काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गर्नुभएको थियो। अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५–२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । आयोगका अध्यक्ष डा। सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिनुभयो । अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले दूरसञ्चार क्षेत्र आज राष्ट्रिय विकासको रणनीतिक आधारका रूपमा स्थापित भएको उल्लेख गरे। मन्त्री थापाले देशभरबाट पोखरा आएका प्रतिनिधिहरूलाई गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगर पोखरामा स्वागत गर्दै नेपाल टेलिकमजस्तो सार्वजनिक संस्थाले केवल सेवा प्रदायकको भूमिका मात्र नभई राज्यको डिजिटल सार्वभौमिकताको संरक्षण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि वहन गरिरहेको बताए । नेपाल टेलिकमका कर्मचारीहरूको सामाजिक, आर्थिक तथा बौद्धिक विकास, मनोबल अभिवृद्धि, कर्मचारी कल्याण र कम्पनीको दिगो विकासका लागि २०४८ सालमा स्थापना भएको नेपाल टेलिकम वर्कर्स युनियन पहिलो प्रजातान्त्रिक ट्रेड युनियन भएको धारणा उनको छ । उनले युनियनले स्थापना कालदेखि नै श्रमिक हक–हितको संरक्षणसँगै संस्थाको सार्वजनिक चरित्र, स्थायित्व र सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए । कुनै पनि सार्वजनिक संस्थाको दीर्घकालीन सफलता त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीहरूको समर्पण, सुरक्षा र सम्मानसँग प्रत्यक्ष रूपमा जोडिएको उनले स्पष्ट पारे। मन्त्री थापाले श्रमिकमैत्री नीति, संस्थागत सुधार, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई सँगसँगै अघि बढाउनु अपरिहार्य रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकार सामाजिक न्यायमा आधारित विकास, श्रमिकमैत्री शासन प्रणाली तथा सामाजिक सुरक्षा विस्तारप्रति प्रतिबद्ध रहेको बताए। उनका अनुसार प्रदेश सरकारले सूचना प्रविधि, डिजिटल पहुँच र मानव संशाधन विकासलाई प्राथमिकतामा राख्दै दूरसञ्चार क्षेत्रसँग सहकार्य गरी ‘डिजिटल गण्डकी’ यात्रालाई अघि बढाउने स्पष्ट नीति लिएको छ । महाधिवेशन नेतृत्व चयनको औपचारिक प्रक्रिया मात्र नभई भावी नीतिगत दिशा, संगठनात्मक कार्ययोजना र संस्थागत सुदृढीकरणका लागि ऐतिहासिक अवसर भएको उल्लेख गर्दै उनले यहाँबाट लिइने निर्णयहरूले नेपाल टेलिकमलाई अझ सक्षम, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्धक निर्देशक रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिइएको छ । बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबराबरको रकम धरौटी राखेर छाड्ने आदेश दिएको हो । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनको मुद्दामाथि बिहीबार बहस सकिएपछि धरौटीमा छाड्ने आदेश भएको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । ूप्रतिवादीले निवेदन साथ पेश गरेको बैंक जमानत (ग्यारेन्टी) रु. २,७४,८४,०००।( बिगोका हकमा सुरक्षित गर्ने, आदेशमा भनिएको छ । न्यायाधीशद्वय बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । लामिछाने हाल ललितपुरस्थित नक्खु कारागारमा छन् ।
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ । नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो । युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए । नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्नेछन् ।
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्रोत सामग्रीमा सात वटा परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका छन् । परिच्छेद एकमा लोकन्त्र र संविधान, परिच्छेद दुईमा निर्वाचन तथा राजनैतिक दलसम्बन्धी व्यवस्था, परिच्छेद तीनमा निर्वाचन प्रणाली, विभिन्न तहको निर्वाचन तथा समावेशिता, परिच्छेद चारमा निर्वाचन चक्र, प्रक्रिया, मतदान प्रक्रिया, नोटा (नो भोट) मतगणना आदिबारे विषयवस्तु समावेश छन् । यसैगरी परिच्छेद पाँचमा निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानुन, परिच्छेद छमा निर्वाचन आचारसंहिताको पालना, अनुगमन र पर्यवेक्षण र परिच्छेद सातमा निर्वाचनका सरोकारवालाहरू, नागरिकको कर्तव्य र अधिकार तथा निर्वाचन प्रक्रियामा शिक्षकको भूमिका, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणसम्बन्धी विषय उल्लेख छन् ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । प्रधानमन्त्री कार्कीलाइ यस विषयमा जानकारी गराएपछि आयोगका अध्यक्ष गौरीवहादुर कार्कीले सञ्चारकर्मीसंग कुरा गर्दै आउदो हप्ता तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाइ वयानका लागि वोलाउने तयारी आयोगले गरेको वताउनुभयो। भदौ २३ र २४ गतेको घटना हुँदा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक हुनुहुन्थ्यो। यसैबीच आयोगले आयोगको म्याद एक महिना थप गर्न सरकारसंग आग्रह गरेको छ । आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसंग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेको हो । आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की सहित पदाधिकारीले ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरेको हो । आयोगका गौरीबहादुर कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराउनुभएको उहाले बताउनुभयो । जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ । असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यहि पुस ९ गते सकिदैछ ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार विद्युतीय मतदान भएकाले अब केही घण्टामै मतपरिणाम सार्वजनिक हुनेछ ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्रदेशको प्रदेश राजधानी रहेका जिल्लामा मतदान स्थल÷केन्द्र तोक्ने निर्णय भएको हो। उहाँका अनुसार कोशी प्रदेशका लागि मोरङको प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेशको परिसर, विराटनगरमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। यसैगरी, मधेस प्रदेशका लागि धनुषाको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमती प्रदेशका लागि मकवानपुरको भुटनदेवी माध्यमिक विद्यालय हेटौंडा उपमहानगरपालिका, गण्डकी प्रदेशका लागि कास्कीको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशको परिसर, पोखरा, लुम्बिनी प्रदेशका लागि दाङको कर्मचारी मिलन केन्द्र घोराही र कर्णाली प्रदेशका लागि सुर्खेतको प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशको परिसर, वीरेन्द्रनगरमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेश सभाका सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहने व्यवस्था छ।
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहिलो खेलमा न्यू स्टारले गगनगौडालाई २–० गोलअन्तरले हराउन सफल भएको छ । दोस्रो खेलमा बौद्ध शान्ति क्लब रामघाटले खेम माइला क्लबलाई २–० ले पाखा लगायो । तेस्रो खेलमा आयोजक दोभान क्लबलाई मुलमिलले टाइब्रेकरमा ४–३ ले हराउँदै दोस्रो चरणको यात्रा तय गरेको छ । चौथो खेलमा रामघाटले म्याग्दीलाई ३–० ले हराउँदा अन्तिम खेलमा धारापानीले डाडाँपाखालाई टाइब्रेकरमा ५–४ ले हराउन सफल भयो । २४ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ

