पोखरा: गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । २०८२ कात्तिक २४ गते सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो। गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयअनुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको यस संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ। विधेयक पारित भएपछि प्रतिक्रिया व्यक्त गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले यो कदमलाई विश्वविद्यालय सुधार यात्राको “ऐतिहासिक उपलब्धि” बताएका छन्। “गण्डकी विश्वविद्यालयलाई सक्षम, पारदर्शी र प्रतिस्पर्धी शैक्षिक केन्द्र बनाउने दिशामा पारित संशोधनले कानुनी आधार थप सबल बनाएको छ । उच्च शिक्षाको गुणस्तर सुधारका लागि यो विधेयक महत्वपूर्ण हुनेछ,” मन्त्री थापाले भने। उनका अनुसार विस्तारित न्यासिक परिषद्, स्पष्ट योग्यताको मापदण्ड र पारदर्शी नियुक्ति प्रक्रियाले विश्वविद्यालयको संस्थागत विश्वसनीयता र शैक्षिक नेतृत्वमा गुणात्मक परिवर्तन ल्याउनेछ। छलफलका क्रममा प्रदेश सभा सदस्य गोविन्द बहादुर नेपालीले विश्वविद्यालयमा सुशासन, पारदर्शिता र कार्यक्षमता अभिवृद्धिमा संशोधनले महत्वपूर्ण योगदान पु¥याउने बताए। सांसद महेश भट्टराईले शीर्ष पदाधिकारहरूको योग्यतामा स्पष्टता ल्याइएको भन्दै संशोधन सकारात्मक परिवर्तनको संकेत भएको टिप्पणी गरे। त्यस्तै सांसद सुशिला सिंखडाले शिक्षालाई राजनीतिकरणबाट टाढा राख्नुपर्ने आवश्यकतामा जोड दिँदै दलियताभन्दा शैक्षिक गुणस्तर नै पहिलो प्राथमिकता हुनुपर्ने धारणा राखिन्। पारित विधेयकले विश्वविद्यालयको संरचना र पदाधिकारी योग्यता÷नियुक्ति प्रक्रियामा व्यापक सुधार गरेको छ । अब १५ सदस्यीय न्यासिक परिषद् रहनेछ, जसमा कम्तीमा पाँच महिला सदस्य अनिवार्य हुने व्यवस्था गरिएको छ । परिषद्मा कुलपति, उपकुलपति, स्थानीय तह प्रमुख, प्रदेशका सम्बन्धित मन्त्रालयका सचिव, विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि तथा समाजसेवी÷प्राज्ञिक÷लगानीकर्ता÷प्रतिष्ठित व्यक्तिहरू रहनेछन्। रजिष्ट्रार न्यासिक परिषद्का सचिव पनि रहने व्यवस्था विधेयकले गरेको छ। कुलपति पदको योग्यतामा संशोधन गर्दै विद्यावारिधी उपाधि, शैक्षिक÷प्राज्ञिक÷प्रशासनिक वा व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव तथा न्यूनतम ४५ वर्ष उमेर अनिवार्य गरिएको छ। उपकुलपति पदका लागि विद्यावारिधी उपाधि, ८ वर्ष अनुभव र ४० वर्ष उमेरको मापदण्ड तोकिएको छ। उपकुलपतिलाई पदमुक्त गर्ने अधिकारसम्बन्धी प्रावधान पनि थपिएको छ। अब कुलपतिलाई पदमुक्त गर्दा अपनाइने समान प्रक्रिया प्रयोग गरी मुख्यमन्त्रीले उपकुलपतिलाई पनि पदमुक्त गर्न सक्नेछन्। रजिष्ट्रार नियुक्ति प्रक्रियालाई पारदर्शी र कार्यसक्षम बनाउन उपकुलपतिको संयोजकत्वमा तीन सदस्यीय समिति गठन, तीन योग्य उम्मेदवारको नाम सिफारिस र कुलपतिबाट नियुक्ति गर्ने प्रावधान समावेश गरिएको छ। गण्डकी प्रदेश सरकारले बहुमतले पारित यो विधेयकले विश्वविद्यालय प्रशासन, नेतृत्व चयन र संस्थागत संरचनामा आवश्यक सुधार ल्याई उच्च शिक्षाको गुणस्तर र सुशासनमा अपेक्षित उछाल आउने विश्वास व्यक्त गरेको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेको बताएका छन्। निवर्तमान सांसदसमेत रहेका उनले पार्टी छोडेको जानकारी दिए। विघटित प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रमुख सचेतक रहेका समानुपातिकतर्फका सांसद उनले नयाँ अभियान सञ्चालन गर्ने भन्दै रास्वपा छोडेको बताए।
काठमाडौं: नेपाली सेनाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो । उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि एक सय जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि दुई जनालगायत विभिन्न गणमा विभिन्न सङ्ख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको हो । सबैभन्दा बढि सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जना मागेको छ भने विभिन्न सङ्ख्यामा ब।का।सि, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार र चर्मकर्मी पनि मागेको छ । सैन्य पदका लागि शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । एसइई वा सोभन्दा माथिका शैक्षिक योग्ताको प्रमाणपत्र पेस गर्नेहरूले भने कक्षा ८ को प्रमाणपत्र बुझाउनुपर्ने छैन । लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रमाणपत्र भएकाहरुको हकमा कक्षा ८ मा न्यूनतम जिपिए २ ल्याएको हुनुपर्ने र कुनै पनि विषयमा डि प्लसभन्दा कम हुन नहुने योग्यता तोकिएको छ । एसइई वा सोभन्दा माथिकै शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेको हकमा न्यूनतम जिपिए १.६ अनिवार्य भनिएको छ ।
काठमाडौं: निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै सो आह्वान गरेको हो । आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।
ढोरपाटन: घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो । कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाल्नुभयो । सुरुमा उहाँलाई व्यावासयिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन । तर पछि धेरै पाल्ने चाहना जागेपछि अहिले उहाँको कालिजपालन व्यवसाय फस्टाउँदै गएको हो । रु २४ हजारमा चारवटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म रु ५० लाख बढी लगानी गरिसक्नुभएको छ । दश रोपनी क्षेत्रफलमा कँडेलले तारबार लगाएर कालिज हुर्काइराख्नुभएको छ । कालिज व्यवसाय राम्रो हुँदै गएपछि उहाँले चल्लासमेत आफैँ उत्पादन गर्न थाल्नुभएको छ । वनमा पाइने कालिज कँडेलले व्यावसायिक रूपमै पाल्न थालेपछि स्थानीयसमेत दङ्ग छन् । बाह्र वर्ष अगाडि स्थायी रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएका कँडेल स्वास्थ्यकर्मी हुनुहुन्छ । बिहानबेलुका कालिजको रेखदेख गर्ने उहाँ दिउँसोको समयमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्नुहुन्छ । सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुचि राख्ने कँडेलले कालिजपालनमा थालेपछि टाढाटाढाबाट हर्ने आउनेको सङ्ख्या ठूलो छ । सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरु गरेको व्यवसाय राम्रो हुँदै गएपछि कँडेल उत्साहित हुनुभएको छ । अहिले उहाँको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन् । एक हजार ५०० बढी त बिक्रीका लागि तयार भएको कँडेलले बताउनुभयो । दसैँतिहारको अवधिमा करिब दुई सय बढी कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उहाँले जानकारी दिनुभयो । सुरुमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेल बताउनुहुन्छ । प्रतिकालिज रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको उहाँको भनाइ छ । “यो पेसा मेरो रहरको पेसा हो, मैले सुरुमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ, सात वर्षमा कालिजपालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो”, उहाँले भन्नुभयो, “पहिले धेरै समस्या थियो, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी पनि बढाउँदै गएको छु ।” केही दिनअगाडि चितुवा फार्ममा पसेर एक सय ५० कालिज मारिदिँदा रु तीन लाख नोक्सानी व्यहोरेको उहाँले सुनाउनुभयो । रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी हुनुहुन्छ । कँडेलको कालिजपालनलाई बुबा तुलसीराम कँडेलले साथ दिनुभएको छ । यस वर्ष रु १५ लाखको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताउनुभयो । पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्ने उहाँ बताउनुहुन्छ । उत्पादन बढ्दै गए पनि बजार पाउन भने मुस्किल पर्ने उहाँले सुनाउनुभयो ।
काठमाडौं: नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दज्र्यानी चिह्न लगाएपछि सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताउनुभयो । “अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर विकास र सुशासनको जनअपेक्षाअनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी सङ्गठनको साझा दायित्व हो”, प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो । जेनजी आन्दोलनलगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराराउँदै उहाँले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनःस्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताउनुभयो । २८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उहाँले सरकारप्रति आभार प्रकट गर्नुभयो । समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । ३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा जानुभएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट वरिष्ठतम् कार्कीलाई प्रहरी सङ्गठनको प्रमुख बनाउने निर्णय गरेको थियो । समारोहमा राष्ट्रिय अनुन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारी सहभागी थिए ।
काठमाडौं: नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताउनुभएको हो । उक्त सूचनाअनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालय जानुपर्ने बाध्यता हटेको छ । मतदाता दर्ता प्रक्रिया चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ । दोस्रो चरणमा देखिएका विवरण पुनःजाँच गरी त्रुटि भए सच्याउने व्यवस्था गरिएको छ । तेस्रो चरणमा मतदानस्थल छनोट गर्न तथा नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भए आवश्यक कागजात अपलोड गर्न सकिनेछ । चौथो चरणमा सबै विवरण अन्तिम पटक जाँच गरी फारम अनलाइनमार्फत पेस गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया पूरा हुनेछ ।
पोखरा: नेसनल प्याब्सन, कास्कीको आयोजनामा मंसिरको तेस्रो सातामा दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ हुने भएको छ । बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २२ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ । बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने छ । त्यसैगरी खेलकुद तर्फ छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता रहेको छ । क्रिकेट तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने फुटसल तर्फ कक्षा ११ र १२ का विद्यार्थीले मात्र सभागिता जनाउने छन् । महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए । उपसमिति अन्तर्गत सामूहिक लोकनृत्य प्रतियोगिताको संयोजकमा शिवराज पौडल तथा सदस्यहरुमा पितृराज अधिकारी र विक्रम सुवेदी रहेका छन् । एकल गायन प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुका हेम रानाभाट, रुद्रप्रसाद अधिकारी साथै सल्लाहकारमा तिलक प्रसाद अधिकारी रहेका छन् । त्यसैगरी चित्रकला प्रतियोगिताको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यहरुमा मित्र राई र सुरेशराज पाण्डे रहेका छन् । कविता वाचन प्रतियोगिताको संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरुमा विक्रम सुवेदी र भुवन पौडेल रहेका छन् । अभिनय प्रतियोगिताको संयोजकमा विक्रम सुवदी तथा सदस्यहरुमा दिपु भारी र अशोक शर्मा रहेका छन् । विज्ञान तथा प्रविधि प्रतियोगिताको संयोजकमा तोलाकान्त न्यौपाने तथा सदस्यहरुमा अजय थापा र शालिग्राम पराजुली रहेका छन् । हस्तकला प्रतियोगिताको संयोजकमा रमेशराज पौडेल तथा सदस्यहरुका गगन गुरुङ र सोमनाथ पौडेल रहेका छन् । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजकमा हेम रानाभाट तथा सदस्यहरुमा हरि धमला र मित्र राई रहेका छन् । त्यसैगरी खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्र बहादुर थापा तथा सदस्यहरुमा हिमाल गुरुङ र देवराज कार्की रहेका छन् । फुटसल प्रतियोगिताको संयोजकमा अर्जुन प्रसाद पाण्डे तथा सदस्यहरुमा ज्ञानेन्द्र बहादुर थापा, हिमाल थापा र सल्लाहकारमा केशवशरण पौडेल रहेका छन् । महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले अवलोकन गर्न सक्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । ‘यो महोत्सव विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्तफुटन मात्र नभई सिकाईको थलो पनि हुने हामीले विश्वास लिएका छौ’ उनले भने, ‘यो महत्वपूर्ण अवसरलाई सदुपयोग गर्नका लागि महोत्सव अवलोकन गर्न सम्पूर्ण कास्कीका विद्यार्थी तथा अभिभावकलाई निमन्त्रणा गर्दछौ।’ महोत्सवलाई सफल बनाउनका लागि तयारी शुरु गरिसकेको एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्नका लागि तयारीलाई तिव्र पारेका छन् । प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा: तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । प्रतियोगिताको उत्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उत्घटान सत्रमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टहरु भइरहने भएकाले पोखरा साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए । साथै विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न बढी नै रुचाउने गरेको उनले बताए । ‘ड्रागन बोट रेस, क्रस कन्ट्रीलगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुँदै आएकोले पनि खेलकुद सँगै पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुगेको छ ।’ मेयर आचार्यले भने । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी छन् । १३ बढी देशका १ सय खेलाडी सहभागी हुने अपेक्षा आयोजक कम्पनी डन टिल डस्कले गरेपनि गत भदौ २३ र २४ गते नेपालमा भएको जेन्जी आन्दोलनले नकारात्मक असर पारेको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माको भनाइ छ । ‘सहभागी सोचे भन्दा कम भएपनि जति आउनुभएको छ, उहाँहरू पोखराको यो मौसम र भौगोलिक बनावटले निकै खुसी हुनुहुन्छ । त्यसमाथि स्थानीय नागरिक र स्थानीय निकायले देखाएको समन्वयकारी भूमिका निकै प्रसंसनीय छ ।’ (डाइरेक्टर शर्माले भने । उद्घाटन सत्रको अध्यक्षता गरेका पोखरा वडा १३ का वडाध्यक्ष किरण बरालले ’पोखरा इन्डूरो रेस’ पोखराकै ब्रान्डका रूपमा स्थापित भइसकेको बताए । प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ । समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामाआयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

