काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजनीतिक दलको बैठकले नेपाल सरकारबाट सङ्घीय संसदमा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो । सत्तापक्षीय दलको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा प्रमुुख दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भएका २९ वर्षीय राजेश बराम रहेका छन् । राजेशले ग्रिस पठाइदिन्छु भन्दै चार जना पीडितहरूबाट ३७ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बरामलाई काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट आइतबार पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
काठमाडौँ: सत्तापक्षीय दलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् । आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरूले जवाफ दिएर बजेट पारित गर्ने तयारी छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।
रोल्पाको थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको उपचारको क्रममा निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ । रोल्पाको उवा निवासी घर्तीमगरको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको थियो । वडाध्यक्षको निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको पालिका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए । उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले आफना सदस्यहरुको लागि आयोजना गरेको हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ । आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित सिप सिकै र आत्मनिर्भर बनौ भन्ने नारा सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि सुरु दुर्ई दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन । तालिम पछि सिकेका कुराहरु व्यवहारमा उत्तार्ने गरि आफुहरुले काम गर्ने रिमालले बताईन । तालिममा सहभागीहरुलाई लक्ष्मी पौडेलले सहजीकरण गरेकी थिईन् । तालिम समापन गदै पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले वडाले पहिलोपटक यो तालिम संचालन गरेको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए । वडामा यो नयाँ तालिम रहेकाले तालिम पछि यस्लाई व्यापारीक प्रयोजनका लागि उत्पादन गरि ब्यवसायी सगै आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गरेका थिए । वडा सदस्य शोभा गुरुङले तालिम पछि अव आफैले हर्पिक, फिनेल र झोल साबुन उत्पादन गरि बेच्न आग्रह गरेकी थिईन । यी दैनिक आवश्यकताकाका समग्री रहेकाले यस्को बजार समेत राम्रो रहेको भनाई उनको थियो । समापन समारोहमा सहभागीका तर्फबाट नीता पोखरेल र निर्मला तिवारीले आफनो दैनिक जिवनमा उत्पादन हुने बस्तु रहेकाले अव घरमै यस्को उत्पादन गर्ने बताएका थिए । आफुहरुले हलसम्म लिएका तालिम मध्ये यो तालिम वयवहारीक र आवश्यक रहेको उनीहरुले बताएका थिए ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो । हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए । हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पदमार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो । अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन् । पदमार्गको पहिचान गरी पदमार्ग, आश्रयस्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पदमार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए। उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए । “यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे । यस वर्ष आरोही पदमार्ग हुँदै आधार शिविर पुगेका छन् । अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ”, गुरुङले भने । अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुमखोला, सन्धीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए। उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बासबस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन् । यो याममा छ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए । विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आउनुभएका माइकल परियारले बताए । “दुईदिनको यात्रापछि यहाँ पुग्न सकिने यस पदमार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ । हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ”, उनले भने । पदमार्गको प्रवेशविन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई–दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गरेका अजित सेञ्चुरीले बताए। पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले उल्लेख गरे। पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यावसायी बताउँछन् । हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौँ झरना र रमणीय हिमाली भूबनोट यस पदमार्गका मुख्य आकर्षण हुन् । पर्यटकीय सम्भावना भएर पनि ओझेलामा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीयवासी बताउँछन् ।
ढोरपाटन: बागलुङको काठेखोला गाउँपालिकामा ४७९ घर बाढीपहिराको उच्च जोखिममा परेका छन्। सडक छेउ र खोला किनारका घर बाढीपहिराको उच्च जोखिममा परेका हुन्। सबैभन्दा बढी काठेखोला९७ रेशमा र वडा नम्बर ६ तल्लो बिहुँका घर जोखिममा परेका गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए। उनका अनुसार वडा नं ७ रेशमा १२६ र वडा नं ६ तल्लो बिहुँमा नौ घर बाढीपहिरोको जोखिममा परेका छन्। रेशका ६० घर पहिरो जाने भिरालो जमिनमा रहेका र ६६ वटा बस्तीको छेउछाउ मोटरबाटोका कारण जोखिममा रहेको विकले बताए। तल्लो बिहुँका नौ वटा घर भिरालो जमिनमा रहेकाले जोखिममा परेका उनले जानकारी दिए। आठ वटा वडा रहेको काठेखोलाका धेरैजसो वडाका घर जोखिममा परेका छन्। वडा नं २ भीमापोखरामा ५२ घर पहिरो जाने भिरालो जमिनमा रहेका र पाँच मोटरबाटो निर्माणका कारण जोखिममा परेका विकले बताए। उनका अनुसार वडा नं ३ धम्जामा एक घर खोलाको जोखिममा, ४६ भिरालो जमिनमा र २१ वटा सडक छेउका घर जोखिममा परेको छ। वडा नं ४ तङ्ग्राममा १३ घर भिरालो जमिनमा रहेका र २२ वटा सडक छेउका पहिरोको जोखिममा छन्। वडा नं ५ माथिल्लो बिहुँमा १४ घर भिरालो जमिनमा रहेका र ५८ सडक निर्माणपछि पहिराको जोखिममा रहेका प्रवक्ता विकले बताए। वडा नं ८ लेखानीमा ५८ वटा भिरालो जमिनमा रहेका घर जोखिममा रहेका छन्। उहाँका अनुसार खोला किनारमा रहेका ३०, कमजोर भिरालो जमिनमा रहेका २७७ र मोटरबाटोको छेउमा रहेका १७२ घर पहिराको उच्च जोखिममा छन्। विपद् व्यवस्थापन समिति काठेखोलाले जोखिममा रहेका घरको तथ्याङ्क सङ्कलन गरेर नागरिकलाई सचेत बनाइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए। जोखिममा रहेका परिवारलाई पुनःस्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उनको भनाइ छ। ‘भौगोलिक अवस्था र कमजोर जमिनका कारण बर्सेनि वर्षात्को समयमा घरबस्ती बाढी र पहिराले बगाउने समस्या छ। बाढी पहिरोबाट नागरिकको ज्यान बचाउन सचेत बनाएका छौँ’, उनले भने, ‘ठूलो वर्षा भएको समयमा जोखिममा रहेका घरमा नबस्न आग्रह गरेका छौँ । क्षति भएमा यति धेरै घर बनाउन पालिकाको स्रोतले नसक्ने भएकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर सुरक्षित स्थानमा व्यवस्थापन गर्ने पहल गरिरहेका छौँ।’
काठमाडौं: इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो । तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ । कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल–अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गर्नुभयो । उहाँका अनुसार, अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदमहरू अपनाउँदै समयमै सैनिक र कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरिएको थियो । यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण नभएको पुष्टि गरिएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) ले यस मिसाइल अभियानको जिम्मेवारी लिँदै उक्त कार्यलाई ‘अभिनन्दनको विजय’ नाम दिएको छ । उनीहरूले इराक र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरिएको बताएका छन् । आइआरजीसीले अल उदीद अड्डालाई ‘पश्चिम एसियामा अमेरिकी वायुसेनाको मुख्य केन्द्र’ को रूपमा उल्लेख गरेको छ । इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ । यो प्रहार अमेरिकी पक्षबाट शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको बताइएको छ । यसैबीच, खाडी क्षेत्रका विभिन्न मुलुकहरूले सुरक्षाको दृष्टिले हवाई मार्ग अस्थायी रूपमा बन्द गरेका छन् । कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन् । कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन् ।
पोखरा: पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम दिइएको छ । साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको हो । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई भिरमा रक क्लाइम्बिङको तालिम दिइएको हो । पोखरा महानगरपालिका वडानम्बर १८ को मेथलाङको भिरमा तालिम दिइएको हो । थ्री सिस्टर एड्भेन्चर ट्रेकिङले उक्त भिरलाई रक क्लाइम्बिङको प्रशिक्षण स्थलको रुपमा संचालन गदैँ आएको संचालक लक्की क्षेत्रीले जानकारी दिइन् । नयाँ युवालाई पर्यटन तर्फ आकर्षण गर्ने र स्वरोजगार बनाउन तालिमको अयोजना गरिएको हो टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए । रक क्लाइम्बिङ ट्रेकिङको विधा पनि हो आचार्यले भने पर्यटक पथ प्रदर्शक, ट्रेकिङका गाइडको लागि रक क्लाइम्बिङलाई एउटा पेसाको रुपमा विकास गर्न सकिन्छ । टान गण्डकीका सहसचिव भूपेन्द्रकुमार लामा र लाक्पा शेर्पाले रक क्लाइम्बिङको तालिम दिएका थिए । ट्रेकिङ जादा आउन सक्ने जोखिमलाई मध्यनजर गरी रक क्लाइम्बिङमा तालिम दिएको रक क्लाइम्बिङका प्रशिक्षक लामाले बताए । विश्वभर रक क्लाइम्बिङको क्रम बढ्दै गएको र नेपालमा पनि रक क्लाइम्बिङ गर्ने पर्यटक बढ्दै गएको छ लामाले भने नेपालमा पनि यसले व्यवसायीकता लिने विश्वास व्यक्त गरे । प्रशिक्षक शेर्पाले २ सय ३० प्रशिक्षार्थीलाई दुइ दिनेमा क्लाइम्बिङको बेसिक तालिम दिइने बताए । २५ दिने तालिम जेठ २६ गतेबाट सुरु भएको थियो । पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरि ३ सय ५० जना तालिममा सहभागि भएका छन् ।