मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

पोखरा:  गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयोजनमा दुईदिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न भएको छ।     पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार, पोखराको सभाहलमा सम्पन्न  तालिममा गण्डकी प्रदेशभित्रका विभिन्न शैक्षिकसंस्था  पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय, पश्चिमान्चल क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस लगायत विभिन्न कलेज र सामुदायिक तथा सार्वजनिक पुस्तकालय र नेपाल पुस्तकालय संघका सदस्यहरुको  सहभागिता रहेको थियो । तालिममा ३० जनाको लाइब्रेरियनको सहभागिता रहेको थियो । तालिमको समापन समारोहमा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। इन्द्रप्रसाद तिवारीबाट सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।  तिवारीले आगामी दिनमा यस्ता कार्यक्रमहरुमा गण्डकी विश्वबिद्यालयले पनि सक्दो सहयोग तथा सहकार्य गर्ने बताए । तालीममा प्राप्त सिप र ज्ञानको भरमग्दुर प्रयोग गरी आफ्नो वृत्ति बिकास र ब्यक्तित्व बिकास गर्न तलिममा सहभागीहरुलाई शुभकामना दिदै तिवारीले वर्तमान अवस्थामा चुनौतीहरु थपिएको बताए । तालिमको समापन गदैँ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका कार्यकारी निर्देशक श्री सुरेन्द्र बाबु तिवारीले  पुस्तकालयको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व भएको बताए ।  सहभागिले दुइ दिनसम्म प्राप्त गरेको ज्ञानल तालिम पछि कार्यक्षेत्रमा जादा कार्यसम्पादनमा सुधार आउने अपेक्षा व्यक्त गरे ।   त्यसैगरी पोखरा विश्वविद्यालयका सह– प्रध्यापक डा। रबिन्द्र घिमिरेले तालिममा सिकेका ज्ञान र सीपहरूले दैनिक कार्य सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुग्ने बताए। यस्ता तालिमहरूले कर्मचारीहरूको वृत्ति विकास र कार्यसम्पादन क्षमतामा सकारात्मक प्रभाव पार्ने भएकाले तालिम अवधिभर प्रशिक्षक तथा सहजीकरणकर्ताले सिकाएका कुरामा ध्यानपूर्वक मनन गर्नुपर्ने कुरामा उनले जोड दिए । तालिममा पोखरा विश्वविद्यालयका सह– प्राध्यापक डा। रबिन्द्र घिमिरे, वन विज्ञान संस्थाका लाइब्रेरियन सूर्य क्षेत्री, पोखरा विश्वविद्यालयका लाइब्रेरियन तथा नेपाल पुस्तकालय सङ्घका अध्यक्ष मीन कुमारी डल्लाकोटी, पोखरा विश्वविद्यालयका लाइब्रेरियन दुर्गा प्रसाद आचार्य र पृथ्वीनारायण क्याम्पसका लाइब्रेरियन किशोर सुवेदीले सहजीकरण गरेका थिए।  तालिमको संयोजन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्मचारी सुवर्ण आचार्य तथा नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशको तर्फबाट संघका सचिव भुवन ढकालले गरेका थिए ।

पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ ।      आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहितको टोली सहित मङसिर २४ गतेदेखि पोखराबाट ढोरपाटनसम्मको प्रवद्र्धनात्मक कार्यक्रममा निस्कीएको संघका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दहालले जानकारी दिनुभयो ।      कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बाग्लुङमा कास्की, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकका लागि गरिएको अभिमुखीकरण तालिम यस क्षेत्रमा सुरक्षित एवम् गुुणस्तरीय यातायात सेवा सञ्चालनका लागि उपलब्धिपूर्ण बनेको उहाँले बताउनुभयो ।      कार्यक्रमकै क्रममा बाग्लुुङ, बुर्तिवाङ र ढोरपाटन क्षेत्रका पर्यटन व्यवसायीसँग एक आपसमा पर्यटकीय साझेदारी बढाउने लगायतका विषयमा महत्वपूर्ण छलफलहरू भएको उहाँले जानकारी दिनुभयो ।      “पोखराबाट ढोरपाटनसम्म ठाउँ ठाउँमा बन्दै र स्तरोन्नति भैरहेका बाटोलाई चाँडो निर्माण सम्पन्न गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “बाटो व्यवस्थित हुन सकेमा पोखराबाट ठूलो संख्यामा पर्यटकहरूलाई ढोरपाटनसम्म पु¥याउन सकिन्छ ।”      पर्यटकीय सम्भावना बोकेका ढोरपाटन जस्ता स्थलहरूको पर्यटकीय विकासका लागि प्रवद्र्धन जरुरी रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका बरिष्ठ अधिकृत युवराज गुरुङले बताउनुभयो ।      प्रवद्र्धनसँगै तत्तत् ठाउँका पर्यटन व्यवसायीको क्षमता अभिबृद्धि समेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।      प्रवद्र्धन कार्यक्रमले पोखरा र ढोरपाटनको पर्यटकीय विकास र साझेदारीमा ठूलो आशा एवम् विश्वास जगाएको संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले जानकारी दिनुभयो ।      “कार्यक्रमसँगै पोखरा–ढोरपाटनको पर्यटन प्रवद्र्धन र पर्यटकीय साझेदारीका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको हामीले महसुस गरेका छौं”, उहाँले भन्नुभयो, “पर्यटन सम्बद्ध सबै पक्षको एकतावद्ध प्रयाससँगै व्यवसायी व्यवसायी बीचको एकापसमा समन्वय र साझेदारीबाट सबैले फाइदा लिन सकिन्छ ।”   

पोखरा:   पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षको उमेरमा नै गर्ल्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५ अंक समेत बटुल्न सफल भएकी छन् ।  जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको समेत तयारीमा रहेकी सिभालीले शनिबार सम्पन्न फाइनलमा ताइपेइकी के–ची सुलाई सोझो सेटमा पराजित गरी उपाधि हात पारिन । पहिलो सेट ६–२ ले जित्दै ताइपेइकी खेलाडीलाई दबाबमा राख्न सफल उनले दोस्रो सेटमा आफ्नो दबदवा कायम गर्दै ६–१ ले जितिन् ।  यस्तै गर्ल्स डबल्समा नेपालकी शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका थिए ।  यस्तै ब्वाइज सिंगल्समा ताइपेइका नं १ सिडिङ खेलाडी टिङ हो याङले जितेका छन् । १–१ सेटको बराबरीमा रहेको फाइनल खेलमा कोरियाली खेलाडी युल हो जुङ रिटायर्ड हर्ट हुँदै कोर्टबाट बाहिरिएका थिए । खेलमा पहिलो सेट युल होले ४–६ ले जिेतका थिए भने दोस्रो सेट ६–४ ले टिङ होले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेट चलिरहँदा युल हो रिटायर्ड हर्ट हुदै मैदान छोडेका थिए ।  यता ब्वाइज डबल्समा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६९४० ले पराजित गर्दै उपाधि जितेका थिए ।  दुई साता सम्म लगातार सञ्चालन भएको प्रतियोगितामा १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको थियो ।  प्रतियोगिताका विजेता खेलाडीहरुलाई नेपाल टेनिसका उपाध्यक्ष बिनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङ ९राजु०, नेपाल टेनिसका सचिव अजय विष्ट, कास्की टेनिसका प्रथम उपाध्यक्ष नविन चालिसे, द्वितिय उपाध्यक्ष नविन श्रेष्ठ, कोषाध्यक्ष विष्णु बहादुर थापा, नेपाल नं १ टेनिस खेलाडी प्रदिप खड्का, आइटिएफ रेफ्रि प्रविन कुमार नायकले मेडल वितरण गरेका थिए ।  दुई साता सम्म सञ्चालन भएको आठौं संस्करणको आइटिएफ जे३० वर्ल्ड टेनिस टुर प्रतियोगिता सम्पन्न गर्न १८ लाख ७० हजार खर्च भएको जनाउँदै कास्की टेनिसका सचिब भिष्मराज पौडेले सहयोगी संस्थाहरु प्रति आभार प्रकाट गरेका छन् ।   

काठमाडौं:    नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ ।  लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो ।  सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरको समाप्तिमा पूरा गरेको हो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए ।  कप्तान रोहित पौडेलले १६ रन बनाउँदा डार्सी सटले १४ रन थप्दा निरोशन डिकवेलाले १० रन जोडे ।  सुदूरपश्चिमका लागि हेमन्त थामीले दुई विकेट हात पार्दा कप्तान दिपेन्द्रसिंह ऐरी र अविनास बोहोराले एकएक विकेट लिए ।  त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए। बलिङको निम्तो पाएको लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिम १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो ।   सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरीले १३, हर्षित सिंह र स्कट कग्लेजिनले समान १०/१० रन बनाए ।अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।  सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न बलिङमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरे । ११ ओभरको चौथो, पाँचौ र छैटौं बलमा क्रमश सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनित मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गरे । यस्तै शेर मल्ल र रूवेन ट्रुम्पलम्यानले तीन/तीन तथा तिलक भण्डारीले एक विकेट लिए ।  सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा पुगेको हो भने दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको हो ।  सुदूरपश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो भने लुम्बिनी अघिल्लो सिजन समूह चरणबाटै बाहिरिएको थियो ।  सुदूरपश्चिम अघिल्लो सिजनको समेत उपविजेता टिम हो ।  यो हारसँगै सुदूरपश्चिमले लगातार फाइनल पुगेर हारको सामना गरेको हो । 

पोखरा:   गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको गीतमा पुरुष आवाज सागर आलेको रहेको छ । गीतकार प्रतिष्ठानद्वारा शुक्रवार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । शान्तिको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गर्दै श्रेष्ठले भिडियोमा प्रस्तुत गरिएिको मौलिकपनले नेपाली पहिचान बोकेको बताए । गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत सङ्गीतका क्षेत्रमा गरेको सङ्घर्षका चरणबारे स्पष्ट पारेकी थिइन् ।  तत्कालीन परिस्थितिमा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रति अनुराग बढेको अनुभव उनले सनाइन् । जीवन जिउने क्रममा केही समय सङ्गीतबाट टाढिनुपर्दाको कष्टकर समयको स्मरण गर्दै मगरले आफूभित्रको रुचि कुनै पनि कारणले नरोकिने प्रमाणित भएको बताइन् । उनका यसअगि फूल जस्तै मेरो जोवन, जूनतारा, गल्छी झरेसि, बसे पर्खेरलगायतका गीतहरू सार्वजनिक भएका छन् ।   भिडियो   भिडियोमा शान्तिसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, भिडियोका निर्देशक तथा मोडल विजय पुनलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।    

पोखरा:   १४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा १४ औं संस्करणको पोखरा महोत्सवलाई विगतका महोत्सवलाई भन्दा पृथक बनाउने तर्फ जोड दिएका छन ।  युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि महोत्सव मुल आयोजक समिति लोक बहादुर थापाको संयोजकत्वमा विभिन्न ३१ वटा उपसमितिहरु गठन गरिएको छ ।  शुक्रबार सम्पन्न बैठकमा वोल्दै १४ औं पोखरा महोत्सव कार्य सम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले पोखरा महोत्सवमा विभिन्न उपसमितिहरु गठन भइसकेको र उक्त उपसमितिहरु मध्ये कसैको महोत्सव अगाडि र कसैको महोत्सवको बेलामा काम हुने भएकाले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि सम्पूर्ण उपसमितिहरु तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिए । त्यस्तै महोत्सवका अतिथि व्यवस्थापन उप समिति संयोजक हिमालय बख्रेलले पोखरा महोत्सव ब्राण्ड बनिसकेकाले यसलाई सफल बनाउनका लागि सम्पूर्ण एकजुट हुनुपर्नेमा जोड दिए । पोखरा महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले सामाजिक काम गर्दै आएको हुँदा यसलाई अझै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउने गरी महोत्सवमा काम गर्नुपर्ने उनको भनाइ रहेको थियो ।   झाँकी ¥याली ब्यवस्थापन उपसमिति संयोजक सूक बहादुर गुरुङले महोत्सव पोखराकै मुख्य महोत्सव भएकाले दर्शकहरुको चापलाई मध्येनजर गरी त्यसको तयारीमा लाग्नुपर्नेमा जोड दिए । अनुगमन उपसमिति संयोजक लालकाजी गुरुङले महोत्सवमा वर्षेनी दर्शकहरुको वढ्दो आकर्षण रहेकाले दर्शकहरुको माग अनुसारनै महोत्सवलाई परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिए । कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले कलाकार ब्यवस्थापनको काम अगाडी वढिसकेको बताउदै अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा पनि दर्शकको आकर्षणकै केन्द्रमा रहेको कलाकारहरु महोत्सवमा ल्याउने बताए ।  सचिवालय उप समिति संयोजक शान्त बहादुर थापाले पोखरा महोत्सव आफैमा ब्राण्ड भएकाले यसलाई थप रौनकता दिन आवश्यक रहेको बताए ।  प्रायोजक व्यवस्गापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले महोत्सवको प्रायोजकहरुको बारेमा टुङ्गो लागिसकेको र छिट्टैनै सम्झौताको कामलाई अगाडी बढाउने बताए । प्रचार प्रसार ब्यवस्थापन उपसमिति संयोजक दिनेश सुनारले महोत्सवको प्रचारप्रसारमा कुनैपनि कमि आउन नदिने गरी आफ्नो तर्फबाट काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले स्टल बुकिङ खुल्ला छिट्टै नै गर्ने गरी तयारी अगाडी बढेको बताए । स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजक सन्तोष कार्कीले अघिल्लो संस्करणको महोत्सवहरुमा जस्तै यसपटक पनि आवश्यक्ता अनुसार स्वयंसेवक परिचालन गर्ने तयारी रहेको बताए । ब्यानर ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले ब्यानर संकलनको काम भइरहेको बताए ।  त्यस्तै स्टेज ब्यवस्थापन उपसमिति संयोजक पूर्ण कुमार श्रेष्ठले यसपटकको महोत्सवमा स्टेज अघिल्ला महोत्सव भन्दा फरक र पृथक हुने बताए । टिकट काउण्टर ब्यवस्थापन उपसमिति संयोजक शिव थापाले यसपटकको महोत्सवमा लाइन लागेरका टिकट काट्ने भन्दापनि आधुनिक प्रविधीको उपयोगलाई जोड दिने बताए । खानेपाली तथा सरसफाई ब्यवस्थापन उपसमिति संयोजक पदम बहादुर कार्की(बिजय)ले अघिल्लो संस्करणमा जस्तै यो संस्करणमा समेत महोत्सवमा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । अतिथि ब्यवस्थापन उपसमिति संयोजक शान्ति सुवेदीले अथितीको स्वागत सत्कारका लागि कुनैपनि कमि कमजोरी हुन नदिने बताइन । सुरक्षा व्यवस्थापन उपसमिति संयोजक बुद्ध कार्कीले महोत्सवको सुरक्षालाई मध्यनजर गरि महोत्सव स्थलमा अत्याधुनिक सिसिटीभी क्यामेरा जडान र सुरक्षाकर्मी परिचालन गर्न आफुले महत्वपूर्ण भुमिका खेल्ने बताए । अतिरिक्त क्रियाकलाप उप समिति संयोजक गणेश खड्काले महोत्सवलाई उत्कृष्ट बनाउन आफु बिगतमा पनि लागि परेको र यसपटक पनि डटेर लाग्ने बताए । पार्किङ व्यवस्थापन उप समिति संयोजक सुरेश  थापाले पार्किङ ब्यवस्थापनमा कुनैपनि कमजोरि नहुने बताए । पृष्ठपोषण ब्यवस्थापन उपसमिति संयोजक आनन्द थापाले १४ औं संस्करणको पोखरा महोत्सवलाई अघिल्लो महोत्सवहरु भन्दा पृथक बनाउने सोंचका साथ आफुहरुले काम गरेको बताउदै टिकट, सिजनल पास लगायतका क्षेत्रमा यसपटक अनलाईन माध्यामबाट आफुहरुले काम गर्ने बताए । ट्राफिक व्यवस्थापन उप समिति संयोजक कृष्ण थापा मगरले बिगतका वर्षहरुमा जस्तै यसपटक पनि ट्राफिक ब्यवस्थापनलाई सहज बनाउने गरी काम गर्ने तयारी रहेको बताए । स्वास्थ्य उप समिति संयोजक नरहरी पनेरुले महोत्सव अवधिभर स्वास्थ्य जाँचको ब्यवस्थालाई बिगतमा जस्तै निरन्तरता दिने बताए । खाना, खाजा व्यवस्थापन उप समिति संयोजक कृष्ण गौतमले महोत्सव अवधिभर आफुले पाएको जिम्मेवारी पालना गर्ने बताए ।   मुलद्धार उप समिति संयोजक धनराज गुरुङले अघिल्लो संस्करण देखि आफुले मुलद्धारको काम सम्हालेको र यसपटक पनि उक्त काममै निरन्तरता दिन पाउदा खुसी रहेको बताए ।  विद्युत व्यवस्थापन उप समिति संयोजक कुशल ढुंगानाले आफु युनाईटटेड क्लब संग जोडिन पाउँदा खुसी भएको बताउदै आफुले पाएको जिम्मेवारी बहन गर्ने प्रतिवद्धता ब्यक्त गरे । सो अवसरमा वोल्दै महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव सफल बनाउनमा विभिन्न उपसमितिहरुको उल्लेख्य भुमिका रहने भएकाले सम्पूर्णले आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए । पोखरा महोत्सव सम्पूर्णको एकतामा सफल हुँदै आएको आफुलाई स्मरण रहेको बताउदै बिगतका महोत्सवलाई जस्तै १४ औं संस्करणको पोखरा महोत्सवलाई समेत भब्य र सभ्य बनाउन सम्पूर्णको साथ र सहयोग रहनेमा आफु विश्वस्त रहेको थापाको भनाइ रहेको थियो ।

पोखरा:  पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको तयारी सुरु भएको छ । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ ।  खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको उनले बताए । यसवर्षको प्रतियोगितामा  निजी तथा सामुदायिक विद्यालय गरेर १ सय ४० भन्दा बढि विद्यालयको सहभागिता रहने जनाईएको छ ।  जति धेरै विद्यालय सहभागी हुन्छ त्यति नै राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले बढिभन्दा बढि विद्यालय सहभागी गराउने आयोजकको तयारी छ । ग्रासरुट देखि नै खेलकुद विकास गर्न र खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताले सहयोग पुर्‍याउने अध्यक्ष गोदारको विश्वास छ । प्रतियोगितामा खेल सञ्चालन तथा व्यवस्थापन गर्नका लागि प्रशिक्षक समेत तोकिएको छ । जसअनुसार भलिबलका लागि रामबहादुर लामिछाने, कबड्डीका लागि सागर भण्डारी, एथ्लेटिक्सका लागि गोप बहादुर अधिकारी, उसुका लागि दिलिप लामा, तेक्वान्दोका लागि निरज बहादुर नेपाली, कराँतेको लागि धन लामा प्रशिक्षकका रुपमा छन् । प्रतियोगिताको सन्दर्भमा शुक्रबार व्यवस्थापन तथा निर्देशन समितिसँग पोखरा महानगर खेलकुद विकास समितिले छलफल गरेको छ । छलफलका सहभागिले प्रतियोगितालाई प्रभावकारी बनाउनका लागि मिहिन ढङ्गले तयारी गर्नुपर्ने सुझाएका छन् ।   प्रतियोगितामा ग्रासरुट लेभलका खेलाडीका सहभागिता रहने भएको कारणले गर्दा उनीहरूलाई अनुशासनदेखि नियम लगायतका विषयमा समेत जानकारी दिएर निखारता थप्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा कमजोरी हुन नदिनको लागि व्यवस्थापनमा ध्यान दिनुपर्ने र फर्जी विद्यार्थी समावेश गरिएको भेटिएमा कारवाही समेत गर्नुपर्ने सुझाब दिएका थिए । प्रतियोगितामा सामुदायिक विद्यालयको सहभागिता बढाउन समेत पहल गरिने अध्यक्ष गोदारको भनाइ छ । 

पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई नगद र सम्मानपत्र प्रदान गरे ।  उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो । फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले पत्रकारिता पुरस्कारका यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो ।  पुरस्कृत व्यक्तित्व कोइराला हाल समाधान मिडिया ग्रुपअन्तर्गतको समाधान न्युज डटकमका सम्पादक छन् । स्याङ्जा पुतलीबजारका कोइरालाले विसं २०५९ देखि काठमाडौंमा रहेर अन्नपूर्ण पोस्टबाट पत्रकारिता सुरु गरेका थिए ।  पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले विसं २०६५ देखि पोखरालाई कर्मथलो बनाएर सक्रिय छन् ।  पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा अध्यापन समेत गराउँछन् ।  उनी संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् भने गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भएर पनि काम गरेका थिए । यसअघि उनले पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् । पुरस्कार ग्रहणपछि पत्रकार कोइरालाले निजी क्षेत्र सबल भए मात्र यस क्षेत्रले लोकतन्त्रको पहरेदार मानिने पत्रकारिताको महत्व बुझ्ने बताए ।  त्यसपछि पत्रकारिता क्षेत्रको सबलीकरण हुने उनको भनाइ थियो । ‘एक सबल र नैतिकवान् निजी क्षेत्रविना व्यावसायिक पत्रकारिताको आर्थिक मेरुदण्ड बलियो हुन सक्दैन,’ उनले भने, ‘निजी क्षेत्रको लगानीकै कारण रोजगारी सिर्जना भएको र सरकारको आम्दानी बढेको सकारात्मक पक्षलाई नजर अन्दाज गरिएको छ । जतिसुकै आदर्शका कुरा गरे पनि यो समय पुँजीवादी अर्थ व्यवस्थाकै समय हो ।’  निट डेण्टलले फोनिज गण्डकीसँग सहकार्य गरेर यो पुरस्कार स्थापना गर्नुलाई मैले निजी क्षेत्रको विवेकपूर्ण र सकारात्मक कदमका रूपमा लिएको उनले सुनाए ।  कार्यक्रममा उनले पत्रकारिता अहिले संक्रमणकाल र आर्थिक मन्दीको दोहोरो चपेटामा बताए । ‘विज्ञापन बजार खुम्चिएको छ। धेरै मिडिया हाउसहरू बन्द हुने वा जनशक्ति कटौती गर्ने अवस्थामा छन्’ उनले भने, ‘गण्डकीमा पनि अनलाइनहरूको संख्या बढेको छ, तर गुणस्तरीय र दिगो सामग्री पस्किने चुनौती यथावत छ ।’ यस्तो अवस्थामा पोखरामा रहेर पत्रकारिता गर्दा काठमाडौंका राष्ट्रिय मुद्दाको नक्कल गर्नुभन्दा पोखराका स्थानीय ’इश्यु’ लाई प्रधानता दिनुपर्ने उनको सुझाव थियो ।  कार्यक्रमका मेयर आचार्यले आदिवासी जनजाति पत्रकार (फोनिज) ले स्थापना गरेको पुरस्कारबाट अन्य समुदायका पत्रकारलाई सम्मान गरी फोनिजले समावेशीताको सन्देश दिएको बताए ।  जताततै खत्तम देखिरहेको समाजमा जनतालाई सही सूचना सम्प्रेषण गरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका पत्रकारलाई सम्मान गरिएको उनले खुसी व्यक्त गरे । पत्रकारलाई हौसला प्रदान गर्न पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने निट डेण्टलले पनि उल्लेखनीय काम गरेका उनको भनाइ थियो ।  नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले फोनिजले स्थापना गरेको पुरस्कार पहिलोपटक गैरफोनिज पत्रकारमा प्राप्त गर्नुले सकारात्मक सन्देश दिएको बताए । पौडेलले भने, ‘पोखरामा वेलनेस टुरिजम विकास हुँदै गएको छ, विश्वमै महँगो मानिने दाँत उपचारमा निटले गण्डकीकै आफूलाई स्थापित गर्न सकोस् ।’ निट डेन्टलका प्रबन्ध निर्देशक वीरबहादुर राना (वीरेन) ले आफू खास धनाढ्य भएर नभई केही नयाँ गरौं भन्ने सोचले पुरस्कार स्थापना गरेको प्रस्ट पारे । रानाले पत्रकारको हितमा अक्षयकोष स्थापना गरेको बताए । उनले भने, ‘यसबापत पत्रकारिता क्षेत्रबाट आफूले त्यस्तो लाभ लिने सोच छैन ।’ प्रतिभा छनोटका लागि फोनिजका संघीय सचिव एमबि आस्थामगरको संयोजकत्वमा समिति गठन गरिएको थियो । समिति सदस्यमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मीना थापा मगर र महासचिव सुरज थापामगर थिए । संयोजक आस्थामगरले पुरस्कार वितरणको मापदण्ड र छनोट प्रक्रिया र पुरस्कृत पत्रकारबा बारेमा प्रकाश पारेका थिए । फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको समारोहमा स्वागत उपाध्यक्ष धनबहादुर गुरुङ र सञ्चालन महासचिव सुरज थापामगरले गरेका थिए । पोखरामा महेन्द्रपुल सञ्चालित नट डेन्टलले वार्षिकोत्सवका अवसरमा कम्पनीमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूलाई सम्मान पनि गरेको थियो  ।   

ढोरपाटन:    सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् ।  पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिएको मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर र तराई–पहाड जोडेको सालझण्डी–ढोरपाटन सडकले बागलुङका सयौँ गाउँ बस्ती जोडेसँगै विकट गाउँ पनि सुगम हुँदैछन् ।  गाउँ–गाउँमा राष्ट्रिय तथा शाखा सडक पुगेपछि नागरिकको जीवनशैलीमासमेत परिवर्तन आउँदैछ । सडकका आसपासमा तीव्ररुपमा बस्ती विस्तार हुँदैछन् तर पछिल्लो समय बन्ने संरचनामा मौलिकता हराउँदैछ । गाउँसम्मै कङ्क्रिटका भवन बन्दैछन् ।  परम्परागत घुमाउने, ढुङ्गेघर विस्थापित हुने अवस्थामा पुगेका छन् । सडकले पाटीपौवा, धर्मशाला, चौतारालगायतका सम्पदा पुरिएका छन् । यस्ता मौलिक सम्पदाको संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।  मौलिक गाउँका रुपमा परिचित तमानखोला गाउँपालिका–३ तमान गाउँ २०६७ सालमा सडकले जोडिएको थियो । सडकका कारण यहाँका धेरै मौलिक सम्पदा नासिएको स्थानीय रनबहादुर रोकाले बताउनुभयो ।  सडकले गाउँमा धेरै विकास भए पनि पुराना सम्पदा संरक्षण भने हुन नसकेको उहाँको भनाइ छ । दैनिक गाउँमा गाडी गुड्न थालेपछि स्थानीयले सहर बजारकै सहनसहन गर्न थालेको भन्दै घर भवन पनि त्यस्तै बनाउन थालेको रोकाले बताउनुभयो । पहिले बनेका रातोमाटो, सेतो कमिरोले पोतिएका घरकोस्वरुप फेरेर धेरैले आयातित रङ प्रयोग गर्न थालेको रोकाको भनाइ छ ।  उहाँले भन्नुभयो, “सडकले गाउँलाई सहर बजारसँग जोड्यो, विकाससँग जोड्यो तर हाम्रा मौलिक संस्कृति र परम्परालाई भने विस्तारै टुटाउँदैछ, सडकले पानीका मूल सुके, थकाई मार्ने चौतारा मासिए, पूजाआजा गर्ने थान मासिए । अहिले त देश विदेशका चालचलन गाउँ भित्रियो, गाउँलेले मौलिकता बिर्सिन थाले, हामी हुँदासम्म पुराना परम्परा रहलान्, हामीपछिका पुस्ताले संरक्षण गर्दैनन्, उनीहरुलाई आयातित संस्कार संस्कृतिकै चासो छ ।” राजमार्ग आसपासमा थपिँदै कङ्क्रिटका घर जिल्लाको निसीखोला गाउँपालिका सडकले जोडिएको डेढदशक भयो । मध्यपहाडी लोकमार्गको धेरै खण्डपर्ने यस क्षेत्रमा २०६७ साल अगाडि कङ्क्रिटका भवन भेट्याउन मुस्किल पथ्र्यो तर अहिले हरेक बस्तीमा ‘सिमेन्टेड’ भवन छन् ।  जिल्लाकै विकट मानिने निसीखोलामा लोकमार्गका कारण सुगम बनेको छ । आफ्नै मगर खाम भाषा, विभिन्न कला संस्कृति र परम्परा रहेको यस क्षेत्रमा पछिल्लो समय विस्तारै सङ्कटमा पर्न थालेको निसीखोला गाउँपालिका–६ का थमबहादुर बुढा मगरले बताउनुभयो ।  एक दशक अगाडिसम्म निसी, भल्कोट तथा आसपासका गाउँमा पुराना शैलीका एकतले काठ, ढुङ्गा र माटोले बनेका मात्रै घर हरेको स्मरण गर्दै अहिले पूरै फेरिएको उहाँको भनाइ छ । आफ्नो पुस्तासम्मले मगर खाम भाषा बोल्ने भए पनि नवयुवाहरु कम बोल्ने गरेको बुढा मगर बताउनुभयो ।  गाउँमा हुने संस्कृतिसमेत लोप हुँदै गएको उहाँले सुनाउनुभयो । बुढामगरले भन्नुभयो, “पहिले हामी निकै विकटमा थियौँ, सडक थिएन, जिल्ला सदरमुकाम पुग्न झण्डै सात दिन लाग्थ्यो, तर अहिले चार घण्टामै बागलुङ बजारमा पुग्न सक्छौँ, सडककै कारण अहिले हाम्रो जीवनशैली फेरियो, तर हामीहरुले हाम्रो मौलिकता बिर्सिदै गयौँ, अब त संरक्षण लागि निकै गाह्रो पर्ने देखिन्छ, मौलिकता जोगाउन एउटाको प्रयासले हुँदैन सिङ्गो समुदायनै लाग्नुपर्छ ।” अचेल बन्ने घरमा भेटिदैन मौलिकता ढोरपाटन नगरपालिका–८ का तमबहादुर विकले पछिल्लो समय गाउँमा मौलिक घर कम बन्न थालेको बताउनुभयो । अहिले बन्ने अधिकांश घरहरु नयाँ शैलीका हुने गरेको उहाँको भनाइ छ ।  नयाँ घरमा पहिलेको जस्तो रातोमाटो र कमिरोले पोत्न छोडेर विभिन्न थरिका रङ लगाउन थालिएको विक बताउनुहुन्छ । आफूहरुको पालामा बिहान उठ्ने, घर लितपोत गर्ने र बल्ल अरु काम गर्ने गरेको स्मरण गर्दै अहिले उक्त चलनसमेत हराएको उहाँले बताउनुभयो ।  पहिले गाउँका अबै घर ढुङ्गा माटोको गारो र छानो पनि ढुङ्गैको हुने गरेकोमा अहिले सिमेन्ट र जस्तापाताले छाउन थालेको विकको भनाइ छ ।“अहिले त गाउँ घरमा बजारको जस्तो चलन आउन थालिसक्यो, घर पनि नयाँनयाँ खालका बन्न थाले, चालचलन पनि नयाँ आए, उतिबेलाको जस्तो परम्परा अहिले मान्न छोडियो, मान्छे पढ्ने लेख्ने भए, त्यही भएर होला पुराना संस्कृति सबै विस्तारै हराउँदै गएका छन्,” विकले भन्नुभयो, “पहिला गाउँका पूरै घर ढुङ्गाले छाएका थिए, उतिबेला सडक आएको थिएन, जस्तापाता आउँदैनथ्यो, घर बनाउँदै ढुङ्गाकै प्रयोग हुन्थ्यो, अहिले त गाउँको कुनाकाप्चासम्म सडक पुग्यो, सडक जहाँ पुग्यो, त्यही जस्तापाता पुग्यो, जस्तापाता पुगेपछि मान्छेले त्यसैले घर छाउन थाले ।” राष्ट्रिय राजमार्गले जोडिएका ग्रामीण क्षेत्रबाहेक अन्य ठाउँमा पनि मौलिक घर विस्तारै घट्दै छन् । पछिल्लो समय बन्ने अधिकांश घर तथा भवनहरु आधुनिक शैलीमा बन्न थालेका छन् । गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकार प्रकारको बनाउने भएको हो । तमान गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने नीति लिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । मौलिकता जोगान स्थानीय सरकारको चासो आधुनिक प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उहाँले बताउनुभयो ।  पछिल्लो समय स्थानीयस्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातित वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरको भनाइ छ । अहिले गाउँले सहर बजारको सिको गरेर आधुनिकताका नाममा आफ्नो पहिचान गुमाउँदै गएको उहाँ बताउनुहुन्छ । अब बन्ने हरेक घर परम्परागत शैलीमा बन्ने अध्यक्ष बुढा मगरको भनाइ छ । “तमान गाउँ निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर भवन पुरानै शैलीका छन्, गाउँको संस्कार, संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिँदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामीहरु लागेका छौँ, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो” अध्यक्ष बुढामगरले भन्नुभयो, “अब गाउँमा कसैले पनि बजारका जस्ता ठूला–ठूला सिमेन्टका घर बनाउन पाउने छैन, गाउँपालिकाले एउटा मापदण्ड बनाउँछ, त्यही अनुसार गराउनुपर्छ, यो गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।” अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रुपमासमेत विकास गरिने बताउनुभयो । घरका छेउछाउमा स्लेट ढुङ्गा विच्छ्याउने, घरमा लगाइने रङ, ढुङ्गाको छानो पनि एकै प्रकारको बनाइने उहाँको भनाइ छ ।  तमान गाउँ देशको दश नमूना सहरमध्येको एक पर्ने बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा पुग्न सकिन्छ । बोङ्गादोभान र खुङ्खानी दुबैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ । गलकोट नगरपालिका–२ तोरीखोला गाउँ अहिले पनि बाक्लो मगर बस्ती छ । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर छन् । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौँ पुराना घरहरु अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घरहरु पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेपछि नगरपालिकाले यसको संरक्षणम चासो दिएको छ । घरको आँगनमै आएको सडकका कारण स्थानीयलाई सहजता दिलाए पनि त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढेको स्थानीय सुनाउँछन् । तोरीखोला गाउँ जस्ता मौलिकता बोकेका गाउँ बागलुङमा थुप्रै थिए, तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ ।  बढ्दो सहरीकरण र आधुनिकताले परम्परा हराउन थालेपछि गाउँको सुन्दरता, मौलिकता र परम्परालाई जोगाउन तोरीखोला गाउँलाई नगरपालिकाले ‘मौलिक गाउँ’का रुपमा विकास योजना अगाडि सारेको हो ।गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले तोरीखोला गाउँलाई ‘मौलिक गाउँ’का रुपमा विकास गर्ने योजना बनाएको बताउनुभयो ।  यहाँ अब बन्ने हरेक घर स्थानीय स्रोतसाधन प्रयोग गरेर पुरानै शैलीमा बनाइनुपर्ने भन्दै सिमेन्ट प्रयोग गरिएका घर बनाउन रोक लगाउने बताउनुभयो । अध्यक्ष भण्डारीले यहाँका हरेक घरमा सकेसम्म रोतोमाटो र सेतो कमेरोले रङ्ग्याउने नभए एकै किसिमको रङ लगाउनुपर्ने मापदण्ड बनाउने बताउनुभयो । तोरीखोलामा वर्षौँ पुराना कला, संस्कृति प्रचलनमा रहेको हुँदा नगरपालिकाले पनि संरक्षण गर्न थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँगाउँमा मोटरबाटो पुगेपछि पक्की घर भवन धमाधम बनिरहेका छन्, हामीहरुले गाउँको सुन्दरता र पहिचानलाई जोगाउन थालेका छौँ, तोरीखोला गाउँ निकै पुरानो र मौलिकता बोकेको गाउँ भएको हुँदा यसलाई ‘मौलिक गाउँ’कै रुपमा राख्नुपर्छ, अहिले गाउँमा प्रविधिले सबै मौलिकता हराउन थालेका छन्, यहाँ अहिले पनि होमस्टे (घरबास) सञ्चालनमा छन्, धेरै कला संस्कृति पनि प्रचलनमा रहेको हुँदा युवा पुस्तालाई यसप्रति आकर्षण गर्ने र संरक्षणमा टेवा पुर्‍याउने हिसाबले कामको सुरुआत गरेका छौँ, तोरीखोला गाउँको सुन्दरता र मौलिकतालाई जोगाइराख्न हामीहरु गम्भीर बनेका छौँ, पर्यटक भित्र्याउनका लागि पनि प्रयास थालेका छौँ ।”