पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित उनले आइतबार पदस्थापन समारोहमा उक्त कुरा दोहोर्याएका हुन् । कामना बैंकका पूर्व महाप्रबन्धक एवं पूर्व प्रदेश प्रमुखसमेत रहेका उनको बैंक वित्तीय संस्था, शिक्षा, सामाजिक एवं राजनीतिक क्षेत्रमा राम्रो पहुँच छ । उनले विद्यार्थीमाझ भने, ‘मैले सधैँ भन्दै आउने गरेको छु, यहाँहरुले उत्कृष्ट नतिजा हासिल गर्नुभयो भने बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, शैक्षिक संस्था, कन्सल्ट्यान्सीमा इन्टर्नसिप र तत्पश्चात् जब मिल्नेछ ।’ उनका अनुसार क्याम्पसले ‘पढ्दै कमाउँदै रमाउँदै’ भन्ने अभियान अघि सारेको छ । उनले शिव शक्ति क्याम्पसमा पढिसकेपछि विद्यार्थीलाई स्कलरसिप, जब प्लेसमेन्ट, इन्टर्नसिपलगायतमा कलेजले व्यवस्थापनमा सहजीकरण गर्ने र अझ कमाउन बाहिर जानुनपर्ने वातावरण मिलाउने वाचा गरे । उनले आगामी कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर सुधार, संस्थागत सुशासन, पारदर्शी, आर्थिक अनुशासन र विद्यार्थी हितलाई प्रमुख प्राथमिकता राख्ने प्रतिबद्धता गरे । यस्तै, कलेजलाई क्यूएएमा लैजान आवश्यक प्रक्रियाका लागि अध्ययन सुरु गरिएको बताए । पोखरा–११, फूलबारीस्थित क्याम्पसको १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनले अघिल्लो महिना उनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको थियो । सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा। तुलसी प्रभास खनाल, कृष्णमान श्रेष्ठ र गणेशबहादुर कार्की छन् । सदस्यसचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकतर्फबाट सूर्यप्रसाद घिमिरे र लीलावती पनेरु मनोनीत हुँदा पदेनसदस्यमा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपाने र त्रिवि प्रतिनिधि विकास थापा छन् । नयाँ सञ्चालक समितिलाई प्रमुख निर्वाचन अधिकृत रोहितराज बास्तोलाले पद तथा गोपनीयताको शपथ गराए । सोही अवसरमा नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम गरिएको थियो । बिबिएस र बिएड प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, नवनिर्वाचित अध्यक्ष टुबराज बास्तोला ‘विशाल’, पूर्व अध्यक्षहरु माधवप्रसाद बास्तोला ‘मधु’, दामोदर बास्तोला, क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, पोखरा विश्वविद्यालय सेवा आयोग अध्यक्ष प्राध्यापक तीर्थराज अर्याल, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपानेलगायतले फूलगुच्छा, कापी, कलमसहित स्वागत गरेका थिए । प्रमुख अतिथि वडाध्यक्ष कर्माचार्यले विद्यार्थीलाई अनुशासनमा रहन र आजैका दिनदेखि पढाइलेखाइमा ध्यान दिन सुझाव दिए । क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित समितिलाई बधाई दिनुका साथै नवआगन्तुक विद्यार्थीको स्वागत गरे । कार्यक्रम संचालन निर्वाचन समिति सदस्य अधिवक्ता कमल थापा र निवर्तमान सहायक क्याम्पस प्रमुख रमेश थापाले संयुक्तरुपमा गरे । सो अवसरमा विद्यार्थीहरु सलिना नौवाग, निरुता नौवाग र निरु परियारले आकर्षक नृत्य देखाएका थिए ।
पोखरा: पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वेटरतर्फ बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका अमर परियार द्धितिय तथा बेञ्जनकै इमोन थापाले तृतीय स्थान हाँसिल गरे । वेट्रेसतर्फ डुंगा रेष्टुरेण्टका मोनिका नेपाली प्रथम, मोबु रेष्टुरेण्टका रिकिता पौडेल द्धितिय तथा बेलिफ रेष्टुरेण्टका अश्मि घर्ती मगर तृतीय भइन् । उनीहरुले नगद क्रमश : ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । हल्लनचोकदेखि खहरेचोकसम्म भएको दौड प्रतियोगितामा वेटरतर्फ २० जना वेट्रेसतर्फ ९ जनाले सहभागिता जनाएका थिए । उनीहरुलाई रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले पुरस्कृत गरे । लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा जारी महोत्सव अन्र्तगत सोमबार सडक बहस कार्यक्रम पनि सम्पन्न भएको छ । अम्मटस्थित सडकमै आयोजित बहसमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई र अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटा वक्ताका रुपमा प्रस्तुत हुनुभएको थियो भने सञ्चारकर्मी जमुना वर्षाले मोडरेट गर्नुभएको थियो । रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए । महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्था रहेको छ । महोत्सवमा मंगलबार बिहान अम्मट घाटमा डुंगा दौड प्रतियोगित हुँदैछ ।
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४–२, ४–० को सेटमा पराजित गर्दै उपाधी जिते भने ६५ वर्ष माथि छ्याम्बा ढुन्डुपलाई जोडी बनाएका थापाले ध्रुव गुरुङ र बिदुर विष्टको जोडीलाई ४–१, ४–१ को सटेमा पराजित गर्दै दोहोरो उपाधि आफ्नों नाम गराए । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्स उपाधि प्रदीप खड्का र आयुषमान हजुर घलेको जोडीले जितेको छ । सोमबार भएको फाइनल खेलमा प्रदीप जोडीले नेहाल जंगबहादुर थापा र राजविर प्रधानको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् । ३५ वर्ष माथिको मेन्स डबलमा जितेन्द्र परियार र कुमार अधिकारीको जोडीले उपाधि जिते । फाइनलमा सन्तोष खत्री र भीष्म जंग गुरुङको जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै जितेन्द्र जोडीले सो उपाधि रक्षा गरेको हो । त्यसैगरी ४५ वर्षमाथिको मेन्स डबलतर्फ देव क्षेत्री र हिमाल शाहको जोडी प्रथम भयो । यो जोडीले फाइनल खेलमा रोहित सुनुवार र जोली टार्गेनको जोडीमाथि ६–२, ३–६ र सुपरटाईमा १०–५ को रोचक जित निकालेको हो । ५५ वर्ष माथिको डबल्स उपाधि उत्तमकुमार लामा र जितेन्द्र प्रधानको जोडीले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा बिमलकुमार गुरुङ र हिमाल शाहको जोडीमाथि ४–६, ७–६ र ११–९ को नतिजा निकाल्दै उत्तम जोडीले सो उपाधि रक्षा गरेको हो । सिंगलतर्फ प्रदीप खड्काले प्रितम परियारलाई, आयुषमान हजुर घलेले नेहाल जंगबहादुर थापालाई, करणबहादुर थापाले दर्शिल श्रेष्ठलाई तथा राजबिर प्रधानले उगेन शेर्पालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनाए । ३५ वर्ष माथिको मेन्स सिंगलमा जितेन्द्र परियारले अनिल शाहीलाई, भिष्मजंग गुरुङले सोम रानालाई, प्रेम नोर्गुले विकास खड्कालाई तथा सन्तोष खत्रीले नविन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए । प्रतियोगिताका अन्य खेलहरु जारी रहेको अधिकारीले बताए ।
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन सोमबार सम्म आईपुग्दा ११ करोड २० लाखको कारोबार गर्न सफल भएको र ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका प्रचार प्रसार संयोजक ध्रुववावु भटृराईले जानकारी दिए । सोमबार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउमा जम्मा गरि बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राखेका थिए । प्रमुख आचार्यले जेन्जी आन्दोलनका कारण व्यवसायीहरुमा पुगेको क्षती र मनोबल गिरेको अवस्थालाई ध्यानमा राख्दै आर्थीक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा हामी चिन्तनशिल हुनुपर्नेमा जोड दिएका थिए । पोखरा आसपासमा संचालन हुने महोत्सवलाई नजुधाउने गरि महानगरले सहजिकरण गर्दै आएको उल्लेख गर्दै साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनासतालमा वाटर स्र्पोर्टस सञ्चालन गर्ने योजना रहेको भएपनि ३ वर्षदेखी उक्त योजना अगाडी वढ्न नसकेको बताए । उनले उक्त योजना सञ्चालन गर्न ढिला भईसकेको वताउँदै यसलाई अगाडी वढाउनका लागी स्थानियहरुको साथ सहयोगको अपेक्षा व्यक्त गरे । प्रमुख आचार्यले पोखरा मुग्लीन सडक निर्माणको अन्तिम चरणमा रहेको वताउँदै यस पश्चात पोखरा–लेखनाथको दुरी घट्ने बताए । उनले लेखनाथको विकासमा महानगरको तर्फबाट कुनै विभेद नगरिएको बताउँदै बरु विकासका ठुला योजनाहरुलाई लेखनाथमा केन्द्रीत गरिएको ले अबका दिनमा लेखनाथवासीले आफुहरु मर्कामा परेको अनुभुति गर्न नपर्ने बताए । कार्यक्रमा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राखिन् साथै रुपा र पोखराको एकिकृत विकसका लागि योजना बनाउनु पर्ने सुझाव राखेका थिए । सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ वडाअध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्था र उद्योग ब्यवसायि वसेर एकिकृत विकासका योजना वनाउन आग्रह गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै भव्य र सभ्य दर्शकको साथ मिलेको, उत्पादक र उपभोक्तmा लाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको बताउदै प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न सवैमा आग्रह गर्दै सम्पूर्ण लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जात जातिहरु, आमारमहिला समूहहरू र समग्रमा सम्पुर्ण लेखनाथवासिहरुको एकताका कारण महोत्सव सफलता भएको बताईन । नौ करोड बरावरको आर्थीक कारोवार दुई लाख ५० हजार दर्शक भित्राउने लक्ष्य रहेको भए पनि महोत्सवले सोचेभन्दा वढि सफलता हात पारेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघको पराजुलीको दावि छ । महोत्सव समापनका दिन किनमेल गर्न कै लागि दर्शकहरु आएको र अन्य दिनको तुलनामा स्टलमा राखिएका सामान केही सस्तो भएपछि किनमेल गर्ने दर्शकको संख्यामा वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको अनुमान गरिएको छ भने अन्य वर्षका महोत्सवले भन्दा यस वर्षको महोत्सवले सोचे भन्दा बढी सफल रहेको वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाको दावी रहेको छ । कार्यक्रममा विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई कार्यक्रममा सम्मान गरीएको थियो । महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने भएको छ । संघका अध्यक्ष जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले गरेका थिए ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान पर्व तमु ल्होछारको अवसर पारेर पोखरामा आयोजना गरेको तमु ल्होछार महोत्सव २०८२ मा प्रमुख अतिथि भट्टले सर्प वर्ग (सप्री ल्हो) समाप्त भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो । ‘सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् । भाषा, संस्कृति, भेषभूषा र संस्कार आआफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । नेपालको ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । ‘तमु जाती नेपालको गण्डक क्षेत्रमा बसोबास गर्ने एक मुलवासी भूमिपुत्र मंगोल वर्णका समुदाय हुन्। ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको छ । यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ ।’ उहाँले भन्नुभयो – ‘र्यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवा युवतीहरु पातालिँदै गएका छन् । अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।’ भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिनारी र मौलिक सभ्यताका आधार स्तम्भ रहेको भन्दै उहाँले यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व रहेको बताउनुभयो । ‘जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । संघीयताको रक्षा गर्दै संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो ।’ उहाँले भन्नुभयो । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्म तमु, गण्डकी प्रदेशसभा सदस्य सरस्वती तमु लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जुनाकुमारी तमुले गर्नुभएको थियो ।
मुस्ताङ: यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हाईब्रिड स्याउको बीउ छरेर यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरी उत्पादनतर्फ जोड दिइएको हो । हालसम्म तन्तु प्रजनन प्रविधिबाट नेपालमा उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादन भएको छैन । यहाँको केन्द्रले हाईब्रिड स्याउको रुट स्टक बिरुवा उत्पादनको परीक्षणका लागि बिरुवा उत्पादनतर्फ जोड दिन थालेको हो । नेपालका विभिन्न स्थानमा विभिन्न फलफूलको बिरुवा उत्पादनका लागि तन्तु प्रजनन प्रयोगशाला प्रयोगमा रहेपनि यहाँको केन्द्रले यसप्रकारको हाईब्रिड स्याउको रुट स्टक स्याउका बिरुवा उत्पादनका लागि प्रयोगशालामार्फत एम नाईन रुट स्टक बिरुवाका लागि बीउ उत्पादन गर्न थालेको केन्द्रका जैविक प्रविधि प्राविधिक अधिकृत अशोक लिम्बूले जानकारी दिनुभयो । यसप्रकारको हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न नेपालका अन्य तन्तु प्रजनन प्रयोगशालामा प्रयास गरिएको भए पनि यहाँको केन्द्रको तुलनामा प्रशारण र विकास गर्न नसकेको उहाँको भनाइ छ । यहाँस्थित मुस्ताङको घरपझोङ—२ मार्फास्थित केन्द्रमा २०७८ मा तन्तु प्रजनन प्रयोगशाला प्रविधि स्थापना भएको थियो । स्थापनाको पहिलो तीन वर्ष लगातार यहाँ तन्तु प्रजनन प्रयोगशालामार्फत हाईब्रिड स्याउको प्रविधि प्रशारणतर्फ काम गर्दैआइरहेको केन्द्रका जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गर्नुभयो । त्यस अवधिमा केन्द्रले प्रविधिको उपयोग गरी विभिन्न प्रोटोकलको विकास गरिहेको उहाँको भनाइ छ । यसका अलावा यहाँको केन्द्रले तन्तु प्रजनन प्रयोगशाला प्रविधिलाई पछ्याउँदै फिल्डमा पनि दिशानिर्देशको रुपमा काम गर्दै हाईब्रिड स्याउ बिरुवा उत्पादनको व्यवस्थापनमा जान सकिने निष्कर्षका साथ प्रयोगशालामार्फत बीउ उत्पादन गरी स्याउका एम नाईन रुट स्टक बिरुवा उत्पादनतर्फ अग्रसरता देखाएको अधिकृत लिम्बूको भनाइ छ । यहाँस्थित शीतोष्ण बागवानी विकास केन्द्रले यसवर्ष केन्द्रको नाममा रहेको मुस्ताङको घाँसामा एक रोपनी र केन्द्रको मार्फास्थित एक रोपनी जग्गामा तन्तु प्रजजन प्रयोगशालामा प्रशारण भएका करिब ६००० हाईब्रिड एम नाईन रुट स्टक स्याउका कलमी बिरुवा उत्पादन गर्ने गरी प्रक्रिया अघि बढाइएको अधिकृत लिम्बूले जानकारी दिनुभयो । यसैगरी केन्द्रले आव २०८०÷८१ मा तन्तु प्रजनन प्रविधि प्रयोगशालाबाट तीन सय बिरुवा उत्पादन भइसकेको र यो परीक्षणको रुपमा रहेको जानकारी दिनुभयो । यसका लागि किसानलाई वितरण गर्नुअघि केन्द्रले पर्याप्त अध्ययन अनुसन्धान गर्ने तयारी गरेको बताउनुभयो । केन्द्रले चालु आर्थिक वर्षभित्रमा यसको विस्तृत अध्ययन गरेर खरिदकर्ता किसानलाई उपलब्ध गराउने तयारी गरेको जैविक प्रविधि प्राविधिक लिम्बूले उल्लेख गर्नुभयो । केन्द्रले उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा उत्पादन गर्नका लागि आवश्यक पूर्वाधार नहुुँदा सीमित मात्रामा बिरुवा उत्पादन गर्न थालेको छ । केन्द्रमा पर्याप्त मात्रामा सिसा घर ९हाईटेक० भएमा तन्तु प्रजनन प्रविधि प्रयोगशालामाबाट छोटो समयमा ५० हजारदेखि ६० हजारसम्म हाईब्रिड स्याउका रुट स्टक बिरुवा उत्पादन गर्न सकिने सम्भावना रहेको अधिकृत लिम्बूले बताउनुभयो । यसवर्षको दोस्रो फेजमा यहाँ जेठ महिनाबाट प्रयोगशालामा बिरुवा उत्पादनका लागि विभिन्न प्रोटोकल अपनाएर बीउ उत्पादन गरी रोपण गर्न थालिएको हो । मुस्ताङमा पहिलो पटक परीक्षणका रुपमा आफ्नो उत्पादन सुरु गरेको केन्द्रले यहाँको उच्च उचाई, मध्यम उचाई र न्यून उचाईको स्थानमा लगेर परीक्षण आरम्भ गर्ने तयारी गरिएको हो । केन्द्रले यसअघि उत्पादन गरेका एम नाईन रुट स्टक बिरुवामा गाला,फुजी, डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउलाई रुट स्टक गरिसकेको र त्यसको परीक्षण हुन बाँकी रहेको अधिकृत लिम्बूले उल्लेख गर्नुभयो । यहाँस्थित केन्द्रमा रहेको यस प्रकारको तन्तु प्रजनन प्रविधि प्रयोगशाला ९ल्याबमा एम नाईन रुट स्टकको एक अंशलाई ल्याबमा राख्ने र त्यसपछि विभिन्न विधि अपनाएर बिरुवाका लागि बिउ उत्पादन गर्ने गरिन्छ । यसप्रकारको प्रविधिबाट बृहत रुपमा तन्तु प्रजनन प्रविधिको प्रशारण गरी गुणस्तरीय तथा आनुवशिंक रुपमा चुस्त एकैनासको बिरुवा उत्पादन गर्न सकिन्छ । जिल्लामा विसं २०७० पछि उच्चघनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको हो । थोरै क्षेत्रफलमा धेरै र छोटो समयमा सोचे अनुरुपमा उत्पादन दिने भएकाले यहाँका किसान यसप्रकारको हाईब्रिड स्याउ खेतीतर्फको आकर्षण बढेको हो । यहाँ ईटालीबाट आयात गरिएका हाईब्रिड स्याउलाई सङ्घीय र प्रादेशिक सरकारले अनुदान सहुलियतमा वितरण गरेपछि मुस्ताङमा हाईब्रिडखेती विस्तार भएको हो । केन्द्रले आफ्नो प्रविधिको प्रशारण गरी हाईब्रिड स्याउका बिरुवा उत्पादन गरेमा हाईब्रिड स्याउका बिरुवा भनेको बेलामा सस्तो मूल्यमा उपलब्ध हुनसक्ने सुनिश्चितता रहेको केन्द्रले जनाएको छ । ईटालीबाट आयात गरिएको हाईब्रिड एउँटै रुट स्टक बिरुवको एक हजार बढी मूल्य पर्छ । यहाँ उत्पादन हुने एक नाईन रुट स्टक बिरुवमा विभिन्न प्रजातीका स्याउको कलमी गर्न सकिने छ । मुस्ताङमा ८३७ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । जसमध्ये ५७२ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिएको छ । यहाँको पाँच पालिकामा गरी ६२ हेक्टर क्षेत्रफलमा २५० मेट्रिक टन हाईब्रिड स्याउ उत्पादन भएको थियो ।
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिँउदमा गाउँ नजिकैको खर्कमा झर्ने सात वर्षको बालक हुँदादेखिको नरेन्द्रको समय तालिका अझै फेरिएको छैन् । “बिहान उठेदेखि राति अबेरसम्म भेडाबाख्राको स्याहार सुसारमा व्यस्त हुने मैले घर नजिकै रहेको जनकल्याण माविमा पढ्नका लागि जिन्दगीमा कहिल्यै पनि पाइला टेकिन,” उहाँले भन्नुभयो “बाल्यकालमा घरपरिवारको बाध्यता र त्यतिबेलाको परिवेशका कारण पढ्न नपाउँदा अहिले पछुतो लागेको छ । घरको मुख्य आम्दानीको स्रोत भेडापालनमा बाल्यअवस्था, तन्नेरी र बुढेशकाल बिताएका नरेन्द्रको जीवनका सबैभन्दा रमाइलो, उत्साहजनक जोस र जाँगर बुकीमै हिउँसँगै पग्लिएर गयो । उहाँसँग केबल गोठमा घामपानी, असिना, हिउँमा कठिन तरिकाले रमाएका र वन्यजन्तुले झम्टिएको अनुभवहरू छन् । बालापनको रमाइलो अनुभव भनेकै भेडाका बथानसँग बिताएका क्षण सम्झिने नरेन्द्र सिकिस्त बिरामी हँुदासमेत बुकी छोड्नुभएन् । लेकाली क्षेत्रको चरन क्षेत्रलाई बुकी र गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । पुख्यौली पेसालाई निरन्तरता दिएका नरेन्द्रको गोठमा अहिले २५ वटामात्रै भेडा, पाठापाठी छन् । तन्नेरी अवस्थामा तीन सयसम्म भेडापालेका उहाँले अहिले गोठालाको अभाव हुन थालेपछि सङ्ख्या घटाउँदै लगेको बताउनुहुन्छ । “एक्लै भेडापालन गर्न मुस्किल छ, जीवन नै बुकीमा बित्यो, अब घरखर्च चलाउनै मात्रै पाल्छु,” उहाँले भन्नुभयो “अनपढ भएकाले भेडाको गणना, मूल्य र हरहिसाब राख्न अलमल हुँदा दुःख भयो ।” फर्काउन मिल्ने भए पुनःबलापनमा फर्किने रहर रहेको बताउँदै स्कुलमा गएर पढ्न नपाएको भेडाको जस्तै जीवन भएको अनुभव सुनाउनुभयो । हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने अनुभव सुनाउनुभयो । जाडो याममा हिउँ पर्न थालेपछि गोठ लिएर गाउँमा झरेका नरेन्द्र बर्खाको समयमा भीषण वर्षामा पनि बुकीमै बिताउनुहुन्छ । वर्षामा वन्यजन्तुको आक्रमणबाट बचाएर पाठापाठी हुर्काउन बढी समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले बर्सेनि भेडाका बथानबाट वन्यजन्तुले गर्ने नोक्सानी जोगाउन कुकुरलाई सँगै राख्नुहुन्छ । भोटे कुकुरले आफ्नो र जङ्गली जनावरबाट भेडालाई जोगाउन मद्दत गरेको बताउनुभयो । “चितुवाले झम्टिँदा प्रतिकार गरेर मृत्युको मुखबाट बचेको छु,” उहाँले भन्नुभयो “गोठमा बस्न पनि सजिलो छैन ।” नरेन्द्र जस्तै गुर्जाका ६८ वर्षीय गोरे छन्त्याले पनि पाँच दशकभन्दा बढी भेडाको बथानसँगै गोठमा बिताउनुभयो । ९ वर्षको उमेरमा बुकीतिर उकालो लागेका गोरेलाई अहिले पनि भेडाको बथानले घेर्न गर्दछ । उमेर अनुसार शरिरले आराम मागेपनि गोरेको दैनिकी तन्नेरीको भन्दा कम छैन । उहाँले वार्षिक रु १० लाखको भेडा नै बेचेर कमाउने बताउनुभयो । गुर्जामा करिब २० घरपरिवारले व्यावसायिक भेडापालन गरेका छन् । युवापुस्ता वैदेशिक रोजगारीका लागि पलायन हुन थालेपछि भेडागोठ बुढापाकाले धानेका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । भेडा बेच्न बजार जानुपर्ने बाध्यता छैन् । गाउँमा विभिन्न पूजाआजामा बलि दिन र मासुका लागि भेडीगोठ नै पुग्ने गरेका छन् । परम्परागतरुपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलेसमेत अनुदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले पनि भेडापालन किसानलाई लक्षित गरेर विभिन्न रोगविरुद्धको खोप अभियान, औषधि उपचार, गोठाला बस्नका लागि त्रिपाल, मोबाइल चार्जका लागि सोलार र गोठ सुधारका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । गोठलाहरुको नियमित स्वास्थ्य परीक्षणमासमेत जोड्ने गरिएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङमा परम्परागत घुम्ती गोठमा परम्परागत हिसाबले पशुपालन गर्ने चलन छ ।
पोखराः चलचित्र पत्रकार संघ नेपाल, कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको छैटौं जिल्ला अधिवेशन तथा सातौ साधारण सभाबाट बस्यालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ सर्वसम्मत भए । यस्तै सदस्यहरुमा प्रेम थापा, राकेश गुरुङ, विनिता सुनार, सुरज थापामगर, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भए । यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा आशिष पुरी र मिलन थापा सर्वसम्मत चयन भए ।
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । विसं २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो । विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या नौ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । पुरुष मतदाताको सङ्ख्या पाँच लाख २२ हजार ५५२, महिला मतदाताको सङ्ख्या तीन लाख ९२ हजार ५५२ र अन्य मतदाताको सङ्ख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदातास्थलमा २३ हजार ११२ मतदात केन्द्र निर्धारण गरिएको छ । यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या आठ सय ८५ वृद्धि भएको छ ।

