मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १८ औं हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ । शिक्षाको संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप खेलकुद मार्फत अघि बढाउने उद्धेश्य अनुरुप आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो ।  १८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ३ गते देखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ भने औपचारिक उद्घाटन पौष ४ गते हुनेछ ।  स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र÷छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता हुने छ । त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीले जनाएको छ । विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाउने छन् ।  हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले बताएका छन् । उनले भने–“यो प्रतियोगिता मात्रै होइन । यो खेलकुद उत्सव समेत हो । विद्यार्थीहरुलाई खेलकुद मार्फत उनीहरुको क्षमता अभिवृद्धि गर्नु हो भने अर्कातर्फ यूवा खेलाडी उत्पादन गर्नु हाम्रो प्रमुख उद्धेश्य हो । जुन उद्धेश्यमा हामी सफल भएका छौं ।”  प्रतियोगिताले शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व क्षमता, भातृत्व र स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीहरु भित्र रहेको अन्तर्निहित क्षमता उजागर गर्न भूमिका खेल्ने भएकोले सफल बनाउन सबैको सहकार्य गर्न उनले आग्रह गरे ।  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टुतर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १२ मध्ये ४० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीका सचिब सापकोटाले जानकारी दिए । उनले भने–“यो सहभागिताका लागि  र प्रतिस्पर्धाका लागि मात्रै आयोजना होइन । हिसानमा आवद्ध शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि यो सिक्ने थलो भएकोले पनि यो स्पोट्र्स मिटको महत्व छ ।”  प्रतियोगिता सम्पन्न गर्न करिव ३२ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कंडेलले जानकारी दिएका छन् । उनका अनुसार हरेक खेलको टिम विजेताले ७, दोस्रो हुनेले ५, तेस्रोले ३ र चौथो हुनेले १ अंक प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गर्न सफल टिम च्याम्पियन बन्ने छ । सो टिमले उपाधिसँगै आकर्षक रनिङ्ग कप प्राप्त गर्नेछ ।  यसै बीच हिसान कास्कीले विगतका हिसान स्पोर्टस मिटमा सहभागिता जनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम अनुरुप १८औं सस्करणको उद्घाटन समारोहमा पावर लिफ्टिङकी विश्व च्याम्पियन शर्मिला शाहलाई नगद २५ हजारसहित सम्मान गरिने हिसान कास्कीले जनाएको छ । गत वर्ष हिसान कास्कीले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको थियो । १५औं, १६औं र १७औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले लगातार तीन पटक जित्दै शिल्ड कब्जा गरेको थियो । हाल सम्म ग्लोबल कलेजियट माविले लगातार ३ पटक र न्यू ग्यालेक्सीले लगातार ४ पटक जितेर रनिङ्ग शिल्डमा कब्जा गरेका छन् । निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ ।  

पोखरा:  पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ ।  पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि  व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए ।  जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष  गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम प्रसाद आचार्य, विजय गुरुङ, षडानन्द गौतम, भीम सुवेदी, सकुन्तला लम्साल, लेकमाया पुन, राम बहादुर लामिछाने, सागर भण्डारी, दिलिप लामा,  गोप बहादुर अधिकारी, धन लामा, निरोज बहादुर नेपाली  छन् । सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा सुरज अधिकारी,  सदस्यहरूमा शान्ता सुवेदी, भीम सुवेदी, सकुन्तला लम्साल, राजाराम पौडेल र भरत बानियाँ रहेका छन् ।   खेल तथा खेलाडी दर्ता उपसमिति अन्तरगत भलिबल संयोजकमा राम बहादुर लामिछाने,  कबड्डी संयोजकमा सागर भण्डारी, एथलेटिक्स संयोजकमा गोप बहादुर अधिकारी, तेक्वान्दो संयोजकमा हर्क गुरुङ, उसु संयोजकमा शुकदेव रोक्का, कराते संयोजकमा  धन लामा रहेका छन् ।   मार्चपास व्यवस्थापन उपसमिति संयोजकमा हरि जिसी, सदस्यहरूमा पुरुषोत्तम थापा र षडानन्द गौतम, सुरक्षा व्यवस्थापन तथा स्वयंसेवक परिचालन उपसमिति  संयोजकमा पुरुषोत्तम थापा तथा सदस्यहरूमा किसान भण्डारी र लेकमाया पुन रहेका छन् ।   स्वास्थ्य व्यवस्थापन उपसमिति  संयोजकमा प्रविण रानाभाट   र  सदस्यमा पोषण बहादुर थापा मञ्च निर्माण, सजावट तथा सांस्कृतिक व्यवस्थापन उपसमिति   संयोजकमा प्रीति बराल, सदस्यहरूमा लेकमाया पुन, सकुन्तला लम्साल, सोमनाथ भण्डारी र मोना गुरुङ रहेका छन् । खेल मैदान, सरसफाइ तथा पानी व्यवस्थापन उपसमिति संयोजकमा लक्ष्मण कुँवर र सदस्यहरूमा विजय गुरुङ, परशी शेर्पा, गङ्गा थापा, श्याम बिक, सरोज पुन रहेका छन् । अनुगमन उपसमिति संयोजकमा हेम प्रसाद आचार्य, मिडिया प्रचार तथा प्रसार उपसमिति  संयोजकमा राजाराम पौडेल, प्राविधिक उपसमिति  संयोजकमा राजन पौडेल र सहसंयोजकमा सिद्धान्त अधिकारी रहेका छन् । जिल्ला छनोट निर्णायक समिति भलिबलमा बल बहादुर श्रेष्ठ, कौशिल्या खत्री, रमेश जिसी, लेखनाथ लम्साल, कबड्डीमा राजकुमार थापा, हरि जिसी, कविता आले, एथलेटिक्समा गोप बहादुर अधिकारी ,सिद्धान्त अधिकारी, गज बहादुर गुरुङ रहेका छन् । पोखरा महानगर खेलकुद विकास समिति  खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ ।  खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको हो ।

पोखरा:  लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।  ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनबाट प्रभावित भएको उद्योग तथा व्यवसायलाई प्रबद्र्धन गर्ने उद्धेश्यले वर्तमान विषम आर्थिक अवस्थाका बीच व्यवसायी र आम उपभोक्ताको खस्किएको मनोबल उच्च बनाउँदै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताईन । पराजुलीले महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको उहाँले जनाउनु भयो । लेखनाथ महोत्सवलाई ‘अनौपचारिक विश्वविद्यालय’का रूपमा स्थापित गर्ने लक्ष्य रहेको पराजुलीले उल्लेख गरिन । विहिबार देखि सुरु हुने महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी र्याली एवं साँस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको छ । त्यसबाहेक महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, विउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी हुने भएको छ ।  महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी समेत जानकारी प्राप्त गर्न सकिने भएको छ । महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने आयोजकले अपेक्षा गरेको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवका प्रचार प्रसार संयोजक धुब्रबावु भट्टराईले बताए । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने उनले जानकारी दिए । उक्त अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महोत्सवका मुख्य प्रायोजक गृहलक्ष्मी ग्याँस कम्पनीका सञ्चालक धर्मराज बर्तौला लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघसंस्थाको सहयोग रहने आयोजकले जनाएको छ ।  महोत्सवको टिकट दर विद्यार्थीका लागि ५०, साधारण प्रवेश १०० र कन्सर्ट टिकट २०० तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। गृहलक्ष्मी ग्याँस कम्पनी प्रा।लि।को मुख्य प्रायोजनमा हुने उक्त महोत्सवको सह–प्रायोजकमा बिएलसि गु्रप ९नर्भिक हस्पिटल०, पशुपति विस्कुट, हेटौडा डेरी रहेका छन ।

काठमाडौं:   यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ ।  मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो । वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ मन्दिरको काखैमा चारवटा गाउँ छन्, यसमध्ये सबैभन्दा बाक्लो बस्ती र पुरानो गाउँ हो झारकोटगाउँ । यहाँस्थित मुक्तिनाथको काखमा झारकोटसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गुरगाउँ पर्दछन् । यी गाउँमध्ये सबैभन्दा धार्मिक तीर्थालुको आगमनका कारण पुराङ रानीपौवा बजारमा पर्यटकको चहलपहल निकै हुने गर्छ । झारकोटसहित अरु गाउँमा भने पर्यटन गुमनामजस्तै हुन्छ । कागबेनी–मुक्तिनाथ सडकखण्डसँगै जोडिएको झारकोट पर्यटनका हिसाबले सबैभन्दा पछि परेको छ । तत्कालीन समयमा यहाँको कागबेनी–मुक्तिनाथ जाने सडकमार्ग नहुँदा पुरानो झारकोट गाउँमा पर्यटकको चहलपहल हुन्थ्यो । सडक नहुँदा मुक्तिनाथ दर्शन गर्ने धार्मिक तीर्थालुहरू र मनाङ हुँदै थोरङ्लापास गर्ने विदेशी पर्यटक झारकोट गाउँभित्रको गोरेटो बाटो हिँडेर आवतजावात गर्थे ।  मुक्तिनाथ दर्शन गर्न आएका तीर्थायात्री र विदेशी पर्यटक झारकोट गाउँको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यता नियाल्थे । पैदल आएका तीर्थायात्री यहाँको गाउँमा खाजा खाना र बाँस बस्थे । त्यतिबेलाको अवस्थामा  झारकोट गाउँमा स्थानीयको व्यापार व्यवसाय पनि राम्रै चलेको थियो । तर, अहिले झारकोटा गाउँभित्रको गोरेटो पदमार्ग बिरानो बनेको छ । पछिल्लो एक दशकयता गाउँभित्रको गल्ली गोरेटो बाटो स्थानीयवासीको आवतजावतका लागि मात्र सीमित बनेको छ । कागबेनी–मुक्तिनाथ सडक र यस गाउँको आवश्यक प्रचारप्रसार नहुँदा झारकोट ओझेलमा परेको स्थानीय धेचआङ्मो गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँको विकासका लागि युवा जनशक्ति विदेश पलायन हुँदा पर्यटन प्रवर्द्धन हुन नसकेको हो । कागबेनी–मुक्तिनाथ सडकमार्गमै पर्ने झारकोट मुक्तिनाथ मन्दिरको काखैमा भए पनि पर्यटन क्षेत्रबाट कुनै फाइदा लिन नसक्ने अवस्था रहेको गुरुङको भनाइ छ । झारकोट गाउँ विगत डेढ दशकदेखि पर्यटनका हिसाबले गुमनामजस्तै छ । बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक झारकोट गाउँ नजिकैको सडकमार्ग हुँदै मुक्तिनाथ आवतजावत गर्ने भएता पनि झारकोट गाउँमा पर्यटकको उपस्थिति शून्य रहेको स्थानीय गुरुङको दुखेसो छ । “दिनहँु सयौँ तीर्थयात्री हाम्रै गाउँको बाटो ओहोरदोहोर गर्छन्, कति आए कति गए पत्तै हुन्न”, स्थानीय गुरुङले भन्नुभयो, “तीर्थयात्री र पर्यटक सिधै आउँछन् जान्छन्, हामी त हेरेको हेर्यैमात्र ।” प्राचीन वस्ती झारकोटमा ६० घरपरिवार छन् । पहिला सडक नहुँदा गाउँका अधिकांश युवा गाउँ थिए । सडकको विकासले यस गाउँको रोजीरोटीमा नराम्रो धक्का पुग्यो । डेढ दशकअघि निकै चहलपहल हुने झारकोट पछिल्लो समय सुनसान बनेको स्थानीय धेचआङ्मो गुरुङको भनाइ छ । गाउँमा आम्दानी गर्ने माध्यम गुम्न थालेपछि गाउँका युवायुवती एकपछि अर्को गर्दै गाउँ छाडेर विदेश पलायन हुन थालेको उहाँको भनाइ छ । यतिबेला झारकोट गाउँमा युवायुवतीको सङ्ख्या एकदमै कम छ । अधिकांश युवायुवती वैदेशिक रोजागारका लागि युरोप र अमेरिका भासिँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी रहेको स्थानीयवासी गुरुङले उल्लेख गर्नुभयो । हाम्रो गाउँतिर सडक विकास भयो, केही गर्न सक्नेलाई अवसरको ढोका पनि खुला छ, तर विकासलाई समृद्धिमा बदल्ने युवायुवती नै बाहिर पुगिसके, अब गाउँको आर्थिक विकास कसले गरिदेला र रु”, उहाँले भन्नुभयो ।  यहाँको ऐतिहासिक झारकोट गाउँका स्थानीय आंशिक खेतीपाती र पशुपालन व्यवसाय गरी जीविकोपार्जन गर्ने गरेको स्थानीय नम्डुल गुरुङले जानकारी दिनुभयो । यहाँ केहीले याक र घोडाको व्यापार गर्ने गरेको स्थानीय गुरुङको भनाइ छ ।   पछिल्लो समय मुक्तिनाथ मन्दिर नजिकैको चार गाउँका मानिसले घोडाबाट मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरूलाई घोडा चढाएर आयआर्जन गर्ने गरेका छन् । जसमध्ये झारकोटमा पनि केही युवाले मुक्तिनाथमा घोडालाई यात्री ओसारपसार गरी सशुल्क सेवा दिइरहेको स्थानीय गुरुङको भनाइ छ । वर्षभरिको खेतीपाती र पशुपालन व्यवसायले वार्षिक गर्जो टार्न मुस्किल भएकाले वैकल्पिक व्यापार व्यवसायको भर पर्नुपरेको स्थानीय गुरुङले जानकारी दिनुभयो । वारागुङ मुक्तिक्षेत्र–१ स्थित यहाँको झारकोट गाउँमा सदियौँ पुरानो ऐतिहासिक राजाको दरबार अवस्थित छ । प्राचीनकालमा निर्माण भएको यहाँ अवस्थित साढे तीनतले झारकोट राजाको दरबार यहाँको पुरातात्विक तथा सांस्कृतिक सम्पदा रहेको यहाँका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । यहाँको दरबारमा तत्कालीन झारकोट राजाका पछिल्ला पुस्ताले बस्ने र दरबारको भोगचलन गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो । यहाँ सदियौँ वर्ष पुरानो झार छोदे गुम्बा अवस्थित छ । त्यसैगरी झारकोट गाउँमा कुनै व्यक्तिको मृत्यु भएमा उसको शवलाई गाउँभित्र रहेको ९केनिल० मुनिबाट लगेर दाहसंस्कार गर्ने प्रचलन रहेको छ । झारकोट गाउँ नजिकै गुरु सेप्ची रहेको छ । जहाँ ढुङ्गामा कुदिएका जस्ता गुरु पद्ममसम्भवका पाइलाको डोब देख्न सकिन्छ । यहाँ प्राचीनकालमा निर्माण भएका ढुङ्गा र माटोले निर्मित पुराना घर अझै जीवन्त रहेका छन् । गाउँमाथि केहीपर तोराताल अवस्थित छ । ताल वरपर प्राकृतिक वनस्पति सिवकर्थोन अर्थात् स्थानीय भाषामा (तोरा) पाइने भएकाले त्यहाँको ताललाई तोराताल भनिएको हो ।  पछिल्लो समय त्यहाँ स्थानीयले ताल वरपर लुङ्ता झण्डा गाडेर निकै आर्कषक तुल्याएका छन् । मुक्तिनाथ आएका पर्यटक तोराताल अवलोकन गर्न जाने गरेका वडाध्यक्ष गुरुङले बताउनुभयो । पछिल्लो समय झारकोटस्थित गुम्बा संरक्षणका लागि प्रदेश र पालिका सरकारले बजेट विनियोजन गरेर संरक्षण तथा संवर्द्धन गर्दै आइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

पोखरा:  अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ ।   ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । त्यस्तै एक्स–आर्मी स्कुल कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गर्नु भयो ।  प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी कक्षा ८ की एनी राना र वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीका कक्षा ९ का प्रिन्स रानाभाटले संयुक्त रूपमा शान्त्वना स्थान हासिल गर्नु भयो । प्रतियोगिताका प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय र शान्त्वना हुनेलाई जनही एक÷एक हजार साथमा प्रमाण—पत्र वितरण गरिएको थियो । बिजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार यादव चन्द्र भुर्तेल, सल्लाहकार केशवराज बराल, गोकुल सापकोटा, क्लवका महासचिव राकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।  प्रतियोगिताको प्रमुख निर्णायकमा विशेश्वर पराजुली, निर्णायक होग्रेथ भुर्तेल र अनुसुया बराल रहनु भएको थियो । क्लबले प्रतियोगिता मार्फत विद्यार्थीहरूको सिर्जनशीलता र कलात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । कार्यक्रमको संचालन क्लवका सदस्य प्रकाश गुरुङले गर्नु भएको थियो । प्रतियोगितामा विभिन्न १३ बिद्यालयका करिब २० जना प्रतियोगिहरु सहभागि भएको क्लवले जनाएको छ । निर्णायक र बिद्यार्थीहरुले कोरेका चित्रहरु एक आपसमा साटसाट समेत गरिएको सचिव प्रवेन्द्र थापाले बताउनु भयो । उक्त प्रतियोगिताको लागि ग्रेस इन्टरनेश्नल प्रा.लि.ले नगद १० हजार सहयोग रुपैया सहयोग गर्दै आएको छ ।

मकवानपुर:  मकवानपुरको मनहरी गाउँपालिका–६, सिस्नेरीपखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्कँदा सहकर्मीको मृत्यु भएको छ । जंगलमा राक्सिराङ गाउँपालिका–८, राजराङका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उनीसँगै सिकार गर्न हिँडेका मनहरी–६, बालुभञ्जाङका ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीका अनुसार, ब्लोन र थिङ दुवैजनासँगै एकएकथान भरुवा बन्दुक बोकेर जंगलमा सिकार गर्न हिँडेका थिए ।  अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि अचानक बन्दुक पड्किएको थियो । थिङ पछिपछि आइरहेका थिए । त्यही बेला बन्दुकको गोली लागेर घटनास्थलमै थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरेको डीएसपी बोगटीले बताए । थिङको शव परीक्षणका निम्ति अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

पोखरा:   विद्युतीय सामाग्री उत्पादक कम्पनी बेटरले १४ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजन गर्ने भएको छ । बिगत ४ वर्षदेखि पोखरा महोत्सवको मुख्य प्रायोजन गर्दै आएको बेटरले १४ औं संस्करणको पोखरा महोत्सवमा समेत मुख्य प्रायोजकलाई निरन्तरता दिएको हो । महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना गर्दै छ । पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा बीच महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका डाइरेक्टर सन्नी रौनियारले पोखरामा रही नेपालभर सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा चौथो पटक सहकार्य गर्न पाउदा खुसी लागेको बताए । बेटरलाई जनताहरुले मन पराइरहेको सन्दर्भमा सामाजिक काममा छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा सहकार्य गर्नु आफैमा गर्वको कुरा रहेको उनको भनाइ रहेको थियो । पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले आफ्नो उत्पादन बेटर ब्राण्डको इलेक्ट्रिक र किचनका सामाग्रीहरु बिक्री गर्दै आइहरहेको छ । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले १४ औं संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज संग सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै सहयोगी मनहरुकै कारण पोखरा महोत्सव स्थापित भएको र महोत्सवकै आम्दानीबाट युनाईटेड क्लबले सामाजिक कामलाई अगाडी बढाएको बताए । सो अवसरमा युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।

काठमाडौं:   निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो ।  निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेद्वारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्लेख गरेको छ । उम्मेद्वारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । यस्तै निर्वाचन खर्चसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने ज्म्मिेवार पदाधिकारी तोक्नुपर्नेछ । तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । प्रस्तावित आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट सो खाताबाट मात्रै खर्च गर्नुपर्नेछ । यसैगरी रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत नै गर्नुपर्ने जनाइएको छ । व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई बैंक वा वित्तीय संस्थामा जम्मा गराउनुपर्नेछ । खर्चको विवरणसमेत तथा बिल भरपाई राख्नुपर्नेछ । आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेका ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्नेछ । आयोगले खर्चको बिल भरपाई तथा बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने सो थप गरिएको व्यवस्थामा उल्लेख गरेको छ ।  निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ ।

पोखरा:  लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारी सहितको संघको टोलीले आईतबार मुख्यमन्त्री पाण्डेलाई भेटी गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनामा समावेश प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्न अनुरोध गरेको हो।  पोखरामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा प्राप्तिको काम प्रदेश सरकारले यसअघि नै गरिसकेको सङ्घको बुझाइ छ। सङ्घले औद्योगिक क्षेत्र निर्माणका सम्बन्धमा हालसम्म भएका प्रयासहरू कहाँसम्म पुगेका छन् र प्रगति अवस्था के कस्तो रहेको छ भन्ने विषयमा स्पष्ट जानकारी उपलब्ध गराउन मुख्यमन्त्रीसँग आग्रह गरेको छ। भेटका क्रममा सङ्घले पछिल्ला केही वर्षदेखि रोजगारी सिर्जना राष्ट्रको प्रमुख आवश्यकता बनेको उल्लेख गर्दै, अर्थतन्त्र चलायमान राख्न, आपूर्ति सहजता कायम गर्न र समृद्ध गण्डकी प्रदेश निर्माणका लागि प्रादेशिक औद्योगिक क्षेत्र अपरिहार्य रहेको जनाएको छ। हाल जग्गाको मूल्य अत्यधिक बढेकाले निजी क्षेत्रले चाहेर पनि उद्योग स्थापना गर्न नसकिरहेको उल्लेख गर्दै, उद्योग–कलकारखाना स्थापना गर्न अनुकूल वातावरण सिर्जना गर्ने जिम्मेवारी सरकारकै रहेको सङ्घको भनाइ छ। लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका अधिकारीले समग्र गण्डकी प्रदेशको विकास र समृद्धिका लागि प्रदेश सरकारले निर्माण गर्ने औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाउन आग्रह गरिएको बताइन्। उनका अनुसार राजधानी काठमाडौँ र पोखराको भौगोलिक पहुँच सहज बन्दै गएको अवस्थामा पोखरा महानगरपालिकाको आसपासमा निर्माण हुने औद्योगिक क्षेत्र काठमाडौँको विकल्पका रूपमा समेत विकास हुन सक्ने सम्भावना रहेको छ। औद्योगिक क्षेत्र सञ्चालनका लागि सङ्घका सदस्य उद्योगी–व्यवसायीहरू उत्साहित रहेको जनाउँदै अध्यक्ष अधिकारीले प्रदेश सरकारले शीघ्र निर्णय गरी निर्माण प्रक्रिया अघि बढाउने अपेक्षा व्यक्त गरेकी छिन्।