार १२७, जर्मनीका पाँच सय एक, बेलायतका चार सय ६६ र अष्टे«लियाका चार सय ४१ जनाले मनाङअन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ (पास), लार्के भञ्ज्याङ (पास), तिलिचो तालको भ्रमण गरेका छन् ।  “ती देशसँगै विश्वका ८७ देशका नागरिकले मनाङका रमणीय स्थानको भ्रमण गरेका छन् । निराश भएका मनाङवासीका साथै देशकै अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ”, संरक्षण शिक्षा सहायक गुरुङले भन्नुभयो ।  जेनजी आन्दोलन र मनसुनको अन्त्यमा बाढीपहिराका कारण पर्यटकको आगमनमा समस्या भएकामा अहिले चहलपहल हुन थालेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा प्रभाव पार्ने गर्छ । जेनजी आन्दोलनले विदेशी पर्यटकले बुकिङ गरेका होटल पनि फिर्ता लिइरहेका थिए । अहिले देशमा शान्ति कायम हुँदै गएपछि आगमन बढ्दै गएको छ ।” जेनजी आन्दोलनपछि सुनसान बनेको मनाङमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बढेको छ । मनसुन सकिएपछि पर्यटकको आगमन बढ्नुपर्ने यहाँ मनसुन अन्त्यमा सक्रिय भएर ठूलो धनजनको क्षति हुँदा पर्यटन व्यवासय पनि सुस्ताएकामा अहिले पर्यटन व्यवसायमा अपेक्षाकृत बन्ने व्यावसायीको भनाइ छ ।  बुकिङ रद्द गरिएका होटल अहिले भरिन थालेका होटल व्यवसायी नवीनविक्रम सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “जति पर्यटकको आगमन हुनुपर्ने हो त्यति भएको छैन । तर अहिले केही मात्रामा विदेशी पर्यटकको आगमनचाहिँ भएको छ ।” विशेषगरी देशकै ठूलो मानिएको हिल्टन होटल जलाइएपछि पर्यटक बढी त्रसित भएको हुनसक्ने पर्यटन तथा होटल व्यवसायीको अनुमान रहको उहाँको भनाइ छ ।  यस समयमा मनाङका सडक तथा पदमार्गमा पर्यटक प्रशस्त देखिन्थे । तर यस वर्ष त्यति छैनन् । पूर्ण रूपमा पर्यटकको आगमन पनि हुनसकेको छैन । देशको अर्थतन्त्रलाई प्रभाव पार्ने मनाङको पदमार्गको यात्रा तथा सडक सहज बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । अहिले नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । यसले पनि स्वदेशी पर्यटन प्रवर्द्धन भइरहेको छ ।  विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका पाइन्छन् । प्रविधिको युगमा वास्तविक प्राकृतिक मानवीय जीवनको महसुस गर्न आउने गरेका छन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।  अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोडिएका छन् ।  काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा नै चामे, खाङ्सारसम्म सवारीसाधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्र मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।