पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थि...

काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । नेपालमा २०३६ साल माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन, अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत् मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साल साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाउने गरिन्छ ।

नवलपरासी:  पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ । यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन् । बिहीबार राति काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो । बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भने, ‘मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।’ ३१ वर्षीय शिवनारायण थारु काठमाडौंबाट बर्दिया जाँदै गर्दा डाइभर्सनमा फसेका थिए । उनले बाढी देखेर आत्तिएर खोलामै हाम फालेर पौडिँदै ज्यान जोगाएका थिए । ‘त्यो क्षण म मर्छु जस्तो लागिरहेको थियो, भाग्यले बाँचेछु,’ शिवनारायणले भने । सडक अवरुद्ध भएपछि यात्रुले घण्टौँ पैदल यात्रा गर्न थालेका छन् । लामो दूरीका सवारी चालक गाडीमै रात बिताउन बाध्य छन् । जङ्गलबीचमा खाना र पानी नपाउने अवस्था सिर्जना भएको छ । मालवाहक गाडी सडकमा अलपत्र परेका छन् । यात्रुहरूको पीडा देखेर विनयी त्रिवेणी गाउँपालिका– १ का स्थानीय युवा, व्यवसायी र सामाजिक सङ्घसंस्थाले शुक्रबार दिनभर निःशुल्क खानाको व्यवस्था गरेका छन् । दुम्कीवासमा स्थानीयले भात, दाल तरकारी र शुद्ध पानी निःशुल्क वितरण गर्दै यात्रुलाई राहत दिइरहेका छन् । शुक्रबार मात्र एक हजार ५०० यात्रुले खाना खाएको समाजसेवी गोमा बस्यालले जानकारी दिइन् । प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सृजना भएका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापरबाहीले समस्या चर्किएको बताए । २०७५ सालदेखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ । विनयी खोलामा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ, तर खोलामा बाढी आउँदा बारम्बार डाइभर्सन बग्ने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हालसम्म आठ पटकसम्म डाइभर्सन बगाइसकेको छ । सडक निर्माणको क्रममा भत्काइएको दाउन्ने क्षेत्रको १४ किलोमिटरको बाटो वर्षाको समयमा हिलाम्मे हुँदै कष्टकर बन्दै आएको छ । स्थानीय प्रशासनले सडक सुधारको दबाब दिँदै आए पनि ठेकेदार कम्पनीले गिट्टी–बालुवा हालेर सामान्य मर्मतसमेत नगरेको यात्रुको गुनासो छ । 

ललितपुर:  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको आज उद्घाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको छ ।  इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो ।  कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताउनुभयो । उहाँले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो । “हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खनन्को सुरुवात पनि मैले नै गरेको थिएँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरु खनिजको उत्खनन् गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ । हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन । आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ ।”सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उहाँले देशले गति लिन चाहेको अवस्थाका रुपमा अगाडि बताउनुभयो ।  उहाँले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताउनुभयो ।

सिन्धुली:   काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले बीपी राजमार्गमा रातिको सवारी साधन सञ्चालनमा १५ दिनलाई रोक लगाउने निर्णय गरेको छ। शुक्रबार मूल्कोटमा सम्पन्न बैठकले साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडीबाहेक अन्य सवारी साधनलाई रोक लगाउने निर्णय गरेको हो। सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड जोखिमपूर्ण मानिएकाले यस्तो निर्णय गरिएको हो । उनका अनुसार काठमाडौंबाट बाहिरिने सवारीलाई काभ्रे भञ्ज्याङ र काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिनेछ । ‘बर्खाको पानीले राजमार्गका विभिन्न भागमा क्षति पुर्‍याएको र यात्रु तथा चालकहरूको सुरक्षामा खतरा देखिएकाले यस्तो निर्णय लिएको हो,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने । उनले यो निर्णय तत्काल कार्यान्वयनमा ल्याइने पनि बताए। यो निर्णयले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको उनले बताए । यात्रुलाई वैकल्पिक व्यवस्था र समय व्यवस्थापन गर्न सुरक्षा निकायले आग्रह गरेका छन्।

पोखरा: पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ ।  शुक्रबार सम्पन्न भएको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन भएको हो ।  स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो ।  जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै च्याम्पियन बनेको हो ।  यस अघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले आक्रामक १८ रन बनाउँदै टिमलाई सम्मानजनक स्थितीमा पुर्याएका थिए ।  स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच बने । यस्तै बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान १–१ विकेट लिए । यता स्याङजाका लागि जवाफी व्याटिङमा इश्वर क्षेत्रीले ६ चौकाको मद्धतमा आक्रामक ३० रन प्रहार गरे । त्यस्तै सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए ।  अनिश ताम्राकारले ११ र अश्वोनी राणा १३ रनको संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाए । नवलपुरका लागि हिमाल न्यौपानेले २ विकेट लिए भने कप्तान कमल परियारले पनि २ विकेट लिए । दीपक डुम्रे र सुदीप अर्यालले समान १–१ विकेट लिए ।  च्याम्पियन भए संगै स्याङजाले नगद रु १ लाख र उपविजेता बनेको नवलपुरले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।  यहि जेठ ३१ बाट सुरू भएको प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा म्यान अफ दि सिरिज संगै वेष्ट व्याटरको उपाधि स्याङजाका सन्दिप खत्री क्षेत्रीले हात पारे ।  उनले ट्रफी संगै नगद रु ४ हजार प्राप्त गरे भने वेष्ट बलर पर्वतका अमृत गुरूङ र उदियमान खेलाडी तनहुँका वंश क्षेत्री घोषित भए । उनीहरुले जनही नगद २–२ हजार प्राप्त गरे ।

डोटी:   डोटीमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  शुक्रवार दिउँसो जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनाग्रस्त जिप सडकबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको छ ।  दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको र ४ जना घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । मृतक र घाइतेको परिचय नखुलेको र घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि पठाइएको बताए ।  घटना स्थलमा प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमान्डमा प्रहरी टोली खटिएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका छन् ।  ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध-आवाज थरिथरिका थिए’, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, ‘११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो ।’ यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो ।

पोखरा:   कास्कीको मादी गाउँपालिका–१ खिलाङमा गएराति पहिरो जाँदा डुमप्रसाद गुरुङको गोठसँगै २ वटा भैसी पुरिएको छ ।  बिहीबार रातिकोे अविरल वर्षासँगै आएको पहिरोले गुरुङको गोठसँगै दुईवटा भैसी पुरिएको मादी गाउँपालिका–१ का वडासदस्य प्रेम बहादुर गुरुङले सुनगाभा न्यूजसँग बताए ।  ‘हिजो रातिको अविरल वर्षासँगै खिलाङ गाउँ भन्दा माथिबाट आएको पहिरोले डुमप्रसाद गुरुङको गोठसँगै दुईवटा भैसी पुरेको छ, गाउँपालिका र प्रहरीलाई खबर गरेका छौं, वडा सदस्य गुरुङले भने, ‘पहिरोले गोठमा राखेको काठ चिर्ने मेसिन समेत पुरेको छ, पहिरोले गोठ नजिक रहेको घरलाई समेत सामान्य क्षति गरेको छ ।’ उनका अनुसार काहुँखोला–सिक्लेस सडकखण्डको ग्याबिन जालीलाई समेत पहिरोले क्षति पु¥याउँदा गाउँ नै पहिरोको जोखिममा रहेको बताए ।  यस्तै मादी गाउँपालिका–६ मा गएरातिको वर्षासँगै आएको पहिरोले तीन वटा घर र गोठमा क्षति पु¥याएको वडाध्यक्ष डिलबहादुर क्षेत्रीले बताए ।  ‘गएराति पौने १२ बजेतिर गएको पहिरोले स्थानीय विरबहादुर रानाको २ वटा घर बस्नै नमिल्ने गरी जोखिममा परेको छ भने, सन्तबहादुर रानाको समेत घरमा पहिरोले क्षति पु¥याएको छ, वडाध्यक्ष क्षेत्रीले भने, सुर्यबहादुर थापाको गोठ र कुखुराको खोर पहिरोले पुरेको छ, घर पनि जोखिमै रहेको छ ।’

बलेवा:   बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ ।  करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए। करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी समेत पहिरोको आसपासमा रोकिएका छन् ।  कालोपत्रको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ ।  कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने उनले बताए।