काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: नेकपा एमालेले ७० वर्षे उमेर हद र दुई बर्षे कार्यकाल हटाउने प्रस्ताव अघि सारेको छ । शुक्रबारबाट लालितपुरको गोदावरी जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा यस्तो प्रस्ताव गरिएको हो । ”हरेक व्यक्तिको जीवनको उमेर हद र सक्रियताको उमेर हद फरक–फरक हुन्छ । उमेर हदको नाममा योग्य नेताहरुको पंक्तिबाट योग्यतम् नेताको छनोट गर्ने अवसर गुमाउन हुँदैन । योग्यहरु मध्येको योग्यतम् र सक्रिय नेतालाई नेतृत्वदायी भूमिकाबाट हटाउन वा त्यस्तो भूमिकामा पुग्न नदिन ७० बर्षे उमेर हदको प्रवन्ध गर्नु कुनै पनि दृष्टिले उचित हुँदैन । यही मान्यताका आधारमा २०८० बैशाख २८-३० मा सम्पन्न केन्द्रीय कमिटीको पाचौँ बैठकको “पार्टी विधानमा रहेको ७० बर्षको उमेर हद हाललाई निलम्बन गर्ने” भन्ने निर्णय अनुमोदन गर्न ७० बर्षे उमेर हदसम्बन्धी धारा-६४ को ब्यवस्था खारेज गर्न प्रस्ताव गरिएको छ । प्रस्तावित विधानमा भनिएको छ । प्रस्तावित विधान संशोन प्रस्तावमा यसअघिको ३ सय १ सदस्यीय केन्द्रीय कमिटीलाई घटाएर २ सय ५१ कायम गरिएको छ। अधिवेशनमा उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको संशोधन प्रस्तावका १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या २ सय ५१ को हुने व्यवस्थालाई अघि सारिएको छ। प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ। प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छ, भने ६ उपाध्यक्षको संख्यालाई घटाएर ३ मा झारिएको छ । प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सतिह १५ जना पदाधिकारी रहने गरी प्रस्ताव गरिएको छ । पदाधिकारीमा महिला एक जना अनिवार्य गरिएको छ। ”केन्द्रीय कमिटीको निवर्तमान अध्यक्ष स्वत: बरिष्ठ नेता हुने अर्थात् अनिर्वाचित व्यक्ति कार्यकारी कमिटीको दोस्रो बरियताको पदाधिकारी हुने ब्यवस्था लोकतान्त्रिक प्रणालीको मर्मविपरीत छ । यस्तो ब्यवस्थाले ब्यक्तिको महत्वाकांक्षालाई सम्बोधन गर्ने बाहेक अरुकुनै सकारात्मक योगदान गर्दैन । यसले पार्टीमा वहुकेन्द्रको अवस्था सिर्जना हुने र पार्टीको आन्तरिक जीवन अन्तर्विरोधग्रस्त हुने जोखिम रहन्छ । तसर्थ, केन्द्रीय कमिटीको निवर्तमान अध्यक्ष स्वतः बरिष्ठ नेता हुने हालको ब्यवस्था हटाउने प्रस्ताव गरिएको छ” । प्रस्तावमा विधानमा उल्लेख छ । स्थायी कमिटी र पोलिटव्यूरो सदस्यको संख्या पनि घटाइएको छ । धारा १७ (२) को ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रुपमा राख्ने प्रस्ताव गरिएको छ ।
म्याग्दी: म्याग्दीको सदरमुकाम बेनीबाट गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला सदरमुकाम बेनीस्थित कालीगण्डकी किनारमा निर्माण भएको चक्रपथमा दुर्घटनामा परेर बेपत्ता भएका बेनी नगरपालिका–६ जामुना खर्कका हरिप्रसाद शर्मा रिजालको शव फेला परेको हो । बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकीको किनारमा आज बिहान रिजालको शव फेला परेको र हुलियाका आधारमा घरपरिवारले सनाखत गरेपछि शव परीक्षण गरेर अन्तिम संस्कारका लागि जिम्मा लगाइएको बागलुङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुनिल शर्मा सिलवालले जानकारी दिए । उनका अनुसार आज बिहान नदी किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेपछि स्थानीयले बागलुङ प्रहरीलाई खबर गरेका थिए । बागलुङ प्रहरीले माग्दी जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराइएको थियो । रिजालसँगै बेपत्ता भएका म्याग्दीको रघुगङङ्गा गाउँपालिका–२ भगवतीका कुमार रिजालको अवस्था भने अझै अज्ञात छ । बेनीको बैंकरोडस्थित एक होटलमा सँगै खाना खाएर एउटै मोटरसाइकलमा सवार रिजालद्धय कालीगण्डकी नदीको चक्रपथतर्फ मोडिएको र उक्त समयमा चक्रपथबाट मोटरसाइकल कालीगण्डकी नदीमा खसेको दृश्य सिसीटिभीमा कैद भएको थियो । दुर्घटना भएको भएको सडक छेउमा एउटा जुत्ता र हेलमेटको भाइजर फेलापरेको थियो भने बेनीनगरपालिका–१ थाङ्नेबगरस्थित कालीगण्डकी नदी किनारमा उनीहरू सवार पल्सर १५० सिसी मोटरसाइकलको फ्युलट्याङ्की फेला परेको थियो । बेपत्ता भएकाहरूको नेपाल प्रहरी र आफन्तजनसँगै सशस्त्र प्रहरी बलको गोताखोर टोलीले लगातार खोजी गरेका थिए । यसैबीच एउटै मोटरसाइकलमा सवार भई कालीगण्डकीमा दुर्घटनामा परेर बेपत्ता भएका कुमार रिजालका आफन्तले शुक्रबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । कुमारको अवस्था पत्ता लाग्न नसके पनि घटना घटेको तत्कालीन समयमा उपलब्ध सिसीक्यामेराका दृश्यमा उनीहरू एउटै मोटरसाइकलमा सवार रहेको देखिएको र अर्का युवाको शव भेटिएपछि काजकिरीयाजन्य धार्मिक संस्कारका लागि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको परिवारजनले जनाएका छन् ।
काठमाडौं: सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुन् । समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई नेकपा ९एमाले०का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका सांसद खतिवडा हाल कांग्रेसको केन्द्रीय सदस्य छन् । यसअघि पनि उनी ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य थिए । केही समयअघिसम्म उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा थिए । संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उनले आगामी सोमबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिनेछन् ।
मनाङ: हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो । उक्त कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिनुभयो । विसं २०७९ मङ्सिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठरिएपछि उपनिर्वाचन हुने भएको उहाँले बताउनुभयो । गुरुङ नेपालको संविधानको धारा १७८ (१) (ङ) बमोजिम तोकिएको योग्यता नभएको तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (छ) बमोजिम सजाय भुक्तान गरेको मिति छ वर्ष नभएसम्म उम्मेदवार हुन अयोग्य हुने ठहर भएको तथा ऐ। ऐनको दफा १६ बमोजिम आफ्नो पदबाट मुक्त हुने र नेपालको संविधानको धारा १७८ बमोजिम योग्यता नभएका निज प्रत्यर्थीको स्थान ऐ। धारा १८० को खण्ड (ख) बमोजिम रिक्त हुने देखियो भन्ने व्यहोराको सर्वोच्च अदालत, संवैधानिक इजलासबाट २०८२ असार ४ मा फैसला भई नेपालको संविधानको धारा १८० को खण्ड (ख) बमोजिम प्रदेशसभा सदस्यको पद विसं २०८१ कात्तिक २० गतेदेखि रिक्त भएको जनाइएको छ । प्रदेशसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै प्रदेशसभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने नेपालको संविधानको धारा १७६ को उपधारा ८ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगको बैठकबाट मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा रिक्त गण्डकी प्रदेशको प्रदेशसभा सदस्य पद एकको लागि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय भएको निमित्त निर्वाचन प्रमुख अधिकृत अर्यालले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन हुने तालिकासहित जानकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साथै आयोगबाट देशभर अद्यावधिक भई २०८२ साल भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट यही कात्तिक १६ गतेलाई तोक्ने निर्णयसमेत आयोगबाट जानकारी प्राप्त भएको छ । गत निर्वाचनमा जिल्लामा छ हजार ७७९ कुल मतदाता रहेका थिए । कुल मतदातामध्ये चार हजार ८४५ अर्थात् ७१ दशमलव ४७ प्रतिशत मत खसेको थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को चार हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिनुभयो । गत निर्वाचनमा प्रदेशसभा सदस्य पदमा गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो भने प्रतिनिधिसभा सदस्य पदका लागि मात्र मतदान भएको थियो । उम्मेदवारको मनोनयन दर्ताका निम्ति आगामी असोज २१ गते निर्धारण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी भदौ २० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २५ मा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली र चिह्न वितरणको विवरण प्राप्ति, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति गर्ने तालिका निर्धारण गरिएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचारलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ । समाजले नैतिक मूल्यमान्यता र सदाचारको खोजी गरेको उहाँको भनाई छ । पोखरामा शुक्रबार मानव मिलन संस्थाको ३१ औं अन्तर्राष्ट्रिय सम्मेलनको समुद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । ‘समाज असामाजिक क्रियाकलापले आक्रान्त छ । मानव खुसी र समृद्ध बनाउन हाम्रो व्यवहार परिवर्तन प्रमुख कुरा हो ।’ उहाँले भन्नुभयो । समानता र सहअस्तित्वमा आधारित मानवताको सम्वर्द्धन र मानव कल्याणको लागि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा समर्पित हुने गरी मणिभद्र मुनिजी महाराजबाट ३१ वर्ष अघि यो संस्थाको परिकल्पना र स्थापना गरिएकोमा उहाँले आभार व्यक्त गर्नुभयो । ‘मानिसको धर्म नै मानवता हो । सबै धर्मको मूल लक्ष्य भनेको मानव जातिको कल्याण नै हो । हाम्रोजस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबीच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्भाव नेपालीको विशिष्ट पहिचान हो ।’ उहाँले भन्नुभयो – ‘विश्वमा अहिंसा तथा शान्तिको वातावरण सिर्जनामा हामीले भूमिका खेल्न सक्नु पर्दछ । मानव सेवाको पक्षमा सञ्चालित अभियानहरूमा सरकारसहित सबैले सहयोग र सहकार्य गर्नुपर्ने हुन्छ ।’ हरेक मानिसमा परोपकारको भावना हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैको चित्तमा रहनुपर्ने बताउनुभयो । मानव मिलन संस्थाले विगत लामो समयदेखि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय सेवाका क्षेत्रमा आफूलाई समर्पण गरिरहेकोमा उहाँले खुशी प्रकट गर्नुभयो । तीन ‘स’ समानता, सहिष्णुता र सहअस्तित्व नै वर्तमान समयको माग हो भन्ने विषय आत्मसात् गर्दै वर्गीय, क्षेत्रीय सीमालाई अतिक्रमण गरी मानवता र मानवीयताको पहिचान दिन र दिलाउन संस्था अनवरत क्रियाशील रहेको पाएको उहाँको भनाई छ । ‘मानव मिलन संस्थाले जाती, धर्म, सम्प्रदाय, रंग र लिंगभेद जस्ता संकीर्णताहरु भन्दा माथि उठेर शिक्षा, स्वास्थ्य र सेवाको माध्यमबाट आपसमा सहयोग, सद्भाव, ज्ञान, ध्यान, अहिंसा एवं मानवको सुखशान्तिमा समर्पित रही आदर्श समाज स्थापनामा सहयोग पुगेको विश्वास लिएको छु ।’ उहाँले भन्नुभयो ।
पोखराः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण कार्य गरेको बताए । उनले भने, ‘मेलाले हजारौं विद्यार्थी तथा अभिभावकलाई सही जानकारी, अवसर र सम्भावनासँग प्रत्यक्ष परिचित गराउनेछ ।’ उनले नेपालको शिक्षा क्षेत्र राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउँदै विश्वव्यापी रूपमा बदलिँदै गएको ज्ञान र सीपसँग कदम मिलाउन गुणस्तरीय शिक्षा अपरिहार्य रहेकोमा जोड दिए । प्रदेश सरकारको नीतिबारे प्रकाश पार्दै उनले भने, ‘सरकारको प्राथमिकता देशमै उच्चस्तरीय शैक्षिक अवसर विस्तार गर्नु, प्रविधि र सीपमूलक शिक्षालाई प्रोत्साहन गर्नु र विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज, पारदर्शी र सुरक्षित वातावरण सुनिश्चित गर्नु हो ।’ उनले शैक्षिक परामर्शसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको र यसले दर्ता, नवीकरण र खारेजीसम्बन्धी प्रक्रियालाई व्यवस्थित गरेको पनि जानकारी दिए । उनले विद्यार्थीलाई भाषा र व्यावसायिक सीप मजबुत बनाएर विदेश जान पनि सुझाव दिए । इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले कोभिड महामारीका कारण केही वर्षदेखि स्थगित भएको मेलालाई निरन्तरता दिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले इक्यानका सदस्य संस्था र केन्द्रको सहयोगप्रति आभार व्यक्त गर्दै भने, ‘हाम्रो चाहना नेपाली विद्यार्थीले स्वदेशमै उच्च शिक्षा अध्ययन गरोस् भन्ने नै हो । तर, धेरै विद्यार्थीहरू विदेशमा गएर आफ्नो भविष्य सुरक्षित गर्ने सोचमा छन् ।’ उनले विदेश जाने विद्यार्थीलाई सत्य, तथ्य परामर्श र अभिभावकीय भूमिका आवश्यक रहेकोमा जोड दिए । उनले थपे, ‘विदेश जानुअघि त्यहाँको नीति नियम, भिसा प्रक्रिया र कलेजबारे पूर्ण जानकारी हुनुपर्छ । हामी यही आवश्यकता पूरा गर्न लागिपरेका छौं ।’ नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले हिजोका दिनमा काठमाडौँमा मात्र सुरु भएका यस्ता गतिविधिहरू अहिले विभिन्न प्रदेश र जिल्लाहरूमा पनि भइरहेको बताए । गण्डकी प्रदेश सरकारले बनाएको निर्देशिकाका सम्बन्धमा बोल्दै उनले नीतिनियम बनाउने क्रममा सरोकारवालालाई राखेर छलफल गराए मात्रै कानुन बलियो हुने धारणा राखे । इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले काठमाडौंमा २९औं स्थापना दिवस मनाइरहँदा इक्यानले विद्यार्थीलाई विदेशका उत्कृष्ट कलेजमा भर्ना प्रक्रियामा मात्रै नभई, उनीहरूलाई नेपालको विकासक्रममा फर्काउने प्रयास पनि गरेको बताए । उनले शैक्षिक परामर्श क्षेत्रका लागि छुट्टै ऐन बनाउनुपर्ने र नीति निर्माण गर्दा सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव दिए । उनले पोखरालाई शिक्षाको ‘हब’ बनाउन निजी क्षेत्र र परामर्श केन्द्रले सहयोग गर्न सक्ने पनि बताए । इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले करियर काउन्सिलिङ, भर्ना र भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने एउटा प्रमुख गन्तव्यका रूपमा पोखराको इक्यान मेला स्थापित भएको उल्लेख गरे । उनले भने, ‘फरक–फरक परामर्श केन्द्रमा धाउनुपर्ने परिस्थितिलाई दुई दिनको मेलाले सहयोग पु¥याउँछ ।’ व्यवसायीलाई प्रोत्साहन र गल्ती गर्नेलाई कारबाहीको व्यवस्था निर्देशिकामा समेटिनुपर्ने उनको भनाइ थियो । इक्यानका पूर्व केन्द्रीय अध्यक्ष दीपक गुरुङले इक्यानका सदस्य रहेका परामर्श केन्द्रबाट मात्र आवेदन दिन विद्यार्थीलाई आग्रह गर्दै कुनै समस्या परे इक्यान सहयोगी बन्ने बताए । इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० परामर्श केन्द्र शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती संस्थाबाट विश्वसनीय सेवा लिन सकिने बताए । ‘इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई अध्ययनपछि नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो, यद्यपि इक्यानले नेपाल फर्काउने अभियान पनि चलाइरहेको छ ।’ टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले मेलालाई भव्य बनाउन सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले उत्कृष्ट परामर्शदाताको उपस्थितिमा हुन लागेको मेलाबाट लाभ लिन विद्यार्थी, अभिभावक एवं अन्य सरोकारवालालाई आग्रह गरे । इक्यानले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर मेला आयोजना गरेको हो । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक मेला भएको आयोजकको भनाइ छ । मेला शनिबारसम्म चल्नेछ । मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था र ब्रिटिस काउन्सिलसहित ६५ वटा स्टल छन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ । मेलामा ब्रिटिस काउन्सिल नेपालको सहकार्य रहेको छ । मेलाको ‘पावर्ड बाइ’ मा बेलायतस्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन् । यसको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन÷आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् । उद्घाटन समारोहमा मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले गरेका थिए ।
पोखरा: पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगितामा आज फाइनल समिकरणको खेलहरु सम्पन्न भएका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलमा छात्रतर्फ सेमिफाइनल सकिदाँ छात्रातर्फ लिगचरणका खेल सम्पन्न भए । बिहिबार भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा शिशुकल्याण माविले सैनिक आवासिय महाविद्यालयलाई ५–२ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ । शिशुकल्याणको जितमा गोपाल सुनार, विक्रम गुरुङ, सुमन घर्तिमगर, शक्ति बोहरा र राजु एसकेले समान एक–एक गोल गरे । सैनिकका लागि वसेल विक्रम कुँवर र रमन क्षेत्रीले गोल गरे । शिशुवाका सुमन घर्ति प्लेयरअफ दि म्याच घोषित भए । दोस्रो सेमीफाइनलमा गण्डकी बोर्डिङले सोसल पब्लिकलाई १–० ले हराउँदै शिशु कल्याणसँगको भेट पक्का गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको पहिलो हाफमै सोनम खत्रीले गरेको गोल निर्णायक बन्न पुग्यो । उनी खेलको प्लेयरअफ दी म्याच घोषित भए । यस्तै छात्रातर्फ त्रिभुवन शान्ति नमुना माविले शान्तिदिपलाई ३–० ले हराउँदै समुह विजेता बन्यो । समूह ए मा कुल २ खेल खेलेको त्रिभुवनले २ जितसहित ६ अंक बटुल्दै फाइनल प्रवेश गरेको हो । शान्तिदिप ३ अंकका साथ दोस्रो र सेन्टमेरिज अंक विहिन हुँदै लिगचरणबाट बाहिरिए । समुह बी बाट भने सैनिक आवासिय यस अघि नै समुह विजेता हुदै फाइनल प्रवेश गरेको थियो । सैनिकले कुल २ खेलबाट ६ अंकका साथ शीर्षमा रहँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका थिए । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता भोलि सम्पन्न हुनेछ । प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ । प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।
पोखरा: शुभ अधिकारी ट्राभल्सले यात्रुहरुको सुविधालाई मध्येनजर गरी एसि, सोफा र स्लिपर सहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ । बिगत ३० वर्षदेखि यातायात क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल शुभ अधिकारी ट्राभल्सले बुधबारदेखि सञ्चालन हुने गरि पोखरा काठमाण्डौको र काठमाण्डौं पोखराका लागि पर्यटकीय बस सञ्चालनमा ल्याएको हो । बुधबार पोखरा ५ का स्थायिन बयोवृद्ध द्वय बिमल तिमिल्सिना र केदारनाथ बरालले संयुक्त रुपमा रिबन काटेर बस सेवाको शुभारम्भ गरे । सो अवसरमा वोल्दै पोखरा ५ का स्थानिय केदारनाथ बरालले शुभ अधिकारी ट्राभल्सले समयको माग अनुसार बसहरु सञ्चालन गर्दै आइरहेको बताए । ट्राभल्सले नेपालमा मात्र नभइ भारतका विभिन्न धार्मिक स्थलहरुमा समेत यातायातको सेवा प्रदान गर्दै आएकाले शुभ अधिकारी सम्पूर्णमा लोकप्रिय बनेको उनको भनाइ रहेको थियो । त्यसैगरी अर्का स्थानिय बिमल तिमिल्सिनाले शुभ अधिकारीले सुविधासम्पन्न बस सञ्चालन गर्ने बेलादेखीनै आफुले नजिकबाट नियाल्दै आएको बताए । आफ्ना सम्पूर्ण परिवार र नातागोता आफन्तले समेत शुभ अधिकारी ट्राभल्स मार्फत नै यात्रा गर्ने गरेको बताए । सो अवसरमा वोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका कार्यालय प्रमुख ज्ञानेन्द्र थापाले शुभ अधिकारी टूर्स एण्ड ट्राभल्सले ३० वर्ष अगाडिदेखि पोखरा बाग्लुङबाट बस सञ्चालन शुरु गरि अहिले नेपालमा मात्र नभइ छिमेकी मुलुक भारतका विभिन्न शहरहरुमा समेत बस सञ्चालन गर्दै आएको बताए । शुभ अधिकारीले समयको माग अनुसार बस सञ्चालन संगै भाडामा समेत एकरुपताका साथ सञ्चालन गर्दै आएको समेत थापाले बताए । कम्पनीका म्यानेजिङ डाइरेक्टर टिकाराम अधिकारीले समयको माग अनुसार पोखरा देखि काठमाण्डौ सम्म पर्यटकीय बस सञ्चालन गर्ने उद्देश्य अनुसार २०७२ सालदेखि पर्यटकीय बस सञ्चालन गर्दै आइरहदा बुधबार देखि सुरु भएको बस आफुले सञ्चालन गरेको अन्य बस भन्दा भिन्न रहेको बताए । आफुले विदेशी पर्यटकलाई भन्दापनि स्वदेशी खास गरी बृद्ध आमा बुवाहरुलाई लक्षित गरी हरियो प्लेटको सवारी सञ्चालनमा ल्याएको बताए । बुधवार देखि सुरु भएको बसको भाडा पोखरा देखि काठमाण्डौंको चक्रपथ, बसुन्धारा, चाबेल, बौद्ध जोरपाटी, नारायणटार हुँदै साखु सम्म १२ सय रुपैया तोकिएको र त्यसमा यात्रुहरुले सोफा सिट, स्लिपर सिट, एसी, ब्लांकेट, मोबाइल चार्जर खाजा र पानीको सुविधा प्रदान गरिने अधिकारीले बताए । काठमाण्डौको सांखुदेखि बौद्ध जोपाटी चाबहिल चक्रपथ, गोंगबु कलंकी हुदै पोखरा आउने उक्त बस सेवामा यात्रुको चाप बढेपनि भाडामा कुनैपनि फेरबदल नहुने उनको भनाइ रहेको छ । ३७ सिट, ४ वटा स्लिपर रहेको र भाडा १२ सय कायम गरिएको छ । २ करोड ५० लाखमा सञ्चालनमा ल्याइएको उक्त बस पोखराबाट सांझ ७ बजे र बिहान ७ बजे र काठमाण्डौंको सांघुबाट ६ः ४५ मा छुट्ने अधिकारीले बताए ।

