पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई बुझाउनुभएको हो । प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वद्र्धन तथा सशक्तिकरणका लागि आयोग बनेको उल्लेख गर्दै नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पेश गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो । आयोगका कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्टसमक्ष जानकारी गराउनुभयो । अलीले मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोगले प्रयास गरिरहेको बताउँदै पर्याप्त श्रोत साधन, बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको गुनासो आयोगको छ । गण्डकी प्रदेश प्रमुखको कार्यालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव बद्रीनाथ अधिकारी, प्रमुख स्वकीय सचिव अर्जुन अधिकारी लगायतको उपस्थिति रहेको थियो । मुस्लिम आयोग स्थापना भएको छ वर्ष बितिसकेको छ । नेपालको संविधानको धारा २६४ अनुसार आयोग गठन भएको थियो । यसका लागि २०७४ सालमा मुस्लिम आयोग ऐन, २०७४ बनेको थियो ।
चितवन: मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ । उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए । भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो । क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ । आयोजनाले एक सूचना जारी गरी राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ । मुग्लिन-मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ् बजार क्षेत्रमा कालोपत्र गरिएको छ । धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ । धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ । नेपालले भने, ‘करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ । मौसमले साथ दियो भने थप दुई किमी कालोपत्र गर्दै छौँ ।’ आयोजनाका इञ्जिनीयर विजय दरैका अनुसार अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ । धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदै छ । ‘यो खण्डमा दुई दशमलव दुई किमी छ लेन सडक बन्नेछ । जुन मलेखु, बेनिघाट र मुग्लिन खण्डमा पर्दछ । चार लेन सडक सात दशमलव दुई किमी हुनेछ । यो रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो(ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ’, इञ्जिनीयर दरैले भने । उनका अनुसार बाँकी सडक डेडिकेटेड दुई लेनको हुनेछ । विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन(नागढुङ्गा सडक खण्डलाई तीन ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर छ । शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको आयोजनाका इञ्जिनीयर दरैले बताए । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगायतका काम भइरहेको छ । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।
गुल्मी: गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिराले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परेको कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । “सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाएका छौँ, यात्रीलाई हर्मिचौर माथिबाट देउराली हुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले भन्नुभयो । पहिरो झर्ने क्रम नरोकिएका कारण उहाँले आज बेलुकीसम्म पनि उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताउनुभयो । लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । “सडक कतिबेला खुल्छ भनेर नागरिकले बारम्बार सोधिरहनुहुन्छ, तीन दिन भयो सडक पूर्ण रूपमा बन्द छ, के भनेर नागरिकलाई जवाफ दिने अवस्था यस्तो छ”, उहाँले भन्नुभयो ।
काठमाडौं: एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सिङ्गापुरमाथि छ विकेटले जित निकालेको हो । जितका लागि एक सय ३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक ५५ रनको योगदान गरे । उनले ९७ बलमा पाँच चौकाको सहयोगमा ५५ रन जोडेका हुन् । रौनक श्रीवास्तवले ४० रन बनाए । सिङ्गापुरका लागि आकाश तेजाले तीन विकेट लिए भने युभान पाण्डेले एक विकेट झारेका हुन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान गरे । ओपनर आहान भुधानभामले ३८ रन बनाउँदा अर्का ओपनर रोशन अरुनले ११ रन जोडे । नेपालका लागि कप्तान विपिन शर्माले चार विकेट लिए भने सचिन भट्टले तीन विकेट झारे । त्यसैगरी शुभम खनाल र अभय यादवले समान एक, एक विकेट लिए । यो जितसँगै नेपालले दुई अङ्क बटुलेको छ । अब नेपालले आफ्नो दोस्रो खेल यही असार १० गते जापानसँग खेल्ने छ । एसियाली क्रिकेट परिषद् ९एसिसी० को वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।
पोखरा: ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो । कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो । ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्स एम भी ओले यस महत्वपूर्ण कार्यक्रम पोखरास्थित क्याम्पमा मात्र सिमित नभएर बाहिर सम्पूर्ण ब्रिगेड अफ गोर्खाज र ब्रिटिश सेनामा पनि प्रतिध्वनित भएको स्मरण गराए । ‘जे.पी. साहेबसँगको सम्बन्धमा गर्व गर्ने धेरै नेपालीहरूले पनि यो क्षण नजिकबाट हेरिरहेको र आफुलाई यस अवसरसँग सम्बन्धित गराइरहेका छन्,’ उनले भने । उनी अहिले आफ्नो धर्मपुत्र र परिवारसँग पोखरामा जीवन बिताइरहेका छन् । उनको वास्तविक नाम जन फिलिप क्रस ओ बी ई हो । उनी नेपालमा बस्न थालेदेखि सबैले जे.पी. क्रस भनेर चिन्छन् । करिब ४० वर्षसम्म ब्रिटिश गोर्खामा सेवा गरेका उनी सेवाबाट अवकाशपछि विगत ४९ वर्षदेखि नेपालमा बस्दै आएका छन् । केही वर्ष अघिदेखि क्रस नेपाली नागरिकको रूपमा छन् । अहिले आफूलाई ‘बेलायतमा जन्मेका नेपाली’ भन्न रुचाउने क्रस ८० वर्षअघि २१ वर्षको उमेरमा ब्रिटिश सेनाका साथ पहिलो पटक नेपाल आएको स्मरण गर्छन् । उनले आफ्नो जीवनभरको सैन्य सेवा र ज्ञानबारे १९ वटा पुस्तक लेखेका छन् । साथै, उनले आफ्ना टिप्पणी तथा संस्मरणहरूमा सधैं गोर्खाहरूलाई उच्च सम्मानमा राख्छन् । नेपाल, यहाँका मानिस र गोर्खालीहरूप्रति उनको लगावले नेपाल र गोर्खा समुदायमा उनको नामलाई स्थायी बनाएको छ । उनको कृतिहरूमा व्यक्त गरिएको ज्ञानले सैन्य संसारमा राम्रो पहिचान कमाएको छ । गोर्खा सैनिक र लेखकको रूपमा आफ्नो विशिष्ट उपलब्धी बाहेक उनी जंगलयुद्ध र प्रति–विद्रोहका विशेषज्ञका रूपमा चिनिन्छन् । जसले प्रहरी अधिकारी, रक्षा सहचारी र गोर्खा भर्ती अधिकारीको रूपमा अनुभव प्राप्त गरेका छन् । उनी एक उच्च दक्ष भाषाविद् पनि हुन्, जो नेपाली र यसका विभिन्न भाषामा धाराप्रवाह छन् । उनले सैन्यकालमा बर्मा, इन्डो–चाइना, मलाया, बोर्नियो, पाकिस्तान, भारत, हङकङ, र नेपाल लगायत अन्य क्षेत्रहरूमा सेवा गरेका छन् । सोही कारण पनि उनको १०० औं जन्मोत्सव खास रहेको थियो ।
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखा स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा वर्ष २०८२ लाई रजत वर्षका रुपमा मनाइने भएको छ । महासङ्घ कार्यसमितिको शनिबार बसेको बैठकले बर्षेभरि विविध रचनात्मक क्रियाकलाप गर्ने निर्णय गरेको हो । यही असार २५ गते २५ औँ स्थापना दिवस अर्थात रजत जयन्तीका अवसरमा दुईदिवसीय कार्यक्रम गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार असार २४ गते बिहान ध्यान शिविर र दिउँसो पत्रकार महासङ्घका अन्तरशाखा मैत्रीपूर्ण फुटसल खेल आयोजना गरिएको छ । खेलमा पत्रकार महासङ्घ, बागलुङसहित कास्की, पर्वत र म्याग्दीको टिमको सहभागिता रहने जनाइएको छ । बैठकले ध्यान शिविरको संयोजनका लागि उपाध्यक्ष सिर्जना पन्त र फुटसल खेलका लागि कार्यसमिति सदस्य अर्जुन कार्की, सङ्गम घर्ती मगर र पत्रकार रोहन जिसीलाई जिम्मेवारी दिएको छ । असार २५ गते बिहान प्रभातफेरीसहित रजत जयन्ती मूल समारोह आयोजना गरिने सचिव रिजालले बताउनुभयो । मूल समारोहमा महासङ्घमा स्थापित विभिन्न पत्रकारिता पुरस्कार वितरण, सम्मानलगायतका कार्यक्रम हुने उहाँको भनाइ छ । रजत जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई आमन्त्रण गर्ने निर्णय भएको शाखाले जनाएको छ । रजत वर्षका अवसरमा महासङ्घको कार्यालय परिसरमा रजत वर्ष स्तम्भ स्थापना, रजत स्मारिका प्रकाशन, बागलुङ मिडिया सम्मेलनलगयतका कार्यक्रम आयोजना गरिने भएको छ । वर्ष २०८२ लाई तालिम वर्षका रुपमा समेत घोषणा गरी पत्रकार क्षमता विकास कार्यक्रममा केन्द्रित हुन लागिएको शाखाका उपाध्यक्ष सिर्जना पन्तले बताउनुभयो । आधारभूत, विषयगतदेखि मल्टिमिडिया पत्रकारितासम्मका तालिमलाई वार्षिक कार्ययोजनामा समेटेर सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । पत्रकारको पेसागत सुरक्षा र दक्षता अभिवृद्धिका कामलाई महासङ्घले प्राथमिकतामा राख्ने उपाध्यक्ष पन्तले बताउनुभयो । बैठकमा तालिम उपसमितिका संयोजक सिर्जना पन्त, आर्थिक उपसमितिका संयोजक सुवास गौतम, अनुशासन समितिका संयोजक सुवास आचार्य, सूचना÷प्रविधि उपसमितिका संयोजक डम्मर बुढा मगर र अन्तरसंस्था समन्वय उपसमितिका संयोजक नवराज परियारले सम्बन्धित उपसमितिका कार्ययोजनामा पेस गर्नुभएको थियो । बैठकले आगामी साउन पहिलो साता जिल्ला सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारीलगायतसँग सूचनाको हकको प्रचलन आदिका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । शाखाले स्थापना गरेको ‘पत्रकार लेखनवृत्ति कोष’को लक्ष्यलाई छिट्टै पूरा गरी यही वर्षदेखि खोजमूलक पत्रकारिता गरिरहेका पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने जनाइएको छ ।
पोखरामा सम्पन्न पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिताको उपाधि मुखिया बारबरले जितेको छ । पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा भएको फाइनल खेलमा वेलनन एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै मुखिया बारबरले उपाधि जितेको हो । उपाधिसँगै मुखिया बारबरले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको वेलननले नगद रु ७ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा संगम गुरुङ, उदीयमान खेलाडीका रुपमा समिर किसान र उत्कृष्ट गोलरक्षकका रुपमा सुशान्त गुरुङ पुरस्कृत भए । उनीहरुलाई विधागत पुरस्कारसँगै स्पोर्टस् क्यासलमा र रत्नश्रीमा निशुल्क जिमको व्यवस्था गरिएको प्रतियोगिताका व्यवस्थापक सुदिप सुनारले जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा (कक्षा ८, ९ र १० मा अध्ययरत विद्यार्थीहरु) ४३ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई राष्ट्रिय फुटसल तथा फुटबल खेलाडी सुमित श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, समाजसेवी विजया गुरुङ, तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगितालाई सम्पन्न गर्न न्यू ग्यालेक्सी मावि, युनाइटेड बगर, स्पोर्टस् क्यासल प्रालि, बगर भाइखलक, सविन मेमोरियल र रत्नश्री जिमले सहयोग गरेको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा विक्री वितरणका लागि ल्याएको ८२ तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट भारतीय नागरिकसहित २ जनालाई अवैध सुनका गरगहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा भारतको पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४७ वर्षीय रामबहादुर विक छन् । प्रहरीले उनीहरुको साथबाट हिजो (शुक्रबार) सुनको मूल्य १ करोड ३० लाख ४१ हजार आठ रुपैयाँ बराबरको ८२ तोला १६लाल ९ सय ५७ ग्राम पथ्थर बरामद गरेको छ । अवैध रुपमा ल्याइएको सुन पोखरामा विक्री नभएपछि बुटवल लैजादा गर्दा उनीहरुलाई पुम्दीभुम्दीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई सुनसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कास्की प्रहरीले जनाएको छ । बरामद सामानहरुको विवरण सुनको ढिक्का सानो ठुलो – २ तोला २३ लाल सिक्री– २९ थान (तौल १० तोला ३१ लाल) दानावाला माला - १ थान ( तौल २ तोला ९४ लाल) पथ्थर जडित र हिरा जडित औंठी – ५७ थान ( तौल गर्दा १० तोला ५४ लाल) कानमा लगाउने जुली– ३२४ थान (१६२ जोर) ( तौल गर्दा २७ तोला ६३ लाल) मंगलसुत्र – १७ थान ( तौल गर्दा ५ तोला) लकेट- ९९ थान (तौल गर्दा १३ तोला १२ लाल) कालो र रातो माला सहितका पोते– १९ थान (तौल गर्दा ९ तोला ३९ लाल) झुम्का स-साना टुक्राहरु - १ तोला ।
चितवन: चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन शनिबार बिहान एकआपसमा टोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्हुये दुई जनाको मात्रै पहिचान भएको छ । जसमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका( ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । बाँकी छ जनाको सनाखत हुन सकेको छैन । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।