गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

पोखरा:  लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् ।  आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० मा जितेको टप्सले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो ।  यस्तै, दोस्रो सेमिफाइनलमा शान्ता माविले पोखरा युनाइटेडको चुनौती २–१ सेटमा पन्छाउँदै टप्ससँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेट २४–२६ मा गुमाएको शान्ताले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको हो । उसले दोस्रो र तेस्रो सेट समान २५–१९ मा जित्न सफल भयो ।  टप्सले पहिलो चरणमा पश्चिमाञ्चल र दोस्रो चरणमा बालमन्दिरलाई हराउँदा शान्तले प्रतिभा र केफ माविलाई पराजित गर्दै विजयी यात्रा जारी राखेका छन् ।  यसैबीच, पहिलो सेमिफाइनलमा टप्सले पास आउट खेलाडी हालेको भनी प्रोटेस्ट परेकामा छानबिनमा त्यस्तो नपाइएको नेपाल भलिबल संघ उपाध्यक्ष यामबहादुर गुरुङले प्रष्ट पारे ।  फाइनल महोत्सव अन्तिम दिन भदौ १० गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ११ टिमले भाग लिएका थिए । पोखरा एक्सपर्ट एजुकेशसन लामाचौर कप अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।  साथै, विधागत उत्कृष्टलाई आकर्षण पुरस्कार छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण लामाचौर कप भलिबल हो ।  इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुँदैछन् । महोत्सवको आइतबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । खेलतर्फ खुला पुरुष भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन् ।

रौतहट:  रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटिएको छ । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको थियो । डोरीले बेरिएको सुटकेस वेवारिसे अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएका टोलीले सुटकेसभित्र शव रहेको थाहा पुष्टि भएको थियो ।  प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको शङ्कास्पद सुटकेस खोलेपछि त्यसभित्र महिलाको शव रहेको पाइएको हो । उक्त शव कसको हो भन्ने बारेमा केही खुलेको छैन । महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

दाङ:  पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्ने गर्दछन् । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ ।  ‘अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्’, उनले भनिन्, ‘थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ।’ व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का सुरज चौधरीले बताए ।  ‘यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ’, उनले भने । उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरीले बताए । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो ।  पाँच पाण्डव र द्रौपदी सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् । यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको अटवारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिएको हो । थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको हो । 

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको पनि सम्भावना छ । त्यसैगरी, आज राति मधेश, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पोखरा:  लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत शनिबारदेखि अन्तर मावि छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ ।  विभिन्न स्कुलका ११ टिमले भाग लिएको पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पहिलो दिन ७ खेल भए । तीमध्ये सिर्जना मावि, टप्स मावि, शान्त मावि र पोखरा युनाइटेड मावि सेमिफाइनल प्रवेश गरे । आइतबार बिहान ८ बजे पहिलो सेमिफाइनलमा सिर्जनाले टप्स र दोस्रो सेमिफाइनलमा शान्तले पोखरा युनाइटेडको सामना गर्ने खेल संयोजक शंकर केसीले बताए । पहिलो खेलमा सिर्जनाले सेन्ट मेरिजलाई २५–७ र २५–१५ तथा दोस्रो चरणमा इन्द्रराज्यलक्ष्मी माविलाई २६–२४ र २५–१५ को सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । त्यस्तै, टप्सले पश्चिमाञ्चललाई २–१ सेटमा हराउँदै विजयी यात्रा सुनिश्चित गरेको थियो । २०–२५, २५–१३ र २५–२१ सेटमा हराएको टप्स क्वाटरफाइनलमा बालमन्दिरको चुनौती २५–१६ र २५–१२ सेटमा पन्छाउँदै अन्तिम चारमा पुग्यो । शान्तले प्रतिभा र केफ माविलाई हराउँदै पोखरा युनाइटेडसँग सेमिफाइनल सुनिश्चित गरेको छ । उसले प्रतिभालाई २५–१८ र २५–१९ तथा केफलाई २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो । बाईमा परेको पोखरा युनाइटेडले कन्या माविलाई सोझो सेटमै २५–१३ र २५–१९ मा हराउन सफल भएको हो । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण लामाचौर कप भलिबल हो । इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुँदैछन् । आयोजकले अघिल्लो दिनदेखि भलिबलका खेल सुरु गरेको हो । खेलतर्फ खुला पुरुष भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन् । रारा लामाचौर कप खुला पुरुष भलिबलतर्फ आयोजक, एपिएफ पोखरा, कृष्णदल फूलबारी, जिएम समाज, माछापुच्छे« गाउँपालिका खेलकुद विकास समिति र ढुंगेदेउराली क्लब स्याङ्जा गरी ६ टिमले भाग लिएका छन् । उनीहरुको खेल आइतबारदेखि सुरु हुनेछ । पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार रहेको छ । तीज गीतमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार साथै सहभागी टिमलाई प्रोत्साहन स्वरुप २ हजार दिइनेछ । लोकनृत्यमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ४०, २५ र १५ तथा सान्त्वना ३ टिम तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ । महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने छन् । यस्तै, लोकदोहोरी कलाकारहरु प्रकाश दूतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुङ, लक्ष्मी नेपाली लगायतको प्रस्तुति हुने प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतमले बताए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले यसपालि पनि महोत्सवलाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष इ। दिनेश भण्डारीले बताए । महोत्सव आयोजना गर्न करिब ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष बृद्धिमा थप गरिने जनाइएको छ । २०५४ सालमा पहिलोपल्ट लामाचौर मेला आयोजना गरेको संस्थाले एम्बुलेन्स, शववाहक संचालन गर्नुका साथै गोस्तेघाटमा फुटबल मैदानसमेत निर्माण गरेको छ । डिसहोम फाइबर नेटको मुख्य प्रायोजनमा हुने महोत्सवमा हिमश्री फुड्स प्रालिको उत्कृष्ट उत्पादन रारा चाउचाउ र पोखराको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रमशः खुला तथा अन्तर मावि छात्रा भलिबलतर्फ टाइटल स्पोन्सर गरेका छन् ।   

पोखरा:  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा शैक्षिक मेला आयोजना गर्ने जानकारी दिएको हो । लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना गर्न गइरहेको छ । मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६० स्टल रहनेछन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ । पत्रकार सम्मेलनमा इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले गण्डकी प्रदेशका विद्यार्थीलाई लक्षित गरेर नेपाल सरकारबाट स्वीकृतप्राप्त कन्सल्टेन्सी मात्रै शैक्षिक मेलामा सहभागी हुने बताए ।  उनले भने, ‘विश्व ग्लोबल भिलेजका रूपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीले आफूले चाहेको विषय, संसारका जुनसुकै कुनामा रहेका कलेज, विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकारको कुरा हो ।’ इक्यान कास्कीका उपाध्यक्ष एवं मेला संयोजक सन्तोष शाहीले पोखरामै अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजको उपस्थितिमा हुने शैक्षिक मेलाले विदेशमा पढ्न इच्छुक विद्यार्थीका लागि एकै थलोमा परामर्शको अवसर प्रदान गर्ने बताए । उनले भने, ‘मेलामा आएपछि आफ्नो रोजाइ र क्षमता अनुसारका विश्वविद्यालय वा कलेजमा छान्न पाउने अवसर विद्यार्थीलाई मिल्ने छ ।’ इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० कन्सल्टेन्सी नेपाल सरकारको शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती कन्सल्टेन्सीबाट विश्वसनीय सेवा लिन सकिने बताए । इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभइ अध्ययन पश्चात नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेको उनले बताए । ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो,’ उनले भने, ‘यद्यपि इक्यानले नेपाल फर्काउने अभियान चलाउन अर्को शैक्षिक मेला छिट्टै आयोजना गर्दैछ ।’   शैक्षिक मेलाको प्रस्तुतकर्ता टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले उचित परामर्शका लागि इक्यान मेलामै सहभागी हुन आग्रह गरे । मेलालाई ब्रिटिस काउन्सिल नेपालको साथ रहनेछ ।  मेलाको पावर्ड बाइमा बेलायत स्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन् । मेलाको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन÷आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् ।  पर्यटकीय राजधानी पोखरामा हुन लागेको बृहत् शैक्षिक मेलामाबाट यस क्षेत्रका विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले लाभ लिन सक्ने इक्यान कास्कीले जनाएको छ ।

भरतपुर:  सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।  आज (शनिबार) बिहान इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो । सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । उनका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । यो सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

काठमाडौं: सङ्खुवासभा जिल्लाको माघाङ्ग वरपर केन्द्रबिन्दु भएको स्थानीय मापन अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ः१५ बजे भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क/डिएमजी) का अनुसार भूकम्पको धक्का जिल्लाको विभिन्न क्षेत्रमा महसुस गरिएको थियो ।  प्रारम्भिक विवरणअनुसार अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  लुम्बिनी प्रदेशको तराइको भू–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।  मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।