गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

पोखरा: पोखरामा जारी लामाचौर तीज महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिएम समाज र ढुंगेदेउराली क्लब फाइनल प्रवेश गरेका छन् ।  रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जिएम समाज फाइनल पुगेको हो ।  समूह ‘बि’ को उपविजेता नवलपुरको कावासोतीको जिएम समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु दर्शकले आयोजकलाई हुटिङ गरे पनि जिएम समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पारेकोे हो । म्यान अफ दि म्याच विश्वास अधिकारी घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।  यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुंगेदेउराली क्लबले विभागीय एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी उपाधि नजिक पुगेको हो । एपिएफ समूह ‘बि’ को विजेता हुँदै सेमिफाइनल पुगेको थियो । समूह ‘ए’ को उपविजेता ढुंगेदेउराली हो । ढुंगेदेउरालीले पहिलो सेट २५–१९ जितेर अग्रता कायम गरेको थियो । बाँकी सेट २५–२३ र २५–१९ मा रोमाञ्चक जित हात पार्दै जि।एम। समाजसँग फाइनल सुनिश्चित गरेको हो । ढुंगेदेउरालीका लिब्रो राजन दर्माली म्यान अफ दि म्याच घोषित भए ।  ६ टिमले भाग लिएको प्रतियोगितामा आयोजक र एपिएफ लिग चरणमा समान २–२ खेल खेल जितेर सर्वाधिक ६ अंकका साथ समूह विजेता हुँदै सेमिफाइनल खेलेका थिए । सोमबारकै लिग चरणमा आयोजकले ढुंगेदेउरालीलाई ३–१ सेटमा र एपिएफले जि।एम।समाजलाई ३–१ सेटमै हराएको थियो ।  माछापुच्छे« गाउँपालिका र कृष्णदल फूलबारी अंकविहीन हुँदै अघिल्लो दिन प्रतिस्पर्धाबाट बाहिरिएका थिए । फाइनल मंगलबार दिउँसो १ बजे हुनेछ । त्यसअघि, बिहान ११ बजे अन्तर मावि छात्रा भलिबलको फाइनल हुनेछ ।  जसमा टप्स र शान्ता मावि फाइनल प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तरमावितर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार व्यवस्था छ ।  नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भएको हो ।  मंगलबारसम्म संचालन हुने महोत्सवमा कलाकारको दैनिक प्रस्तुति, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता लगायत विविध कार्यक्रम भइरहेको क्लब अध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल राखिएको क्लब अध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवको अन्तिम दिन मंगलबार चर्चित कलाकार प्रकाश दूतराज, श्रीदेवी देवकोटा, राजु ढकाल, कृति गुरुङ लगायत कलाकारको प्रस्तुति हुनेछ ।  

काठमाडौं:  जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा रुबेला–मुक्त देश घोषित भएको छ ।  आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठन तथा  संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई रुबेला निवारणको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ । योसँगै रुबेला निवारण गर्र्न विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ । विश्व स्वास्थ्य सङ्गठनले २०८२ साल भदौ २ गते नेपाल रुबेला रोग निवारण गर्न सफल भएको हो । मन्त्री पौडेलले यो घोषणा सम्पूर्ण नेपालीका लागि अत्यन्तै गर्वको विषय भएको बताउनुभयो । उहाँले यो उपलब्धिलाई दिगो राख्न र नेपालका बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न अन्य खोप–रोकथाम योग्य रोगहरू उन्मूलनतर्फ काम गर्न निरन्तर प्रयासका लागि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “यो हाम्रा स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र आम नागरिकको सक्रिय सहभागिताको अटुट समर्पणको परिणाम हो । नेपाल यो उपलब्धि हासिल गर्ने दक्षिण–पूर्वी एसिया क्षेत्रको छैटौं देश बनेको छ ।” स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटाले नेपालले २०२५ मा रुबेला उन्मूलन गरेर एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका गरेको बताउँदै अबको लक्ष्य दादुरा उन्मूलन गर्नुरहेको बताउनुभयो । “दादुरा निकै छिटो फैलिन्छ । यदि हामीले यसको निगरानी प्रणालीलाई बलियो बनाएर यसलाई उन्मूलन गर्न सक्यौँ भने, त्यही प्रणाली अन्य रोगहरूको नियन्त्रणका लागि पनि उदाहरणीय बन्ने छ”, उहाँले भन्नुभयो । परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले दशकौँको निरन्तर प्रयासपछि यो सफलता प्राप्त भएको विस्तृत जानकारी दिनुभयो । उहाँले यो घोषणा नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि एक महत्त्वपूर्ण कोशेढुङ्गा रहेको बताउँदै सरकारले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नेपालका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा। राजेश सम्भाजीराव पान्डवले नेपाल सरकार र साझेदारहरूलाई बधाई दिँदै यो नेपालका लागि गर्वको क्षण र क्षेत्रीय तथा विश्वव्यापी स्वास्थ्यमा एक महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले सफलता निरन्तर उच्च खोप, बलियो निगरानी प्रणाली र प्रकोपको द्रुत प्रतिकार्यबाट सम्भव भएकोमा जोड दिनुभयो ।

काठमाडौं:  नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट बनेका मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ। महिला यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहार व्रत बस्ने गर्दछन्। दरमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ र सेलरोटी खाने गरिन्छ। स्थान अनुसार दरखाने परिकार फरक फरक छन्। आधुनिकतासँगै खाने परिकारहरूमा पनि फरक आउन थालेको छ। खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाले लिने गरेको पर्व तीज भए पनि हिजोआज अरु समुदायका महिला पनि तीज मनाउन थालेका छन्। दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ। हरितालिका तीजका बेला पानीसमेत नखाई व्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ। दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ। पहिले हरितालिका दिनको् एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन शुरु भएको छ। परपुर्वक कालमा देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र सोही उनको कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ।

वीरगञ्ज:  जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले वीरगञ्जमा झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो । बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो । निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए । बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ । हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ । 

कास्की:  पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार ५०० सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ । कालिखोलादेखि काँहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण २०८० साल वैशाखदेखि सुरु गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए । उनका अनुसार फुट ट्रयाकका लागि चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुङ्गा काटेर विच्छ्याइएको छ । पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्यूपोइन्ट’ निर्माण हुनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए । पोखराको प्राकृतिक ‘भ्यूपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ । ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिव ४०० फलफूलका बिरुवासमेत रोपिएको छ । पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा’ अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरुवखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रापिएका हुन् ।

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी, बागमतीर सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

पोखरा: लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।  ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले भाग लिएका छन् । लिग चरणको खेलमा आयोजक, जि।एम। समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक बटुलेका छन् ।  २ खेल खेलेका माछापुच्छे« गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिए ।  समूह ‘ए’ मा रहेको आयोजकले आइतबार बिहान माछापुच्छे« गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट ३३–३१ मा जितेकोमा दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१८ मा आफ्नो पक्षमा पार्दै विजयी यात्रा सुरुवात गरेको हो ।  दोस्रो खेलमा जिएम समाजले कृष्णदललाई २५–२०, २५–१८ र २५–२३ सेटमा हरायो । तेस्रो खेलमा ढुंगेदेउरालीसँग कोर्ट उत्रिएको माछापुच्छे गाउँपालिकाले पुनः हार व्यहोर्न पुग्यो ।  आइतबारकै चौथो खेलमा एपिएफ क्लबले कृष्णदलको चुनौती सोझो सेटमै पन्छायो । एपिएफ २५–२०, २५–२१ र २५–१९ सेटमा विजयी भएको हो । समूह ‘ए’ मा आयोजकसहित ढुंगेदेउराली छन् । समूह ‘बि’ मा जिएम समाज र एपिएफ छन् ।  सोमबार पनि लिग चरणकै खेल हुने रेफ्री बिमल रानाले जानकारी दिए । पहिलो खेलमा आयोजकले ढुंगेदेउराली र दोस्रो खेलमा जिएम समाजले एपिएफको सामना गर्नेछ ।  यसैबीच, अन्तर मावि छात्रा भलिबलमा टप्स र शान्त मावि फाइनल प्रवेश गरेका छन् ।  पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा तथा शान्तले पोखरा युनाइटेडलाई २–१ सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । उनीहरुबीच फाइनल भदौ १० गते हुनेछ ।  नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भयो ।  इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा ३ दिनसम्म चल्ने महोत्सवमा लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुँदैछन् । तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन् ।  पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ ।  साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार रहेको छ । महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने प्रचार संयोजक विष्णुप्रसाद गौतमले बताए ।  

काठमाडौं: नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ । यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले आगामी असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोग र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो । मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्री र राज्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनुहुनेछ । बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ । दिवसका अवसरमा असोज ३ गते काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा आमनागरिकको उपस्थितिमा मूल समारोह हुनेछभने प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम प्रस्ताव गरिएका छन् ।  यसैगरी, दिवसका अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्तिको साङ्गीतिक महोत्वस ९नेसनल डे कन्सर्ट० आयोजना, झाँकी प्रदर्शनीलगायत कार्यक्रम प्रस्ताव गरिएको छ । दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्त्व, संविधानमा अन्तरनिहित पक्षमा केन्द्रित विशेष संवाद, परिसंवाद तथा सन्देशमूलक नाटकजस्ता सृजनात्मक र रचनात्मक कार्यक्रम निर्माण तथा सञ्चालन गरी रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक वा निजी क्षेत्रसमेतका विद्युतीय तथा छापा माध्यम एवं सामाजिक सञ्जालमा प्रसारण र प्रकाशनको व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान घोषणाको १० वर्ष पुगेको अवसरलाई राष्ट्रिय र जनस्तरमा विशेष रूपमा मनाउन आग्रह गर्नुभयो । उहाँले संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तीकरण, समावेशिताका चरित्र, लोककल्णयकारी राज्य, संस्कृति आदि पक्षसँग जोड्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले वडा र विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्ने र अधिक रूपमा जनतालाई संविधानको उपलब्धि र महत्त्वसँग एकाकार गराउन आग्रह गर्नुभयो ।

काठमाडौं:  पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ।  पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एकदेखि डेढ घण्टाभित्र दर्शन गरेर फर्की सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो। पशुपति क्षेत्रमा तीजको तयारी लगभग सकिएको जानकारी दिँदै उहाँले तीजमा पशुपतिको बाहिरी भागमा मात्र स्वयंसेवक खटाइने बताउनुभयो।   कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले लाइनमा बस्न उचित व्यवस्था मिलाइएको उल्लेख गर्दै मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिने बताउनुभयो।  कोषका संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख अरुणकुमार श्रेष्ठले तीजका अवसरमा पशुपति क्षेत्रमा समाचार सङ्कलन गर्न आउने पत्रकारका लागि सूचना विभाग र सम्बन्धित सञ्चारगृहकै परिचयपत्रले मन्दिरको मुख्य क्षेत्रसम्म जान दिइने बताउनुभयो।  तीजका लागि पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, ट्राफिक एवं पार्किङ व्यवस्था, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ता–चप्पल कक्षको व्यवस्थापन एवं सञ्चालन गरिने कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो।  यस वर्ष तीज सोमबारदेखि सुरु हुँदैछ। पहिलो दिन सोमबार व्रतालु महिलाले दर खान्छन्। दोस्रो दिन मङ्गलबार तीजको मुख्य दिन हो। यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन्।  बुधबार गणेश चौथी पर्व मनाइन्छ। अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि चारदिने तीज पर्व समापन हुन्छ।