पोखरा: पोखरा महानगरपालिका भरिकै ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको १०६ वषर्को उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ । विगत २० वर्षदेखि पोखरा महानगरपालिका वडा नं १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा आश्रित दाहालको १०६ वर्षको उमेरमा आज बिहान १०.३० बजे वृद्धाश्रममा नै निधन भएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो । उहाँको आजै पोखराको दोविल्ला घाटमा अन्त्यष्टि गरिएको छ । दाहाललाई गत वर्ष पोखरा महानगरपालिकाले ज्येष्ठ नगर पिताको रुपमा सम्मान गरेको थियो । कास्कीको माछापुच्छ«े गाउँपालिका लाहाचोकमा जन्मनुभएका दाहाल सानै उमेरदेखि बेसहारा अवस्थामा पोखरा महानगरपालिका वडा नं २१ निर्मल पोखरीस्थित अशोक र भरत रायमाझीको परिवारको संरक्षणमा बस्दै आउनुभएकोमा पछिल्लो २० वर्ष यता रायमाझी परिवारकै सहयोगमा दाहाल पोखरा वृद्धाश्रममा बस्दै आउनुभएको अशोक रायमाझीले जानकारी दिनुभयो । अध्यक्ष पराजुलीका अनुसार दाहाल पछिल्लो पाँच दिनदेखि उहाँको स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएको थियो ।
पोखरा: नेपाल प्रेस युनियन कास्कीले सयदिने सदस्यता विरतण अभियान आजदेखि सुरु गरेको छ । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा कास्कीमा आजदेखि सदस्यता विरतण अभियान सुरु भएको हो । प्रेस युनियनले सदस्यता विरतण अभियान पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशील सञ्चारकर्मीहरुलाई सदस्यता दिलाउन सहयोग पु¥याउने उद्धेश्यसहित अभियान लिएको छ । साउन १५ देखि कात्तिक २१ गतेसम्म सदस्यता अभियान सञ्चालन गरिरहेको प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले बताए । ‘प्रेस युनियनले अहिले सदस्यता विशेष अभियान सुरु गरेको छ, युनियनले यसकारण अभियान सुरु गरेको छ कि नेपाल प्रेससँग आवद्ध हुन चाहने नयाँ साथीहरुलाई जोड्न अभियान सुरु गरेका छौं, अध्यक्ष लम्सालले भने, ‘यो संस्थामा रहेर निरन्तर लामो समयसम्म काम गरेर संस्थाप्रति इमान्दारिताका साथ उहाँहरुले दिएको योगदान सम्मान गर्ने पनि अभियानसँग जोडेका छौं ।’ अध्यक्ष लम्सालले प्रेस युनियनले कसैलाई अठ्यारो पार्ने गरी शुद्धीकरण अभियानसमेत सञ्चालन नगरेको बताए । ‘सय दिने अभियान पत्रकार महासंघको शुद्धिकरण भनेजस्तै अठ्यारो नपर्ने गरी नेपालका पत्रकारहरुले यो संगठनमा बसेर काम गर्न सक्ने वातावरण बनाउनका निम्ति अभियान सुरु गरेका हौं’, उनले भने, ‘यसमा हामीले ठ्याक्कै शुद्धिकरण शब्दमा किन भनेनौ किनभने, विगतमा पत्रकार महासंघको शुद्धीकरणले अपठ्यारो पा¥यो, तर हामी त्यो अपठ्यारोहरु नगरीकन हामी कसैले नरोक्ने, कसैले नछेक्ने स्वतः स्फुत रुपमा पत्रकारिता जोडिने साथीहरुसँगै जान यो अभियान सुरु गरेका छौ ।’ उनले कात्तिक २१ गतेसम्म सञ्चालन हुने सदस्यता अभियानको क्रममा प्रेस युनियन छोडे, पत्रकारिता छोडे पार्टीमा लागे भन्ने सदस्यहरुलाई व्यवस्थित गर्न सय दिने अभियान सञ्चालन गरेको स्पष्ट पारे । सदस्यता अभियानसँगै मंसिर दोस्रो हप्तासम्म विधान सभासमेत गर्ने प्रेस युनियनले तयारी गरेको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बासु मिश्रले सदस्यता अभियानलाई व्यवस्थित र प्रभावकारी बनाएर लैजाने बताए । अभियानका क्रममा कास्कीमा क्रियाशिल पत्रकार विमल तिवारी, सागर ढकाल, भानु पाण्डे, विनोद पहारी, रिदेस सुनार र सुजन पौडेललाई नयाँ सदस्यता वितरण गरिएको छ । यस्तै पत्रकार विमल तिवारी भने रुपन्देहीबाट सदस्यता कास्कीमा स्थानान्तरण गरेका हुन् । प्रेस युनियन कास्कीले सदस्यता वितरण अभियानलाई समेत तिव्रता दिएको छ ।
रामेछाप: नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलिब्रिज मर्मत सुरु गरेको छ । गत कात्तिकमा निर्माण गरिएको बेलिब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दिबासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलिब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फको ५० मिटर स्पान (आधा पुल) बगाएको थियो । पुल बगाएपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सक्रियतामा उक्त बेलिब्रिज जडान गरिएको थियो । यातायातका साधनको चाप बढेसँगै बेलिब्रिज हल्लिन थालेको, केही लच्केको र नटबोल्ट खुस्किएर बिछ्याइएका पाताहरू खुकुलो हुन थालेपछि जोखिम बढेको थियो । यस पुलबाट अधिकतम १५ टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुन नमिल्ने बताइए पनि बढी तौलका साधन पुलबाट वारपार गर्ने गरको छ । दुई दिनभित्र बेलिब्रिज मर्मत गरिसक्ने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
बाजुरा: बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौंका ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् । राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए । लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि खराब मौसमका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१÷२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकहरूको रचनात्मक प्रतिनिधित्व सहित जबाफदेहिता तथा पारदर्शिता प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न गरिएको हो । सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधिहरू, राजनीतिक दल, शिक्षक तथा वडामा रहेका विभिन्न संस्थाहरू गरी करिब ४५० जनाको सहभागिता रहेको थियो । सहभागीहरूले दैनिक सेवा प्रवाह, विकास निर्माण, साङ्गठनिक सुशासन, पारदर्शिता तथा जबाफदेहिता, ढल, नाला तथा पानीको निकास, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सदुपयोग, नागरिकको स्वास्थ्य सुरक्षा र शिक्षा लगायत समुन्नत वडा निर्माणका आधारहरूका विषयमा खुलेरै गुनासा तथा सुझावहरू राखेका थिए । प्रमुख अतिथिका रूपमा केही क्षण आएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फबाट सिद्ध मावि, बनक्याम्पस, हरियोखर्कहुँदै लेकसाइड जोड्ने ६२ करोड लागतको फास्ट ट्र्याक खुल्न लागेको जानकारी दिए । यो फास्ट ट्र्याकको निर्माणले यस क्षेत्रमा सवारी आवागमन सहज हुनुका साथै पर्यटकीय गतिविधिमा सहयोग पुग्ने विश्वास लिए । “बाटो चाक्लो बनाउँदा तत्कालका लागि केही मापदण्ड छोड्नुपर्ने भएपनि नाति पुस्तालाई ठुलो अवसरका रूपमा रहने भएकाले कसैले पनि सानो मन नगर्नुहोला“ मेयर आचार्यले भने । आर्थिक वर्षको लागि विनियोजित बजेट, योजना तथा कार्यक्रमहरूको प्राथमिकता, भावी कार्ययोजना र खर्चको विवरण प्रस्तुत गर्दै वडा अध्यक्ष बानियाँले गुनासा र जिज्ञासाको जवाफ दिए । बानियाँले वडाको बृहत्तर विकासका लागि सबै नागरिकलाई समेटेर उनीहरूको सल्लाह र सुझाव अनुरूप अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै आवश्यकता र औचित्यका आधारमा प्राथमिकता हेरेर एकपछि अर्को गर्दै विकासलाई अगाडि बढाउने बताए । पोखरा १५ लाई महानगरकै ३३ वटा वडा मध्ये उत्कृष्ट वडा बनाउन सबै वडावासीको साथ र सहयोग रहने उनले विश्वास लिए । वाराही सञ्चार प्रा।लिले सहजीकरण गरेको सार्वजनिक सुनुवाइमा सेवाग्राहीहरूका प्रश्नका जवाफ अध्यक्ष बानियाँसहित वडा सदस्यहरू र सचिव युवराज पौडेलले दिएका थिए ।
काठमाडौं: तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गर्नुभयो । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५ बजे नेपाल आइपुग्नुहुने कार्यक्रम रहेको छ ।
गण्डकी: लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने गरी प्रदेश सरकारले विधेयकको मस्यौदा तयार पारेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन तथा संवैधानिक मामिला महाशाखाका सचिव रामजी दनाईले मस्यौदामाथि प्राररम्भिक छलफल सुरुआत भएको बताए। “मुख्यमन्त्रीसहित सरोकार भएका पक्षहरुबीच एक चरण छलफल भइसकेको छ, मस्यौदा थप परिमार्जन तथा संशोधन हुनसक्छ”, उनले भने, “सेवनका लागि नभई गाँजाको औद्योगिक र औषधीजन्य उत्पादनलाई मात्र वैधता दिने गरी प्रदेश सरकारले कानुन ल्याउन लागेको हो ।” प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, विधेयकको प्राररम्भिक मस्यौदा तयारीमा प्रदेश सरकारलाई सहयोग गरिरहेको नेपाल कानुन समाजका पदाधिकारीलगायत सम्मिलित उक्त बैठकमा गाँजाखेतीलाई कानुनी मान्यता दिनुपर्नेमा एकमत देखिएको थियो । सचिव दनाईले प्रस्तावित विधेयकको खाकाले पूर्णता पाइनसकेकाले ऐन निर्माणको प्रक्रियाले केही समय लिने बताए। लागूऔषध सम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानुनसँग नबाझिने गरी कानुन ल्याउनुपर्ने उनको भनाइ छ । प्रस्तावित विधेयकमा गाँजाखेती र व्यवसायका लागि कडा प्रावधान राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश सरकारले गाँजाखेती सम्बन्धी नौ प्रकारका इजाजत दिने गरी विधेयकको मस्यौदा तयार पारेको हो । जसमा प्रतिव्यक्ति निवेदन दस्तुरको ५ हजार रुपैयाँ देखि खरिद बिक्रीसँगै आयात निर्यातका लागि १ करोड ५० लाख रुपैयाँ सम्म तिरेर अनुमति लिनुपर्ने पाउने व्यवस्था गरिएको छ । गाँजाखेतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाबाट अनुमति लिनुपर्ने र सोको अन्तिम निर्णय गर्ने अधिकार मुख्मन्त्रीमा रहने गरी विधेयमा प्रस्ताव गरिएको छ । अनुमतिबिना गाँजाखेती, ओसारपसार र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गाँजाजन्य पदार्थको विज्ञापन गर्न नपाइने तर रेशाबाट बनेका कपडा, तेल, महल जस्ता औद्योगिक उत्पादनको भने विज्ञापन गर्न पाइने व्यवस्था गरिएको छ । गाँजाखेती व्यवस्थापन र नियमनका लागि शक्तिशाली ‘गाँजा नियमन बोर्ड’ गठनको प्रस्ताव गरिएको छ । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई पनि नियमन तथा व्यवस्थापन गर्न प्रदेश सरकार ऐन ल्याउने तयारीमा छ । सो सम्बन्धी विधेयक विषयतगत समितिबाट पास भई दफाबार छलफलका लागि प्रदेशसभामा पेस गरिएको छ । उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले अर्थ विकास समितिमा विज्ञहरुसहित सरोकार भएका पक्षहरुबीच दफाबार छलफल भएको बताए। “प्रदेशसभा अधिवेशन सुरु हुनासाथ यस विधेयकमा दफाबार छलफल हुन्छ र विधेयक पारित गर्ने प्रकृया अगाडि बढ्छ”, उनले भने । प्रदेश सरकारले सोसम्बन्धी विधेयकलाई गत चैत १४ गते प्रदेशसभामा प्रस्तुत गरेको थियो । मन्त्री बस्यालले घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुनी प्रबन्ध गर्न लागिएको बताउनुभयो । मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादनलाई खुला गर्न लागिएको हो । सङ्घीय कानुनसँग नबाझिने गरी विधेयकलाई पूर्णता दिइने मन्त्री बस्यालले बताए। परम्परागतरुपमा घरघरमा बनाइँदै आएको मदिरालाई एकसाथ वैध घोषणा गर्दा गुणस्तर सुनिश्चितताको समस्या आउन सक्ने हुँदा व्यावसायिक उत्पादनलाई मात्र कानुनी दायरामा ल्याइने उनको भनाइ छ । प्रदेश सरकारले घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणलाई पनि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पनि समेट्दै आएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि पटकपटक घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानुनी मान्यता दिने बताउँदै आएका छन् । पछिल्लो समय प्रदेश र स्थानीय तहले घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका छन् । सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वर्षमा ३० लिटरसम्म उत्पादन गर्न पाउने फैसला गरे पनि व्यावसायिक उत्पादन र बिक्री वितरणका लागि घरेलु मदिरा वर्जित छ । मदिरा ऐन, २०३१ ले पनि घरेलु मदिरालाई वैधानिक मान्यता दिएको छैन । सोही ऐनमा टेकेर प्रहरीले बेलाबेला घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाउँछ । जनजाति समुदायको संस्कृतिसँग गाँसिएको र कतिपयको आयआर्जनको माध्यम बनेको घरेलु मदिरा जफत गरेको भन्दै प्रहरीकै आलोचना हुने गर्छ । वैज्ञानिक विधिबाट गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई ठुलो आर्थिक लाभ मिल्ने मन्त्री बस्यालले बताए। केही समयअघि गण्डकी विश्वविद्यालयले गरेको घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको थियो । प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासायनिक विश्लेषण गरिएको थियो । मर्चाको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिरालाई सुरक्षित बनाउन सकिने आधार अनुसन्धानबाट देखिएपछि प्रदेश सरकारले घरेलु मदिरालाई कानुनी मान्यता दिन लागेको हो । विधेयकमा घरेलु मदिरा उत्पादनका लागि प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । व्यक्ति, फर्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्री वितरण गर्न मनाउने व्यवस्था गरिएको छ । धर्म, परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजत पत्र लिनु नपर्ने व्यवस्था विधेयकमा रहेको मन्त्री बस्यालले जानकारी दिए। उद्योग दर्ता गराउन स्थानीय तहको सहमति, स्थान, आवश्यक पर्ने भाँडा, उपकरण, अन्न तथा फलफूल जस्ता कच्चा पदार्थको आपूर्ति गर्ने क्षेत्र उल्लेख गर्नुपर्ने विधेयकको मस्यौदामा उल्लेख छ । घरेलु मदिरालाई गण्डकी प्रदेश भित्रका कृषि सहकारीलेसमेत दर्ता गर्न सक्नेछन् । यस्तो मदिरामा अन्य मिसावट गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकले गरेको छ । कोदो , फापर, उवा, जौ, गहुँ, मकै, स्याउ , सुन्तला, खुर्पानी, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर जस्ता अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ । प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले घरेलु मदिरालाई कानुनी दायरामा ल्याउँदा स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए। मदिराको व्यावसायिक उत्पादनसँगै संस्कार र संस्कृतिलाई पनि ध्यान दिन जरूरी रहेको उनको भनाइ छ ।
पोखरा: होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेको संघले विहिबार विज्ञप्ति जारी गरी जनाएको छ । संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा पर्यटकलाई आराम गर्दै वातानुकूल (एक्ल्म्टाइज) हुँदै यात्रा गर्ने वातावरणका लागि सम्वन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालाहरुसमक्ष अपिल गरिएको छ । थप भनिएको छ– ‘आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्रा प्रवृत्ति नअपनाउन हामी सुझाव दिन चाहन्छौं । यस्तो जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनिकरण गर्न सरकारीस्तरबाट समेत आबश्यक पहल अगाडि बढाउन हाम्रो अनुरोध छ । यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाई अवधि लम्ब्याउन समेत मद्दत पुग्ने छ ।’ पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न ठाउँमा आउने जाने गर्छन् । पर्यटनको सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षाको पाटो महत्वपूर्ण हुने विषय पनि स्मरण गराइएको छ । तर पछिल्ला दिनमा नेपालको दक्षिण सिमावर्ती क्षेत्र र तराइबाट पोखरा हुँदै एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकहरुको ठूलै संख्या भेटिन थालेको विषय संघले उठाएको छ । भनिएको छ– होटल संघ नेपाल, गण्डकी यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनु हुन्न भन्ने पक्षमा रहेको छ । समुन्द्र सतहबाट एक सय मिटर हाराहारीको उचाई रहेको तराई क्षेत्रबाट आठ सय मिटर उचाईको पोखरा उक्लिएर उही दिन ३७१० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा हो । होचो उचाईबाट एकै दिन एकतर्फी साडे तीन सय किलोमिटर भन्दा लामो अनि उचाईतिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक धपेडीपूर्ण मात्र नभई बर्खा यामको रात्री कुँदाई अन्यन्त जोखिमयुक्त पनि हुन सक्ने भयो । यस्तो कार्यले एकातिर पर्यटकलाई लेक लागेर ज्यानै जान सक्ने जोखिम बढाएको छ भने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने खतरातर्फ पनि संघले सचेत गराएको छ । एक तथ्यांक अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक एकजना नागरिक रहेको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बाहिर ल्याएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउनेहरु पनि भारतीय पर्यटककै संख्या बढी रहन गएको छ । केही दिन अघि काठमाडौंबाट हेलिकोप्टरमा सिधै सगरमाथा क्षेत्र पुगेका एक अष्टे«लियाली पर्यटकलाई लेक लागेपछि काठमाडौं फर्काइएको अर्को उदाहरण पनि छ ।
पोखरा: पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गर्नुभएको हो । तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो । नेपालको अग्रणी व्यापारिक समूहको रूपमा स्थापित लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग एवं सहकार्य गर्ने प्रतिबद्धता जनाए अनुसार वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ तथा रोजगारी सिर्जना सम्बन्धी परियोजना सञ्चालनका लागि समझदारी गरिएको उहाँले बताउनुभयो । पोखराका तालहरूमा लेउ र जलकुम्भी झार नियन्त्रण गरी पर्यावरणीय सन्तुलन र पर्यटकीय आकर्षण कायम राख्ने, निकालिएको जलकुम्भी झारबाट हस्तकलाका सामग्रीहरू उत्पादन तथा प्रशोधनका लागि स्थानीय समुदायमा सीप विकास मार्फत रोजगारी सिर्जना गर्ने, गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीहरूलाई इन्टर्नसिप र व्यावसायिक प्रशिक्षण प्रदान गरी रोजगार र उद्यमशीलता तर्फ आकर्षित गर्ने, पोखरा महानगरपालिकामा गरिबिको रेखा मुनी रहेका विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र विद्युतीय पूर्वाधार सुधारमा सहयोग गरी महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजनाले निर्दिष्ट गरेका उद्देश्यहरू प्राप्तिको दिशामा योगदान गर्ने, संयुक्त रूपमा जलवायु वित्त र जलवायु न्याय कोषको खोजी गरी विपन्न समुदायलाई सहयोग गर्ने लगायत उद्देश्यले समझदारी गरिएको नगर प्रमुख आचार्यले बताउनुभयो । महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ र जलकुम्भी लगायत झारहरूको व्यवस्थापन, जलकुम्भीबाट हस्तकला उत्पादन र सिप विकास, गण्डकी बहु प्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरण र नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा विद्युतीय पूर्वाधार सुधारको क्षेत्रमा समन्वयात्मक ढङ्गले परियोजना सञ्चालन हुने लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसका लागि लक्ष्मी ग्रुपले देश तथा विदेशबाट अत्याधुनिक प्रविधि भित्र्याउने, ताल सरसफाइ र जलकुम्भी प्रशोधनका लागि आवश्यक वित्तीय स्रोत, उपकरण, प्राविधिक, विज्ञ परामर्शदाता, जनशक्ति लगायतको व्यवस्थापन, हस्तकलाका सामाग्रीहरू उत्पादन तथा प्रशोधनका लागि आवश्यक तालिम तथा प्रशिक्षण र विपन्न परिवारहरूलाई विद्युतीय चुल्हो वितरण गर्नेछ । परियोजना परीक्षण काल ६ महिना सहित ५ पाँच वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाको प्राविधिक गुणस्तर तोकिएको मापदण्ड अनुसार नियमित अनुगमन र मूल्याङ्कन गरिनेछ । पहिलो चरणमा पाइलट परियोजना ६ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारीताका आधारमा पोखराको फेवाताल लगायत अन्य तालहरूमा परियोजना क्रमशः विस्तार गर्दै लगिने आचार्यले बताउनुभयो । परियोजना मार्फत पोखरामा रहेका तालहरूको दिगो संरक्षण र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ भने, तालहरूमा देखिने फोहोर र प्रदूषणको समस्या समाधान हुनेछ । स्थानीय समुदायको आर्थिक सशक्तीकरण, आयआर्जन र जीविकोपार्जनमा उल्लेखनीय सुधार गर्दै विपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण गरी वातावरण तथा पर्यावरणीय सन्तुलन मार्फत पोखरा महानगरपालिकाको प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनमा सहयोग पुग्नेछ ।

