अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो वर्ष विश्वभरकै तातो वर्षमा गणना गरिएको थियो । युरोपमा डढेलो, अफ्रिकामा खडेरी र दक्षिणपूर्व एसियामा घातक वर्षा निम्त्यायो । अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको पार्टी तयारी अत्यन्तै उत्साही तर उत्सवमा उदासी मिसिएको थियो । बोनडी समुद्रतटमा ३० वर्षमा सबैभन्दा घातक सामूहिक गोलीबारीपछि १५ जनाको ज्यान गएको थियो । पार्टी ११ः०० बजे (१२ः०० जिएमटी) एक मिनेटको मौनताका लागि रोकिने छन् र प्रसिद्ध सिड्नी हार्बर ब्रिज सेतो प्रकाशमा नुहाउने छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले भिडियो सन्देशमा भन्नुभयो, “हाम्रो नयाँ वर्षको अनुभव प्रायः पुरानो उदासीसँग मिश्रित हुन्छ ।” मध्यरातको झट्कामा नौ टन आतिशबाजी विस्फोट हुने अपेक्षा गरिएको छ । सिड्नीका बासिन्दा र पर्यटक फोरशोरमा भेला भए र ओपेरा हाउस नजिकका उत्कृष्ट दृश्य सुरक्षित गर्न सेलबोट पानीमा आएका थिए । सुरक्षा सामान्यभन्दा कडा थियो । भारी सशस्त्र प्रहरी टोलीले भिडमा गस्ती गरिरहेको थियो । विश्वभरि न्युयोर्कदेखि हगमानय पर्वसम्म उत्सवको शृङ्खला फैलिएको छ । ब्राजिलको कोपाकाबाना समुद्रतटमा २० लाखभन्दा बढी मानिस उपस्थित हुने अपेक्षा गरिएको छ । हङकङमा नोभेम्बरमा आगलागीबाट मारिएका १६१ जनालाई श्रद्धाञ्जलि अर्पण गर्दै प्रमुख आतिशबाजी रद्द गरिएको छ । सन् २०२५ मा विश्वले लाबुबु पुतलीको क्रेज, लुभ्र सङ्ग्रहालयको साहसी डकैती र के–पप समूह बिटिएसको फिर्ती देख्यो । अग्रगामी प्राणीशास्त्री जेन गुडअललको निधन, भ्याटिकनको नयाँ पोप चयन र दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको हत्या अमेरिकी राजनीतिक विभाजनको प्रतीक बन्यो । डोनाल्ड ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्किनुभयो र विश्वव्यापी बजारमा मन्दी ल्याउने कर वृद्धि सुरु गर्नुभयो । उहाँले आफ्नै ट्रुथ सोसल प्लेटफर्मबाट मध्यावधि चुनावअघि आफ्नो अनुमोदन दर बढाउने प्रयास गर्नुभयो । गाजामा दुई वर्षको युद्धपछिको अमेरिकी दबाबमा अक्टोबरमा इजरायल र हमासबिच नाजुक युद्धविराम भयो । तर दुवै पक्षले उल्लङ्घनको आरोप लगाएका छन् र स्थायी शान्ति सुनिश्चित भएको छैन । हमास आक्रमण र इजरायलको प्रतिक्रिया प्रक्रियामा हजारौँ नागरिकको ज्यान गयो । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जस्ता विश्वका नेताले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न थाल्नु भएको छ । सीले द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि पुटिनसँग घनिष्ठ संवाद कायम राख्ने तयारी देखाउनु भएको छ । युक्रेनमा युद्ध सन् २०२२ मा सुरु भएको थियो र २०२५ को अन्त्यमा पनि कुनै स्थायी युद्धविराम नभएको अवस्था छ । खेलकुद, अन्तरिक्ष र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा आगामी वर्ष चुनौतीपूर्ण रहने अपेक्षा छ । एलन मस्कको समर्थनमा नासाको आर्टेमिस २ मिसनले अन्तिम अपोलो चन्द्र अभियानको ५० वर्षपछि १० दिनको परीक्षण उडान गर्दै चन्द्रमाको परिक्रमा गर्ने छ । वर्षभरि अनियन्त्रित उत्साहपछि एआईले छानबिन सामना गरिरहेको छ र लगानीकर्ताले यसको भविष्यको बजार पानीको फोका जस्तो हुन सक्ने भन्दै प्रश्न उठाइरहेका छन् । शीतकालीन ओलम्पिकका खेलाडी इटालीको डोलोमाइट्समा तयारी गर्ने छन् भने संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडामा इतिहासकै ठूलो फुटबल विश्वकपका लागि राष्ट्र भेला हुने छन् ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार पोखरा महानगरपालिका–२६ मा रहेको सामुदायिक अमरज्योति आधारभूत विद्यालयको सार्वजनिक परिसरभित्रको कित्ता नम्बर ७२५ को ३–३–०–० रोपनी जग्गा गैर सुकुम्बासी व्यक्तिलाई सुकुम्बासी ठहर गरी दर्ता गराइएको पाइएको हो। यस कार्यमा पदको दुरुपयोग गरी गैरकानुनी लाभ लिने–दिने उद्देश्यले निर्णय गरिएको अख्तियारको ठहर छ। अनुसन्धानका क्रममा प्रतिवादी भीमबहादुर बि.क सुकुम्बासीको परिभाषाभित्र नपर्ने व्यक्ति भएको, उनका परिवारका नाममा पहिल्यै जग्गा दर्ता रहेको तथ्य हुँदाहुँदै झुट्टा विवरणका आधारमा सुकुम्बासी प्रमाणित गरिएको आयोगले जनाएको छ। साथै, विगतमा अधुरो रहेको निर्णय कार्यान्वयनको बहाना बनाई गैरकानुनी कागजातलाई आधार मानी उक्त जग्गाको दर्ता श्रेस्ता र जग्गाधनी प्रमाणपूर्जा जारी गरिएको पाइएको छ। आयोगका अनुसार राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोख्रेल, तत्कालीन सदस्य तथा मालपोत कार्यालय कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन सदस्यहरू आशबहादुर गुरुङ, उमा कुमारी थापा, सोमबहादुर नेपाली र लाभग्राही भिमबहादुर बि।क। समेतको संलग्नतामा नेपाल सरकार तथा सार्वजनिक संस्थालाई आर्थिक हानि पुर्याइएको छ। यस प्रकरणमा अख्तियारले एक करोड ४० लाख २५ हजार रुपियाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८९१०९ज० अनुसार कैद, बिगो बमोजिम जरिवाना र बिगो असुल उपरको सजाय मागदाबी गरेको छ। गैरकानुनी लाभ लिने मतियारको हैसियतमा भीमबहादुर बि।क। विरुद्ध पनि मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले सार्वजनिक जग्गा संरक्षण र सरकारी निकायको जिम्मेवारीपूर्ण कार्यसम्पादन सुनिश्चित गर्न आयोग दृढ रहेको बताउनु भयो।
पोखरा: सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिवा छात्रावासको अवधारणाअनुसार बिहान ७ः३० बजेबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले पूर्वविद्यार्थीहरूको सहयोगमा न्यून शुल्कमा खाना खुवाउने व्यवस्था मिलाएको विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले जानकारी दिनुभयो । विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यका साथ छात्रावास सञ्चालन गरिएको जनाउँदै उहाँले उनीहरूको सहजताका साथै अभिभावकलाई पनि आर्थिक भार कम परोस् भन्ने उद्देश्यले पूर्वविद्यार्थीको सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको बताउनुुभयो । गत भदौबाट आफूहरूले दिवा छात्रावास सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगमा हामीले यो कार्र्यक्रम अघि बढाएका छौँ”, उहाँले भन्नुुभयो, “कार्यक्रमका लागि पूर्वविद्यार्थीका तर्फबाट दाल, चामल, तरकारीका साथै आर्थिक सहयोग आउने गरेको छ ।” उहाँका अनुसार विद्यालयमा अध्ययन गर्नका लागि झण्डै डेढ घण्टा समय हिँडेर आउने विद्यार्थीसमेत रहेका छन् । विद्यालयमा भगवतीटार, नौरुङ, राम्चे, ओख्लेलगायत टाढाटाढाका स्थानबाट विद्यार्थी आउने गरेको उल्लेख गर्दै उहाँले हालसम्म विद्यालय बसेको सुविधा उपलब्क्ध गराउन नसकिएको बताउनुुभयो । विद्यालय बसका लागि भारतीय राजदुतावासमा प्रस्ताव गरिएको जनाउँदै न्यौपानेले यसै आर्थिक वर्षभित्रमा बस प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो । विसं २०१६ मा स्थापित यस विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान गरेको यहाँका अभिभावक बताउँछन् । विद्यालयले कक्षा ९ देखि १२ सम्म कम्प्युटर विज्ञान विषयको पठनपाठनसमेत गराउँदै आएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिनुभयो ।
रौतहट: मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक मंगलबार बिहान ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएको थियो ।
बागलुङ: विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्र सम्पन्न भइसकेको छ । यसअघि गणेशथान घुम्ती–निरयघाट र ओढारचौर–ढोडेनी सडक कालोपत्र भइसकेको छ । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार सडक कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायीसँग ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो ।
पोखरा: पोखरामा जारी २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा शिवालीले नेपाल शिर्ष वरियता प्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नों नाम गराउँदा सुनिराले दोश्रो स्थानमै चित्त बुझाइन् । मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सिमित बनेको छ । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पाखा लगाउँदै आफुलाई अन्तिम दुईमा उभ्याए । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका प्रदिपले दोस्रो र तेस्रो सेट क्रमश ६–४, ६–२ ले गुमाए । अर्को सेमीफाइनलमा भारतबाट आएका नेपाली खेलाडी करन बहादुर थापाले राजविर प्रधानलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे । यो संगै प्रतियोगिताको मुख्य इभेण्ट मेन्स सिंगलको उपाधीका लागि आयुषमान र करणको भेट पक्का भएको हो । ५५ वर्ष भन्दा माथीको पुरुष एकलतर्फ चन्द्र शाही प्रथम भएका छन् । जिवन घिमिरेलाई ६–०, ६–४ ले पराजित गर्दै शाहीले उपाधी रक्षा गरेका हुन् । ४५ वर्ष माथी पुरुष सिंगल्समा कमल भण्डारीले फाइनलमा देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराउँदै उपाधि जिते । ३५ वर्ष माथी सिंगल्समा पूर्व नेपाल नं १ जितेन्द्र परियार र सन्तोष खत्री फाइनलमा भिड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनलमा जितेन्द्रले पेमा नोर्वुलाई ६–०, ६–२ ले तथा सन्तोषले भिष्म जङ्ग गुरूङलाई ६–४, ६–४ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम बुधबार हुने टुर्नामेन्ट सुपरभाइजर कुमार अधिकारीले जनाएका छन् ।
पोखरा: रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी सजेस कंसाजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हासिल गर्यो भने कुमार जलारी, गणेश जलारी र कृष्ण जलारीको टोलीले तृतीय स्थान हासिल गरेको छ । संस्थागततर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुङ्गा व्यवसायी संगठनको टोलीले प्रथम, कृष्ण आचार्य, हरि भुजेल र तीर्थराज सुवेदी सम्मिलित टान गण्डकीको टोलीले द्वितीय तथा विकास कडेल, रवि प्रसाद आचार्य र श्याम लामिछाने सम्मिलित नेपाल पर्यटन यातायात व्यवसायी संघको टोलीले तृतीय स्थान हासिल गरे । प्रतियोगितामा विजयी हुने टोलीले खसी, द्वितीय स्थान हासिल गर्नेले बोका तथा तृतीय स्थान हाँसिल गर्ने टोलीले भाले पुरस्कार प्राप्त गरे । महिलाहरू सम्मिलित टेवानको टोलीलाई विशेष पुरस्कारका रुपमा टोकला चियाको तर्फबाट नगद रु ५ हजार प्रदान गरिएको थियो । उनीहरूलाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु भट्टराई, आयोजक रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले एक समारोहका बीच पुरस्कार वितरण गरे । महोत्सवमा मंगलबारदेखि रस्साकसी प्रतियोगिता पनि शुरु भएको छ । मंगलबार ल्होसार समेत परेकाले दर्शकहरुको बाक्लो घुइचो देखिएको छ ।
पोखरा: तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ (तमु) समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा उल्लेख छ – ‘तमु ल्होछाररल्होसार जस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’ ल्होछाररल्होसार पर्वले तमु जाति लगायत सम्पूर्ण नेपालीहरूको बीचमा राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा गर्दै उहाँले तमु जाति र समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होछाररल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । यो दिन नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ ।
काठमाडौं: गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता छ ।

