तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

सुमन थापा मगर पोखरा, साउन २२:   लमजुङकी भगवती थापालाई एउटा कुराले पिरोल्छ । त्यो हो, आफ्नो शेषपछि छोराको अवस्था के होला ? एउटी आमाका लागि आफ्नो सन्तानको चिन्ताबाहेक अन्य चिन्ता सामान्य लाग्छन् । ‘अन्नपानीको शरीर, दुःखबिमार भइन्छ, उनीहरुको उमेर बढ्दै छ, हाम्रो घट्दै छ ।’, चिन्तापूर्ण भावमा उनी भन्छिन्, ‘भोलि मेरो बुढेसकाल लागेपछि म सहयोग गर्न सक्दिनँ होला, त्यसपछि उसको अवस्था के हुन्छ र कसले गर्छ ? यही सोच्दा मन भक्कानिन्छ ।’  उनको छोरा ११ वर्ष पुगे । सानोमा अनौठो व्यवहार देखाउन थालेपछि उनी छोराको उपचारका लागि विभिन्न अस्पताल धाइन् । उपचारका लागि जाँदा प्रायः भगवतीको छोरालाई डाक्टरले तपाईंको छोरा सुस्तमनस्थितिको छ’ भन्थे । तर धेरै अस्पताल लिएर गइसकेपछि मात्रै आफ्नो एकमात्र सन्तानलाई अटिजम छ भन्ने जानकारी पाइन् । एकल महिला भगवतीका सासुससुरा लमजुङमै घरमा छन्, उनी भने छोराकै लागि पोखराको शिशुवामा बस्छिन् । अहिले पनि केही अभिभावकले शारीरिक अपांगता भएका आफ्ना सन्तानलाई लिएर घरबाहिर जाँदैनन् । तर उनी हरेक काम, विवाह–व्रतबन्ध जस्ता कार्यक्रममा लिएर जान्छिन् । ‘अहिलेसम्म अगाडि आएर कुनै व्यक्तिले तपाईंको सन्तान यस्तो, उस्तो भन्न सकेका छैनन्, पछाडि कुरा काटेका छन् भने म भन्न सक्दिनँ ।’, भगवती भन्छिन् ।  भगवतीको मात्रै होइन, अटिजम भएका व्यक्तिको परिवार र अभिभावक प्रायःको चिन्ता यही हो, पछि गएर आफ्नो सन्तान वा परिवारका सदस्य, जसलाई अटिजम छ, उसको अवस्था कस्तो र के हुन्छ ? अटिजम अवस्था मात्रै हो, रोग होइन, सम्पूर्ण तरिकाले अन्य केही रोगलाई जसरी निको पार्न सकिँदैन । यसबाट कुनै निश्चित समुदाय, वर्ग, जात, प्रजाति, लिंगमा मात्रै प्रभावित हुन सक्छ भन्ने हुँदैन, अटिजमबाट जो पनि प्रभावित हुन सक्छन् । ३ वर्षको उमेरदेखि अटिजम छ कि छैन भन्ने पत्ता लाग्ने सम्भावना हुन्छ । अटिजम भएका बालबालिकाले फरक लक्षण र व्यवहार देखाउने गर्छन् । नडराउने र खतरा नबुझ्ने, एक्लै बस्ने र खेल्न रुचाउने, परिवर्तन नगरेर एउटै काम गर्न रुचाउने, आफ्नो दुखाइको वास्ता नगर्ने, पटक–पटक एउटै शब्द दोहो¥याइरहने लक्षण बालबालिकाले देखाएका छन् भने अटिजमको शंका गर्न सकिन्छ ।  सोनु थापाको ७ वर्षीय छोरालाई अटिजम छ । सुरुआतको समयमा उनको छोरामा एकै स्थानमा नबस्ने, ट्वाइलेट आयो भन्न नजान्ने, हात हल्लाइरहने लगायत लक्षण देखिएको थियो । छोराको उमेर ३ वर्ष १० महिना पुग्दा उनले आफ्नो छोरालाई अटिजम छ भन्ने थाहा पाइन् । छोरालाई अटिजम छ भन्ने जानकारी पाउँदा सोनुको मुटु फुट्लाजस्तै भएको थियो । सोनु संयुक्त परिवारमा बस्छिन्, त्यसैले होला उनको छोरा परिवारका हरेक सदस्यसँग घुलमिल हुन्छन्, जता जाँदा पनि सबैले सँगै लिएर हिँड्छन् । ‘हामी खेतीकिसानीको काम गर्ने हो, बाबुको बाबाले त झन्, खेतबारीको कामको सिलसिलामा समेत लिएर जान्छन् ।’ सोनुले भनिन् ।  परिवारको साथ र सहयोग हुँदा पनि कहिलेकाहीँ समाज, छिमेकीको कुराले उनको मन पोल्छ । छोरालाई लिएर हिँड्दा केहीले उनलाई नराम्ररी भन्छन्, जसले गर्दा आमाको मन न हो, उनको साह्रै चित्त दुख्छ । ‘तिम्रो र मेरो बाबु÷नानी सँगसँगैको हो, हाम्रो बोलेर विद्यालय गइसक्यो, तिम्रो छोरा किन बोल्दैन भन्छन्, समस्या बुझ्दैनन् ।’ भावुक हुँदै सोनु भन्छिन्, ‘कहिलेकाहीँ उसलाई केही मन परेको छैन भने धकेलिदिन्छ, झिजो मान्छ, त्यो बेला सबै कुरा बुझ्ने तर किन धकेलेको भन्दै रिसाउँछन्, नबुझ्ने मान्छेले अनेक कुरा भन्दा चित्त दुख्छ ।’ अटिजम होस् वा अन्य कुनै अपांगता, सन्तान वा परिवारकै सदस्यमा त्यस्तो देखियो भने पुरै परिवारकै मनोबल गिर्ने गरेको यदाकदा समाजमा देखिन्छ । कतिपय अवस्थामा परिवारबाट उनीहरु अपहेलनामा परिरहेका हुन्छन् भने, केहीलाई समाजले सजिलै जिउन दिइरहेको हुँदैन । यस्तो अवस्थामा सबैभन्दा बढी उसको आमाबुबा र परिवारलाई परिरहेको हुन्छ, मानसिक रूपमा उनीहरु विक्षिप्त हुन्छन् ।  अहिले त झन् अभिभावक दुवै जना बाहिर काम गर्न जान्छन् र बच्चालाई अटिजम छ भने १ जनाले सबै छोडेर उसको हेरचाह गरेर बस्नुपर्ने हुन्छ । जसले गर्दा मानसिक दबाब बढी झेल्नुपर्ने अपांग महिला सशक्तीकरण केन्द्र कास्कीकी अञ्जना केसी बताउँछिन् । केसीका अनुसार यसरी मानसिक दबाब झेलिरहेका अभिभावकलाई अटिजम भएका अन्य बालबालिकाको अभिभावकसँग भेट गराउनु आवश्यक छ ।  ‘अटिजम भएकै बालबालिकाका अभिभावकसँग भेटाइदिने, विभिन्न कार्यक्रमको आयोजना गर्ने, अटिजम भएकै अवस्थामा राम्रा र सफल काम गरेका छन् भने उनीहरुको कथा सुनाउनुपर्छ ।’ केसी भन्छिन्, ‘सबैभन्दा पहिले उनीहरुलाई संगठित हुने वातावरण मिलाउनुपर्छ, अनि केही हदसम्म उनीहरुको मनोबल बढाउन सकिन्छ ।’ सबैलाई एकीकृत गरी भेला गराउँदा अभिभावकलाई ‘म मात्रै होइन रहेछु’ भन्ने सोच आउने गर्छ । सबैसँग भेट गराएर अटिजम भएका व्यक्तिका लागि उनीहरुको अभिभावकलाई तालिम, थेरापी दिन सके उनीहरुको जीवनमा परिवर्तन आउन सक्ने उनको बुझाई छ ।  पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक मुकुन्द लम्सालका १७ वर्षीय छोरालाई अटिजम छ । घरमा फरक–फरक किसिमका अपांगता भएका सदस्य भइसकेपछि केही चुनौती स्वाभाविक रूपमा आउने मुकुन्द बताउँछन् । उनले आफ्नो छोरालाई विभिन्न कार्यक्रम, भोजभतेरमा लिएर जान्छन्, अफ्ठेरो महसुस हुँदैन । तर मुकुन्दले के बुझेका छन् भने हरेक अभिभावकले अटिजम भएका आफ्नो बच्चालाई बाहिर लिएर हिँड्न सक्दैनन् । अटिजमको विषयमा बुझिसकेको र समाजबाट स्वीकार भइसकेकाले उनले छोराका लागि समाजबाट नकारात्मक व्यवहार भोग्नुपरेन । तर धेरै अभिभावकले समाज, छिमेकीबाट समस्या भोग्दै, चुनौती पार गरेर आएका हुन्छन् । यसका लागि सर्वप्रथम अभिभावकले पहल गर्नुपर्ने उनले बताए । ‘शिक्षित समाजमा विभेदको व्यवहार कम हुन्छ र सहयोग पाइन्छ भन्ने मात्रै हो, यसका लागि अभिभावकले सुरुआत गर्नुपर्छ ।’ उनी भन्छन् ।   विज्ञहरुका अनुसार अटिजमलाई बेलैमा पहिचान गर्न सकियो भने थेरापीबाट धेरै सुधार ल्याउन सकिन्छ । नेपाली समाजमा भने बालबालिका बोलेनन् भने ‘मेरो आफन्तको बच्चा ६÷७ वर्षपछिबाट बोल्न थालेको हो’ भन्दै मन्दिर धाउने र झारफुक गर्ने चलन कायमै छ । यो गलत भएको अपांग महिला सशक्तीकरण केन्द्र कास्कीकी केसी बताउँछिन् । ‘७÷८ वर्षसम्म स्पीच थेरापीका लागि धेरै ढिलो भइसकेको हुन्छ । त्योभन्दा अगाडि पहिचान गर्न सके सुधार ल्याउन सक्ने सम्भावना हुन्छ ।’ केसी भन्छिन् ।  अटिजम भएका व्यक्तिकै लागि भनेर १÷२ वटाबाहेक स्वास्थ्य क्षेत्रमा समेत नेपालभरि त्यस्तो कुनै अस्पताल वा सुविधा छैन । जुन रूपमा हुनुपर्ने हो, त्यही नभएर बाल मनोचिकित्सकको अभाव छ नेपालमा । उनीहरुको उपचारका लागि अन्य बिरामीकै जस्तो डाक्टरको भर पर्नुपर्छ । अटिजम भएको र समयमै पहिचान गरेर थेरापी गराउन सकेको खण्डमा उनीहरुको अवस्थामा सुधार ल्याउन सकिन्छ । तर अटिजम भएका व्यक्तिका लागि भनेर थेरापी गराउने थेरापिस्टको नेपालमा कमी छ । अटिजम भएका व्यक्तिकै लागि भनेर स्वास्थ्य क्षेत्रमा व्यक्ति नभएको प्राध्यापक लम्सालसमेत बताउँछन् । अटिजम पहिचान गर्न बाल मनोविज्ञको आवश्यकता पर्छ । तर पोखरामात्रै होइन, नेपालभरि निकै बाल मनोविज्ञ कम रहेको मुकुन्द बताउँछन् । ‘पोखराको कुरा गर्ने हो भने एक जना बालमनोविज्ञ समेत छैनन् ।’ उनले भने, ‘काठमाडौंबाट आएका डाक्टरले यहाँको कुनै एउटा क्लिनिकमा अटिजमको पहिचान गरेर जाने प्रणाली कायमै छ ।’ सरकारले अटिजम भएका व्यक्तिलाई खासै सहयोग गर्न नसकेको प्राध्यापक लम्साल बताउँछन् । अटिजम भएका व्यक्तिको लेभल हेरेर उनीहरुलाई परिचयपत्र प्रदान गर्ने, सामाजिक सुरक्षा भत्ता दिनेबाहेक खासै केही नगरेको उनको गुनासो छ । विद्यालय पठाएर शिक्षा दिन नसक्ने भइसकेपछि उनीहरुका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले मुकुन्दले सन् २०१९ बाट ‘अटिजम केयर सोसाइटी गण्डकी’ नामक संस्था स्थापना गरेका छन् । यो संस्थाले अटिजम पहिचान भइसकेका बालबालिका र उनीहरुको अभिभावकलाई तालिम र थेरापी प्रदान गर्छ । कोही सुधार भएर जान्छन्, सुधार हुन नसकेका केहीलाई दिवा स्याहार केन्द्रमा राखेर थेरापी गराइन्छ । उनको संस्थामा गण्डकी प्रदेशका धेरै छन्, तर अन्य प्रदेशबाट समेत भएको उनले बताए ।  नेपाल सरकारबाट शारीरिक रूपमा अपांगता भएका व्यक्तिका लागि उचित व्यवस्था हुन सकेको छैन । आफ्नो हकअधिकारका लागि उनीहरु संघर्षरत छन् । अटिजम भएका व्यक्तिका लागि त न्यून सुविधा छ ।  उनीहरुलाई शारीरिक अपांगता भएका व्यक्ति सरह कुन अवस्थामा छन् भन्ने पत्ता लगाएर परिचयपत्र तथा सामाजिक सुरक्षा भत्ता बाहेक अन्य सुविधा उपलब्ध छैन । खासमा त्यस्ता व्यक्तिलाई राज्यले संरक्षण गर्नुपर्ने हो । तर नेपाल सरकारबाट त्यो कार्य हुन नसकिरहेको र आफूहरूकै पहलमा अभिभावक तथा अटिजम भएका बालबालिकालाई थेरापी लगायत व्यवस्था गरिरहेको प्राध्यापक लम्साल बताउँछन् । ‘अटिजम भएका व्यक्ति र अभिभावकलाई राज्यले तालिम दिने, आवश्यकतालाई नियाल्दै यही क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लगायतका काम गर्नुपर्ने हो, तर गरिरहेको छैन ।’ प्राध्यापक लम्साल भन्छन्, ‘हाम्रो सन्दर्भमा राज्य पछाडि छ, चित्तबुझ्दो छैन अहिलेका लागि, हेरौँ, अब केही परिवर्तन हुन्छ कि ।’ महिला सशक्तीकरण केन्द्र कास्कीकी केसीलाई लाग्छ, संघ वा प्रदेश सरकार र स्थानीय तहले जस्तोसुकै शारीरिक अपांगता भएका व्यक्तिका लागि सर्वप्रथम शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्छ । अनि मात्रै अभिभावकले आर्थिक अभावबाट गुज्रिनुपर्ने अवस्थाको अन्त्य हुने केसीको बुझाइ छ ।   अटिजमको लक्षण बालबालिकामा ३ वर्षको उमेरमा पहिचान गर्न सकिन्छ । अटिजम भएका ४० प्रतिशत व्यक्तिमा बौद्धिक कमजोरी देखिएका छन्, तर यो मानसिक र बौद्धिक अपांगतामा गनिँदैन ।  अटिजमको हालसम्म रोकथामबारे कुनै विधि पत्ता लागेको छैन । जीवनभरि रहने अटिजम संसारमा सन् २०२२ को तथ्यांकअनुसार ३६ जना शिशुले जन्म लिँदा १ जनामा देखा पर्ने गरेको छ । नेपालमा भने २०७८ को जनगणनाअनुसार ६ लाख ७५ हजार जनामा सर्वेक्षण गर्दा करिब ४ हजार ८ सय ८६ जनामा अटिजम भएको भेटिएको थियो । जसमा गण्डकी प्रदेशमा करिब ५ सय जनामा अटिजम पहिचान भएको थियो ।  (यो सामग्री कोपिला नेपालको फेलोसिप अन्तर्गत तयार गरिएको हो ।)

पोखरा: नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ । विभागद्धारा पोखरामा आयोजित महिलाहरुको बिशेष भेलाले नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ । सो पत्रमा महिलाहरुको आत्मसम्मानमा ठेस पु¥याउने गरि अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धि कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिएको छ । सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा उल्लेख भएका बिषयलाई सम्बन्धित ठाउँमा पुर्याउने बताउनुभयो । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसै माथि विभेद नहुने स्पष्ट पार्नुभयो । संसार चलाउन भगवान्ले लिङ्गको आधारमा महिला र पुरुष भनिएको उहाँले बताउनुभयो । शरीर महिला हो भने पुरुष आत्म हो भन्ने भनाई राख्नुभयो । उक्त कार्यक्रममा काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले महिला नै काँग्रेस संगठनको मुल आधार भएको बताउनुभयो । त्यसैगरी उपसभापति मेखलाल श्रेष्ठले महिलाहरुलाई अझ सशक्त बनाई राजनीति मुलधारमा ल्याउन आवश्यक रहेको बताउनुभयो । महामन्त्री विष्णु लामिछानेले सवल संगठनको पहिलो आधार काँग्रेस भित्र महिला विभाग रहेको बताउनुभयो ।   पार्टी प्रवक्ता मधु बास्तोलाले नेपाली काँग्रेसमा मात्र समानुपातिक, समावेशीतालाई पहिलो मान्यता दिने भएकाले महिलाहरुलाई राजनीतिमा आउन उत्प्रेरित गर्नुभयो ।  गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले कार्यक्रमको अध्यक्षता गर्नुहुदै सरकारले ल्याउन थालेको विद्येयकको विरोध गर्नुभयो । प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यहरुलाई प्रमाण–पत्र प्रदान गरिएको छ । 

तनहुँ:  तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन्।  १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि बेपत्ता भएका थिए। सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरू विद्यालय नगई बेपत्ता भएका थिए। उनीहरू परिवारको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। ‘किशोरीहरूले आफूहरूलाई खोज्न पर्दैन’ भनेर भनेर अभिभावकलाई खबर पठाएका प्रहरीले जनाएको छ। सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए। उनीहरुको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ। दुई बालिका भेटिए यसैबीच भानु नगरपालिका–४ राना गाउँबाट गत मङ्गलबार सम्पर्कविहीन भएका दुई बालिका भेटिएका छन्।  १२ वर्षीया मन्सु घर्ती र उनकी सानी बहिनी तीन वर्षीया कञ्चन घर्ती राति भेटिएका हुन्। काँक्रो चोरेको निहुँमा घरमा आमाले गाली गरेपछि त्यही रिसमा विद्यालय नगई दिनभर उनीहरु गाँउतिर लुकेको पाइएको छ। खोजी गर्ने क्रममा राति १२ बजे गाउँमै लुकेर बसेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरीले जनाएको छ। 

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सेवाग्राही खोज्दै सहर पसेका छन् ।  सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् । यही साउन १८ र १९ गते काठमाडौंमा घुम्ती शिविरमार्फत सेवा दिएको गाउँपालिकाले बुधबारदेखि गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित नेपाल छन्त्याल सङ्घको सभाहलमा शिविर सञ्चालन गरेको छ ।  पहिलो दिन करिब १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा लिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।। ‘हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ’, उनले भने, ‘गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरूलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएका हौँ ।’ गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडासचिवहरू सहरमा पुगेर सेवा दिएको बताए । अध्यक्ष र उपाध्यक्षका साथै सातवटै वडाका अध्यक्ष र तीन जना वडा सचिवहरूले शिविरमा सेवा दिएका छन् । गत आर्थिक वर्षमा धवलागिरिका दुई हजार ९३८ जनालाई १० करोड ५८ लाख चार हजार २८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवासुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरे पनि धेरैले औपचारिक रुपमा बसाइँसराइ गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए ।

विराटनगर:   कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरी घटना प्रकरणमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी कार्यालय विराटनगरमा मङ्गलबार ट्रान्सफर्मर चोरी घटनामा संलग्न ७ जना र उक्त सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । पक्राउ परेकामध्ये मोरङ ग्रामथान, बेलबारी र सुनसरी दुहबीका स्थानीय युवाहरू रहेको प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ईश्वर कार्कीले जानकारी दिए । यस्तै, चोरीका सामान खरिद गर्नेमा विराटनगर, दुहबी र इटहरीका व्यापारी छन् । झापा, सुनसरी र मोरङका विभिन्न स्थानबाट ट्रान्सफर्मर चोरी भइरहेको जानकारी पाएपछि प्रदेश प्रहरीले निगरानी र ‘स्टिङ अपरेसन’ सञ्चालन गरेको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा सीसीटीभी फुटेज, शङ्कास्पद स्थानमा खानतलासी, र तामा फ्याक्ट्री तथा भाँडा पसलमा निगरानी गर्दै आएको थियो । प्रहरीले पक्राउ परेकाहरूले सुनसरीबाट १२ थान, मोरङबाट ८ थान र झापाबाट २ थान गरी २२ वटा ट्रान्सफर्मर चोरी गरेको जनाएको छ । यस्तै, ट्रान्सफर्मरमा प्रयोग हुने ३ सय ७० किलोग्राम तामाको तार, चोरीमा प्रयोग भएका औजार, मोटरसाइकल ५ थान, पिकअप गाडी १ थान र मोबाइल १२ थानसमेत बरामद गरिएको छ । यस्तै, चोरीमा संलग्न व्यक्‍तिहरूबाट विभिन्न साइजका डायल रेन्च २२ थान, सलाई रेन्च ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङ्ली १ थान, कैची १ थान, ह्याक्सो बिलेट ३ थान, खन्ती १ थान, ब्याट्री सहितको इलेकट्रिक ग्रेन्डर १ थान, झम्पल १ थान र उनीहरूले प्रयोग गरेका को १ च ७७२९ नम्बरको पिकअप गाडी १ थान, विभिन्न कम्पनीको ५ थान मोटरसाइकल र १२ थान मोबाइल समेत बरामद गरेको थियो ।

काठमाडौं:   सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गतेदेखि लागू हुनेगरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने तथा गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय रहेको छ । यसैगरी सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइका लागि गत जेठ ९ गते समझदारीपत्रमा हस्ताक्षर भएको सन्दर्भमा सुरक्षण मुद्रण केन्द्रले २०८२ असार मसान्तसम्ममा प्रथम चरणको सवारी चालक अनुमतिपत्र उत्पादन सुरु गर्नेगरी २०८२ जेठ ९ गते केन्द्र र यातायात व्यवस्था विभागबीच सहमति गरिएकामा भदौ मसान्तभित्र यथाशीघ्र छपाइ सुरु गर्न केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ । सवारी चालक अनुमतिपत्र छपाइका लागि कोशी प्रदेश, बाग्मती प्रदेश  र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेको सन्दर्भमा सवारी चालक अनुमतिपत्र छपाइको कार्य अविलम्ब सञ्चालन गर्न सुरक्षण मुद्रण केन्द्रले अनुमति दिन अनुरोध गर्ने पनि निर्णय भएको छ । बैठकले १० वर्ष अवधिको सवारी चालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरुपता कायम गर्ने, तथ्याङ्कहरुलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाउने, राइड सेयरिङबारे एकरुपता कायम गरी लागू गर्नेलगायतका निर्णय पनि गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । मन्त्री दाहालले संविधान तथा ऐनहरुले निर्दिष्ट गरेको व्यवस्था कार्यान्वयन गर्दै सङ्घीयता कार्यान्वयनलाई बलियो पार्न आवश्यक रहेको बताउनुभयो । तीनै तहको समन्वय र सहकार्यबाट सङ्घीयता कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले समितिका निर्णयहरु कार्यान्वयनमार्फत नागरिकलाई सेवा छरितो पार्ने पार्न सकिने बताउनुभयो । यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले बैठकबाट विगतमा भएका निर्णयको समिक्षा गर्दै आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय भएको बताउनुभयो । बैठकमा सङ्घीय र प्रदेशका मन्त्री, सचिवका साथै स्थानीय तहका जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

काठमाडौं:  प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका–२ घर भएका २६ वर्षीय राजेश कुमार रजक र हनुमान कंकालिनी–१ घर भएका २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।  आरोपीहरूको साथबाट १ हजार दरको ३८ थान नक्कली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातोपाटीलाई बताए ।  उनीहरू लु‍ ९२ प २३८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आएका थिए । आरोपीहरूले सो रकम ‘अर्कै व्यक्तिले दिएको’ बयान दिएका छन् । 

झापा:  झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको हो ।  मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि गाउँलेलाई खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ । यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो ।

ढोरपाटन:    ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो ।  भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठबाहेक अरु कुनै पनि संरचना थिएन ।  गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिकजसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् ।  विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमश्रृङ्खलासहित हजारौँको सङ्ख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो ।  बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरु भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठस्टे सञ्चालनमा ल्याउनुभएको हो । थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठस्टे सञ्चालनमा ल्याउनु भएको छ । थापा र घर्ती मगरको गोठस्टे नजिकै छ । ढोरपाटन उपत्यकाबाट जाने पर्यटकलाई उहाँहरुले स्वागत गर्नुहुन्छ । घण्टौँको यात्रापछि गर्पाछेडा पुग्ने पर्यटक लागि गोठस्टे विश्रमस्थल बनेको छ । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमश्रङ्खला र गोठलाको जनजीवन अनुभूत गर्न पाउँछन् ।   अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटक बढेको गोठस्टे सञ्चालक सन्देश थापाले बताउनुभयो । पछिल्लो समय बुकीपाटन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्न थालेको उहाँको भनाइ छ ।  बुकीपाटन गोठस्टे सञ्चालन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको प्रवद्र्धन गर्नु र पर्यटकको सेवा गर्नु भएको उहाँ बताउनुहुन्छ । गोठस्टेमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, बुकीपाटनमा रहेका भेडा च्याङ्ग्राको मासु, लेकाली साग, आँटो ढिडोलगायतका परिकार खान दिने गरेको थापाले बताउनुभयो ।  “बुकीपाटनमा पर्यटक आउन थालेको धेरै भएको छैन, केही समय अघिसम्म यो क्षेत्र पर्यटकका लागि ओझेलमै थियो, दुईरतीन वर्षदेखि यहाँ बढी मात्रामा पर्यटक आउन थालेका हुन्, पोहोर सालदेखि मैले गोठस्टेसुरु गरे, यसवर्ष अर्को एक जना साथीले पनि सुरु गर्नुभएको छ”, उहाँले भन्नुभयो, “पहिले पर्यटक बुकीपाटन आउँदा गोठालासँग गोठमा बस्नु बाध्यता थियो, उहाँहरुलाई खाना र सुत्नका लागि निकै समस्या थियो, अहिले त्यो समस्याको समाधान गरेका छौँ ।” महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्नुभएको हो । ढोरपाटन उपत्यकामा होटल सञ्चालन गर्दै आउनुभएका घर्तीमगरले गोठस्टे सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको बताउनुभयो । गोठस्टेमा आउने पर्यटकले एक रातको बसाइँसँगै खाना र खाजाको रु दुई हजार पाँच सय शुल्क लिने गरेको उहाँको भनाइ छ । कोही पर्यटक बिहान ९ बजे बुकीपाटन पुग्ने र साँझ फर्किने गरेको उहाँले बताउनुभयो ।  “बुकीपाटनमा पर्यटकको आगमनमा धेरै वृद्धि भएको छ, सडकको पहुँच नभएको हुँदा पदमार्गमार्फत यहाँ आउनुपर्छ, हिँडेर आउँदा धेरैलाई थकान लाग्छ, त्यति मात्रै होइन यो ठाउँ उच्च क्षेत्रमा पर्ने हुँदा लेक लाग्छ, केही त बिरामी पर्नुहुन्छ”, घर्ती मगरले भन्नुभयो, “बुकीपाटन आउँदा स्वास्थ्यको ख्याल गरेर आउनुपर्छ, हामीहरुले गोठस्टेमा आउने पर्यटकका लागि सामान्य प्राथमिक उपचारको व्यवस्थाप गरेका छौँ, अब पर्यटकलाई पहिलेको जस्तो गोठमा बस्नुपर्ने अवस्था छैन ।” गर्पाछेडाबाट फागुने, टीकाधार, लगायतका स्थानमा पुग्न सकिन्छ । गोठस्टेले बुकीपाटन आउँदा बसाइँ र यहाँको घुमफिरलाई सहज बनाइ दिएको पोखरा महानगरपालिका–७ बाट आउनुभएका मुकेश सुब्बाले बताउनुभयो ।  बुकीपाटनमा आफू पहिलो पटक चार वर्ष अगाडि आएको भन्दै त्यस बेला गोठमै बसेर फर्किएको उहाँले सुनाउनुभयो । गोठस्टेमा होटलको जस्तो सुविधा नभए पनि बास बस्न र खाना खानका लागि धेरै सहज भएको उहाँको भनाइ छ ।