पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

काठमाडौं:  भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश अधिकारीका अनुसार प्रसाई समाजलाई भड्काउने अभिव्यक्ति दिएको त्यस विषयमा सोधपुछ गर्नका लागि पक्राउ गरिएको हो । प्रसाईलाई पक्राउ गरेर काठमाडौँ प्रहरी परिषद् भद्रकालीमा राखिएको छ । प्रसाई विवादास्पद अभिव्यक्ति दिएकै कारण पटक पटक पक्राउ पर्दै आएका छन् । 

म्याग्दी:  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ ।  भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयमार्फत सोमबारदेखि छ किलोमिटर ५०० दूरीको सडकमा कालोपत्र गर्न थालिएको हो ।  कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागार्इंले दुई लेनमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरिने जानकारी दिनुभयो । “गत वर्ष पाँच दशमलव पाँच किलोमिटर दूरीको मालढुङ्गा–फर्से खण्डमा कालोपत्र भएको थियो”, उहाँले भन्नुभयो, “बाँकी रहेको फर्से–बेनी खण्डमा यही महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गरेको छ ।”  कूल १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित र पर्वत बेनीको बजार क्षेत्रको एक किलोमिटरलाई ठेक्काबाट हटाइएको छ । दुई किलोमिटर २०० मिटर ढलान भएको छ । लस्ती बजारको ५६० मिटर र लस्ती पुलदेखि केराबारीको पहिरोसम्म २५० मिटरमा सोमबार एकतर्फी कालोपत्र भएको छ ।  मङ्गलबार उक्त खण्डमा दुईतर्फी कालोपत्र सकेर केराबारीदेखि मिलनचोकतर्फ कालोपत्र सुरु गर्ने निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीका इञ्जिनियर जीवन चौधरीले बताउनुभयो ।  कालोपत्रलाई तीव्रता दिनका लागि स्थानीय प्रशासनको समन्वयमा म्याग्दी र मुस्ताङ जाने आउने सवारीसाधनलाई मालढुङ्गा–बागलुङ–रत्नेचौर– बेनी जोड्ने वैकल्पिक सडकबाट आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।  मङ्सिर २० गतेसम्मका लागि मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि बिहान १० देखि साँझ ५ः०० बजेसम्म बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।  एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्यभन्दा तीन वर्षपछि पूर्णता पाउन लागेको हो । कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए ।  जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिने, ढुवानी र सार्वजनिक यातायातको भाडादर घट्ने, धुलो र हिलोमा जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।  सडक निर्माणलाई गति दिन जनप्रतिनिधि, उद्योगी व्यवसायी र सरोकारवालाहरुले दबाब दिँदै आएका छन् । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । चालु आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

ढोरपाटन:  दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो ।  दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको हाइड्रोपावरको उत्पादन क्षमता ९ दशमलव ६ मेगावाट छ ।  सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालीले जिम्मा लिएको छ । गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिनुभयो । बर्खामा ९ दशमलव ६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँद याममा ६ दशमलव ६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर चौधरीले बताउनुभयो ।  इञ्जिनियर चौधरीले भन्नुभयो, “दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ, विद्युत्गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सवस्टेशनमा जोडिएको छ, प्रसारण लाइनमा एक महिना अगाडि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ, बर्खामा ९ दशमलव ६ मेगावाट उत्पादन गर्न सकिने भए पनि अहिले सकिदैन ।” हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । हाइड्रोपावर निर्माण गर्दा विभिन्न अवरोध हुँदा निर्माण सम्पन्न गर्न समय लागेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उहाँको भनाइ छ ।  निर्माण सम्पन्न गर्न रु दुई अर्ब बढी लगानी भएको अध्यक्ष पुन बताउनुहुन्छ । हाइड्रोपावरबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँ बस्तीमा विद्युत् पुग्ने अपेक्षा लिएको उहाँको भनाइ छ ।  “दरमखोला हाइड्रोपावर बागलुङमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो, यसको सर्भे धेरै वर्ष अगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ, यद्यपि अहिले उत्पादन गर्ने स्थितिमा आएको छ”, अध्यक्ष पुनले भन्नुभयो, “१७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरुले नयाँ कम्पनी बनाएर काम ग¥यौँ, अहिले सम्पन्न भएर सकियो ।” 

पोखरा:   दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ ।  सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । काठमान्डुका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाए भने आकाश त्रिपाठीले ३९ रन जोडे ।  जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एकएक विकेट लिए ।  पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा छ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाए । यस्तै,  मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए। लाहिरु मिलन्था सात रनमा आउट भए ।  काठमान्डु गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक÷एक विकेट लिए ।  एनपिएलको दोस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् । 

पोखरा:  मेजर लक्ष्मी प्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ ( सुमन) लाई पुरस्कृत गरिने भएको छ ।  आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको संयोजनमा पुरस्कार दाता मेजर लक्ष्मी प्रसाद÷हुमकुमारी गुरुङको वैवाहिक बर्षगांठको दिन मंसिर ३ गते बुधबार आयोजना हुने कार्यक्रममा गुरुङलाई उक्त प्रदान गरिनेछ। फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको  नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो  । छनोट समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङ, फोनिज कास्की अध्यक्ष बिनु थापा मगर र  सचिव देविका तामाङ हुनुहुन्थ्यो । सम्मानित हुन लागेका २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफ।एमबाट प्राविधिकका रुपमा काम गरी सञ्चार क्षेत्रमा प्रवेश गर्नुभएका गुरुङ एफएम रेडियो हुदै अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आउनुभएको छ ।  हाल उहाँ समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस)सँग आवद्ध हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ कास्कीमा सहसचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव, र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव हुनुहुन्छ । उहाँ यसअघि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट सम्मानित भईसक्नुभएको छ ।

नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग  (एनपिएल)  क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ ।   फ्रेन्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरुका साथै निजी क्षेत्रबाट करोडौं लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि हिमालय महोत्सवका रुपमा दोस्रो प्रतियोगिताको सुरुआत आज सोमबारदेखि हुँदैछ ।    नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने २४ दिनको उक्त प्रतियोगिताको उद्घाटन खेलको सबै टिकट तत्कालै बिक्री हुनु एनपिएल क्रिकेटप्रति अत्यधिक दर्शकको अपार मोहका साथै प्रतियोगिताको अपार प्रतीक्षाको सङ्केत मान्न सकिन्छ ।    यस प्रतियोगितामा गत वर्षको विजेता जनकपुर बोल्डसका साथै उपबिजेता बनेको सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स तथा कर्णाली याक्ससमेत गरी आठवटा टिमको सहभागिता रहेको छ ।   यी सबै टिमका लागि निजी क्षेत्रले उत्साहका साथ ठूलो लगानी गरेको छ । प्रतियोगिता ‘राउण्ड रोबिन’को आधारमा सञ्चालन हुनेछ भने त्यसपछि हुने ‘प्ले अफ’ खेलहरुले प्रतियोगिताको नतिजा निर्धारण गर्नेछ ।   यसपटक एनपिएल क्रिकेटका मार्की खेलाडीहरुमा जनकपुर बोल्डसका आशिफ शेख, सुदूरपश्चिम रोयल्सका दिपेन्द्रसिंह ऐरी, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, चितवन राईनोजका कुशल मल्ल, बिराटनगर किङ्सका सन्दिप लामिछाने, लुम्बिनी लायन्सका रोहित पौडेल र कर्णाली याक्सका सोमपाल कामी रहेका छन् ।   मार्की खेलाडीहरुले जनही २० लाख रुपैयाँको दरले पारिश्रमिक प्रदान गरिंदैछ । टिममा परेका अन्य खेलाडीहरुलाई रु एक लाखदेखि १५ लाखसम्म पारिश्रमिक प्रदान गरिनेछ ।

पोखरा:   आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको संविधान धारा २९४ (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।   प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानले आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताउनुभयो ।   उहाँले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा आयोगलाई थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।   प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिका हक अधिकार संरक्षण तथा सशक्तिकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव पनि दिनुभयो ।   पेश भएको प्रतिवेदन मुख्यमन्त्री मार्फत् गण्डकी प्रदेश सभामा पठाइने बताउँदै भट्टले सदनमा सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारवाहीहरु अझै सबल र सशक्त बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । आदिवासी जनजाति आयोगकी सदस्य रानाले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्दै प्रतिवेदन उपर प्रदेशसभामा आवश्यक छलफल नभएकाले ध्यानाकर्षण गराइदिन प्रदेश प्रमुखसमक्ष अनुरोध गर्नुभयो ।   रानाले मुलुकभरका आदिवासी जनजाति समुदायको इतिहास र संस्कृतिको पहिचान गर्दै उनीहरूको हकहित र अधिकारको संरक्षण, संवद्र्धन गर्न आयोग लागिपरेको बताउनुभयो ।     उहाँले आयोगको गण्डकी प्रदेश कार्यालय स्थापनमा प्रदेश सरकारको सहयोगको अपेक्षा पनि गर्नुभयो । आयोगको प्रतिवेदनमा गत आर्थिक वर्षमा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र हक अधिकारको संरक्षण तथा प्रथा परम्परालगायतका क्षेत्रमा गरिएका कामहरू समावेश छन् । 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पक्राउ पर्नेमा कावासोती नगरपालिका ८ का तरुण दलका क्षेत्रीय सभापति अमित गिरी, अविनाश काफ्ले, कुमार पुलामी र हुप्सेकोट गाउँपालिका १ का कमल खनाल रहेका छन् ।   अध्यक्ष पाण्डेलगायत जनप्रतिनिधिहरूले दर्ता गराएको किटानी जाहेरीको आधारमा उनीहरूलाई शनिबार बिहान ११ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधु नेपालले बताए ।   कावासोतीका गिरी नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय सभापति हुन् । पालिका अध्यक्ष पाण्डे पनि कांग्रेसबाट दोस्रोपटक निर्वाचित पालिका अध्यक्ष हुन् । उनी गाउँपालिका महासंघको अध्यक्ष पनि हुन् ।   यसअघि प्रहरीले हुप्सेकोट प्रहरी चौकीमा आगजनी र तोडफोडमा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिएको थियो । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ ।

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लाफा ग्रुप लिमिटेडका म्यानेजिङ डिरेक्टर तथा समाजसेवी जङ्गबहादुर थापाले कार्यक्रमले नवप्रतिभालाई प्रेरणा दिने भन्दै प्रशंसा गरे ।   सो अवसरमा वडा नं. २६ का सदस्य सुदिप ढुङ्गाना, आजीवन संस्थापक सदस्य चन्द्रमणि पौडेल तथा कराते प्रशिक्षक विनोद नेगी, इन्जिनियर अनिल ढुङ्गानालगायतले शुभकामना दिएका थिए ।   कार्यक्रमका आजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य, महत्त्व तथा प्रतिभा उजागर गर्ने भूमिकामाथि प्रकाश पारे। स्वागत गीत सनम गुरुङले प्रस्तुत गरेका थिए ।   सो अवसरमा गायनतर्फ १४ प्रतिभा छनोट अर्को चरणका लागि छनोट भएका छन् । छनोट भएर सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, अनुष्का पाण्डे, सन्तोष वि.क., सुरज परियार, दीपक सुनार, दीक्षा गुरुङ, शिखा पुलामी र श्याम सुनार आगामी चरणमा प्रवेश गर्न सफल भएका छन् ।   त्यसै गरी नृत्यतर्फ १२ अर्को चरणका लागि छनोट भएका छन् । कृपा वि.क., भीमकुमारी रोका, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, प्रनिशा लामिछाने, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर अर्को चरणका लागि चयन भएका छन् ।   कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजक प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले धन्यवाद व्यक्त गर्दै चयन भएका प्रतिभालाई बधाई तथा आगामी चरणमा शुभकामना दिए ।   उनका अनुसार कास्की आइडल २०८२ प्रतिभाहरूलाई पहिचान, मञ्च र अवसर प्रदान गर्ने यात्रामा निरन्तर अगाडि बढ्ने छ ।