काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद् र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गर्नुभयो । महामन्त्री थापाले भन्नुभयो,“संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।” उहाँले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको निर्णय स्पष्टरूपमा प्रस्तुत गरिसकेको बताउनुभयो । उहाँले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले निर्वाचनअघि पार्टीको अधिवेशन गरे अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने पनि उल्लेख गर्नुभयो
पोखरा: कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिका कार्यालयको समन्वयमा शनिबार माछापुच्छ्रे ६ हेम्जाकोटमा शनिबार सम्पन्न भएको हो । अन्तरक्रियामा गाउँपालिका, स्थानीय निकाय, स्थानीय, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता थियो । सहभागीहरूले माछापुच्छ्रे गाउँपालिकाभित्र रहेका पर्यटन सम्भावना र चुनौती विषयमा धारणा व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमका वक्ताहरूले पत्रकारहरूले गाउँपालिकाका पर्यटकीय सम्पदा, संस्कृतिको संरक्षण तथा प्रचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले गाउँपलिकाको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताए । विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजि भैरहेको र आन्तरिक पर्यटक धेरै आउने गाउँपालिकाका गन्तव्यमा विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडी बढेको उनले जनाए । त्यस्तै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले गाउँपालिकाको समग्र पर्यटन विकासका लागि आवश्यक सुझाव दिन आह्वान गरिन् । यता गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले गाउँपालिका पर्यटनको सम्भावना निकै रहेको र स्थानीय नागरिकले गाउँपालिकासँग गर्ने सहजीकरण निकै सह्रानीय रहेको बताए । अन्तरक्रियामा पत्रकार र स्थानीयबाट उठेको प्रश्नको जवाफ गाउँपालिकाले दिएको थियो । त्यसैगरि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार, पालिका र स्थानीयबीच भएको अन्तरक्रियाले समन्वय सुदृढ बनाई पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा हेम्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष इश्वर गुरुङ, माछापुच्छ्रे गाउँपालिका वडा ५ का अध्यक्ष नारायण पौडल, वडा ६ का अध्यक्ष टेकनाथ गौतम, खेलकुद विकास समिति माछापुच्छ्रे गाउँपालिकाका सदस्य सचिव होमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव परशुराम शर्माले गरेका थिएभने स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिए । दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान नेपाली राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीकी सदस्य विनिता पुनलाई शनिबार आफ्नै जन्मथलोमा नगदसहित सम्मान गरिएको छ । १२ देखि २३ नोभेम्बर २०२५ मा भारत र श्रीलङ्कामा पहिलोपटक आयोजना हुन लागेको टि–२० दृष्टिविहीन महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीमा परेकी विनितालाई नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा नगदसहित सम्मान गरेको हो । विनिता कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घर भएकी अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । उनलाई माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले संयुक्त रूपमा नगद सात हजार सात सय ७७ रुपैयाँसहित सम्मान गरेका हुन् ।
काठमाडौं: शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ। आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गराइएको बारे’ विर्षकको एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै शिक्षामन्त्री पुनले यस्तो जानकारी गराउनुभएको हो। शिक्षामन्त्री पुनले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ संगठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँदछु।’ उहाँले शिक्षक महासंघ, प्राध्यापक संघलगायत शिक्षा क्षेत्रमा क्रियाशील संघ संगठनलाई गैरराजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान गर्नुभएको छ।
मनाङ: यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लुभाई पटेल र १७ वर्षकी प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिंडेका उनीहरु सम्पर्क विहीन भएका थिए । उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो । सम्पर्कविहीन भएका उनीहरुको तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुनः कार्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको कमाण्डमा उद्धार सामग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिमप्राप्त टोलीले उनीहरुको शव उक्त गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको छ । मृतकद्वय बाबु र छोरी रहेको बुझिएको छ ।
म्याग्दी: मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लगिन् । ‘मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो’, तामाङले भनिन्, ‘पदयात्राको क्रममा लेक लागेमा औषधिको साथै खानासँगै चटनीका रूपमा प्रयोग गर्न स्वादिलो हुनेरहेछ ।’ रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । म्याग्दी भ्रमणमा आउनेले किनेर लैजानेदेखि देशका विभिन्न सहर तथा विदेशमा रहेका आफन्तहरूलाई कोसेली पठाउने प्रमुख वस्तु टिमुर बनेको बेनीकी उद्यमी मिना राम्जालीले बताइन् । ‘घुम्न आएकाले सबैभन्दा धेरै किनेर लैजाने वस्तु टिमुरको धुलो र चटनी हो’, उनले भनिन्, ‘बहुउपयोगी टिमुर म्याग्दीको कोसेली बनेको छ ।’ ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको टिमुर बेनीका कोसेली घरहरूलाई ल्याएर बिक्री गर्छन् । उद्यमीहरूले टिमुरलाई प्रशोधन गरेर धुलो र चटनी बनाएर बट्टामा राखेर बिक्री गर्छन् । बट्टाको आकारअनुसार टिमुरको धुलो र चटनीको मूल्य हुन्छ । कोसेलीको साथै मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुने गरेको टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले बताए । बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब १५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन् । यस वर्ष करिब ५० मुरी टिमुर उत्पादन भएको अनुमान गरिएको टिमुरखेती समेत गरेका बानियाँले बताए । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । बेनी–९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो । म्याग्दीमा हाल वार्षिक करिब ६ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको वन डिभिजनको तथ्याङ्क छ । टिमुरखेतीसम्बन्धी अनुसन्धान गर्दै आएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार टिम्मुर औषधीय गुण भएको मसलेदार फल हो । उच्च रक्तचामलाई नियन्त्रण, कलेजो र दाँतको सुरक्षा, ‘फुड पोइजनिङ’ हटाउने टिमुर कलेजोसम्बन्धी समस्या भएका बिरामीहरूले पनि आयुर्वेदिक औषधिको रूपमा प्रयोग गर्ने उनको भनाइ छ । पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपालि टिमुरको उत्पादन बढेको ढावाकी जमुना राईले बताइन् । खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन् । पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान नरबहादुर राइले बताए । जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको जनाएको छ ।
काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको छ। यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन्। आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ। मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन्।
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो । कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन् उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
पोखरा: अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा उक्त सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको हो । अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन शेयर गर्न लगाई ‘ओटिपी’ लिई खाता ह्याक गरी ठगी हुनसक्ने हुँदा कसैलाई पनि आफ्नो मोबाइलको स्क्रिन सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ । प्रहरीले साथीभाइ र आफन्तका नामबाट विभिन्न समस्या देखाइ सामाजिक सञ्जालमा आर्थिक सहयोग माग गरेमा प्रत्यक्ष सम्पर्क गरेर यकिन गरेर मात्र सहयोग गर्न भनेको हो । अपरिचित व्यक्तिले विदेशबाट उपहार वा बहुमूल्य सामान पठाएको कुरालाई विश्वास नगर्न र सामाजिक सञ्जालमा अनलाइन रोजगारीको अवसर देखाएर लगानी गर्न लगाइ ठगी हुने हुँदा सावधानी अपनाउन आग्रह गरिएको हो । वैदेशिक रोजगारीमा जाँदा भरपर्दो माध्यम रोज्न र पैसा दिँदा स्पष्ट रूपमा वैदेशिक रोजगारीको कारण खुलाई बैंकमार्फत कारोबार गर्न भनिएको छ । सामाजिक सञ्जाल तथा बैंकिङ एपहरूमा कठिन पासवर्ड राख्न, अपरिचित व्यक्तिहरूसँग साथी नबन्न, आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्न, आर्थिक सहयोगलगायत कुनै पनि बहानामा नफस्न र सामाजिक सञ्जालमा आएका अपरिचित लिङ्कहरू नखोल्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको हो ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नागरिकको विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन मतदाता परिचयपत्र भएको भन्दै उहाँले मतदातापत्र बनाएर चुनावमा भाग लिन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री कार्कीले भन्नुभएको छ, विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गरौं। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं।’

