पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका तीजको अवसरमा आयोजित महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकमार थापाले गरे । उद्घाटन समारोहमा उनले संस्कृति संरक्षणमा यस्ता महोत्सव महत्त्वपूर्ण हुने बताए । महोत्सवमा प्रदेश सांसद प्रकाश बराल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानांग, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कलाकार हरिदेवी कोइराला, महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्लले सभ्य र अनुशासित रुपले तीज मनाउनुपर्नेमा जोड दिए । टेवान अध्यक्ष शोभा न्यौपाने पाण्डेले चौरमा बसेर तीज गीत गाउने परम्परा हराउँदै गएको अवस्थामा उक्त परम्पराको पुनर्जागरणका लागि पनि महोत्सव आयोजना गरिएको बताइन् । महासचिव शोभा अधिकारी पौडेलले पर्वलाई महिला सशक्तीकरणसँग जोड्नु महोत्सवको मुख्य उद्देश्य भएको बताइन् । उद्घाटनअघि हल्लनचोकबाट बाजागाजा सहित झाँकी ¥याली सुरु भएर बाराहीघाटमा आएर समारोहमा परिणत भएको थियो । महोत्सवमा मंगलबारदेखि तीज गीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनस“ग जोडेर तीज गीत प्रस्तुत गरे । पोखराको फेवा ताल संरक्षण, पर्यटकीयस्थलको प्रवद्र्धन, पर्यटनमा महिला सहभागिता, महिला सशक्तीकरण लगायत विषय प्रतियोगी समूहले गीतमार्फत उठान गरेका थिए । महोत्सव संयोजक शान्ता सुवेदी तिमिल्सिनाका अनुसार बुधबार पनि तीज गीत प्रतियोगिताले निरन्तरता पाउने छ । बुधबार रस्साकसी, घैंटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) हुनेछन् । तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्यलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताइन् । यो महोत्सवले परम्परागत वेशभूषा, सामूहिक नृत्य, लोकसंगीत र परिकारहरूको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टेवानकी निवर्तमान अध्यक्ष कमला गिरीले बताइन् । उनले भनिन्, ‘सांस्कृतिक संरक्षण, स्थानीय हस्तकला, खानपान र पर्यटन प्रवद्र्धनका नयाँ ढोकाहरू खुल्नेछन् ।’ महोत्सवकै अवसरमा सेल रोटी पकाउने प्रतियोगिता पनि राखिएको छ ।
पोखरा: पोखराको लामाचौरमा सम्पन्न तीज महोत्सवमा आयोजित रारा लामाचौर कप खुल्ला पुरुष भलिबलको उपाधि स्याङ्जाको ढुंगेदेउराली क्लबले उपाधि जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो । उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएको भए पनि स्याङ्जा पौवेगौडेको ढुंगेदेउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा कब्जा जमाउन सफल भएको हो । चौथो सेट २४–२४ को रोमाञ्चक मोडमा पुगेकोमा सञ्जुविक्रम शाह कप्तानीको ढुंगेदेउरालीले विपक्षीलाई रोकेको थियो । पुरुषततर्फ ढुंगेदेउरालीका सफल बिक सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार पुरस्कार पाए । उनी फाइनलमा म्याच अफ दि म्याच पनि बने । विधागत पुरस्कारमा ढुंगेदेउरालीले नै वर्चश्व जमाएको छ । बेस्ट स्पाइकर सञ्जुविक्रम शाह, बेस्ट डिफेन्डर राजन दर्लामी, बेस्ट सर्भर किसान गुरुङ, इमर्जिङ प्लेयर सुगम सुनार र बेस्ट कोच विक्रम नेपाली भए । जिएम समाजका विवश आले बेस्ट सेटर र हिमाल सुनारी बेस्ट ब्लकर घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । यसैगरी, लामाचौर कप अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको उपाधि शान्ता माविले जितेको छ । फाइनलमा टप्स माविलाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित नगद १ लाख जितेको हो । उपविजेताले ५० हजार पुरस्कार प्राप्त गरेको छ । टप्सले पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । तर शान्ताले एकाएक रणनीतिक खेल खेल्दै २२–२५, २५–६, २५–१३ र २५–१४ सेटमा उपाधि जितेको हो । बेस्ट प्लेयर शान्तकी पृथ्वी गाह बनिन् । शान्तकै अपेक्षा बिक बेस्ट स्पाइकर, अस्तर राई बेस्ट सर्भर, प्रमिला नेपाली बेस्ट ब्लकर, एलिना गुरुङ बेस्ट लिबेरो, टप्सकी एलिजा आले बेस्ट सेटर घोषित भए । बेस्ट कोच शान्तका दिनेश चौधरी र राइजिङ प्लेयर पोखरा युनाइेटेडकी यमुना थापा बने । नवआदर्शले संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत लामाचौर कप आयोजना गरेको हो । सो अवसरमा खेलकुदसहित विविध सांस्कृतिक एवं सांगीतिक कार्यक्रम भएको अध्यक्ष इ।दिनेश भण्डारीले बताए ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बुधबार गणेश चतुर्थीको अवसरमा पन्चमुखि गणेशको पुजा आराधनाको लागि अन्नपूर्ण केवलकारबाट दर्शनको लागि आउन जान पर्यटकहरुलाई साविकको भाडामा ५० प्रतिशत छुट कायम गरिएको हो । यस्तै केवलकार बिहान ७ बजे देखि सञ्चालनमा ल्याउने भएको छ । साविक नेपाली नागरिकको हकमा सात सयको छुटपछि ३५० तथा भारतीय पर्यटकको एक हजारको छुटमा पाँच सय कायम गरिएको कम्पनीले जनाएको छ । साथै प्रत्येक हप्ताको सोमबार सराङकोटमा साँझ ६ बजे हुने सन्ध्या आरतिको लागि नेपाली भक्तजनहरुलाई साँझ ४ बजेपछि सात सयको टिकट दरलाई २५० रुपैयाँमा आउन जानको लागि सुविधा उपलव्ध गराइएको कम्पनीले जनाएको छ । सन्ध्या आरति नसकिएसम्म केवलकार बन्द रहने छैन । त्यसैगरी प्रत्येक हप्ताको मंगलबार पन्चमुखि गणेशको दर्शन गर्न जाने भक्तजनलाई सात सयको टिकट दरमा २० प्रतिशतका दरले छुट उपलव्ध गराउँदै आएको छ । केवलकारको यात्राको अवधि केवल नौ मिनेटमा लेकसाइडको सेदीबगरदेखि सराङकोटसम्म पुग्न सकिनेछ । केवलकारले लेकसाइडको क्षेत्रबाट केवलकारमा आउन जानको लागि सबै पर्यटकहरुलाई निःशुल्क यातायातको सुविधा उपलव्ध गराउँदै आएको विज्ञप्तिमा जनाइएको छ ।
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने छन् भने भरतपुर–१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको हो । प्रहरी नायब उपरीक्षक अशोक थापाले बालक लामिछानेसँगै पौडी खेल्न गएका भरतपुर-१५ फूलबारीका १३ वर्षीय ढकालको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सोमबहादुर बोटेले बालक ढकालको उद्धार गरेका थिए । प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता बालकको खोजतलास भइरहेको छ, फेला पार्न सकिएको छैन ।”
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। सोही मान्यताअनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको परेकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ, तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले सुनाए। “निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उनले भने,“‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ।” स्वास्थ्य ठीक नहुनेले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने उनको भनाइ छ। श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका पूर्व प्रमुखसमेत रहेका उनले सुनाए। “अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरूले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”, प्राडा गौतमले भने। नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा हाल केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्को भनाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराईको भनाइ छ। व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन्। तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ। तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रातोयराज नेपालले सुनाए। उज्यालो नहुँदै दर खाइसक्नुपर्ने यो व्रत सक्नेले निराहार बस्ने भएकाले सोमबार व्रतालुले मीठा मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ। महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन्। पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ। एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृति बनाइरहेको धेरैले बताउने गरेका छन्। यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीको जोड छ। एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा यसका लागि तोकिएको छ। सोमबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।
काठमाडौं: हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्नुहुने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ः०० बजेदेखि नै चार ढोका खुला भएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिनुभयो । चार ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यकपर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्थालगायतका लागि पनि काम भएको उहाँले बताउनुभयो । पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लामको व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । दोस्रो लाम मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । तेस्रो लाम पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । चौथो लाम तिलगङ्गा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिनुभयो । दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ः०० बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उहाँले सुनाउनुभयो । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । श्रीपशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ । पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा ९मन्दिर प्राङ्गणबाहेक० अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो । भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको पनि उहाँले सुनाउनुभयो । बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ । मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवको चौथो दिनदेखि सुरु प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका उप सभामुख विना कुमारी थापाले गरेकी थिईन । यसरि हुन्छ प्रतिस्पर्धा आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीका अनुसार प्रतियोगितामा सहभागीहरुको एक समुहमा पाँच जना रहनेछन् । सहभागी प्रतियोगिलाई आयोजकले एक पाथी धान दिनेछ । त्यसपछि त्यो धानलाई ढिकिमा लगेर कुट्नु पर्नेछ । कुटेको धानबाट भुस र चामल छुट्याएर चामललाई जातोमा लगेर पिठो बनाउनुपर्नेछ । यस्का लागि सहभागिले २५ मिनेटको समय पाउनेछन् । आफुले पाएको समयमा जुन समुहले धेरै पिठो बनाउछ उही समुह बिजेता हुने अध्यक्ष अधिकारीले जानकारी दिए । बिजेता समुहले १२ हजार ५५५, द्धितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए । यसै गरि महोत्सव अन्र्तगत मंगलबारदेखि खुल्ला एकल नृत्य प्रतियोगिता र बुधबार छेलोहान्ने प्रतियोगिता हुने आयोजक केन्द्रका सचिव दृर्गा प्रसाद अधिकारीले जानकारी दिए । एकल नृत्य र छेलोहान्ने प्रतियोगिताका बिजेताहरुले समान १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने छन् । महोत्सव अन्र्तगत आईतबारदेखि सुरु तिज गित प्रतियोगिता जारी रहेको छ । सोमबारसम्म ११ टोलीले भाग लिएको प्रतियोगिता बुधबारसम्म जारी रहनेछ । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार ५५५, द्घितियले २० हजार ५५५, तृतियले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा र नृत्यले तीन हजार ५५५ नगद पुरस्कार पाउनेछन् । १० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल, वाल उद्यान रहेका छन् । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ् । ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

