गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लमजुङका दोर्दी, दूधपोखरी र मर्स्याङ्दी गाउँपालिका संयुक्त रूपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धनमा जुटेका हुन् । सो पदमार्गमा जोडिने पाँच वटा पालिकाले पर्यटन पदमार्गको दिगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिरपरिचित गराउन, पर्यटन पूर्वाधार निर्माण गर्न अघि बढ्ने प्रतिबद्धता गरेका छन् । ती पालिकालाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटिपी) तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)ले एकजुट गराएको छ । गत बिहीबार, शुक्रबार र शनिबार तीनदिने गोष्ठीमा सहभागी गराई सम्बन्धित पालिकालाई पर्यटन विकासमा जाग्न प्रोत्साहित गरेको हो । बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलले बुद्ध हिमाल, हिमचुली, मनासिरी हिमशृङ्खला तथा उच्च हिमताललाई समेट्दै नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने विश्वास गरिएको छ । यसबाट स्थानीय समुदायमा आधारित दिगो पर्यटन प्रवर्द्धन गर्ने विश्वास त्यहाँका स्थानीय पालिकाहरूको छ । साथै यस क्षेत्रलाई पर्यटन हबका रूपमा विकास गर्ने, पुराना पदमार्ग, गोठालो बाटो र सांस्कृतिक रुटको पहिचान, ट्रेल सुधार, पुल, सिँढी, सुरक्षित बाटो निर्माण, फोहर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण, हिमताल, पास तथा जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना तयार गर्ने लक्ष्य गोष्ठीले राखेको छ । भच्चेकमा शनिबार सम्पन्न गोष्ठीमा बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेललाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सो सर्किट सञ्चालनमा ल्याउन कार्ययोजना बनाउनेबारे तीनदिने गोष्ठी तथा तालिम सञ्चालन भएको अजिरकोट गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलले बताइन् । तालिममा पाँचैवटा गाउँपालिकाका उपप्रमुख तथा सम्बन्धित शाखाका प्रमुखले सहभागिता जनाएको उनले जानकारी दिइन् । तालिममा टानका केन्द्रीय अध्यक्ष सागर पाण्डे, केन्द्रीय सदस्य राजेन्द्र अम्गाईँ, केन्द्रीय सदस्य तथा तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरुङ, टानका निवर्तमान उपाध्यक्ष तथा अजिरकोट गाउँपालिकाका पर्यटन सदभावना दूत धनबहादुर गुरुङ, केन्द्रीय सदस्य पवित्रा तामाङ, परियोजनाका संयोजक युवराज लामा, प्रमुख प्रशिक्षक डा चेतनाथ कँडेल, प्रशिक्षक कृष्ण गौतमलगायत सहभागी थिए ।
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । टाउँकोमा गम्भीर चोट लागेका यादवको अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए । सप्तरीको राजविराज नगरपालिका– ९ घर भएका यादव अस्पताल गेट तर्फको भवनको पाँचौ तलाबाट खसेका हुन् । उनी कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् । मोरङ प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०र५० मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताउनुभयो । व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउनुहुन्छ । आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्का बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादनअनुसारको मूल्य पाउन सकिन्थ्यो भने यस क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शङ्का छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो रु ४०/५० भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।” अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताउनुभयो । किसानबाट खरिद गरेको सुन्तलाको मूल्य बजारमा पुर्याएर अस्वाभाविक नाफा लिने गरेको उहाँको भनाइ छ । किसानबाट प्रतिकिलो सुन्तला रु ८० मा खरिद गरेर बजारमा रु १०० मा बिक्री गर्दा किसान र उपभोक्ता मारमा नपर्ने उहाँ बताउनुहुन्छ । कृषि विकास कार्यालयका अनुसार गत वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार हजार ७१।६ मेट्रिक टन सुन्तला फलेको थियो । यस वर्ष किसानले बल्ल सुन्तला टिप्न थालेको हुँदा तथ्याङ्क आउन बाँकी छ ।
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान पोखराद्वारा संयुक्त रुपमा पोखरा ११ स्थित गीतामन्दिरमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् बरिष्ठ साहित्यकार माधब बियोगी, कार्यक्रमका सभापति एवम् गिताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितीज’ प्रा.डा.कुसुुमाकर न्यौपाने लगायतले कृतिको लोकार्पण गर्नुुभएको हो । कृतिबारे परिचर्चा गर्दै प्रा. डा. कुसुमकर न्यौपानेले ‘कोभिड १९’ कोरोना कहरको विषयवस्तु समेटेर रचिएको कविता संग्रह ‘कहरको त्यो समय’का विविध पक्षबारे चर्चा गर्नुुभएको थियो । नारी बाङ्मय प्रतिष्ठान पोखराका सचिव लक्ष्मी थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत गिताञ्जली साहित्य परिवार पोखरा पूर्व अध्यक्ष शिवप्रसाद गौतमले गर्नुुभएको थियो भने स्रष्टाको परिचय साहित्यकार प्रतिभा शर्मा तिमिल्सीनाले गनर्नुभएको थियो । कार्यक्रममा अग्रज साहित्यकार छबिलाल आचार्य, शिव त्रिपाठी, नरेन्द्र रानाभाट, ढुण्ड़ीराज ज्ञवाली लगायतका साहित्यकारहरूले रचना वाचन गर्नुुका साथै वसन्त चालिसे, छन्दमणि त्रिपाठी, छन्दिका त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नुुभएको थियो । दर्जनौ कृतिहरूबजारमा ल्याइसक्नुुभएकी वाग्ले विभिन्न साहित्यिक र सामाजिक संघ–संस्थाबाट सम्मानित बनिसक्ननुुभएको छ । समाजका विविधता र वास्तविकता उहाँका कृतिमा जीवन्त चित्रण गरिएको पाइन्छ । प्रत्येक महिनाको पहिलो शनिबार गिताञ्जली साहित्य परिवार पोखराले आयोजना गर्ने साधना प्रभात कार्यक्रमको अवसरमा आयोजित यस कार्यक्रममा पोखराका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल, सचिवमा बोधराज ढकाल, सह–सचिवमा भगवती भण्डारी ढकाल र कोषाध्यक्षमा अग्नी ढकाल चयन हुनुुभएको छ । समाजका सदस्यमा सञ्जय ढकाल, पुष्पा ढकाल, कृष्णराज ढकाल, शुक्रराज ढकाल, कपिल ढकाल, नारायण ढकाल रहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि ढकाल समाज प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष लोकराज ढकाल, विशिष्ट अतिथि ढकाल समाज प्रतिष्ठानका केन्द्रिय सदस्य फडिन्द्रराज ढकाल लगायत तनहुँ जिल्ला निवासी ढकाल बन्धुहरूको उपस्थितिमा भएको कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो । प्रमुख अतिथि ढकालले प्रतिष्ठानको आजिवन सदस्य र विशिष्ट सदस्यबाट उठेको रकम संकलनबाट देवघाट तनहुँमा जग्गा खरिद गरी कुल मन्दिर, शिव मन्दिर लगायत नेपाल ढकाल प्रतिष्ठान आश्रम निर्माण तथा सञ्चालन गर्ने उद्देश्य राखिएको बताउनुभयो । यसमा सबैको साथ र सहयोग आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० गाेल अन्तरले हराउँदै च्याम्पियन बनेकाे हो । रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्युस्टार 'ए'लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने, न्युस्टार 'बि' ले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । उपाधिसँगै रामघाटले नगद १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको न्युस्टार बिले ५० हजार रुपैयाँ प्राप्त गर्याे । प्रतियोगितबाट उत्कृष्ट खेलाडीका रूपमा रामघाटका सुमित श्रेष्ठ घोषित भए । उनले ट्रफी प्राप्त गरे । पुस १ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो । दोभान क्लबले स्थापनाकाल देखी खेलकुद संगै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष सुजन श्रेष्ठले बताए । पालिकामा क्रियाशिल क्लबले हरेक वर्ष विभिन्न खेल गतिविधि सञ्चालनसंगै युवा जागरुगका कार्यक्रम गर्दै आएको उनले बताए । समापनमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव खगराज अधिकारीले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेशागत सुरक्षाका लागि निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाली पत्रकारिता आज गहिरो आर्थिक संकटमा पुगेको ठहर गर्दै मिडिया हाउसको आम्दानी घट्नु, विज्ञापन बजार असन्तुलित हुनु, डिजिटल प्लेटफर्मको प्रभाव र राज्यको नीतिगत उदासीनताले पत्रकारको जीविकोपार्जन असुरक्षित बनेको जनाइएको छ । भेलाले देशभर तथा विशेषतः गण्डकी प्रदेशका पत्रकारहरूले भोग्दै आएका आर्थिक, पेशागत र संस्थागत समस्याका साथै समसामयिक राष्ट्रिय विषयमा गम्भीर छलफल गरेको छ । महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलद्वारा जारी घोषणापत्रमा भनिएको छ, ‘तीन तहकै सरकारबाट पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्दै श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष कार्यान्वयन सुनिश्चित गरिनुपर्दछ । प्रदेश सरकार र स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति र सञ्चार कार्यविधिलाई व्यावहारिक र सहज बनाउनुका साथै पत्रकार र सञ्चारमाध्यमलाई विकास साझेदारका रूपमा स्वीकार गर्दै सूचना र विज्ञापनमा स्थानीय मिडियालाई प्राथमिकता दिन आग्रह गर्दछांै ।’ नवयुवा पुस्तालाई पत्रकारितामा आकर्षित गर्न र कार्यरत पत्रकारलाई पेशामा टिकाइराख्न सुरक्षित आम्दानी, करियर विकास, तालिम र प्रविधिमा लगानी अपरिहार्य भएको ठहर गरेको छ । मिथ्या तथा भ्रामक सूचनाको बढ्दो जोखिम मध्यनजर गर्दै पत्रकारले तथ्य जाँच, स्रोतको विश्वसनीयता, सन्तुलन र पेशागत आचारसंहिताको कडाइका साथ पालना गरी समग्र पत्रकारिताप्रतिको जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । संघ सरकारबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन र पत्रिका वर्गीकरण प्रणाली अझै व्यावहारिक, पारदर्शी र मिडियामैत्री बनाउन माग गरिएको छ । यसैगरी, विज्ञापन बोर्डले मिडियालाई अलमल पार्नेभन्दा सहज, सहजीकरणमुखी र विश्वासयोग्य बनाउनुपर्ने, गण्डकीभित्रका सञ्चारमाध्यम प्रदेशकै प्रेस रजिस्टारको कार्यालय वा जिल्ला हुलाक कार्यालयमार्फत् दर्ता र नवीकरण हुने प्रबन्ध मिलाउनुपर्ने, प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन रकम अत्यन्त कम र कार्यविधि झन्झटिलो भएकाले तत्काल परिमार्जन गर्न पनि आग्रह गरिएको छ । जेनजी आन्दोलनमा क्षति पुगेका मिडिया हाउस र पत्रकारलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । हालको अन्योलपूर्ण अवस्थाको निकास र संविधान रक्षाका लागि यथासमयमा भयरहित निर्वाचन गर्न र गराउन सरकार तथा दलहरूलाई आग्रह गरिएको छ । पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा पत्रकारिताको क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माणमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको भेलामा ११ वटै जिल्ला शाखाले एकवर्षे कार्यकालको प्रगति विवरण, चुनौती तथा भावी योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा महासंघ अध्यक्ष शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाललगायतले महासंघका गतिविधिबारे जानकारी दिँदै पत्रकारका जिज्ञासाका जवाफ दिएका थिए । उनीहरुले महासंघका सदस्यको पेसागत हकहित र सुरक्षामा महासंघ सधैँ साथमा रहेको बताए । शुक्रबार उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारको पेसामाथि संकट गहिरिँदै गएको, परम्परागत मिडियाले डिजिटल युगको चुनौती सामना गर्न नसकिरहेको अवस्थामा प्रेस रजिष्ट्रार कार्यालय नियामक निकाय मात्र नभई, पत्रकारको क्षमता र वृत्ति विकासमा पनि सहयोग गर्न तयार रहेको बताइन् । भेलामा महासंघका केन्द्रीय सदस्यहरु छविलाल तिवारी, केवी राना, कृष्ण केसी, महासंघ गण्डकी सल्लाहकार गोविन्द सुवेदी, नारायण शर्मा, महासंघ गण्डकी महिला उपाध्यक्ष माया अधिकारी लगायतले बोलेका थिए । महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले महासंघका विधानतः व्यवस्थाबमोजिम गण्डकीले भेला आयोजना गरेको प्रस्ट पारे । उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश पौडेल, सञ्चालन महासचिव जमुना वर्षा शर्मा र धन्यवाद ज्ञापन भेला आयोजक समिति संयोजक एवं महासंघ गण्डकी सचिव भविश्वर पाण्डेले गरे । यसैबीच, महासंघले पत्रकारलाई ‘क्षमता अभिवृद्धि तालिम’ पनि दिएको छ । तालिमको सहजीकरण गर्दै पत्रकार भरत कोइरालाले ‘पत्रकारिताः चुनौती र नवीनता’ विषयमा कार्यपत्र प्रस्तुत गरे । पछिल्लो समय छापा तथा एफएम रेडियो बन्द हुुने क्रम नेपालमात्र नभई विश्वभर तीव्र रहेको, पत्रकारको पेसा संकटमा परेको र न्यू मिडियाले अवसर पनि लिएर आउने गरेको बताए । संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष समेत रहेका कोइरालाले पत्रकार महासंघको विधानमा उल्लेखित शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको काम, कर्तव्य र अधिकारबारे जानकारी दिए ।
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् । हत्या आरोपी आशिषलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकबाट पक्राउ गरिएको डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार परियारको साथबाट लुटिएका गरगहनासमेत बरामद गरिएको छ । आशिषको साथबाट सुनजस्तो देखिने पहेंलो रङको कानमा लगाउने २ थान रिङ, ७२ लालको साना मुन्द्राहरु ४ थान र घटनामा प्रयोग भएको बञ्चरो १ थान र १ थान चक्कु बरामद गरिएको छ । हत्या आरोपी आशिषलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको कास्की प्रहरीले जनाएकाे छ ।

