पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

म्याग्दी:  म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुन: सञ्चालनका लागि अन्वेषण सुरु भएको छ ।  तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नम्बर ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन थालिएको भूगर्वविद् रोनित पौडेलले जानकारी दिए । ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान हुनेछ,’ उनले भने ‘खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढ्छ ।’  ओखरबोटको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानी भन्दाबढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको मालिका गाउँपालिका–३ का ७२ वर्षीय विसराम पटेलले बताए । यस तामाखानीमा दैनिक दुई सय भन्दा बढी कामदारले काम गर्नुका साथै प्रत्येक दिन सात–आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलले जानकारी दिए । तामाखानीमा दुईवटा मुहान रहेका छन् । ती मुहानको लम्बाइ दुई सय ५० देखि पाँच सय मिटरसम्म रहेको छ । त्यहाँ दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् । वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कम्पनीले सार्वजनिक सुनुवाइका साथै लिखित रुपमा प्रभावित क्षेत्रका बासिन्दाबाट सुझाव सङ्कलन गरिसकेको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो ।  खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी भएका प्रभावित क्षेत्र ओखरबोट र खटेनका बासिन्दाले वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन माग गरिएको स्थानीय दीपक पटेलले बताए । स्थानीय खनेलहरुले रैथाने प्रविधिबाट उत्खनन गरिएको मालिका गाउँपालिका– ४ (साविक ओखरबोट–८) खटेनडाँडास्थित तामाखानी मुख्य हो । धवलागिरि गाउँपालिका–१ गुर्जा, ५ मल्कवाङ, ७ मच्छिम, रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी, ८ चौरसहित २१ ठाउँमा तामाखानी छन् । खानीहरु सञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानीय खनेल’हरुको सीप पुस्तान्तरण हुनसकेको छैन । म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल जातीको परम्परागत पेसा खानी खन्ने थियो ।

काठमाडौं:  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज ९सोमबार० प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल  पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग०मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहून्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् नेपाल बताउनुहुन्छ । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्को भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख छ ।   आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिनुभयो । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । सोह्रश्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफू अनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताउनुभयो ।   पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दुुुुुसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यसैगरी कोशी, मधेश  र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ महाशाखाले जनाएको छ ।  कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पोखरा:  नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्राम लगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ ।  अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत निर्णय फिर्ता लिन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो । महासंघ गण्डकीका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वको समूहले सिडिओ शर्मामार्फत सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ ।  ‘सामाजिक सञ्जालमा आधारित सयौं आम्दानीका स्रोतहरु प्रभावमा परेका छन् भने यसले लाखौं मानिसको दैनिकी र रोजगारीमासमेत प्रभाव पारेको छ,’ महासंघले सिडिओमार्फत बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘घुम्न आउने पर्यटकहरुले बुकिङ गर्न छाडेका छन् भने बुकिङ गरिरहेकाहरुले पनि रद्ध गर्न थालेका छन् ।’  महासंघले विश्वभरि रहेका व्यावसायिक संस्थाहरुबीचको सम्बन्ध, सम्पर्कमै असर पारेको बताएको छ । सामाजिक सञ्जाललाई व्यवस्थित नियमन गर्न आवश्यक कानुन निर्माण गर्ने कुरामा असहमति नभएको तर पर्याप्त कानुनी आधार र कुटनीतिक प्रयासबिना बन्द गर्ने निर्णयप्रति भने असहमति रहेको महासचिव गौतमले बताए । ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकलाई प्रभावित पार्नु कानुनी शासन र लोकतान्त्रिक मूल्यविपरीत रहेको हाम्रो निश्कर्ष छ,’ गौतमले भने ।  नेपालमा सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसद्मा विचाराधीन रहिरहेको अवस्थामा सरकारले पुरानो २०६३ सालको कानुनलाई टेकेर बनाएको निर्देशिकाअनुसार बन्द गर्ने निर्णय तत्काल फिर्ता गर्न अध्यक्ष जितुले माग गरे । ‘कुटनीतिक पहल गर्दै सामाजिक सञ्जाल नियमनको प्रक्रिया थाल्न अनुरोध छ,’ उनले भने, ‘देशमा सिर्जित लाखौंको रोजगारी खोस्ने, अर्थतन्त्रलाई नै प्रभावित पार्ने कदमबाट पछि हट्दै व्यवसायी तथा आम नागरिकको पक्षमा निर्णय गर्न माग गर्दै श्रीमान प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं ।’  फिने गण्डकीका प्रवक्ता कृष्ण आचार्यले पदमार्गमा जाने बल्ल सिजन लाग्दै गर्दा सरकारको निर्णयले धेरै असर गरेको सुनाए । फेसबुकसँगै अधिकतम सम्पर्क र व्यावसायिक कुराकानी ह्वाट्सयपबाट हुने गरेको उनले बताए । अहिले त्यो नै नचलेपछि ब्यापारिक सम्बन्ध नै टुटेको उनले दुखेसो गरे । पर्यटकले सामाजिक सञ्जाल नै नचल्ने तिमीहरुको देशमा किन आउने भन्न थालेको उनले दुखेसो गरे ।  

पोखरा: पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई  ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।   पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो ।  तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा सुरुआतबाटै अग्रता बढाउँदै लुम्बिनीले १५–१० को सहज जित दर्ता ग¥यो । पहिलो जितसँगै लुम्बिनीले २ अंक जोडेको छ । ३ खेलमा जितविहीर रहेको पोखराले एक अंक जोडेको छ ।  लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३–१ को सेटमा पराजित भएको थियो । पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ । पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो । यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको थियो ।  लिगको चौथो दिन सोमबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली यसविश र काठमाडौं स्पाईकर्सबिच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसपछि भोलिको दोस्रो तथा अन्तिम खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच हुनेछ ।  इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग २८ भदौसम्म चल्नेछ ।  

पोखरा:   गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र  यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा आइतबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले मानव बेचबिखनविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राखे। उनले गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक विभेद र घरेलु हिंसा जस्ता कारणहरूले नेपालमा मानव ओसारपसार बढेको उल्लेख गर्दै विशेषगरी महिला, बालबालिका र सिमान्तकृत समुदाय बढी जोखिममा पर्ने बताए । “मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ,“ उनले भने। मन्त्री थापाका अनुसार हिंसामा परेका महिला तथा बालबालिकाका लागि अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापना केन्द्र सञ्चालन, जनचेतनामूलक अभियान, प्रविधिको प्रयोग, सीमामा निगरानी प्रणाली लगायतका कार्यक्रमहरू अघि सारिएका छन्। तर स्रोत–साधनको अभाव, अन्तरदेशीय सीमा नियन्त्रणको कठिनाइ, अपराधीक गिरोहहरूको सञ्जाल, पीडितको पहिचान र पुनःस्थापनामा देखिने समस्या अझै चुनौतीको रूपमा रहेको उनले उल्लेख गरे। जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक सरला ढकालले प्रस्तुत गरेको विवरण अनुसार पोखराका ११ वटा डान्सबारमा गरिएको अनुगमनमा भड्किलो पोशाकको प्रयोग देखिएको छ । पछिल्लो समयमा यौन शोषणका घटना बढ्दो क्रममा रहेको उनले बताइन्। उनका अनुसार कास्कीमा हालसम्म मानव बेचबिखनसम्बन्धी १२३४ मुद्दा दर्ता भइसकेका छन् भने औसतमा दैनिक पाँचवटा मुद्दा दर्ता हुने गरेको छ । मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख मुना अधिकारीले हिंसापीडित प्रभावितहरूको लागि तत्काल उद्धार समन्वय सञ्जाल गठन, बालिका तथा समावेशी शिक्षा सञ्जाल परिचालन, सचेतनामूलक तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन, आपतकालीन उद्धार कार्यक्रमलाई ११ वटै जिल्लामा लैङ्गिक हिंसा विरुद्ध निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिइन्।  “गण्डकी प्रदेशमा ८ जिल्लामा अल्पकालीन सेवा केन्द्र र प्रदेशस्तरीय दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनमा छन्। साथै औद्योगिक प्रशिक्षार्थी, सीपमूलक तालिम, सिक्दै–कमाउँदै रमाउँदै कार्यक्रम तथा सामूहिक उद्यमशीलता प्रवद्र्धन गरिएका छन्।”, उनले भनिन् । शान्तिका लागि नागरिक समाज सञ्जालका संयोजक बिना सिलवालले ड्रग र यौन व्यवसायबीचको सम्बन्ध औंल्याउँदै शिक्षा व्यवस्थापनमार्फत यौन नियन्त्रण आवश्यक भएको बताए। उनका अनुसार ९० प्रतिशत यौनजन्य दुव्र्यवहार घरभित्रै हुने भएकाले सुरुवातमै जोगाउनेतर्फ ध्यान दिन जरुरी छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले समाजमा नैतिकता र संस्कार सिकाउनुपर्नेमा जोड दिए । “मानव बेचबिखन नियन्त्रणका लागि कानुनी व्यवस्था मात्र होइन, सामाजिक मूल्य–मान्यतालाई बलियो बनाउनुपर्छ,“ उनले भने। कार्यक्रममा सहभागी वक्ताहरूले मानव बेचबिखन नियन्त्रणका लागि सरकारी, गैरसरकारी, उद्योग वाणिज्य क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । समुदायस्तरमा जनचेतना अभिवृद्धि, सुरक्षाकर्मीको भूमिका सुदृढीकरण र स्थानीय सरकारसँगको सहकार्यले मात्र यस समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने भनाई उनीहरुको छ । मन्त्रालयका निमित्त सचिव प्रकाश ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका अधिकारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि, निजी क्षेत्र र सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।

पोखरा:   पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गर्‍यो ।  पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३–२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो । काठमाडौंले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो । आजको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिच भइरहेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

गुल्मी:  जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो ।  मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको पिठोको ब्राण्डिङसँगै त्यसको बजारीकरण गर्न लागिएको हो ।  राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, नगरपालिका र कृषि ज्ञान केन्द्रको ७३ लाख रुपैयाँ तथा साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार गरी करिब ९० लाख रुपैयाँको लागतमा प्रशोधन उद्योग स्थापना गरिएको छ । साना किसान कृषि सहकारी संस्थाबाट उत्पादित पिठो स्थानीय बजारदेखि बुटवलसम्म पुग्ने गरेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए । साना किसान सहकारीले स्थानीय किसानबाट प्रतिपाथी २०० रुपैयाँमा मकै खरिद गरेको छ ।  किसानबाट खरिद गरेको स्थानीय जातको मकैलाई उद्योगमा प्रशोधन गरी त्यसलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा पठाइएको अध्यक्ष छन्तेलले बताए । यसरी प्रशोधन गरेर तयार गरिएको मकैको पिठोको मूल्य प्रतिकिलो रु १३० निर्धारण गरिएको छ ।        तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट मकैको प्रशोधन, लेवलिङ र प्याकेजिङ गर्ने उपकरणमा कार्यालयबाट ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले जानकारी दिए ।  यस आर्थिक वर्षमा सहकारीमार्फत स्थानीय बजार हुँदै बुटवल र काठमाडौँसम्म ३५ टन बराबरको पिठो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले बताए ।         नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले गाउँमा केही भएन भनेर भाष्य निर्माण गर्नेका लागि साना किसान सहकारीले गतिलो उदाहरण प्रस्तुत गरेको बताए ।  उनले सहकारीबाट उत्पादित मकैको पिठोलाई बजारीकरण गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताए । उनले बजारमा उक्त पिठोको माग बढ्दै गएको बताए ।      विसं २०६३ मा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर स्थापना गरिएको उक्त सहकारी संस्थाले नगरपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का करिब ३०० घरधुरीलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउँदै आइरहेको छ ।

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण सकिएको छ ।  ललितपुरको गोदावरीमा जारी महाधिवेशन केन्द्रमा आइतबार तेस्रो दिन १० समूहमा विभाजन गरिएका महाधिवेशन प्रतिनिधिको समूहद्वारा प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न भएको हो । आज १० विभिन्न समूहगत नेताहरूको प्रस्तुति सकिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । समूहगत नेताले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवेदनहरूमाथि केही सुझावसहित मूल अवधारणामा सहमत जनाएको उनले जानकारी दिए ।  छलफल प्रतिवेदन पेस गर्दै समूहगत नेताहरूले भावी पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका प्रचार विभाग प्रमुख गौतमले उल्लेख गरे ।  उनका अनुसार सुदूरपश्चिम प्रदेशबाट कृष्णप्रसाद जैसीले महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनपूर्ण सहमति जनाएका छन् । ‘अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष हाम्रो समूहको ठहर छ’, जैसीले भने । कर्णाली प्रदेशका अध्यक्ष एवं समूहगतका नेता गुलाबजङ्ग शाहले वर्तमान अवस्थामा नेतृत्वलाई थप स्थापित र सशक्त बनाउनुपर्ने समय आएकाले पार्टीको भावी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नरहेको बताए । लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए । गण्डकी प्रदेशका उपाध्यक्ष एवं समूहगत नेता मीनप्रसाद गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्यमा पुर्‍याउन प्रतिवेदनहरूले प्रष्ट मार्ग निर्देश गरेको बताए । बागमती प्रदेशका अध्यक्ष एवं समूहगत नेता कैलाश ढुङ्गेलले आफ्नो समूहमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनुपर्छ भन्ने विधान संशोधनलाई अधिकांशले समर्थन गरेको बताउँदै केही मत भने उक्त व्यवस्था हटाउनु हुँदैन भन्ने सुझाव आएको जानकारी दिए ।  मधेस प्रदेशका अध्यक्ष एवं समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष ओलीलाई नेतृत्व दिनुपर्नेमा जोड दिए । ‘पार्टीमाथि देशीरविदेशी शक्तिबाट चौतर्फी आक्रमण भइरहेको बेला नेतृत्व स्थापित गर्नका लागि आगामी महाधिवेशनबाट अध्यक्ष ओलीलाई नै पुनः नेतृत्व दिनुपर्छ’, उनले भने । कोशी प्रदेशका अध्यक्ष एवं समूहगत नेता घनश्याम खतिवडाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नुभएको विधान संशोधनमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रावधानलाई स्वागत गरे । उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई राजनीतिमा नफर्किने भन्ने विषय पार्टीको विधान र संविधानमा लेखिनुपर्दछ ।’ साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने छन् । यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवासबाट भक्त गुरुङ तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालयबाट शिव अधिकारी , विभागीय संरचना र केन्द्रीय निकाय आयोजकका तर्फबाट चुडामणि जङ्गलीले प्रस्तुति गरेका थिए ।  समूहगत नेताको सुझावसहितको प्रस्तुतीकरणपछि प्रतिवेदनमाथि आएका सुझावमा सम्बन्धित नेताहरूले जवाफ दिनेछन्  । त्यसपछि सुझावसहित पार्टीको विधान पारित गरिने एमाले प्रचार विभागका प्रमुख गौतमले जानकारी दिए ।  उनका अनुसार आजै समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको छ । महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यतालिका रहेको गौतमले जानकारी दिए  । ‘निर्णायक राष्ट्रियशक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका रहेको एमाले प्रचार विभागले जनाएको छ ।