काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभाशाली क्रिकेट खेलाडी गुमाएको उल्लेख गरेका छन् । सचिव खड्काले यो खबरले स्तब्ध पारेको उल्लेख गर्दै थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उनले परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । ‘अत्यन्तै दुःखद खबर प्राप्त भएको छ।कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ’, सचिव खड्काले फेसबुकमा लेखेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा परिवारजनलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।’
काठमाडौं: क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उहाँले बताउनुभयो । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उहाँले सुनाउनुभयो । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएकोे जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ । पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । महासङ्घको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ । जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) हुँदै छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् । त्रिविका अनुसार दीक्षान्त समारोहका लागि विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ८९ हजार १९१ जना विद्यार्थी योग्य भएका छन् तर यस समारोहमा सहभागी हुनका लागि १६ हजार ३८० जना विद्यार्थीले मात्रै परीक्षा नियन्त्रण कार्यालयमा औपचारिक आवेदन दिएका छन् ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा भारत, भुटानसहित एक सय बढी खेलाडी सहभागी हुनेछन् । ओपन मेन्स तथा वुमेन्स सिंगल्स, डबल्स, ३५ंं,४५ं,५५ं,६५ वर्ष माथि गरी १२ इभेन्टमा प्रतिष्पर्धा हुने टुर्नामेन्ट डाइरेक्टर नविन चालिसेले जानकारी दिए । मेन्स, वुमेन्स दुवैको सिंगलतर्फ विजेता हुनेले ८० हजार, उपविजेताले ४० हजार र सेमिफाइनललिष्टले २० हजार पुरस्कार पाउनेछन् । डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ र सेमिफाइनललिष्टले १० हजार पाउने आयोजकले जनाएको छ । ३५ वर्ष माथि इभेन्टमा सिंगल्सको विजेतालाई ६० हजार, उपविजेतालाई ३० हजार र सेमिफाइनललिष्टलाई १५ हजार प्रदान गरिनेछ । सोही इभेन्ट डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनललिष्टले १० हजार पाउनेछन् । ४५ वर्षमाथिको इभेन्टको सिंगल्सतर्फ विजेताले ४० हजार, उपविजेताले २० हजार र सेमिफाइनललिष्टले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । सोही इभेन्टको डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनललिष्ट १० हजार पाउनेछन् । ५५ वर्षमाथिको इभेन्टमा सिंगल्सतर्फ विजेता, उपविजेता र सेमिफाइनललिष्टलाई क्रमशः ३०, १५ र १० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सोही इभेन्टको डबल्समा विजेताले २० हजार, उपविजेता र सेमिफाइनललिष्टले समान १० हजार पानेछन् । ६५ वर्षमाथिको सिंगल्सतर्फ विजेतालाई १५ हजार, उपविजेतालाई ७ हजार ५ सय र सेमिफाइनललिष्टलाई २५ सय दिइने आयोजकले जनाएको छ । डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता पुस १५ गतेसम्म चल्ने टुर्नामेन्ट डाइरेक्टर चालिसेले जानकारी दिए ।
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द बिन्दु बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीको दावी रहेको छ । महोत्सवमा राखिएका करिव तीन सय ३६ फरकरफरक प्रकृतिका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थित दर्शकहरु खुसी हुदै आफुले खोजेको र रोजेको सामान सुपथ मुल्यमा पाएको गफ गर्दै फर्केका देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापारको क्रम बढेकाले सन्तुष्ट रहेको बताएका छन् । महोत्सवमा स्वदेशमा नै उत्पादित वस्तुको विक्रि केन्द्र रहेकाले उपभोक्ताले प्रत्यक्ष रुपमा उत्पादकसँग सामान लिन पाउने भएकाले सहुलियत मुल्यमा सामानको विक्रि वितरण भईरहेको छ । पुस १४ गतेसम्म चल्ने महोत्सव सातौं दिनमा चलिरहदा बुधवार मात्र ६० लाख वरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म आउदा छ करोड ८० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ बुधवार मात्र १७ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म एक लाख ९० हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् । वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिथ्यो । महोत्सव सकिने केही दिन वाँकी रहेको अवस्थामा पनि दर्शकको चाप दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । यसैविच महोत्सवको सातौं दिन कलाकारहरु रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, पार्वती जि सी, रियाररतिमाया खड्का, बिन्दा परियारले प्रस्तुती दिएका थिए भने बेलुका कन्सर्टमा गायक अर्जुन सापकोटा, सहिमा श्रेष्ठ लगायत स्थानिय कलाकारहरुको प्रस्तुतीले स्टेज तताएको थियो । महोत्सवमा गाडी देखि गार्मेन्टसम्म र माछा देखि महसम्म एकै ठाउमा पाईने भएपछि उत्पादक र उपभोत्ताको संगम स्थलका रुपमा महोत्सवलाई लिईएको छ । लेखनाथ महोत्सवको आयोजना लेखनाथ उद्योग बाणिज्य संघले गरे पनि यो महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रुपमा परिचित भएको पुर्ब अध्यक्ष छत्रधर आत्रेयको दावी छ ।
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने ‘तमु पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा गुरुङसँगै ६ जना पत्रकार पुरस्कृत भएका छन् । एक जना गुरुङ समुदाय र अर्को एक जना अन्य समुदायका पत्रकारलाई प्रदान गरिने पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्काबाट अन्य समुदायतर्फ श्यामकृष्ण श्रेष्ठ (काठमाडौं) सम्मानित भए । उक्त पुरस्कारबाट सम्मानित गुरुङ र श्रेष्ठलाई जनही २० हजार १ रुपियाँ र सम्मानपत्र प्रदान गरिएको थियो । तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट इच्छा गुरुङ (काठमाडौं) पुरस्कृत भएकी छिन् । उक्त पुरस्कारको राशि १२ हजार ५०१ रुपियाँ र सम्मानपत्र रहेको छ । त्यस्तै, तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट खुसीमाया गुरुङ (लमजुङ), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट सुचना गुरुङ (चितवन), सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रविन गुरुङ (सुनसरी) पुरस्कृत भएका छन् । यी ३ पुरस्कारको राशि जनही १० हजार १ रुपियाँ नगद र सम्मानपत्र रहेको छ । कार्यक्रममा गुरुङ न्युज डटकम पत्रिकाको लोकार्पण पनि गरिएको थियो ।
पोखरा: पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभमा अहिलेका भाइरल उज्जन श्रेष्ठको व्याण्डले लाईभ प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने बताए । सो दिन न्यू ईयर ईभमा एक्स नेपथ्य पनि गुञ्जिनेछ । तीन दशकपछि पोखरामा गुञ्जिने सो व्याण्डका स्थापनाकालीन गायकहरु गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु प्रस्तुत गर्दैछन् । त्यस्तै, गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित प्रस्तुत गर्नेछन् । न्यू ईयर ईभको साँझमा नेपथ्यसँगै डि–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । सो दिन अहिलेकी भाईरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष प्रस्तुती रहनेछ । न्यू ईयर ईभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुती दिनेछिन् । पोखरा कोमागाने पार्कमा हुने कार्यक्रम अन्तर्ग पुस १५ गते साँझ चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । सो साँझ स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् । सो दिन चक्र व्याण्ड पनि ब्लाष्ट हुनेछ । सो दिन दिउँसो भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए । त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवको तयारी स्वरुप मंगलबार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भब्य बनाउन सम्पुर्ण एक भएर लाग्ने प्रतिवद्वता जनाएका छन । सो अवसरमा बोल्दै महोत्सव सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव सञ्चालन गर्नुपर्ने बताए । क्लबले गरेको सामाजिक कामको उपलब्धिलाई प्रस्टयाउने गरि महोत्सवमा देखाउन आवश्यक रहेको बताउदै केसीले विभिन्न सरकारी नियकासंग सहकार्य गरेर सेतीनदी संरक्षणका लागि समेत काम गर्नुपर्नेमा जोड दिए । त्यस्तै अमरसिंह माविका निमित्त प्रध्यानाध्यापक सुदिप आचार्र्यले महोत्सवमा विद्यार्थी आकर्षणका लागि विद्यार्थीले निर्माण गरेका सामाग्री प्रदर्शनलाई समेत समेट्नुपर्ने सुझाव राखे । अर्का सल्लाहकार टीका बहादुर कार्कीले महोत्सव स्थल संधै रहन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने वताउदै आफू विभिन्न संघ संस्थामा आवद्व भएकाले अन्य संघ संस्थाहरु संग समेत सहकार्य र समन्वय गरेर अगाडि वढ्न आग्रह गर्दै पोखरालाई चिनाउने गरि काम गर्न जोड दिए । स्थानीय सरकारले चासो नदिएको सन्दर्भमा महानगरलाई अपनत्व गराउने गरि काम गर्नतर्फ सम्पुर्ण लाग्नुपर्नेमा उनको जोड रहेको थियो । शंकरनाथ पौडेलले लेखनाथ भन्दा उत्कृष्ट महोत्सव पोखरा महोत्सव भएको बताए । राज्यलाई झक्झक्याउने महोत्सव पोखरा महोत्सव भएको वताउदै १४ औं संस्करणको महोत्सवमा लेखनाथ क्षेत्रमा रहेको चिडियाखाना झल्काउने गरी प्रदर्शनीको कार्यक्रम संगै क्लबले अहिले सम्म शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा गरेका कामलाई उजागर गर्न आवश्यक रहेको बताए । राम बहादुर पौडेलले वातावरण मैत्रि ढंगले महोत्सव सञ्चालन गर्न आवश्यक रहेको बताए । महोत्सवको पुर्वसन्ध्यामा सरसफाई कार्यक्रमको तय गरेर कार्यक्रमको अगुवाई गर्ने उनले प्रतिवद्धता जनाए । माधव गौतमले पोखरा महोत्सवमा ३३ वटै वडाबाट समावेस गर्न सके पोखरा महोत्सवको अपनत्व वढ्ने वताए । बलराम ढुंगानले पोखरा महोत्सव सम्पन्न गर्नु सवैको दायित्व भएकाले सम्पुर्णले आआफनो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । ईन्दिरा पन्तले पोखरा पर्यटकीय राजधानि संगै साहित्यको राजधानि भएकाले महोत्सवमा साहित्यको कार्यक्रमलाई जोड्नसके महोत्सवमा रौनकता थपिने बताइन । राजेन्द्रराज बस्ताकोटीले पोखरेलीपन झल्कने खालका कार्यक्रम ल्याउन सुझाव दिए । सन्तोष सिग्देलले आकर्षक कलाकार ल्याउन सके महोत्सवमा दर्शकको समेत आकर्षण बढ्ने बताए । लिलाधर अधिकारीले पार्किङको समस्यालाई समाधान गर्न आवश्यक रहेको बताए । सुवेदार जस बहादुर गुरुङले महोत्सवको उद्घाटनमा आयोजना गरिने झांकी र्यालिलाई ब्यवस्थापन गर्न आवश्यक रहेको बताउदै अमरसिंह स्कुलका संस्थापक मेजर विरसिंह र जग्गादाता देवराज घिमिरेलाई समेत महोत्सवमा स्मरण गर्न आवश्यक रहेको बताए । माधव घिमिरेले महोत्सवलाई सकारात्मक र नकारात्मक रुपमा लिदै स्कुलको मैदान संरक्षणमा समेत लाग्नुपर्नेमा जोड दिए । राजेन्द्र बहादुर कार्कीले १४ ओैं पोखरा महोत्सवमा समाजकल्याण परिषदको तर्फबाट सहयोग गर्ने बताए । अनिल थापाले क्लवले गरेको कामलाई उजागर गर्न नसकेको वताउदै १४ ओैं पोखरा महोत्सवमा उजागर गर्नतर्फ जोड दिए । गोविन्द घिमिरेले महोत्सव स्थलको विकल्प आवश्यक रहेको बताए । पवित्रा देवी गुरुङले युनाइटेड क्लवले अनुभव संगालेर अगाडि बढेको युनाईटेड क्लव र पोखराबासी मिलेर अमरसिंह चौरको संरक्षण गर्न आवश्यक रहेको बताईन । १४ ओैं पोखरा महोत्सवका मुल समारोह संयोजक लोक बहादुर थापाले महोत्सवलाई सभ्य रभब्य वनाउन सम्पुर्णको साथ र सहयोग आवश्यक रहने बताए । संस्थापक अध्यक्ष हिमालय बख्रेललले महोत्सवका सल्लाहकारहरु ब्याकबोन भएकाले सल्लाहकारको सललाहलाई कार्यान्वयन गरेर लैजाने बताए । पोखरा महोत्सवकै कारण पोखरा खुल्ला चिडियाखानाको अभियनता युनाईटेड क्लवनै रहेको र अवको गन्तव्य आवाशिय छात्राबास रहेको उनको भनाइ रहेको थियो । सरकारी विद्यालय बन्द भईरहेको सन्दर्भमा अर्चलेमा रहेको सामुदायिक विद्यालय संग समन्वय गरेर छात्राबास सञ्चालन गर्ने र छात्राबास संगै क्लबले उत्पादनलाई समेत जोडेर लैजाने गरि कृषि परियोजना समेत सञ्चालन गरेर लैजाने बख्रेलले बताए । कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिएभने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रममा सल्लाहकारहरु रामजी प्रसाद बास्तोला, गुप्त बहादुर कार्की लगायतले आ आफ्नो धारणा राखेका थिए ।

