काठमाडौं: चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान जारी भएपछि सोहीअनुसार नै बजेट प्रस्तुत हुँदै आएको छ । यस्तै, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने गरेका छन् । तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना समेत हुने गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका एक सय ३७ स्थानीय तहमध्ये एक सय १३५ वटाले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिको बजेट प्रस्तुत नभएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मधेश प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय दुई वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । सो प्रदेशका ३४ वटा स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन् । मन्त्रालयका अनुसार सप्तरीका डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, छिन्न्मस्ता गाउँपालिका, बलान बिहुल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन् । सिराहाको कल्याणपुर, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, मिथिला नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, हंपसुर नगरपालिका र धनौजी गाउँपालिकाले चालु आवको बजेट सार्वजनिक गरेका छैनन् । महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका, रौतहटको कटहरिया, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिकाले बजेट सार्वजनिक गरेका छैनन् । यस्तै, बाराको महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, विश्रामपुर गाउँपालिका, पर्साको पोखरिया, पकाहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत नगरेको मन्त्रालयको विवरणमा उल्लेख छ । बागमती प्रदेशको धादिङको खनियाबास गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासीको पाल्हीनन्दन गाउँपालिका, रूपन्देहीको कोटहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, दाङको तुल्सीपुर उपमहानगरपालिकाले चालु आवको बजेट प्रस्ुतत नगरेको मन्त्रालयको विवरणमा समावेश छ । कर्णाली प्रदेशअन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिकाले बजेट प्रस्तुत गरेको छैन । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा कुल ९४ दशमलव २९ प्रतिशत तहले बजेट प्रस्तुत गरेको पाइएको छ । यस्तै, पाँच दशमलव ७१ प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । अधिकांश स्थानीय तहमा राजनीतिक सहमति हुन नसक्दा बजेट प्रस्तुत हुन नसकेको पाइएको छ ।
काठमाडौं: नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो । यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राख्नु हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका छन् । आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरू रहेका छन् । स्थायी र पदाधिकारीलाई पनि पनि तीन मिनेटकै समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख गौतमले बताए। सबैले धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गरिने छ । अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताको भूमिका आदिका बारेमा निर्देशन दिने छन् । यस्तै आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो । बोर्डले पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँ हजार ९१६ जना उत्तीर्ण भएको जनाएको छ । त्यस्तै, ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकामा तीन हजार ५४० जना उत्तीर्ण भएका छन् । यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा नौ हजार ४५६ जना उत्तीर्ण भएका छन् । दुई जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ । साथै १६०० र ८१६०१३ डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा हेर्न सकिन्छ ।
कास्की: गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेको थियो । उक्त मितिभित्र हाजिर नभई फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । “गत भदौ २३ र २४ गतेको प्रदर्शन, तोडफोड तथा आगजनीपश्चात् कारागारबाट फरार रहेका विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेका थियौँ । तर सो समयभित्र हाजिर नभएकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खोजतलास सुरु गरिएको हो”, उहाँले भन्नुभयो । पक्राउ परेकाहरूमा जबर्जस्ती करणी मुद्दा र लागुऔषध मुद्दाका १६–१६ जना छन् । चोरी मुद्दाका २५, कर्तव्य ज्यान मुद्दाका आठ, ज्यान मार्ने उद्योगका नौ, अभद्र व्यवहारका चार, सवारीसम्बन्धी, कुटपिट र मानव बेचबिखन मुद्दाका एक–एक जना रहेका प्रहरीले जनाएको छ । जिल्ला कारागारका प्रशासक राजेन्द्र शर्माले प्रदर्शनका क्रममा भागेका सात सय ७३ कैदीबन्दीमध्ये अझै दुई सय बढी फरार रहेका जानकारी दिनुभयो । कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म फर्कन समय दिइएको थियो । तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको हो । उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारले जनाएको छ । प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । कैदीबन्दीको विवरण कम्प्युटर अभिलेखमा भने सुरक्षित छ । त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताउनुभयो ।
पोखरा: पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाई सँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र केजमा हुनेछ । तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणको आयोजना मिति तोकिएसँगै गण्डकी प्रदेशमै पहिलो पटक केज फाइट हुने भएको छ । पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकलाई थप आकर्षकको रुपमा केज फाइट हुने विश्वास लिइएको छ । प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीका अनुसार एमएमए फाइटमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराउने तयारी भएको हो । ‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हुनेछ । हामीले विदेशमा केज फाइट भएको टिभि वा अहिले सोसल मिडियामा हेरिरहेका छौं तर, अब त्यो पोखरामै हेर्न पाइने छ ।’ आगामी पुषको दोस्रो साता लेकसाइडमा हुने प्रतियोगितामा अहिले सम्म विभिन्न राष्ट्रका फाइटरले सहभागिता जनाइ सकेका छन् । नेपालसहित हालसम्म स्पेन, पाकिस्तान, भारत, श्रीलंका लगायतका राष्ट्रको सहभागिता रहेको छ । विश्वभर व्यावसायिक मार्शल आट्र्सका उत्कृष्ट स्वरूपमध्ये एक मानिने एमएमए (मिक्स मार्शल आट्र्स) यसपटक पोखरामै प्रत्यक्ष हेर्न पाउने क्षेत्रले बताए । प्रतियोगितामा प्रवेश निशुल्क गरिएको उनले जानकारी दिए ।
झापा: गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन्। उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौं: आईसीसी टी२० विश्वकपमा छनोट भइसकेको नेपालले घरेलु टोली ओमानविरुद्ध शानदार जित निकालेको छ। आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्समा नेपालसँग पराजित भएपछि ओमानको अपराजित यात्रामा पूर्णविराम लागेको छ। बुधबार भएको खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको हो। योसँगै नेपालले छनोटमा अपराजित यात्रालाई कायम राखेको छ। जितसँगै ४ खेलबाट नेपाल ८ अंक बटुलेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। समान खेलबाट ६ अंक भएको ओमान दोस्रो स्थानमा झरेको छ। ४ खेलबाट ४ अंक भएको युएई तेस्रो छ। नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो। ओमानलाई रोक्न नेपालका लागि गुल्सन झाले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान २ विकेट झारे। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो। ओमानका लागि विनायक शुक्लाले ३२ र मोहम्मद नदिमले २५ रन बनाए। कप्तान जितेन्द्र सिंहले १४ रन बनाए। आर्यन विष्टले ११ रन थपे। त्यसअघि ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा जितेन रामानन्दीको बलमा एलबीडब्लु धरापमा परे। पहिलो विकेटका लागि कुशल र आशिफ शेखले ७.३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। अर्का ओपनर आशिफ शेख २० बलमा २ चौका र १ छक्का सहयोगमा २४ रन बनाउँदा नदिम खानको बलमा बोल्ड आउट भए। गुल्सन झा १० बलमा २ छक्का सहयोगमा १८ रन बनाउँदा क्याच आउट हुन पुगे। १५ बलमा ३ चौका सहयोगमा १६ रन बनाएका मोहम्मद आदिल आलम सुफयान मेहमुदको बलमा क्याच आउट हुन पुगे। कुशल मल्ल ७ रन बनाउँदा नदिम कै बलमा क्याच आउट हुन पुगे। कप्तान रोहित पौडेल १ बलमा नदिम खान कै बलमा बोल्ड आउट भए। नन्दन यादव ९ रन बनाउँदा रन आउट हुन पुगे। अलराउण्डर दिपेन्द्र सिंह ऐरि २ रन बनाउँदा नदिम खानको बलमा एलबीडब्लु धरापमा परे। लोकेश बम शून्य रनमा नै पेभेलियन फर्के। सोमपाल कामी १ रनमा अविजित रहे। ओमानका लागि नदिम खानले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्प्लमा २० रन दिदा ४ विकेट झारे। सुफयान मेहमुद र जितेन रमानन्दीले समान २ विकेट झारे। यसअघि आज नै भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई ३ विकेटले तथा युएईले सामोयालाई ७७ रनले हराएपछि नेपाल र ओमान दुई खेल अघि नै विश्वकपका लागि छनोट भइसकेका छन्।
काठमाडौं: नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुगेको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल लगातार दोस्रो पटक टी(२० विश्वकपको टिकट काट्न सफल भएको हो । नेपालसँगै इस्ट एसिया प्यासिफिक क्वालिफायरको आयोजक टोली ओमानले पनि विश्वकपको यात्रा तय गरेको छ। जारी प्रतियोगितामा नेपाल र ओमानको समान ६ अंक छ । तर नेट रनरेटका आधारमा ओमान अगाडि छ । यस्तोमा बुधबार नै नेपाल र ओमानबीच भिडन्त हुँदैछ । बुधबार भएको खेलमा यूएईले साओमालाई पराजित गरेसँगै नेपाल र ओमानले दुई खेल खेल्नुअघि नै विश्वकप यात्रा तय गरेका हुन् । विश्वकप छनोटको ट्रफी जित्न नेपाल ओमानलाई जित्नै पर्ने दबाबमा छ। बुधबारको प्रतिस्पर्धा ‘डु एण्ड डाइ’ जस्तै भएको भन्दै कप्तान रोहित पौडेलले बताएका हुन्। समूह चरण र सुपर सिक्समा अपराजित रहँदै दुवै टिमले तालिकामा ६–६ अंक जोडेका छन् । रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । कप्तान पौडेलले ट्रफी जित्न ओमानलाई हराउनुपर्ने र त्यसका लागि सबै खेलाडी उत्सकु भएको प्रष्ट पारेका छन् । उनले नेपाली खेलाडीमा ओमानविरुद्ध जित निकाल्ने भोकसमेत रहेको प्रष्ट पारेका छन् । नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो। नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलको थियो। नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो। अब नेपालले भारत र श्रीलंकामा २०२६ मा हुने टी–२० विश्वकप खेल्नेछ।
पोखरा: होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको भन्दै अध्यक्ष सुवेदीले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरे । महोत्सवका विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत टिका लगाउन आउने अपेक्षा गरिएको महोत्सवका संयोजक एवं संघका उपाध्यक्ष गणेशराज पहारीले जानकारी दिए । महोत्सवमा तिहारको महत्व, दिपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी दिइने पनि संयोजक पहारीले बताए । तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको छ । पौने तीन बजे सुरु हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण मिडियाकर्मीलाई संघले अनुरोध गरेको छ । गोर्खा वियर र सोमरसबीले महोत्सवलाई सघाएका छन् । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रबद्र्धन गर्दै छन् । अनलाइन पार्टनरमा रिभेल रहेको छ ।

