मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

सुनसरी:  कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेकी शोभाकली हात्तीले आफ्नो सातौँ सन्तान जन्माएकी छन्।  आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ (छावा) जन्माएकी हुन्। जन्मपछि आमा र छावा दुवैको स्वास्थ्य सामान्य रहेको जनाउँदै उनले चिकित्सक तथा मउते टोलीको निगरानीमा राखिएको जानकारी दिए। छावाको जन्म भएको ११औँ दिन नवजात हात्तीको औपचारिक रूपमा नामकरण कार्यक्रम आयोजना गरिएको आरक्षका प्रमुख यादवले जानकारी दिए। उनले आरक्ष कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा आयोजित समारोहमार्फत छावाको नाम ‘भुपेन्द्र गज’ राखिएको बताए। ‘शोभाकली करिब दुई दशकदेखि आरक्षमा कार्यरत अभिमुखी हात्तीमध्ये एक हुन्। उनलाई मुख्यतः गस्ती, वन्यजन्तु अनुगमन, तथा अत्यावश्यक उद्धार कार्यमा प्रयोग गरिन्छ’, प्रमुख यादवले भने। यो जन्मसँगै शोभाकलीबाट जन्मिएका छावाको सङ्ख्या सात पुगेको छ। आरक्षका अनुसार उनका अधिकांश सन्तान अहिले पनि विभिन्न संरक्षण क्षेत्र तथा हात्ती प्रजनन केन्द्रमा स्वस्थ रूपमा पालनपोषणमा छन्। नवजात भुपेन्द्र गज हाल प्रतिदिन औसत १०–१२ लिटर दूध सेवन गरिरहेको जनाउँदै उनले जन्मेको तेस्रो दिनदेखि आमा पछ्याउँदै हिँड्न थालेको माहुतेहरूले जनाएका बताए। कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। हात्ती, गैँडा, हरिण, निलगाईलगायत ४५० भन्दा बढी प्रजातिका चराको महत्वपूर्ण आवासस्थल मानिन्छ। आरक्षभित्र कार्यरत हात्तीले सीमावर्ती क्षेत्रको निगरानी तथा अवैध सिकार नियन्त्रणमा ठूलो योगदान पुर्‍याउँदै आएको आरक्ष कार्यालयले जनाएको छ। 

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सह–प्राध्यापक डिल्लीराम प्रसाईसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गर्दै उनीहरूले झुट्टा शैक्षिक विवरण पेश गरी सह–परीक्षा नियन्त्रक पद प्राप्त गरेको आरोप लगाएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सह–प्राध्यापक प्रसाईले २०८१ भदौ २६ गते सह–परीक्षा नियन्त्रक पदका लागि आवेदन दिँदा आफ्नो व्यक्तिगत विवरण (सीभी) मा ‘डा. डिल्ली आर. प्रसाई’ र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा ‘डा। डिल्लीराम प्रसाई’ लेखिएको पाइएको छ। प्रस्तुत प्रमाणपत्रहरू विद्यावारिधिको अन्तिम मौखिक परीक्षा सम्पन्न भएको देखाइ पेस गरिएको भए पनि ती विवरण वास्तविक नभएको आयोगको ठहर छ। उक्त प्रमाणपत्रका आधारमा उनी २०८१ कात्तिक १२ गते सह–परीक्षा नियन्त्रक छनोट समितिबाट क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका लागि पहिलो नम्बरमा सिफारिस भएका थिए। त्यसपछि त्रिवि रजिष्ट्रार कार्यालयले २०८१ मङ्सिर १८ गते निर्णय गरी मङ्सिर १९ गतेदेखि लागू हुने गरी प्रसाईलाई सह–परीक्षा नियन्त्रक पदमा नियुक्त गरेको थियो। आयोगका अनुसार चयन प्रक्रियामा संलग्न समितिका संयोजक प्रा. डा. जयालक्ष्मी प्रधान र सदस्यहरू प्रा। डा। मोतिलाल शर्मा तथा प्रा. डा. मेघराज पोखरेलले प्रसाईसँग मिलेमतो गरी विद्यावारिधि गरेको भनी आठ अंकको झुट्टा विवरण समावेश गराई परीक्षाफलमा हेरफेर गरेका थिए। यसरी बदनियतपूर्वक तथ्य लुकाई–छिपाई गलत प्रतिवेदनसहित नियुक्तिको सिफारिस गरेको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ। अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

धादिङ:   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ ।  धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समाहारोमा संयोजक दाहालले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तहको भूमिकालाई मजबुत बनाउनुपर्ने उल्लेख गर्नुभयो। आफ्नो संवोधनका क्रममा दाहालले ग्रामीण विकासको आधारभूत केन्द्र नै स्थानीय सरकार हुने टिप्पणी समेत गर्नुभयो । दाहालले गाउँ-गाउँमा सुविधा, सेवा र प्रशासनिक पहुँच पुर्‍याउन यस्ता संरचनाले नागरिकलाई सरकार समक्ष नजिक ल्याउने भन्दै अब भवन मात्र होइन, सेवाको गुणस्तरबाट जनतालाई परिवर्तनको अनुभूति गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

काठमाडौं:  नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको सभा आज यहाँ सम्पन्न भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त सभामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।  उक्त सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीले महाधिवेशन रोकेको आरोप लगाउनुभयो ।  उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा महाधिवेशनको विकल्प छैन ।”  कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले बीसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाले पार्टीका योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने अधिकार नभएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “कसको हो नक्कली हस्ताक्षर ? निकाल्न हामी चुनौती दिन्छौँ । पार्टीका साथीहरूको योगदानका आधारमा पदमा बसेर साथीहरूको आग्रहलाई लल्कार्न पाइँदैन ।” कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन् । आजको उक्त सभाका वक्ताहरुले विशेष महाधिवेशनमा जोड दिएका थिए ।

काठमाडौं:  नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा घुम्न आएका विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा गएराति उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय बादल तामाङ, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय विशाल थापामगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका २१ वर्षीय मिलन नेपाली, बाँकेका २३ वर्षीय अभिषेक थापा, काभ्रेका २२ वर्षीय सञ्जय लामा, दाङकी २० वर्षीया प्रतिमा डाँगी र दाङकै २१ वर्षीया प्रमिला पुनमगर छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक  पवनकुमार भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख दिने तथा लुटपाटमा संलग्न रहेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई प्रहरीले अभद्र व्यवहारको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । 

काठमाडौं:   निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अवधि मंसिर १४ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।  आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको बुधबार बसेको बैठकले सो निर्णय गरेको छ ।  एक सय ६ दल दर्ता यसअघि आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि मंसिर १० गतेसम्मको अवधि तोकेको थियो ।  उहाँका अनुसार आयोगमा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बुधबार अन्तिम दिनसम्म एक सय ६ वटा दलबाट निवेदन प्राप्त भएको छ । यसैगरी, २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरुले सो निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने अवधि मङ्सिरर १ देखि ७ गतेसम्म तोकिएकोमा उक्त अवधिमा १३ वटा दलबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।  

पोखरा:   गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ ।  सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कार्यक्रमको उद्घाटन गर्दै युवालाई सीपमार्फत रोजगारी, व्यवसायिक अवसर र आत्मविश्वास जोड्ने यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे । मन्त्री थापाले भने, “सीप सिकेर सानो कोही हुँदैन, सम्मानसाथ सिक्न आवश्यक छ। श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।” उनका अनुसार तालिम लिएर उद्यम सुरु गर्न चाहनेका लागि प्रदेश सरकारले सीड मनी का लागि बजेट व्यवस्था गरेको छ। बैंकसँग समन्वय गरेर ५० प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत लगानीकर्ताद्वारा उद्यम स्थापना गर्न सकिने भन्दै सरकारले प्रशिक्षार्थीको अवस्थाको निरन्तर अनुगमन गर्ने पनि उनले बताए । कार्यक्रममा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमुख डा। सोमनाथ सापकोटाले सीपको बढ्दो महत्व र व्यवसायिक शिक्षाको आवश्यकतामाथि जोड दिए । उनले भने, “सीप विकासको तालिम ब्रान्ड बन्दै गएको छ । सरकारले गरेको लगानी सदुपयोग गर्न प्रशिक्षार्थीहरू जिम्मेवार हुनुपर्छ।” व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कास्कीका प्रमुख अनिल सुवेदीका अनुसार अहिले १३ शीर्षकमा तालिम संचालन हुनेछ । १ हजार ३ सय ५५ जनाले फाराम भरेका मध्ये २९९ जनालाई यसपटक छनोट गरिएको छ । प्रशिक्षार्थीलाई दैनिक ७५ रुपैयाँ खाजा खर्च उपलब्ध गराइने र दैनिक ५ घण्टा तालिम सञ्चालन हुने जानकारी उनले दिए। यसपटक प्रदान गर्न लागिएका तालिमहरूमा कुक, कपाल काट्ने (सैलुन), आधारभूत केश–शृंगार (ब्युटी पार्लर), विद्युत जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, कटाइ–सिलाइ, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेस्वरी शिक्षा लगायतका सीप समावेश छन् । कार्यक्रममा प्रशिक्षार्थी, स्थानीय प्रतिनिधि, संस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले जनाएको छ। गण्डकी प्रदेश सरकारले युवाको क्षमता विकास, रोजगारी सृजना र उद्यमशीलता प्रवद्र्धनलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ।

पोखरा:  पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् ।  पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई २५–११, २५–१८ र २५–१६ को सेटमा पराजित गरेको हो ।  यस्तै महिलातर्फको दोस्रो सेमिफाइनलमा झिर हाउस बागलुङले शान्ता माविलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।  झिर हाउस बागलुङले शान्ता माविलाई २५–१२, २५–१७ र २५–१६को सेटमा पराजित गर्दै उपाधिका लागि लालीगुराँस लामाचौरसँगको भेट पक्का गरेको हो ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ भने लिगचरणको खेल सुरु भएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।  पुरुषतर्फ भएको लिगचरणको पहिलो खेल ठकुरी समाज तनहुँ र पोखरा भलिबल प्रशिक्षण केन्द्र बीच भएको खेल भने लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । दुवै टिमले २÷२ सेट आफ्नो पक्षमा पारेपछि खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको प्रतियोगिता संयोजक मनोज खड्काले बताए । उक्त खेल भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ ।  पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।  यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता रहेको संयोजक खड्काले बताए ।  पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।   

म्याग्दी:  म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ। अनुकूल मौसम, रोगकिराको समस्या नदेखिएनु, भित्र्याउने समयमा असिना नपर्नु, बेमौसमी वर्षाले कम असर गर्नुलगायत कारणले यस वर्ष तीन दशमलव उक प्रतिशतले धान उत्पादन बढेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए। ‘धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षात हुनुका साथै भित्र्याउने समयमा पनि मौसमले साथ दियो’, उनले भने ‘रोगकिराको समस्या नदेखिएको र असिना नपरेकाले धान उत्पादन बढेको हो।’ गत कात्तिकको दोस्रो साता भएको बेमौसमी वर्षाले म्याग्दीका धानबालीमा ठूलो क्षति नपुर्‍याएको कार्यालयले जनाएको छ। जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा गत वर्ष प्रतिहेक्टर तीन दशमलव ५९ मेट्रिकटनका दरले १३ हजार ६६३ मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्ष प्रतिहेक्टर तीन दशमलव ७० मेट्रिकटनका दरले १४ हजार ८७ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका प्रमुख बास्तोलाले जानकारी दिए। जिल्लाका विभिन्न ठाउँमा गरिएको बाली कटान विधिबाट उत्पादनको तथ्यांक संकलन गरिएको कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताइन्। उनका अनुसार गौरीया, गुडुरा, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, शंकर, युएस–३१२ लगायत जातका धानखेती यहाँका मुख्य बाली हुन् । भिरालो जमिनमा पनि गर्न सक्ने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती लेकाली क्षेत्रका किसानले गर्छन्। पछिल्लो समय उन्नत जातमा किसानको आकर्षण बढेपछि धैया, अनदीलगायत रैथाने जातका धानको खेती घटेको लामिछानेले बताइन्। रत्नेचौर, ज्यामरुककोट, अर्थुंगे, पुलाचौर, सिंगा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ । धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र अन्नपूर्णको शिख, राम्चेमा चिसोका कारण धान उत्पादन हुँदैन्। मंगला गाउँपालिका २ सिमका ध्रुव केसीले यस वर्ष ११० मुरी धान उत्पादन भएको बताए। मौसमले साथ दिएकाले उत्पादन बढेको बताउँदै उनले गत वर्ष १०० मुरी मात्र धान उत्पादन भएको जानकारी दिए। गण्डकी प्रदेश सरकारले धानलगायत खाद्यान्नबालीको खेती प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष १० लाख बजेट विनियोजन भएको यस कार्यक्रममा चालु आवमा रु १५ लाख विनियोजन भएको छ । कार्यक्रममार्फत सिँचाइ, पूर्वाधार विस्तार र यान्त्रीकरणमा सहयोग गरिन्छ। स्थानीय तहअनुसार कोटा निर्धारण गरेर रासायनिक मल आपूर्ति र वितरणको व्यवस्था मिलाएकाले किसानले मल अभावको समस्या झेल्नु नपरेको जनाएका छन्। रैथाने बालीको खेती घट्दै जानु, क्षेत्रफल विस्तार हुन नसक्नु, जनशक्तिको कमीलगायत कारणले जिल्लामा धानखेतीको मुख्य चुनौती बनेको छ।