पोखरा: सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो । जेठ १७ गतेदेखि शुभारम्भ भएको उक्त कार्यको हालसम्म ३६० पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिनुभयो । बिहीबार फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण समेत गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले फेवाताल संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशाानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू गरिरहेको बताउनुभयो । ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उहाँले हौसला प्रदान गर्नुभएको छ । एक ऐतिहासिक कार्यको साक्षीका रूपमा उनीहरूको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो । निष्ठाका साथ फेवातालको प्राकृतिक न्यायका लागि लागि रहेका सवैप्रति उहाँले आभार पनि व्यक्त गर्नुभएको छ । पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ । तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिनेछन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ ।
काठमाडौं: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) सम्मेलनको ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभयो । सो सम्मेलनको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उहाँले सम्बोधन गर्नुहुनेछ । उहाँले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवम् परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्छ । उक्त सम्मेलनपश्चात् परराष्ट्रमन्त्री डा. राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ । उहाँलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।
झापा: झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्याङ्क हेर्दा औषतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ । जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि हुँदै आएका छन् । ‘फरेष्ट एक्सन नेपाल’का डा लिलानाथ शर्मा विद्युतीय तारवारले मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण नहुने बताउनुहुन्छ । “तारबारले मात्र हात्तीलाई रोक्नरछेक्न सकिँदैन”, उहाँले भन्नुभयो, “वनमै सुधार जरुरी छ ।” हात्तीको जैविकमार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण तथा वनमा सुधार गर्नसके मावन–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो । खानाको खोजीमा जङ्गलबाट हात्ती बाहिरिने भएकाले वनभित्र हात्तीको आहारा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । वन अतिक्रमणसँगै वन जङ्गल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन–हात्ती द्वन्द्व बढ्दै गएको हो । हात्तीले मकै मन पराउने भएकाले पनि मकैखेती हुने बेलामा भारतबाट हुलका हुल हात्ती आउने गरेको डिभिजन वन कार्यालय डा भलले बताउनुभयो । अन्य समयमा भन्दा मकैको याममा हात्तीको आवागमन बढी हुने उहाँको भनाइ छ । पच्चीस हात्तीको मृत्यु झापामा २०६२ सालयता २५ हात्ती मृत फेला परेका छन् । पछिल्लो समय जिल्लामा हात्तीको मृत्यु हुने क्रम बढेको छ । विगतमा बर्सेनि एक÷दुई वटा हात्ती मृत भेटिने गरेका थिए । तर, केही वर्षयता हात्तीको मृत्यु हुने क्रम बढेको छ । विसं २०८० साउनदेखि २०८१ असार सम्ममा चार हात्ती मृत फेला परेका थिए भने चालु आवमा समेत हालसम्म चार हात्ती मृत फेला परेका डिभिजन वन कार्यालयले जनाएको छ । साढे नौ करोड राहत जिल्लाका हात्तीपीडितलाई सरकारले आव २०६८/६९ देखि चालु आवको हालसम्ममा रु नौ करोड ६८ लाख ४७ हजार राहत प्रदान गरिसकेको छ । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रु १० लाख, घाइतेलाई अधिकतम रु दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षति भएकाको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयका डा भलले बताउनुभयो । जिल्लामा ५२५ जना वन्यजन्तु पीडित अझै राहतको पर्खाइमा छन् ।
मुस्ताङ: बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन्। उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए। उहाँका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ। ‘हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ’, उनले भने। समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ। जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिए। ‘अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्’, उनले भने। जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ। कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा–जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केहीदिनमा स्थगित गर्ने जनाएको बताए। बर्खायाम सुरु हवाईमार्ग मात्रै होइन सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए।
गुल्मी: गुल्मीमा विषालु च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए। बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए रातिनै उनीहरुलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो। बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो। घटनाको जानकारी पाउनासाथ गए रातिनै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थिय । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
काठमाडौं: निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेका हुन् । “...निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ (२) रिक्त छ । त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ । आयोगका पदाधिकारले गएको असार ६ गते आगामी कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए । उपनिर्वाचनको मिति घोषणा हुन बाँकी छ ।
नवलपरासी: नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–६, भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार (असार ११) राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो । बुधबार राति करिब ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा उनलाई दाहिने खुट्टामा सर्पले डसेको थियो । त्यसपछि उपचारका निम्ति कावासोतीस्थित कालीगण्डकी अस्पताल लगिएकामा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी यादव ढकालले बताए । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढेको छ ।
गोरखा: असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिनाझ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी छ । सकसलाग्दो यो कालकोठरीभित्र खलखल पसिना काढ्तै ओत लाग्दै छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु । आफ्नो नाममा नङमा लाउने माटो पनि नभएको उनी काकी नाता पर्ने पार्वती परियारले ओत लाग्न दिएको यो टहरोलाई सुविधासम्पन्न दरबार मान्न बाध्य छिन् । सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी २१ वर्षीया मनिकाको आशा र भरोसाको त्यान्द्रो एक महिने छोरा यही टहरोभित्र हुर्कँदै छ । जुन शिशु गर्भमा आएदेखि आफू पतिबाट र घरबाट लखेटिइन्, माइतीबाट पनि एक्लिइन्, उनै शिशुलाई उनले गत जेठ १० गते गोरखा अस्पतालमा जन्माएकी थिइन् । “अनि बाबुको नाम चाहिँ के राखिदिनुभयो त ?”, यो प्रश्नले मनिकालाई झन भारी चोट दियो । उत्तर दिन नसकेर छाँगाबाट खसेजस्तै भइन् र फेरि सम्हालिँदै भनिन्, ‘खोइ दिदी, बाबु एक महिनाको भइसक्यो तर नाम के राख्ने केही सोचेकी छैन । न्वारान गरेको भए पो नाम राख्नु ।” मनिकाले २०८० साल मङ्सिरमा धादिङको गजुरी गाउँपालिका–२ छेपाङका २३ वर्षका मिलन श्रेष्ठसँग बिहे गरेकी थिइन् । अन्तरजातीय विवाह भएकाले मिलनको घर परिवारले सहजै स्वीकार गर्ला भन्ने आशा मनिकालाई थिएन । “तपाईँ नेवारको छोरो, म दमाइकी छोरी । तपाईँको घरपरिवारले मान्दैन, नबोलौँ भन्थेँ म । उ (मिलन) भने साह्रै जिद्दी, मलाई फकाएर, घुक्याएर अनि एकपटक त तीन तले घरको छतबाट हाम्फालेर माया जालमा फँसायो”, मनिकाले भनिन्, “जीवनमा कहिले कसैको माया नपाएकी म, उसको कुरामा सजिलै फँसिहालेँ । उसले मलाई घरमा बाहुनी हो भनेर धुमधामले भित्र्यायो । इष्टमित्र, छरछिमेक बोलाएर भोजभतेर पनि गर्यो । मैले नढाटौँ भनेकी थिएँ तर उसले बिहे भइसकेपछि जसरी पनि मान्छन्, चिन्ता नगर भन्थ्यो । मैले पनि उसले भनेजस्तै गरेँ ।” बिहेपछि उनीहरू चितवनको कार्यथलो फर्किएका थिए । उनीहरू दुवैजना चितवनको भरतपुर महानगरपालिका–१ गोद्राङस्थित कोकाकोला फ्याक्ट्रीमा काम गर्दथे । “हामी चितवन आएपछि मिलनको घरमा मेरो जात थाहा भएछ । मिलनको आमा–बाले हामीलाई फोन गरेर तिमीहरू मर्यौँ, अब यहाँ नआउनु भन्नुभयो । त्यसपछि उसको घर जाने कुरै भएन”, मनिकाले भक्कानिँदै भनिन् । उनलाई आज पनि त्यही ग्रहण लागेका दिनहरूको याद आयो । विसं २०७५ मा १४ वर्षको उमेरमा गाउँको एकजना चिनेजानेको दिदीको पछि लागेर चितवन पसेकी थिइन । उनै दिदीले मनिकालाई कोक फ्याक्ट्रीमा काम लगाइदिएकी हुन् । उनी भन्छिन्, “म गाउँको महेन्द्रशक्ति माविमा पढ्थेँ । आठ कक्षामा फेल भएँ । सँगैको साथीहरू माथिल्लो कक्षा पुगे । म लाज लागेर पढ्न गइनँ । मेरो घरको आर्थिक अवस्था पनि राम्रो थिएन, अभावै अभाव थियो । त्यसैले दुईचार पैसा कमाउँछु भन्ने सोचेर चितवन पसेकी थिएँ ।” कोक फ्याक्ट्रीमा काम गर्ने क्रममा उनको मिलनसँग भेट भयो । सँगै काम गर्ने क्रममा उनीहरू नजिकिन थाले । “काम गर्दै जाँदा चिनजान भयो । एकदिन, दुईदिन बोल्दै जाँदा ऊ मसँग धेरै नै नजिक हुन थाल्यो, पछिपछि त बिहे नगरे आत्महत्या गर्छु भन्दै धम्की दिन थाल्यो”, उनले भनिन्, “म सानो मान्छे, अभावै अभावमा हुर्किएको, घरपरिवारबाट पनि माया नपाएकी । उसले त्यस्तो गर्दा माया गर्छ होला नि त भन्ने लाग्यो । फ्याक्ट्रीमा काम गर्ने अरु दिदीबहिनीले पनि यो त पागल छ तेरो लागि, केही गरिहाल्यो भने गाल पर्छ भन्थे त्यसैले, पनि बिहे गरेकी हुँ ।” मनिका र मिलनले काम गर्ने कोक फ्याक्ट्रीले गत वर्ष चैतमा उनीहरूसँगै अरु थुप्रै कर्मचारीलाई कामबाट हटायो । चितवनको ठाउँ, बिना काम दुईजना कोठामा बस्न खान समस्या भएपछि उनीहरू वैशाख (२०८१)मा रोजगारीको खोजीमा काठमाडौँ पुगे । काठमाडौँमा मिलनले मासु पसलमा काम पायो । मनिका भने सानोतिनो कामको खोजीमा थिइन् । “काम खोज्दै थिएँ, मङ्सिरमा बच्चा बस्यो । मेरो सोच त बच्चा नराख्ने नै थियो । उमेर पनि धेरै भाको छैन, दुईजनाको राम्रो कमाइ छैन । खाने बस्ने ठेगान पनि थिएन”, उनले भनिन्, “मिलनले भने जसरी पनि पछि पाउनु परिहाल्छ । बच्चा राख्नी भन्यो । उसैको करले बच्चा राखेँ । जसोतसो दुःख गरेर बच्चा हुर्किएला भन्ने सोचेर हामीले बच्चा राखेका थियौँ ।” गर्भवती भएपछि मनिकालाई डेङ्गीको सङ्क्रमण भयो । डेङ्गीले धेरै नै थलिएपछि डाक्टरले गाउँमा गएर बस्न सुझाव दिएको उनको भनाइ छ । “डेङ्गी लागेपछि काठमाडौँ बस्न गाह्रो भयो मलाई, गजुरी जाने कुरै भएन त्यसैले यहीँ माइतमा आएर बसेँ । मिलनलाई उतै काम गर्नु भनेर म यता आको । पछि त, ऊ पनि काम छाडेर मैसँग आयो”, उनले भनिन् । दुवैजना बक्राङ आएर बसेको केही समयपछि उनले मिलनलाई काम गर्न झापा पठाइन् । बक्राङकै दाजुभाइहरूसँग पैसा सरसापटी गरेर मिलनलाई काम गर्न झापा पठाएको उनी बताउँछिन् । “यहाँ गाउँमा खासै काम पाइन्न । बच्चा जन्मिएपछि पैसा चाहिन्छ भनेर मिलनलाई गएको पुसमा यतै गाउँको दाजुभाइमार्फत झापा पठाएँ । त्यतिबेला मसँग मोबाइल थिएन । मिलन झापा गएपछि हाम्रो खासै फोन सम्पर्क पनि भएन । उता गएपछि ऊ धेरै परिवर्तन भएछ”, त्यसपछि सुरू भएको कालो दिनको स्मरण गर्दै उनले भनिन्, “ऊ झापा गएपछि गाउँका दिदीहरूले तेरो बुढाले फेसबुकमा अरू केटीको फोटो हालेको छ भन्न थाले । मैले पनि अरुसँग मोबाइल मागेर हेरेँ । फोन गरेँ तर उसले मसँग झगडा मात्र गर्न थाल्यो । मैले धेरै नै बोलाएपछि बल्लबल्ल फागुनको १६ गते यहाँ आयो । मेरो लागि मर्न तयार भएको मिलन थिएन, यतिबेला अर्कै भइसकेको रहेछ । उसको चारपाँच दिन बसाईमा हामीबीच सय पटक झगडा भए । त्यसपछि ऊ निस्केर गयो, त्यसयता उसको कुनै खबर छैन ।” यति कुरा गर्दासम्म मनिकाको आँखामात्र आँसुले भिजेका थिएनन्, गालामा डामपार्दै छातीतिर गुडुल्किरहेका थिए । उनका अनुसार मिलन गएको फागुनमा आउँदा आमाले घरमा बोलाको छ भनेर निस्केका थिए । मिलन गएको केही दिनपछि मनिकाको काकी पार्वतीलाई मिलनको गाउँले भाइको फोन आयो । फोन गर्ने मान्छेले मिलनले घरमा अर्को केटी लिएर आएको खबर दिएको मनिकाले बताइन् । “यहाँबाट गएपछि पहिलाको बूढीले छोडेर गई भन्दै फेरि अर्को केटी घर लगेछ । दोस्रो केटी पनि अर्कै जातको लगेपछि दुवैजनालाई घरबाट लखेटिदिएको रे भन्ने उसको गाउँको एकजना भाइबाट थाहा भयो”, मनिकाले गहँभरि आँसु पार्दै भनिन्, “मेरो पेटमा उसको बच्चा छ अनि, उ चाँहि यो सबै गर्दै हिँडेको छ भन्ने थाहा पाए पछि म छाँगाबाट खसेजस्तै भएँ । यो सबै सुन्ने बित्तिकै म केही नसोची काकीसँग रु १००सापट मागेर खैरेनी पुगेँ । पैसा थिएन, गहनाको नाममा एउटा चाँदीको सिक्री र सानो चाँदीको औँठी थियो । खैरेनीमा त्यही बेचेँ । मसँग फोन पनि थिएन त्यसैले खैरेनीबाट मामाको छोरीलाई लिएर गजुरी गएँ । गजुरी पुगेर दिदीको फोनबाट मिलनलाई कति फोन म्यासेज गरे तर उठेन । म त पागलजस्तो कहाँ जाने कसलाई भन्ने भएँ । गजुरीमा एउटा पुलिसचौकी रहेछ । त्यहाँ उजुरी दिन गाको पैसा लाग्छ भन्नुभयो । मसँग फर्किनको लागिमात्र पुग्ने पैसा थियो । पैसाको यतिसम्म अभाव थियो कि पानी किनेर खाने पैसा समेत थिएन । पेटमा बच्चा छ, गाडीमा अरुले पानी खाको देखेर थुक निल्दै गजुरीबाट खैरेनी फर्कियौँ । सिक्री बेचेको पैसाले दिदी र मलाई आउन जान मात्र ठिक्क भयो । खैरेनी आएर एकरात मामाघर बसेँ । मनको पीडा कसलाई सुनाउनु, भोलिपल्ट घर फर्किएँ । कुकुरले नपाएको दुःख पाउनु भनेको यसलाई नै भन्छ होला है दिदी ।” यति भनिरहँदा उनको भक्कानो फुटिसकेको थियो । मिलन सम्पर्कविहीन भएपछि उनलाई गाउँका दिदीबहिनीहरूले यस्तो अवस्थामा छस् पक्कै आउँछ होला भन्दै सान्त्वना दिन्थे । “मिलन सम्पर्कविहीन भएको पनि तीन महिना बितिसक्यो । यसबीचमा मैले जे जति दुःखकष्ट भोगेँ त्यो सम्झँदा अब मलाई कोही चाहिन्न जस्तो लाग्छ”, उनी भन्छिन्, “जेठ ६ गतेको डेट थियो मेरो । तर, बच्चा पाउने सुरसार भएन । ९ गते बिना पैसा गोरखा अस्पतालमा भर्ना हुन गएँ । बच्चा पनि छ घण्टा अड्कियो । बल्लतल्ल बच्चा त जन्मियो । तर, बच्चालाई जन्डिस र थाइराइड देखिएछ । मलाई गोरखा अस्पतालमा राखेर बच्चालाई थप उपचार गर्न भरतपुर सरकारी अस्पताल लग्यो । बच्चालाई भरतपुर अस्पतालमा तीन दिन एनआइसियुमा राख्यो । मेरो उपचार, बच्चाको उपचार, सुत्केरी हुँदाको सबै खर्च खानापिना अहिलेसम्म सबै सहयोग जुटाएको पैसाले जसोतसो धानेको छु । गाउँको शिव विक (दाइ) र मन्दिरा विक (भाउजु)ले सबै सहयोग गर्नुभयो । गाउँमा अरुले पनि सहयोग जुटाएर सबै उपचार खर्च टारेको छु ।” श्रीमान्को साथको खाँचो हुँदा एक्लै परेकी मनिकालाई अब कसैसँग कुनै आशा छैन । “यस्तो अवस्थामा छोडेर जाने पापीसँग के आशा राख्नु रु मेरो लागि त मरिसक्यो ऊ । अब आएर छोरालाई नाम दिए, उसको हकअधिकार दिलाइदिए हुन्छ । मचाहिँ अब यस्तै हो, आमाको अभाव बुझेकी छु । दुःखसुख गरेर बाबुलाई ठूलोमान्छे बनाउनु नै मेरो जीवनको लक्ष्य छ”, उनले भनिन् । “के बनाउने लक्ष्य छ नि बाबुलाई ?”, थोरै हाँस्दै मनिकाले भनिन्, “अञ्जानमा सम्बन्ध भयो, भविष्य पनि जानेको छैन त्यसैले उसको बाउ नआए पनि नाम अञ्जन राखिदिन्छु । के बन्छ त अब उसको भाग्यको कुरो हो, जे होस् यसको बाउ जस्तोचाहिँ नहोस् । असल, ठूलो मान्छे होस् ।” मनिका आफू सात वर्षको हुँदा आमा बितेको बताउँछिन् । “आमाको त केही सम्झना नै छैन । बुबा इण्डियातिर हुनुहुन्थ्यो आमा बित्दा । भाइ जम्मा दुई वर्षको थियो । म र भाइलाई हजुरआमाले हुर्काउनुभएको हो”, उनले भनिन्, “आमा बितेको धेरै वर्षपछि मात्र बुबा घर आउनुभयो । बुबाले दोस्रो बिहे त गर्नुभएन तर हाम्रो हेरविचार पनि गर्न सक्नुभएन । गाउँमा यस्तै त हो । पैसाको अभाव, फेरि बुबा बूढो हुनुहुन्छ अरूले जस्तो काम पनि गर्न सक्नुहुन्न ।” बुबाले आफू आठ कक्षामा पढ्दापढ्दै पढाइ छोड्दा, चितवनमा काम गर्न जाँदा, कलिलो उमेरमै बिहे गर्दा र अहिले बच्चा जन्माउँदा समेत केही नभनेको मनिका सुनाउँछिन् । “बुबाले त केही भन्नुहुन्न, धेरै बोल्नु पनि हुन्न । त्यही भएर नै म र मेरो १९ वर्षको भाइ अहिले अलपत्र परेका हौँ । भाइ पनि अहिले पोखरातिर गाको छ पढाइ छाडेर । तर, बुबालाई केही मतलब हुन्न । सायद आमा भइदिएको भए हामीलाई सम्झाउनुहुन्थ्यो होला, मेरो यस्तो अवस्था आउँदैन थियो होला । यदि यही अवस्थामा पनि आमा भइदिएको भए मेरो स्याहारसुसार गर्नुहुन्थ्यो होला”, गहँभरि आँसु पार्दै मनिकाले भनिन् । दुःखको रहरमा पौडिएर हुर्केको अहिले झन ठूलो दुःखको सागरमा डुब्नुपरेको दुखेसो गर्दै उनले भनिन्, “मेरो जिन्दगी हाँडीबाट उछिट्टिएर भुङ्ग्रोमा परेको माछोझैँ भयो ।”
भक्तपुर: यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताउनुभयो । उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।” असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।