पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थि...

लमजुङ:  पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।  लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गएरातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।

काठमाडौं:  हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात पनि हुनसक्ने छ ।

काठमाडौं:  नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि असार १५ गते बस्नेगरी तय भएको बैठक आज बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ । कांग्रेस पूर्वसांसद ढुण्डिराज शास्त्रीको सोमबार निधन भएपछि त्यसमा शोक प्रस्ताव पारित गर्नेलगायत कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको हो । शास्त्रीको पार्थिव शरीर बिहीबार बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीँबाट शवयात्रा सुरु गरिनेछ । शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पोखरा:  तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् ।   प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले बिजयी भयो । जित संगै दुबै टोलीले समुह बी मा २–२ अंक जोड्न सफल भएका छन् ।  खराव मौसमका कारण छोट्टाइएको १३–१३ ओभरको खेलमा पर्वतले टस जितेर फिल्डिङ रोजेपछि कास्कीले पुरै ओभर खेल्दै ९ विकेटको क्षतीमा १०८ रन बनायो ।  कास्कीका लागि सफल श्रेष्ठले आक्रामक प्रदर्शन गर्दै २२ बलमा ४ चौका र २ छक्का सहित ४० रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले १२ बलमा २३ रन जोडे ।  पर्वतका लागि अमृत गुरुङले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने रोशन गौतमले २ विकेट र राजु थापाले १ विकेट लिए । १०९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको पर्वतले निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सक्यो । रोशन गौतमले सर्वाधिक ३५ रन बनाए भने सन्देश खड्का र अभिषेक थापाले क्रमशः १२ र १० रनको योगदान दिए । कास्कीका सिब्रिन श्रेष्ठले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए भने कृष्ण पौडेल र सुभाष भण्डारीले समान १–१ विकेट झारे । प्लेयर अफ द म्याच कास्कीका सफल श्रेष्ठ घोषित भए । यस्तै आज नै भएको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको गोरखाले निर्धारित २० ओभरमा नवलपुरलाई ८ विकेटको क्षतिमा १४३ रनमा रोक्न सफल भयो तर जवाफी ब्याटिङमा आफैं १५.२ ओभरमै ५२ रनमै समेटिँदै ९१ रनले हार ब्यहोरोको छ ।  नवलपुरको सुरुआत केही कमजोर रह्यो । सुरुवाती तीन विकेटहरू चाँडै गुमाएपछि टोलीको इनिङ्सलाई रिजन काफ्लेले ३६ बलमा ३७ रन र अपराजित पौडेलले २३ बलको सामना गर्दै २६ रन बनाउँदै पारीलाई सम्हाले । सुदीप अर्यालले १० बलमा २१ रन बनाउँदै तीव्र पारी खेले । नवलपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो । गोरखाका युनिश थापाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३ विकेट लिए भने स्वरुप राज श्रेष्ठ र मेहुल श्रेष्ठले २–२ विकेट लिए । तर यता गोरखाको ब्याटिङ सुरुदेखि नै कमजोर रह्यो । कप्तान गौरव पौडेल १६ रनमै आउट भए भने अरू कुनै ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । सम्पूर्ण टोली १५.२ ओभरमै ५२ रनमा समेटियो । नवलपुरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्विकार श्रेष्ठ र कमल परियारले ३–३ विकेट लिए भने अपराजित पौडेलले २ विकेट लिए । कमल म्यान अफ दि म्याच बने ।  बुधबार समुह बी अन्तर्गत लिगको खेलमा पर्वतले नवलपुरको सामना गर्नेछ भने गोरखाले कास्कीको सामना गर्नेछ । समुह ‘ए’बाट भने स्याङजा फाइनलमा प्रवेश गरिसकेको छ ।  पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ ।  समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।  

काठमाडौं: सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीसँग मंगलबार भेट गर्दै उनीहरुले यसबारे ध्यानाकर्षण गराएका हुन् । भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोली सहभागी थियो । त्यसअवसरमा उनीहरुले करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेका छन् । व्यवसायीहरूले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहे आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।   प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यामबहादुर थापा मगर बागलुङ नगरपालिका -१०, भकुण्डे, धौलेचउर, बागलुङ   सकारात्मक सोच बोकेका अभियन्ताहरू शब्द बिना झल्किने दीप जस्तै अहिलेसम्म ओझेलमा छन् । ध्यानभन्दा टाढा, ध्वनि भन्दा मौन।   उनीहरूले सुझाव दिन्छन्, सल्लाह दिन्छन्, तर ती ध्वनि हावादारी भाइरलको कोलाहलमा हराउँछ। किनभने आज नकारात्मकता बिक्छ, भय बेचिन्छ, र विभाजन रमाइलो ठानिन्छ। सृजनशील विचार पर्खिरहेका हुन्छन् शान्त कोठामा तर चिच्याउने झूटा आरोपहरू स्क्रिन भरि फैलिन्छन्।   अब प्रश्न उठ्छ । कसरी सिर्जनात्मक बनाउने यो बिग्रिएको समाज? कसरी हुर्काउने ती सकारात्मक सोचका बिरुवाहरू जुन माटोमै बाँच्न चाहन्छन्, तर पानीको साटो विष पाउँछन्? सुरुवात आफैंबाट गरौं। एक विचार लेखौं— जुन जोड्छ, एक कथा बनाऔं— जसले पुल बनाउँछ, र एक दृष्टिकोण विकास गरौं । जो आलोचना होइन, समाधान खोज्छ। हामी सबै बन्न सक्छौं पथप्रदर्शक । जब नकारात्मकताको बिरूद्ध एक चोखो विचार उभिन्छ। जब ‘भाइरल’ होइन, ‘वास्तविकता’ बन्छ मूल्य। सकारात्मक सोच कमजोरी होइन, साहस हो। सल्लाह दिनेहरू हँसिला मात्र होइनन्, गम्भीर सपना देख्नेहरू हुन्। त्यसैले, हामी लेखौं, बोलौं, सिर्जना गरौं । शब्दमा गहिरो उज्यालो बोकेर, कथा बनाऔं— जुन टोड्ने होइन, टुटाउने होइन जोड्ने हो।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन गलामा भिरेर संसद् भवन पुगेका छन्।  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उनको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरू आज निलो रिबन भिरेरै संसद् भवन प्रवेश गरेका हुन्।  रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार मानव तस्करीविरुद्धको अभियानलाई विश्वभर ुनिलो रिबनुको प्रतिकले जनाउने भएकोले आफूहरू त्यस्तै गरी प्रस्तुत भएको बताए। रास्वपा गत जेठ १३ गतेदेखि लगातार सदनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै विरोध जनाउँदै आइरहेको छ। तर सत्तापक्षले भने यसलाई इन्कार गरिरहेका छन्। 

चितवन:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताउनुभएको हो ।  दाहालले भन्नुभयो, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।” यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उहाँको भनाइ छ । यो मुद्दालाई त्यत्तिकै नछाड्ने उहाँले बताउनुभयो । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।” प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।” अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पार्नुभयो । संविधानको रक्षार्थ आफूहरूले दुई बुँदे सहमति गरी सत्ता पक्षकै जस्तो भूमिका निर्वाह गरेको उहाँले बताउनु भयो। काँग्रेस एमालेको दुई तिहाइ भए पनि संविधान रक्षार्थ माओवादी पार्टी पनि सत्तापक्ष जस्तै जिम्मेवार बन्नुपर्ने अवस्था रहेको उहाँको भनाई थियो ।

काठमाडौं:   वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।  यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।   त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने  जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राँके–भेडेटार सडक एकतर्फी खुलाइएको छ । अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।