तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

रामेछाप: रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको सवारी साधान (पिकअप स्कारपियो) गाडी मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको बताइएको छ । स्कारपियो’का चालक एव उनीका पति ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई मन्थली सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार गाडी सडकबाट करिब एक सय मिटर तल खसेर तामाकोशी नदी किनारमा पुगेको थियो ।  मन्थली –७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्जसमेत रहनुभएकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम  हेटौँडामा अध्ययनरत रहेका छोरालाई भेट्न आज बिहान हेटौँडा जाँदै गरेका बताइएको छ । 

मकवानपुर:  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्र बानियाँको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।    आफ्ना सदस्यहरुलाई बानियाँले कुख्यमन्त्रीमा विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थिति हुन, तटस्थ नबस्न र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको छ । बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ । प्रदेश सदस्यहरु श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिको महामन्त्रीद्वय राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन् । बैठकले तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । सो समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेका छन् । 

काठमाडौं:  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद ९राजदरबार० भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका नागरिकको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारहरुले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

काठमाडौं:   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना  छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ । मधेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ घान्द्रुकस्थित रोधी क्लब घान्द्रुकको अध्यक्षमा लक्षिण गुरुङ सर्वसम्मत चयन भएका छन् ।  शनिबार सम्पन्न भएको रोधीं क्लबको १७ औं साधारण सभा तथा चौथो अधिवेशनबाट लक्षिण गुरुङका अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।  क्लबको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ लामा, उपाध्यक्षमा रुक्सा गुरुङ (मिना), सचिवमा अर्जुन क्षेत्री, सहसचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा सन्तोष क्षेत्री चयन भए ।  यस्तै क्लबको सदस्यहरुमा कृष्ण बहादुर गुरुङ, ईश्वर गुरुङ, कृष्णा सुनार, मनबहादुर क्षेत्री चयन भए ।  नवनिर्वाचित अध्यक्ष लक्षिण गुरुङले घान्द्रुकको विकास, खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा विशेष ध्यान दिने बताए ।  ‘घान्द्रुकको विकासमा जनप्रतिनिधि र क्लबले सहकार्य गर्दै अगाडि बढ्ने छौं, नवनिर्वाचित अध्यक्ष गुरुङले भने, ‘कल्चर र नेचरमा धनी घान्द्रुकको विकाससँगै खेलकुद, शिक्षा, पर्यटनसँगै संस्कृति संरक्षणमा विशृष ध्यान दिने गरी काम गछौं ।’

पोखरा:   पोखरामा अवैध सुनचाँदीका गहनासहित जिल्ला प्रहरी कार्यालय कास्कीले ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–२,३,४,९ वडाको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीको कारोवार भइरहेको सूचनामा गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको सयुक्त टोलीले ११ जना भारतीय नागरिकलाई शुक्रबार राति पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्याम बाबु ओलियाले पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीका गहना विक्री वितरण भैरहेको सूचनापछि ‘अप्रेशन एल्लो मेटल’ नाम दिएर गरिएको अनुसन्धानका क्रममा ६केजी ४ सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिक पक्राउ परेको बताए ।  ‘शुक्रबार हामीलाई पोखराको विभिन्न स्थानमा अवैध रुपमा सुनचाँदीको गहना विक्री वितरण भइरहेको सूचना आएको थियो, प्रमुख ओलियाले भने, ‘सूचनापछि कास्की प्रहरीले अप्रेशन एल्लो मेटल अनुसन्धान गर्दै जाँदा अवैध सुनसहित भारतीय नागरिक पक्राउ गर्न सफल भएका छौ भने एक जना फरार छन् खोजी कार्य तिव्र पारेका छौं ।’ उनका अनुसार कास्की प्रहरीले शुक्रबारको सुनचाँदी मूल्य अनुसार करिव ११ करोड मूल्य बराबरको सुनचाँदी बरामद गरेको हो ।  कास्की प्रहरीले ११ जनाको साथबाट (करिव ६केजी ४ सय ग्राम सुन )५ सय ४९ तोला ४० लाल सुन, ४ सय ४४ तोला ७३.९ लाल चाँदी, ५ लाख १४हजा ६सय ६५ रुपैयाँ नगद बरामद गरेको छ ।  पक्राउ परेका भारतीय नागरिकहरुले अनुसन्धानको क्रममा आफुहरु पेशाले कालिगढ मात्र भनेपनि उनीहरु नै व्यवसाय र कालिगढ भएको प्रहरीको दावी छ ।   कसको साथबाट कति सुनचाँदी र नगद बरामद ?  पक्राउ पर्नेमा भारत घर भई पोखरा २ मोहरिया टोलमा विगत १६ वर्षदेखि कालिगढको काम गर्दै आएका राजेन्द्र जगतापको साथबाट ११ तोला २० दशमलव ६ लाल सुन, २ सय ९६ तोला ३३ लाल चाँदी र १लाख ६० हजार ५ सय नगद, मोहरिया टोलमा विगत २० वर्षदेखि कालिगढको काम गर्दै आएका मनिक लाल आदकको साथबाट १३ तोल १७ लाल सुन, १० तोला ५५ लाल चाँदी, विन्ध्यवासिनीमा १५ वर्षदेखि कालिगढको काम गर्दै आएका सम्दिप ढापको साथबाट ३ तोला ८ लाल सुन बरामद भएको हो ।  यस्तै मोहरिया टोलमा नै विगत १६ वर्षदेखि सुनचाँदीको डिजाइनको काम गर्दै आएका सोमनाथ पालको साथबाट १२ तोला १२ दशमलव ७ लाल सुन, ९ तोला ५९ दशमलव ४ लाल चाँदी, पोखराको तेर्सापट्टीमा विगत २० वर्षदेखि सुनचाँदीको काम गर्दै आएका दिपक सामन्तको साथबाट ३८ तोला ५ लाल सुन, ३० तोला ११ लाल चाँदी, पोखरा–३ मा विगत २८ वर्षदेखि सुनचाँदीको काम गर्दै आएका गोविन्द दिण्डाको साथबाट २सय १० तोला ८९ लाल सुन, चिप्लेढुङ्गामा विगत २० वर्षदेखि बस्दै आएका असित वर ८६ तोला ८७ दशमलव १ लाल सुन र ३१ दशमलव ५ लाल चाँदीसहित पक्राउ परेका हुन् ।  यस्तै मोहरिया टोलमा विगत २४ वर्षदेखि बस्दै आएका तापस सामन्तको साथबाट २४ तोला १५ लाल सुन, भैरवटोलमा विगत १२ वर्षदेखि कालिगढको काम गर्दै आएका उञ्जल भोमिक ५ तोला ४६ दशमलव ९ लाल सुन, मोहरिया टोलमा सुनचाँदीको काम गर्दै आएका सुनिता पावरको साथबाट २ तोला ५० लाल सुन, ९३ तोला ६१ लाल चाँदी, प्रोभास माझीको साथबाट ८८ तोला ३१ लाल सुन र १ लाख ८५ हजार नगद बरामद गरेको हो । यस्तै सन्जय ढाव भने फरार छन्  । प्रहरीले उनले काम गर्ने स्थानबाट १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र १ लाख ६९ हजार १ सय ५५ रुपैयाँ नगद बरामद भएको छ ।  पक्राउ परेका उनीहरुलाई सामानसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ । 

धनगढी:  कैलाली कारागारमा हिजो राति भएको भीषण झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र एक जनाको आइसीयुमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। घटनापछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ‘उपयुक्त विधि अपनाई के कसो भएको हो आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न’ भनिएको छ। घटनाको कारणबारे आधिकारिक रूपमा केही सार्वजनिक गरिएको छैन तर प्रारम्भिक जानकारी अनुसार कैदीबन्दीबीचको विवादले झडपको रूप लिएको अनुमान गरिएको छ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनुभएको छ । तुर्कमेनिस्तानको आवाजामा सम्पन्न  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज उहाँ नेतृत्वको टोली स्वदेश फर्केको हो । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका  उपप्रधानमन्त्री ले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति नेपाल आइपुग्नुभयो ।  प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य, उहाँका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल,  संघीय प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्री तथा उच्च सरकारी अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।

काठमाडौं:  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ  भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले  ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।  मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।    वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक लगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।   क्वाँटीको परम्परा जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।  तराई क्षेत्रमा राखी बाँधिदै नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ ।  काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज  बिहानैदेखि मेला लाग्ने गर्छ ।